18th February | 2018 | Sunday | 5:06:41 AM

नेपालीको भावनात्मक एकता

स्वयम्भूनाथ कार्की   POSTED ON : Monday, 12 February, 2018 (3:00:40 PM)

नेपालीको भावनात्मक एकता

झन्डै पौने तीन शताब्दी नेपालीको परिचय बोकेर बसेका नेपालीलाई अहिले भ्रममा पारिएको छ । यसै भ्रमजालअन्तर्गत विगतलाई सराप्ने र गाली गर्ने क्रममा सबैभन्दा धेरै भनिएको कुरा हो– नेपालको भौगोलिक एकीकरण त भयो तर भावनात्मक एकीकरण भएन ।

यो भ्रमजाललाई अग्रगामी हुने सोचमा युवापुस्ताले यसैरूपमा स्वीकार गर्दैछ । यो भ्रमजाल तोडेर गलत तथ्यलाई सच्याउन युवापुस्ता र जिम्मेवार व्यक्तिहरूले आवश्यक नै ठानेनन्् । 

हाल यो गल्ती सच्याउनु गलत वा सही के थियो त्यो विवेचन नै गर्नु नपर्ने गरेर नेपालीको भावनात्मक एकता टुट्ने क्रममा छ । आफूमात्र सही र आफूबाहेक अरू गलत भन्ने सोच यस रूपले बढ्दै गएको छ कि एकताको पक्षमा कुरा उठाउने प्रयत्नले स्थान पायो भने त्यो अचम्म मान्नुपर्ने हुन्छ । 

 विगत एक दशकमा नेपाल र नेपालीले भोगेका र वर्तमानमा उत्कर्षमा भएको भावनात्मक एकतामाथिको प्रहारले नेपालको भौगोलिक एकीकरण भएको होइन रहेछ भन्ने सावित गरिदिएको छ । जानेर होस् वा नजानेर यो एकतामा हानी सबैबाट हानी पु¥याइँदैछ । के कस्ता शब्द वा अभिव्यक्तिले नेपालको साम्प्रदायिक सौहार्दतामा आक्रमण गर्न सक्छ र कस्तो अभिव्यक्तिले यसमा सम्मान पुग्छ भन्ने हेक्का राख्न कसैले पनि आवश्यक सम्झेका छैनन् । कोभन्दा को कमको शैलीमा एकअर्कामाथि कठोर शब्दबाण प्रयोग गर्न खोजिन्छ । यसबाट हाम्रो यो मानसिकतालाई अझै समस्याग्रस्त बनाइदिन्छ र यो झन जटिल हुनपुग्छ । तर, यस्तो हु“दा पनि आफू नेपाली भएको भाव समाप्त हुन पाएको छैन तर थिलथिलो भने भएको छ । यसले प्रष्ट हुन्छ नेपालको भावनात्मक एकता अझै बलियो रहेछ ।

कालो बादलमा चा“दीको घेरासरह केही नेपालीहरू आफू आलोचनाको तारो भएर अनेकांै प्रकारका मानसिक तथा शारीरिक प्रहार खपेर भए पनि यो एकतामा बल पु¥याउने काममा प्रयासरत छन् । यो निराशाबीचको आशाको किरण पनि हो । खुलारूपले विखण्डनको पक्षमा अभियान चलाउनेहरूको अभिनन्दन गर्नेहरू ठूला मानिँदैछन् । एकीकरण भनियोस् वा विलय त्यो नै गलत र अपराध कर्म थियो भन्नेहरू विद्वानमा गनिने आत्मघाती काम नेपालमा हु“दैछ । यस्तो कुरा नेपालबाहेक अन्य कुनै मुलुकले सहन नै गर्दैनन् । भारतकै उदाहरण लिँदा पनि सन् १९४७ मा गठन भएको भारतमा आत्मानुशासन राखेर एकतामा खलल पार्ने वा विखण्डनको कुरा गर्नेहरूलाई कुनै सञ्चारमाध्यमले स्थान नै दिनैनन् । समाजले पनि त्यस्ताको प्रशंसा होइन विरोध गर्छ । भारतमा नेपालमाभन्दा वैचारिक र अभिव्यक्तिगत स्वतन्त्रता कम छ र ? त्यसैले उनीहरूले नागरिकले मुलुकप्रतिको कर्तव्य पालन गरेको अर्थमा हामीले यसलाई बुझ्न सक्छौँ । 

