22nd June | 2018 | Friday | 10:51:30 PM

धर्म र राज्य

शंकरप्रसाद लुइँटेल   POSTED ON : Saturday, 13 January, 2018 (12:18:59 PM)

धर्म र राज्य

‘धर्म’ ले धारण गरेर राख्दछ भन्ने अर्थ वेद, वैदिक साहित्य, महाभारत इत्यादिमा निश्चय गरिएको छ । महाभारतको शान्ति पर्वमा युधिष्ठिरको प्रश्नको जवाफ दिँदै भीष्म पितामहले ‘धर्म’ शब्दको व्याख्या गर्नुभएको छ । ऋषि जैमिनी, आदि शंकराचार्य, स्वामी विवेकानन्दलगायत सबै धर्मानुयायीहरूले ‘धर्म’ शब्दलाई ‘रिलिजियन’ को दायराबाट टाढा राखेका छन् । अंग्रेजीको ‘रिलिजियन’ शब्दको अर्थ संस्कृतको ‘सम्प्रदाय’ शब्दसँग मिल्छ । अंग्रेजी भाषाको प्रामाणिक शब्दकोश ‘अक्सफोर्ड डिक्सनरी’ ले धर्म शब्दको अर्थ ‘ब्रहृमाण्डको शाश्वत नियम, वस्तुको प्राकृतिक गुण’ इत्यादि अर्थ लगाएको छ । 

कठिन शब्दहरूमध्ये ‘धर्म’ पनि एक हो जसको अर्थ अनुभूत त हुन्छ तर व्यक्त गर्ने शब्द हुँदैन । त्यही शब्दकोशले ‘रिलिजियन’ शब्दको अर्थ ‘कुनै पराभौतिक शक्ति अर्थात् ईश्वरीय स्वरूपको पूजा वा आराधना अथवा विश्वास, निश्चित विश्वास वा पूजा पद्धति’ इत्यादि भनेर लगाएको छ । धर्म भनेको जीव–निर्जीव, भौतिक–पराभौतिक, दृश्य–अदृश्य इत्यादि सबैको हुन्छ तर सम्प्रदाय भनेको केही निश्चित संख्यामा रहेका मानिसहरूको बीचमा मात्रै हुन्छ । सनातन सम्प्रदायले धर्ममा विश्वास गर्ने हुँदा विश्वास भनेको नै कालान्तरमा धर्म शब्दमा उत्तरित हुन पुग्यो र यसको विडम्बना भन्नुपर्छ आजभोलि ‘रिलिजियन’ अथवा ‘सम्प्रदाय’ जस्ता संकुचित अर्थ लाग्ने शब्दको दामले भाइ जस्तो भयो ‘धर्म’ शब्द ¤ 

केही प्रामाणिक व्याख्याहरू–

भगवान श्रीकृष्ण श्रीमद्भगवद्गीता (३।३५) मा अर्जुनलाई धर्म विषयमा सम्झाउँदै भन्नुहुन्छ– 

श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् ।

स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः ।। 

भावार्थ ः धेरै प्रकार र यत्नले अनुष्ठान गरिकन अवलम्बन गरिएको पर धर्मभन्दा गुणै नभएको आफ्नो धर्म नै बढी श्रेयस्कर हुन्छ । आफ्नै धर्ममा मर्नु निको हुन्छ तर अरूको धर्म अवलम्बन गर्नाले जहिल्यै पनि भय उत्पन्न भइरहन्छ । 

यस श्लोकले धर्मलाई निहित गुण अथवा जन्मसिद्ध प्राकृतिक गुणका रूपमा स्थापित गरेको छ । जो जन्मदै धारित हुन्छ त्यही नै धर्म हुन्छ । धर्मले धारण गरेर राख्दछ । हावा–पानी इत्यादि सबैको आआफ्नै धर्म हुन्छ । हावाको धर्म पानीमा स¥यो अथवा पानीले हावाको धर्म अवलम्बन ग¥यो भने प्रकृतिमा प्रतिकूल र विषम परिस्थिति उत्पन्न हुन्छ । फेरि पानीलाई हावाका सबै कला, गुण र धर्म थाहा नहुने हुँदा त्यसले मञ्चन गर्ने भनेको नक्कली हो, अभिनयमात्रै हो, जन्मजात स्वभाव होइन । 

