18th September | 2018 | Tuesday | 10:07:16 PM

युवा पलायन वर्तमान समस्या

मुरारी ढुंगेल   POSTED ON : Monday, 12 March, 2018 (4:19:29 PM) Views: 0

युवा पलायन वर्तमान समस्या

नेपालबाट मासिक ५० हजार युवा रोजगार वा अध्ययनको सिलसिलामा विदेश जाने गरेको तथ्यांक छ । विदेशबाट केही समयको घर बिदामा स्वदेश फर्कनेको संख्याभन्दा विदेशिनेको संख्या धेरै नै बढी छ । देशका करिब ५० लाख युवा अहिले पनि विदेशी भूमिमा पसिना बगाइरहेको सरकारी तथ्यांक छ । यो तथ्यांकमा केही समयअघि देशको आधिकारिक निकायबाट सगर्व घोषणा भएको आँकडा हो । अध्ययन अथवा रोजगारीको खोजीमा विदेशिने कतिपय युवा विदेशमै घरजम गरेर बस्ने गरेका छन् । देशका लागि युवा पलायन ठूलो समस्याको रूपमा विकसित हुँदै गएको छ ।

नेपाली युवा विदेशिनुको प्रमुख कारण राजनीतिक वितृष्णा शिक्षित बेरोजगारी हो भन्दा अतिसयुक्ति नहोला । देशका युवा रोजगार तथा शिक्षा ग्रहण गर्ने उद्देश्यले विदेश भासिएका छन् । यसरी दक्ष तथा अर्धदक्ष युवाशक्तिको विदेश पलायनले भोलि देशको अवस्था के हुने हो भन्ने चिन्ता सरकारी निकायबाट लिइएको आभास पाइँदैन । उल्टै यहाँको सरकार अनि यहाँका राजनीतिकर्मी उनीहरूले विदेशबाट पठाएको रेमिट्यान्समा राजनीति गर्न उद्यत रहेका देखिन्छन् । 

देशको अस्थिर राजनीतिले गर्दा रोजगारी दिने उद्देश्यले हालसम्म कुनै उद्योगधन्दा, कलकारखाना खोलिएका छैनन् । देशमा विकास निर्माणका काम ठप्प भएका छन् । स्थिर राजनीतिको अभावले रोजगारीका अवसरहरू सिर्जना हुन सकेका छैनन् । भएका उद्योग, कलकारखाना पनि बन्द हुँदै जानु, नयाँ उद्योग स्थापनाका लागि वातावरण नबन्नु, स्वदेशमा श्रम बिक्री हुने क्षेत्र राजनीति हस्तक्षेपकै कारणले तहसनहस हुनुले युवा पलायनको डरलाग्दो अवस्था प्रतिविम्बित गरिदिएको छ । केही महिनाअघि सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम गठबन्धनले बहुमत पाएसँगै अबको सरकार स्थिर रहने आशा गर्न सकिन्छ । केही हप्ताअघि मात्र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका छन् । भाषणमा मात्र सधैं देशको समृद्धि देख्ने ओलीलाई अब जनताले व्यवहारमा लागू गरेको हेर्न चाहेका छन् । ओलीले आसन्न निर्वाचनमा वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्ने बताएका थिए । अब प्रधानमन्त्री भएपश्चात् उनले सदनमा दुईतिहाई विश्वासको मतसमेत पाएका छन् । यस घडीमा सदनमा उभिएर प्रधानमन्त्री ओलीले देश विकासका लागि आफू तत्पर रहेको भाषण गरिरहँदा नेपाली जनताले कालो रातमा चाँदीको घेरा देख्नु स्वभाविक हो । 

बहुदल प्राप्तिको लगभग ३० वर्ष विगतलाई हेर्दा नेपाली जनताले राज्यबाट अपेक्षित लाभ लिन सकेनन् । उल्टै पञ्चायती व्यवस्थाभन्दा नाजुकको अवस्था झेल्नु प¥यो भन्दा अतिशयुक्ति नहोला ¤ पञ्चायती व्यवस्थाभन्दा तुलनात्मक रूपमा बढी देखिएको भ्रष्टाचार, घुसखोरी, नातावाद कृपावादको विकृतिले आहत भई सोझासीधा नेपाली युवाले विदेश भासिनुको विकल्प देखेनन् । 

 हाल विदेशिएका युवाको दैनिक जीवनमा विदेशी रोजगारले आर्थिक सवालमा केही मात्रामा परिवर्तन ल्याएपनि उनीहरूको पारिवारिक जीवनस्तरमा सुधार आएपनि यो दीर्घकालीन समस्या समाधानको उपाय बन्न सक्दैन । यता सरकार उनीहरूको दीर्घकालीन समस्या सम्बोधन गर्नुको सट्टा उनीहरूबाट रेमिट्यान्स भिœयाउने कुरामा मात्रै उद्दत रहेको देखिनुले मुलुकको भावी दिन कस्तो हुने हो भन्नेमा सबै नेपाली नागरिकमा चिन्ता बढ्दो छ । देशमा रोजगारीको अभावको कारण आफ्नो श्रमशक्ति विदेशी भूमिमा बेच्न गएका युवाहरू त्यहाँ उत्पादनका साधन बनेका छन् । उनीहरूको मुख्य उद्देश्य नै केवल परिवारको दैनिक खर्च चलाउनमा सीमित हुन गएको छ । बिहान बेलुकाको छाक टारेर थोरै बचेखुचेको सम्पत्ति घर घडेरी र श्रीमतीको गहनापातमा सीमित हुन्छ । हातमा सीप र नाडीमा बल छउन्जेल कमाइ होला तर बुढेसकालमा के गरी जीवन चलाउनु भन्ने उनीहरूको चिन्ता छ । यौवन र क्षमता छउन्जेल परिवारबाट टाढा रही विदेशकै भूमिमा पसिना बगाउनुपर्ने गुनासोसहितको पीडा उनीहरूमा देखिन्छ ।

