22nd June | 2018 | Friday | 5:51:00 AM

जनयुद्ध, अपेक्षा र उपेक्षा

माधव घिमिरे ‘अटल’   POSTED ON : Tuesday, 13 February, 2018 (1:00:55 PM)

जनयुद्ध, अपेक्षा र उपेक्षा

मुलुक यतिबेला २३ औं जनयुद्ध स्मृति दिवस मनाइरहेको छ । मूलतः यो राज्यको सामन्तवादलाई मटियामेट पार्नका निम्ति आरम्भ गरिएको उक्त जनसमर सदा स्मरणीय रहनेछ, चाहे अभिष्ट जतिसुकै टाढिएको किन नहोस् । रूपमा ढलेको र सारमा फैलिएको सामान्तवाद आंशिकरूपमा पुँजीवादी आवरणमा अस्तित्वमा छ अहिले । र, यतिबेला जनयुद्धको गन्तव्य ‘गाउँको द्वारे र खोलाको माझी’ झैँ छ ।

जनयुद्धका नायकहरू यतिबेला चारतिर मुख फर्काएर बसेका छन् र पनि समरको व्याज खान दौडधूपमै छन् । जनसमरलाई आदर्शीकरण गर्न तँछाड मँछाड त छ परन्तु आत्सात गर्न सबै अनिच्छुक देखिन्छन् व्यवहारतः । यस्तो प्रतीत हुन्छ, मानौँ कि गर्नु अरू काम, भज्नू सधैँ श्रीसीताराम । गेरु वस्त्र लगाएर जोगी भनाइने अस्वस्थ प्रतिस्पर्धा चलेको छिपेको छैन किन्तु सोही प्रयत्नमा छन् नायकहरू । समाजवादी मकैका फुला पड्काएर पुँजीवादी हाँडी फुटाल्ने कसरतमा छन् केही तत्कालीन नायकहरू भने अन्य तमासेजस्ता देखिन्छन् । 

राज्य अर्धसामन्ती र अर्ध (?) औपनिवेशिक अवस्थामा थियो लगभग दुई दशकअघि । यतिबेला धेरथोर चित्र फेरिएकै छ राज्यको भलै चरित्र जस्ताको तस्तै किन नहोस् । बडो सवल नेतृत्व दिएका थिए क. प्रचण्डले जनयुद्धलाई । समरलाई सागर पार लगाउन उनले जुन माझी या अझ भनौँ क्याप्टेनको भूमिका निर्वाह गरे त्यो सलामयोग्य थियो, छ र रहेनछ । अनेक दुःख, पीडा, हण्डर आँधी, हुण्डरी खेप्दै नायकत्व प्रदान गर्नु कुनै चानचुने विषय थिएन । टाउकाको मोल तोकिएका थिए र कुनै पनि मूल्यमा राज्य उक्त जनयुद्ध निष्प्रभावी तुल्याउँदै आतंककारी कदम सिद्ध गर्न चाहन्थ्यो । उसले युद्ध तहसनहस पार्न हजारौँ हतकण्डा प्रयोग गरेकै पनि हो र परन्तु जनताको भरोसालाग्दो समर्थन प्राप्त उक्त विशाल समर सिध्याइदिने राज्यका हर्कत कायमावि हुन सकेनन् । फलतः मुक्तियुद्धको मुना चुँड्ने राज्यको अभीष्ट पूरा हुन पाएन । योद्धाहरूले हुड्कार बोले–तिमीहरूले ढोलको आवाज दबाउन सक्छौ, वीणाका तरङहरू पनि चुडाउन सक्छौ परन्तु चखेवाको संगीत टुटाउन सक्दैनौ । 