अभिनय गर्ने कलाकार जहिल्यै पनि त्रासमै हुन्छ, कतै मेरो अभिनय फितलो पो भयो कि, अथवा कतै ‘ओभर एक्टिङ’ पो भयो कि, ठिक्क हुँदा पनि स्वाभाविक अभिव्यक्ति पो भएन कि इत्यादि । त्यही ठाउँमा जुन कलाकारिता देखाउनुपर्ने हो, त्यही काम नित्य रूपले गर्दै आएको व्यक्तिले त्यो भूमिका निर्वाह गरे भने अत्यन्तै स्वाभाविक र प्राकृतिक हुन आउँछ । त्यसले गर्दा आफूमा गुणै नभएको धर्म भए पनि त्यही नै स्वाभाविक र निर्भयकारी हुन्छ । 

त्रासदी भनेकै कालको अर्को रूप हो । अर्काको धर्म अवलम्बन गर्नाले मनमा शान्ति मिल्दैन । अर्थात् युधिष्ठिरको धर्म अर्जुनले धारण गरे भने महाभारत सम्भव छैन । धर्म निर्वाह गर्नु नै कर्म हो । सबै जनाले आआफ्नो कर्म (धर्म) गर्दा त्यसैबाट सिद्धि प्राप्त भई क्रम–मुक्ति हुन्छ भनेर फेरि अर्को श्लोकमा भगवान यसरी भन्नुहुन्छ– 

स्वे स्वे कर्मण्यभिरतः संसिद्धिं लभते नरः ।

स्वकर्मनिरतः सिद्धिं यथा विन्दति तच्छृणु ।। (१८।४५ )

भावार्थ ः आआफ्नो स्वाभाविक कर्म नित्य रूपले गर्दै जाँदा भगवद् सिद्धि प्राप्त हुन्छ । त्यो कर्मबाट कसरी सिद्धि प्राप्त हुन्छ भन्ने कुरा अब सुन । 

यति भनेर भगवान जात र कर्मको महिमा अर्को श्लोकमा प्रष्ट्याउनु हुन्छ ।

धर्मको महिमा निरन्तर स्थापित भएपश्चात मनुस्मृतिमा निम्न श्लोकबाट धर्मको रक्षाको कडी स्थापित गरिएको छ– 

धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः । 

तस्माद् धर्मो नहन्तव्यो मा नो धर्मो हतोकवधीत् ।। (८।१५) 

भावार्थ ः धर्मको नास गर्नाले आफ्नै सर्वनास हुन्छ, धर्मको रक्षा गर्नाले धर्मले आफ्नो पनि रक्षा गर्दछ । त्यसो भएका हुनाले धर्मको नास हुने कर्म कहिल्यै नगर्नू अनि धर्मले पनि आफ्नो हानी गर्दैन । 

प्रकारान्तरले धर्म भनेको आफ्नै रक्षा कवच हो भन्ने सिद्धान्त यहाँ प्रतिपादन गरिएको छ ।

एउटा उदाहरण लिऔं । यदि सिंहले आफ्नो धर्मको नास गरेर अरूको धर्म अवलम्बन गरेर शाकाहारी भयो भने प्रकारान्तरले उसले आफ्नै विनाश गरिरहेको हुन्छ किनकि सिंह मांसाहारी जनावर हो । कथं कदाचित घाँस खाइहालेछ भने त्यो घाँस पचाउने सामथ्र्य त्यो सिंहमा हुँदैन । 

यसरी आफ्नो धर्म नास गर्नाले आफ्नै विनाश निश्चित छ भनेर धर्मको महिमा प्रष्ट्याइएको छ ।

धर्म व्यापक, सम्प्रभु, समर्थ र क्रियावान हुन्छ । चाणक्य नीतिमा आचार्य चाणक्य (विष्णु गुप्त) ले धर्मको स्थिरतासम्बन्धी यसरी भनेका छन्– 

चला लक्ष्मीश्चलाः प्राणाश्चले जीवितमन्दिरे । 

चलाचले च संसारे धर्म एको हि निश्चलः ।। (चाणक्यनीति ५।२०)

भावार्थ ः सबै चिज चलायमान छन्, लक्ष्मी अर्थात् सम्पति चलायमान छ, आज आउँछ भोलि सकिन्छ । प्राण पनि चलायमान छ, एकदिन यो जीवित मन्दिर पनि प्राणरहित हुन्छ, यो पनि सकिन्छ । संसार सबै चलायमान छ, धर्म एउटामात्रै निश्चल छ, स्थिर छ । जति पुस्तापछि जन्मे पनि बाघले घाँस खाँदैन र हजारौं वर्षपछि पनि पानीबाट दीप प्रज्ज्वलित गर्न सकिँदैन । यो नै धर्मको स्थिरता हो । 