देशमा भएका राजनीतिक परिवर्तनले स्वदेशमा नै रोजगार पाइएला, देश समृद्धितिर अघि बढ्ला र रोजीरोटीको प्राप्तिसँगै स्वावलम्बी हुन सकिएला भन्ने युवा जमातमा राजनीतिक अस्थिरताको कारण निरासा छ । सबै प्रकारका परिवर्तनमा जोस–जाँगरसहित आन्दोलनमा होमिएका युवा आज रोजिरोटीका लागि विदेशिन विवश छन् । राज्यस्तरबाट दशकौंदेखि समुन्नत, समृद्ध र आधुनिक नेपाल निर्माण गर्ने परिकल्पनाका साथ थालनी भएका योजनाबद्ध विकास प्रयासले लामोसमय पार गर्दा पनि योजनाले मूर्तता पाउन सकिरहेको छैन । उल्टै करोडौँका योजनामा व्याप्त भ्रष्टाचारले युवाको आशामा तुसरापात गर्दै लगेको छ ।

हाम्रो देशमा आवश्यक नीति नियम, मानव अधिकार, शान्तिसुरक्षा, सेवा सुविधा, कामदारको बीमा सुविधा, ज्यालामा असमानता, कामदारलाई गरिने अनादर, शिक्षा, स्वास्थ्य सुविधाबाट बञ्चित, परिश्रमको आधारमा सुविधा नभएको कारणले गर्दा विदेशीहरूको लोभलाग्दो अवसरले नेपाली युवाहरूमा विदेशी आकर्षक बढ्ने गरेको हो । त्यहाँ आवश्यक सेवासुविधासहित विभिन्न कुराले युवाहरूलाई प्रवासले अल्झाइराखेको छ । हालसम्म देशमै केही हुन्छ कि, केही गर्न सकिन्छ कि भन्ने अपेक्षा हराउँदै गएको छ । 

अझैपनि देशमै रहेका युवाहरू शैक्षिक आर्थिक, सामाजिक, मानसिक समस्याबाट माथि उठ्न सकेका छैनन् । उनीहरूमा देशप्रेम तथा देशप्रति सकारात्मक भावना बढ्नुको सट्टा, वितृष्णा र नकारात्मक सोचको विकास हुँदै गएको पाइन्छ । यस प्रकारको वितृष्णाले भोलि देशलाई माया गर्नेहरूको कमी हुन सक्छ । देश हाँक्न सक्ने सक्षम जनशक्तिको अभाव खड्किन सक्छ । देशको जिम्मेवारी सम्हाल्नुपर्ने र देशलाई समृद्धितिर लैजानुपर्ने बेलामा युवाहरूमा अस्वाभाविकरूपमा बढ्दै गएको आक्रोश र असन्तुष्टिको भावनाले न त समृद्ध नेपाल बनाउने चाहना पूरा हुन्छ, न त युवाहरूको भविष्यको निमार्णको ग्यारेन्टी नै हुनसक्छ ।

देशमै रोजगारीका सम्भावनाहरूको पहिचान गरी युवा पलायनको डरलाग्दो अवस्थाको अन्त्य गरिनुपर्नेमा त्यो प्रभावकारी हुन सकेको छैन । बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका लागि नीति निर्माण, योजना निर्माण भए पनि उचित कार्यान्वयन हुन सकेको छैन । केवल राजनीतिक दलका कार्यकर्ता पोस्ने र पहुँच भएकाहरूको हालीमुहाली भएको गुनासो छ । युवाहरूलाई प्राथमिकताका साथ सहभागी गराइ उत्पादनमूलक खालका कुनै पनि कार्यक्रम सरकारले अघि सार्न सकेको छैन ।

आज देश निर्माणका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा युवाहरूलाई विदेश पलायनबाट कसरी रोक्न सकिन्छ भनेर सोच्ने बेला आएको छ । अझै पनि समय घर्किसकेको छैन । देशमा दिगो शान्ति सिर्जना गरी विदेशिएका युवालाई स्वदेशमै रोजगारीको व्यवस्थापनले निम्त्याउन सक्नुपर्दछ । हालसम्म स्वदेशमै रहेका युवाशक्तिलाई देशमा आवश्यकता अनुसारको रोजगार सिर्जना गरी युवाहरू स्वदेशमै बस्नसक्ने वातावरण बनाउनु आजको आवश्यकता हो । विद्यार्थीलाई दिइने सैद्धान्तिक शिक्षाले मात्र मुलुक समृद्ध बन्दैन, मुलुकको समृद्धिका लागि व्यावहारिक शिक्षा जरूरी हुन्छ । सरकारले व्यावहारिक शिक्षामा बढीभन्दा बढी लगानी गरेर यही देशलाई कर्मथलो बनाउन सक्ने वातावरण बनाउन सक्नुपर्दछ । 

हरेक युवा कुनै न कुनै कामका लागि सक्षम हुन्छन्, उनीहरूको साहस र क्षमता सम्बोधन गर्नुपर्छ, त्यो साहस र क्षमता प्रदर्शित गर्ने अवसरबाटबाट वञ्चित हुननदिनु सरकारको दायित्वभित्र पर्छ । देशको राजनीतिक गतिविधिबाट असन्तोषको भावनाले ग्रसित युवा जमातलाई उत्पादनमुखी सेवामा प्रोत्साहित गर्नु नयाँ सरकारको प्राथमिकता बन्न सकोस् ।