एक जाति या समुदायले अर्को जाति या समुदायलाई कुनै घटनाको कारणले दोष दिने गलत अभ्यास हु“दैछ हामीकहाँ । यो अभ्यासमा मलजल गर्न अनेकांै विदेशी संस्थाहरू तल्लीन छन् । उनीहरू यस प्रकारका काम पहिले लुकेर गर्थे भने अहिले खुल्लमखुल्ला रूपमा गरिरहेका छन् । असल र खराव विशेषता हरेक जातजातिमा हुन्छन्, हरेक समुदायमा हुन्छन् । कुनै सदस्यको खराब आचरणलाई कारण बनाएर सम्पूर्ण समुदाय या भूगोललाई दोषारोपण गर्न उचित हु“दैन । नेपालको विकासक्रममा हरेक क्षेत्र तथा समुदायले उल्लेख्य योगदान दिएका छन् । त्यसै गरेर वर्तमान  विषम परिस्थितिको कारक पनि हरेक क्षेत्र समुदायका केही खराब सदस्य नै हुन् । क्षेत्र वा समुदाय होइनन् असल र खराबी गर्नेहरू छुट्याउनु नै आजको आवश्यकता हो । 


जो व्यक्ति २०४७ ताका २१ वर्षको थियो र त्यस बेलाको कानुनअनुसार मतदान गर्न पाउने उमेरको भएको थियो त्यसले नेपालमा आजको जस्तो द्वेष र घृणाले ठाउँ पाउला भन्ने सोचेको पनि थिएन । त्यसबेला नेपाली हुनमा गर्व गर्नेहरूको बाहुल्य थियो चाहे देशको राजनीतिक आस्था जेसुकै होस् । वर्तमानमा त्यो पिँढी अर्धबैँसे भइसकेको छ । नेपाली नेपालीबीचको एकता पुनर्वहाली गर्ने उत्कण्ठा इच्छा राखेर पनि ज्यादा केही गर्नसक्ने अवस्थामा छैन । त्यसपछिका पिँढीमा अधिकांश नेपालीहरूमा भावनात्मक एकता कहिल्यै थिएन भन्ने ठान्नेहरू देखिएका छन् ।

यस्ता कुरालाई प्रश्रय दिने सामग्रीहरूमा र प्रचारप्रसारमा प्रसस्त लगानी भइरहेको छ । यसै कारणले पनि विदेशी मुद्रा नेपालमा आइरहेको छ । नेपाली अर्थतन्त्रमा यो अपवित्र प्रवेशले प्रसस्त असर पारेको छ । गार्हस्थ उत्पादन कहालीलाग्दो गरेर घट्दा पनि राजस्व संकलनमा वृद्धि भइरहेको छ । व्यापार घाटा डरलाग्दो विन्दुमा पुग्दा पनि विदेशी मुद्रा सञ्चय भइरहेको छ । यो सबै नेपाली अर्थतन्त्रमा यस्तै अपवित्र भुक्तानीको कारणले भएको छ । सुरुसुरुमा यसको कारण ‘रेमिट्यान्स’ भनिए पनि अहिले यो ऋणात्मक हु“दा पनि त्यसको असर देखिएको छैन । भर्खरै सम्पन्न निर्वाचनहरू पछि अर्थतन्त्रबाट तरलता हृवात्तै घटेको छ । अनुमान कठिन पनि हैन, किनभने त्यस्ता प्रचार सामग्रीको भेल कम भएको छ । के यो अहिलेलाई त्यस्ता सामग्रीको प्रचारमा लगानी घटको कारण हैन र ? सम्भवत त्यो अदृश्य हातले नेपालीको भावनात्मक एकता थिलथिलो भएकाले अहिले खर्च अनावश्यक ठानेको हुनसक्छ ।

त्यसैले पहिले थियो वा थिएन भन्ने बहस नगर्दा पनि अब भावनात्मक एकताको खा“चो छ । किनभने अहिले नेपालीको भवनात्मक एकता संकटको अवस्थामा छ, यो कुरा सत्य हो । यो फेरि इतिहास बनाउने बेला हो, भावनात्मक एकताको निमित्त अर्को पक्षले ग¥यो वा गरेन भनेर  दोषरोपणको साटो आफूले गर्नुपर्ने काम गर्ने हो । सबैले आआफ्ना जिम्मेवारी बहन गरे भने त्यो एकता पुनः बलियो बन्न कठिन पनि छैन । कुनै पनि अभिव्यक्ति मन नपर्ने बित्तिकै त्यसको खोइरो खन्ने वा यो त फलाना पक्षको पो रहेछ भनेर पूर्वाग्राही सोच राख्ने कुरा तल्लो श्रेणीका हुन् । 

