22nd June | 2018 | Friday | 10:51:39 PM

अर्थतन्त्रमा गतिलो खुराक

निनाम लोवात्ती कुलुङ   POSTED ON : Saturday, 13 January, 2018 (12:28:36 PM)

अर्थतन्त्रमा गतिलो खुराक

 साँच्चै भन्ने हो भने हालसम्म पनि नेपालमा अर्थतन्त्रबारे नेपाली भाषामै लेखिएका किताबको निकै कमी छ । त्यसमाथि समग्र नेपालको अर्थतन्त्रलाई नै आधार मानेर लेखिएको नेपाली किताबको त एक प्रकारको खडेरी नै छ भन्दा अत्युक्ति नहोला ।

यसै मेसोमा आर्थिक पत्रिका ‘कारोबार दैनिक’ मा कार्यरत पत्रकार गजेन्द्र बुढाथोकीले गतवर्ष आफ्नो दोस्रो किताबका रूपमा ‘समकालीन नेपाली अर्थतन्त्र’ नामक किताब बजारमा ल्याएका छन् । उक्त किताब सांग्रिला बुक्सले प्रकाशन गरेको हो । यसअघि गजेन्द्रले ‘आर्थिक उदारीकरणका २० वर्ष’ नामक अर्थतन्त्रसँग सम्बन्धित किताब प्रकाशित गरिसकेका छन् । उसो त कारोबार दैनिकका पाठकहरूलाई थाहा भएकै कुरो हो कि, ‘समकालीन नेपाली अर्थतन्त्र’ किताबका लेखक बुढाथोकी ‘बेसलाइन’ स्तम्भअन्तर्गत हरेक साताको मंगलबार ‘कारोबार दैनिक’ मा लेख लेख्ने गर्छन् । 

लेखकले ‘समकालीन नेपाली अर्थतन्त्र’ मा विभिन्न शीर्षकमा आर्थिक पक्षका विविध विषय समेटेका छन् । तिनमा आवश्यकता अनुसार उपशीर्षकहरू पनि रहेका छन् । वास्तवमा लेखकले ‘समकालीन नेपाली अर्थतन्त्र’ नामक किताबमा समेटेका÷उठाएका हरेक विषयहरू समयसाक्षेप, सान्दर्भिक, जानकारीमूलक र मननयोग्य छन् । उनको आत्मनिर्भर अर्थतन्त्रका आधार, आर्थिक उदारीकरण ः एक सिंहावलोकन, नेपालमा गरिबी, कृषिमा बहुआयामिक सम्भावना, वन्यजन्य अर्थतन्त्र, ऊर्जा ः श्वेत सुनको उपयोग, पर्यटन ः अथाह सम्भावना, वित्तीय प्रणाली ः अस्वाभाविक वृद्धि, पेट्रोलियमको अर्थ–राजनीति आदि भागहरू पढ्दा नेपालको अर्थतन्त्रमा साधारण रुचि भएका वा रुचि राख्ने पाठकहरूले नेपालको वास्तविक अर्थतन्त्रको तस्वीर देख्ने छन् । 

लेखकले यो किताब लेख्ने क्रममा कतिसम्म मिहिनेत गरेका छन् भने, हरेक विषयलाई सकेसम्म मिहिन ढंगले केलाएका छन्, विश्लेषण गरेका छन्, सकेसम्म विषगतरूपमा पाठकहरूलाई जानकारी दिनुपर्ने लेखको दायित्व भुलेका छैनन् । यसमा लेखक बुढाथोकीले विशेष ध्यान दिएका छन् । जस्तो कि, पेट्रोलियमको अर्थ–राजनीति भाग–१४ मा लेखेका छन्– नेपालको कुल क्षेत्रफलको ३७ प्रतिशत भूभागमा खनिज तेल रहेको विभिन्न अध्ययनले देखाएको छ । पेट्रोलियम उत्खनन् गरेर प्रशोधन गर्न सकिएमा कम्तिमा २० देखि २५ प्रतिशत पेट्रोलिय बिल घट्ने विज्ञहरू बताउँछन् तर यो कार्य भने सजिलो छैन । 

त्यस्तै लेखकले किताबको सबैभन्दा पुछारमा राखेको ‘आधुनिक नेपाली अर्थतन्त्रका केही घटनाक्रम’ र नेपालको कुल गार्हस्थ उत्पादनको तालिकाले विक्रम संवत् १९५२ मा १२ जिल्ला र २३ तहसिलमा नेपालमा प्रशासनिक विभाजन भएकोदेखि लिएर आर्थिक वर्ष २०७२÷७३ सम्मको नेपालको कुल गार्हस्थ उत्पादनसम्मको जानकारी समेटेका छन् । जुन कुरो सर्वसाधारण पाठकहरूका लागि मात्रै नभएर सम्बन्धित विषयमा जानकारी राख्न चाहने पाठकहरूलाई समेत उपयोगी तालिका भएको छ । यसरी ‘समकालीन नेपाली अर्थतन्त्र’ नामक किताबलाई हालसम्मको नेपालको अर्थतन्त्रको सम्बन्धमा नेपाली भाषामा लेखेको इन्साइक्लोपेडिया नै भन्दा फरक नपर्ला । 