हो, आजादीका नादहरू लहरिरहे, कसैले रोक्न सकेन । 

यसबीच मस्र्याङ्दीमा धेरै पानी बगिसकेको छ । जहाँ अन्य धेरै दोर्दी र दरौदी बगे रगतका परन्तु किनारीकृत चोलाहरू बिलकुल फेरिएनन् । गोल्डस्टार लागउने केही धूर्तहरू वातानुकूलित गाडीमा गुड्ने र महलमा मोज गर्ने तहमा पुगे र आफूलाई परिवर्तनकारी समरको सुपरस्टार सोच्दैछन् भने वास्ताविक रूपमा जीवन उत्सर्ग गरेका र गर्न तम्सेकाहरू चिहिलबिहिल छन् । ठूलो संख्यामा तिनको दैनिकी शेखको उँट चराउन व्यस्त छ । रेगिस्तानमा, पलपल मृत्युको छायाँ देखेका ती मान्छेहरू अहिले अरबेली आकृति हेरेर बाँच्न अभिशप्त बनेका छन् । गोठ जसको निम्ति बनाइयो तिनैको पुच्छर बाहिर भएको विषम परिस्थिति मडारिएको छ यतिबेला । तिनका निम्ति कथित गणतन्त्र तातो पिँडालु बनेको छ, निल्नु र ओकल्नुको । यता मुक्तिको टाकुरा आरोहण गर्ने कसम खाएकाहरू आफ्नै घर अगाडिको तगारो नाघी अघि बढ्ने हिम्मत बटुल्न असमर्थ बन्दैछन् दिन परदिन र बर्सिंदैछन्, मुक्तिको निम्ति मृत्यु रोजेका महान् सपूतहरू आंशिक सहज परिस्थितिसँग जुध्नुको सट्टा सम्झौता गरी निजी ऐयासी जीवन बाँच्ने ध्याउन्नमा नायकहरू लागेको भान हुन्छ यतिबेला । 

बरु यतिबेला युद्धका प्राप्तिहरूको भारी त्यता बिसाउन खोजिँदैछ, जो विरुद्ध परिलक्षित थियो स्वयं युद्ध । ‘झम्के तिलहरी दिऊँला भनेर, कण्ठे बुलाकी दिऊँला भनेर हामीले माओवादीलाई राजनीतिमा ल्याएका होइनौँ’ भनेर कटाक्ष गर्नेहरूसँग मितेरी गाँसेर, गाला मिलाएर जनयुद्ध गलत थियो भन्ने सन्देश दिन खोजिएको त होइन भनेर निधार खुम्च्याउनेहरू वृद्धि हुँदैछन् । गोरु नाङ्गै हिँडेको देख्दा मलाई लाज लाग्दैन भन्नेहरू पनि बहादुरीपूर्वक कण्ठ जोड्ने अभियानमा कम्मर कसेका देखिन्छन् । ‘माका फुईसँग घुँडा टेक्नु पछाडिको अभीष्ट नबुझी पिरती गाँसियो भने हतारमा गरेको बिहे सावित हुनेछ यो एकता प्रयास । 

‘दुई माना दूध उम्लिएर एक पाथीको डेक्ची भरिएजस्तै माओवादी उम्लियो । उम्लिराखेको थियो, दूध थियो दुई मानामात्रै तर भ्रम प¥यो एकपाथीको । माओवादी पनि त्यस्तै हो’ भन्ने बुझाइमा पश्चातप भएरै एकता अघि सारिएको हो भने दुरासय नठानिएला अन्यथा छिर्के दाउमा हान्न खोजिएको हो भन्ने भविष्यले अर्को सबक सिकाउने नै छ । 

मितेरी गाँस्न आतुर माओवादी केन्द्रले हिजोका वाचा, देखाएका सपना, खाएका कसम र सोचेको मार्गचित्रबारे क गर्दैछ ? के समाजवाद अहिलेकै संरचनामा सम्भव छ ? अनि समाजवाद प्राप्तिको वैतरणी तर्दै गर्दा अहिले लिन लागेको बैसाखीले काम गर्ला ? शहीदका सपना कुल्चनु भनेको स्वयं असुुरक्षित राजमार्गको यात्रा गर्नु हो भन्नेमा जनसमरका नायकहरू बेखबर छन् भन्नु र सोच्नु मूढता होला कि ¤