यो मुलुक सबैको साझा हो, आपसमा अनेकौं असहमति हुन सक्छन् । अनेकौं आपसी द्वन्द्व हुन सक्छन् । ती असहमती वा द्वन्द्वले जन्माउने संघर्ष गर्ने भूमि त मुलुक नै हो । आज आफ्नो आवेशले मुलुकको अस्मिता, अखण्डतामा आ“च आउन सक्छ भनेर सोचिँदैन भने भोलि कुनै संघर्ष गर्ने थलो नरहन सक्छ । नेपालीले आफूबीचका हरेक लडाइँ नेपालकै आधारमा गर्ने हो । त्यसैले नेपाल रहनुपर्छ, नेपाली रहनुपर्छ भन्ने सोच विकास हुनैपर्छ । जसका निमित्त कसैले कसैसँग आत्मसमर्पण गर्नुपर्ने आवश्यकता छैन, केवल आफूले गरेको प्रहारले मुलुक कमजोर नहोस् भनेर सोचे पुग्छ । 

हरेक प्रकारको संघर्ष र त्यसमा गरिने प्रहार कडा नै होस् फरक पर्दैन । तर, एक समुदायले अर्को समुदायका केही खराबले गरेको कामको कारणले पूरै समुदायलाई दोषारोपण गर्नु हुँदैन । व्यक्ति व्यक्तिको दोष वा झगडा जाति वा समुदायबीचको झगडा होइन । त्यसैले केवल आफ्नो जात वा समुदायमा भएका कारण सही र अर्को जात वा समुदायमा भएका कारण गलत भन्ने मानसिकता छोडिनुपर्छ । 

यो कसैकसैको जु“गाको लडाइँमा वर्षौदेखिका छिमेकी नलागून् । कसैले पहाडी र मधेसी वा हिन्दू र मुसलमान भनेर ज्यान गुुमाउन नपरोस् । यसको निमित्त सबैले आफ्नो अभिव्यक्तिका शब्द चयनमा ध्यान पु¥याउनै पर्छ । राजनीतिभन्दा बाहेक पनि नागरिकको जीवन हुन्छ भन्ने सत्य स्वीकार गर्नैपर्छ ।

यहा“ मधेशी पहाडी भएर होइन नेपाली भएर बा“च्न चाहने जनताको बाहुल्य छ । यो पार्टीको वा त्यो पार्टीको होइन नेपालको हुन चाहनेको कमी पनि छैन । समुदाय रंग, वर्ण, पोशाकले अर्काको मुलुकप्रतिको आस्था र सद्भाव छुट्याएर काखी च्याप्ने वा दुत्कार्ने प्रवृतिको अन्त हुनैपर्छ । असल र खराब व्यक्ति छुट्याउनु पर्दछ । असललाई काखी च्याप्ने र खराबलाई दुत्कार्ने संस्कृतिको विकास गर्नै पर्दछ । चाहे त्यो खराबको समुदाय जे होस् त्यो त्याज्य हो र असल असलको समुदाय जे हो त्यो ग्राहृय हो । 

यही एकता कायम राखेकाले यहुदीहरूले त्यत्रो संहार सहेर पनि मुलुक प्राप्त गरे । प्यालेष्टाइनहरूको खोसिएको मुलुकले उनीहरूलाई समाप्त गर्न सकेन । सा“च्चै भन्ने हो भने देश नै नभएको राष्ट्रियता संसारले स्वीकार गर्न कर नै लाग्यो । आज हरेक मुलुकमा विश्वको सबैजसो मुलुक सानो रूपमा रहेको छ । 

दुबईमा नेपाली जम्मा भएको स्थान भूगोलबिनाको नेपाल हुन्छ । नेपालमा रहेका केही विदेशीहरू जम्मा हु“दा त्यहा“ भूगोलबिनाको उनीहरूको मुलुक बन्छ । हो यो अस्थायीरूपमा हुन्छ तर संसारमा कतै पनि सिक्किमका मानिसहरू जम्मा भएको स्थानमा भूगोलबिनाको सिक्किम बन्दैन । किनभने उनीहरूको त्यो आधार नै बा“की छैन । त्यसैले नेपाल रहनुपर्छ तबमात्र संसारभरि नेपाली रहन्छन्, नेपाल रहन नेपालीबीच भावनात्मक एकता रहनुपर्छ । यो एकताको पहिलो परिचय वा पहिचान नेपाली हो र त्यसपछिको परिचय अर्थात् पहिचान अफ्नो समुदाय हुन आवश्यक छ ।