सनातन सम्प्रदायका मानिसहरूले धर्मको सिद्धान्त अवलम्बन गर्ने गर्दछन् । 

रिलिजियन ः 

रिलिजियन अंग्रेजी शब्द भएको हुनाले माथि उल्लेख गरिएको अर्थ पुनः उल्लेखित गर्नु सान्दर्भिक देखिन्छ । कुनै पराभौतिक शक्ति अर्थात् ईश्वरीय स्वरूपको पूजा वा आराधना अथवा विश्वास, निश्चित विश्वास वा पूजा पद्धति नै रिलिजियन हो । अब यहाँ पुगेपश्चात रिलिजियन शब्दको अर्थ सुहाउँदो हाम्रो शब्द ‘सम्प्रदाय’ अथवा ‘मत’ प्रयोग गर्न सकिन्छ किन भने दुवै शब्द (सम्प्रदाय र मत) ले रिलिजियन को सिद्धान्त अवलम्बन गर्दछन् । 

सम्प्रदाय निश्चित मानव समुदायमा आधारित र विशिष्ट पद्धतिबाट परिचालित हुन्छ । सम्प्रदायहरूले साम्प्रदायिक धर्मको अवलम्बन गरेका हुन्छन् । सनातन सम्प्रदायभित्र पनि हजारौं उपसम्प्रदायहरू छन् । सनातन सम्प्रदायलाई आजभोलि हिन्दू भन्ने गरिएको छ । हिन्दूले धर्म मान्दछन् अर्थात हिन्दू सम्प्रदायको रिलिजियन भनेको धर्म हो । हिन्दू भनेको धर्म होइन, सम्प्रदाय हो । धर्मको अवलम्बन गर्ने भएका हुनाले हिन्दू सम्प्रदायलाई ‘हिन्दू धर्मावलम्बी’ भन्न सकिन्छ । भिन्न भिन्न मत र सिद्धान्त प्रतिपादित भए सँगसँगै भिन्न भिन्न सम्प्रदायहरूको अस्तित्व स्थापित हुनगयो । अलग अलग सम्प्रदायको पद्धति (सिष्टम) अलग अलग नै हुन्छ । एउटा सम्प्रदायले अर्को सम्प्रदायको पद्धति र प्रक्रिया अथवा मतसँग विमति राख्दछ । 

राज्यको धर्म ः महाभारतको सम्पूर्ण युद्ध यसैको सेरोफेरोमा भएको छ, राज्यको धर्म, राजाको धर्म, प्रजाको धर्म, सेनाको धर्म, गुरुको धर्म इत्यादि । 

मनुस्मृति र चाणक्यसूत्राणि दुवै ग्रन्थले राज्यको धर्मका विषयमा प्रष्ट्याएका छन् । जसअनुसार एउटा राज्यको धर्म भनेको आफ्ना प्रजा (आजकाल जनता, नागरिक) को धर्मको रक्षा गर्नु र उनीहरूलाई धर्मबाट च्युत हुन नदिनु हो । धर्मको निरन्तरता अमनचैन र विधिको व्यवस्थाको कडीका रूपमा स्थापित भएको हुँदा राज्य धर्मरहित रहन सक्दैन । राज्यले प्रजा, सीमा, सम्पदा इत्यादि धारण गरेर राख्ने हुनाले राज्यको धर्म स्थापित हुन्छ । 

हाल नेपालमा चलिरहेको बहस धर्म निरपेक्ष र सापेक्षको हो । यो बहसको प्रकृति नियाल्दा सम्प्रदाय अर्थात् मत सापेक्ष अथवा निरपेक्ष भन्ने बुझिन आउँछ । एउटा राज्यभित्र हजारौं सम्प्रदायका मानिसहरू बसोबास गर्दछन् । राज्यका निमित्त सबै नागरिक समान हुनु पर्दछ । कुनै सम्प्रदाय, गुण, दोष, संख्या, विशेषण, पहिचान, पैतृक शृंखला इत्यादिका कारणले राज्यले आफ्ना नागरिकबीच विभेद गर्नु राज्यको धर्म विपरीत कुरो हो । विभेद गरियो भने राज्यको नै विनाश हुन्छ । 