बुढाथोकीको किताबमा खोट नै नभएको पनि होइन । के भन्ने गरिन्छ भने, सयमा सय प्रतिशत विज्ञानले पनि स्वीकार गर्दैन । त्यस्तै लेखक बुढाथोकीको सानातिना कमजोरीको बाबजुद किताब बेजोड छ भन्दा अतिशयोक्ति हुँदैन । यो प्रसंग किन उठाएको हो भने, लेखक बुढाथोकीले विश्वमा रहेका र हालसम्म मान्यता प्राप्त आठ हजार मिटरभन्दा माथिका १४ वटा हिमालहरूका सम्बन्धमा लेख्ने क्रममा नेपालमा नौवटा विश्वका अग्ला हिमाल भएको भनी लेखेका छन् । नेपालमा रहेका विश्वका आठ हजार मिटरभन्दा माथिका मान्यता प्राप्त हिमालमध्ये हाल आठवटा रहेको छ भने, ८०९१ मिटर अग्लो अन्नपूर्ण–१ हिमाल विश्वको नवौं अग्लो हिमाल नभएर दशौं अग्लो हो । बाँकी रहेको आठ हजार मिटरभन्दा माथिका ६ वटामा एउटा चीनको स्वशासित क्षेत्र तिब्बतमा (१४ औं अग्लो सिसापाङ्मा, ८०२७ मिटर) अरू पाँचवटा विश्वकै दोस्रो अग्लो (के टु, ८६११ मिटर), नवौं अग्लो (नाङ्गा पर्वत, ८१२६ मिटर), ११ औं (गासेरब्रुम–१, ८०८० मिटर) १२ औं (ब्रोड पिक ८०५१ मिटर) र, १३ औं गासेरब्रुम–२, ८०३४ मिटर पाकिस्तानमा रहेको छ । 


त्यसो त निकट भविष्यमै अरू पाँचवटा हिमालले आठ हजार मिटरभन्दा अग्लो हिमालको मान्यता पाउँदैछन् । संयोगले ती पाँचवटै हिमालहरू नेपालमा रहेका छन् । 

हुन त अर्थशास्त्री तथा प्राध्यापक डा. विश्वम्भर प्याकुरेलले ‘समकालीन नेपाली अर्थतन्त्र’ नामक किताबका बारेमा मन्तव्य लेख्नेक्रममा भनेझैं ‘...आर्थिक इतिहासका वैचारिक पक्ष समेटिएका कृतिहरू नगन्यमात्र प्राप्त गर्छौं । आर्थिक विकासको इतिहासको सुक्ष्म अध्ययन नगरी विभिन्न समयावधिमा कुन कारणले आर्थिक नियम र मान्यताको तर्जुमा गरियो, यस्ता परिवर्तित मान्यताले अर्थतन्त्र तथा मानिसको जीवनमा के–कस्तो प्रभाव पा¥यो, पहिल्याउन मुस्किल हुन्छ, यो परिप्रेक्ष्यमा लेखकको प्रयास प्रशंसनीय छ ।’ 

त्यस्तै योजनाविद् तथा राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले भनेझैं यस पुस्तकमा समावेश भएका विषयवस्तुले समग्र अर्थतन्त्रको झलक र प्रवृत्ति जाहेर गर्छ नै । त्यसैले नेपालको अर्थराजनीतिमा चासो राख्नेहरूका लागि यो पुस्तक एक गतिलो सन्दर्भ सामग्रीको रूपमा आएको छ भन्दा फरक पर्दैन । खासगरी अर्थशास्त्रका विद्यार्थी, लोकसेवा आयोगको परीक्षाको तयारीमा लाग्ने अर्थशास्त्र इतरका विद्यार्थी र नीति निर्माताका लागि पनि सूचना सामग्रीको स्रोतका रूपमा पुस्तकले पर्याप्त सहयोग पु¥याउने देखिन्छ । 

एवम् प्रकारले आगामी दिनमा आर्थिक पत्रकार तथा लेखक बुढाथोकीले हालसम्म प्रकाशित भएका दुई किताबभन्दा पनि गहकिलो र पठन योग्य किताबहरू प्रकाशित गरून्÷लेखुन् भन्ने अग्रिम शुभकामना छ ।