राज्यले सर्वोपरि धर्म अवलम्बन गर्नु यसर्थ अवश्यम्भावी छ तर राज्य ‘सम्प्रदाय’ अर्थात् ‘मत’ निरपेक्ष रहनु पर्दछ । हिन्दू, इस्लाम, इसाई, बौद्ध, किराँत इत्यादि कुनै पनि मत अथवा सम्प्रदायको पृष्ठपोषण हुने अवस्था सृजना हुन दिनु हुँदैन । सनातन सम्प्रदायले धर्मको सिद्धान्त प्रतिपादन गरेको हुनाले राज्यले सनातनले निदिष्ट गरेको धर्मको नै पालना गर्दा उपयुक्त देखिन्छ । सनातन अर्थात् हिन्दूहरू धर्मावलम्बी भएका हुनाले राज्य पनि ‘धर्मावलम्बी’ नै हुनु श्रेयस्कर देखिन्छ । 

सनातनको तुलनामा अन्य कुनै पनि सम्प्रदायले राज्यलाई राज्यको धर्म पालना गर्ने अवसर प्रदान गरेको देखिँदैन । त्यसो भएका हुनाले नै ‘सेक्युलरिज्म’ को अवधारणा विकसित भएको हो । राज्य भनेको मान्छे, सिमाना र भूगोलमात्रै होइन । यसको मौलिकता, संस्कृति, धर्म, रीतिरिवाज, परम्परा, सम्प्रदाय इत्यादि राज्यका प्राण हुन् । यो संस्कृति र परम्परा जोगाएर राख्नु राज्यको सर्वोपरि दायित्व हो । यी लोप भए राज्य पनि लोप हुन्छ । साम्प्रदायिक सहिष्णुता र सामाजिक व्यवस्था बचाउँदै निरन्तर विकासपथ अँगाल्नु राज्यको धर्म हो ।

यस दृष्टिकोणबाट हेर्दा नेपाल हजारौं वर्ष पुरानो मौलिक सभ्यता र संस्कृतिसँगै विकसित भएको साम्प्रदायिक सहिष्णुताको जीवन्त उदाहरण हो । यो हिन्दूराज्य हुँदा आजसम्मको अवस्थामा आइपुगेको प्रमाणित इतिहास छ । राज्य यदि धर्म निरपेक्ष भयो भने उदण्डता फस्टाउने र राज्यको विनाश हुने अवश्यम्भावी छ । राज्यले आफ्नो धर्म पालन गर्नुको कुनै विकल्प छैन । हिन्दू सम्प्रदायले सम्पूर्ण जीव र जगतको सर्वोपरि सिद्धान्तको प्रतिपादन गरी स्वतन्त्र राज्यको धर्मसहितको अवधारणाको सुनिश्चितता गरेका हुनाले हिन्दू राज्य नै सम्प्रदाय निरपेक्ष राज्य हुन आउँछ । 

नेपाल हिन्दूराज्य रहँदा संस्कृति र सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा सम्बर्धन हुनुका साथ साथै साम्प्रदायिक सहिष्णुतासमेत सुमधुर हुने देखिन्छ । हिन्दूराज्य हुँदाको अर्को सबल पक्ष भनेको यसले हिन्दू सम्प्रदायलाई उत्तरदायी र जवाफदेही बनाउँदै अरू सम्प्रदायहरूमा समभावको विकास गर्दछ । झण्डै ८१ प्रतिशत जनसंख्या उत्तरदायी र जिम्मेवार हुनु भनेको दीर्घकालीन शान्ति र विकास सुनिश्चित हुनु हो । 

अहिले बहकाउमा आएर अथवा संस्कृतिविरोधी र साम्प्रदायिक उपनिवेश स्थापना गर्न हिँडेका मिसनरीहरूको कुरो सुनेर राज्य धर्म निरपेक्ष घोषणा भए पनि दीर्घकालीन आन्तरिक कलह हुँदै समाप्तिको मार्गतर्फ अग्रसर हुन सक्दछ । 

यसर्थ नेपालको शान्ति, विकास र स्थायित्वका निमित्त हिन्दू राज्यको सुनिश्चितता गर्नु अपरिहार्य छ । राज्य यसतर्फ अघि बढ्नुपर्छ । धर्मो रक्षति रक्षितः ।