18th September | 2018 | Tuesday | 8:58:29 PM

कसीमा अर्थमन्त्री डा. खतिवडा

रिसव गौतम   POSTED ON : Tuesday, 13 March, 2018 (3:44:43 PM) Views: 0

कसीमा अर्थमन्त्री डा. खतिवडा

नयाँ संघीय संविधान निर्माण भएर त्यसको कार्यान्वयनको चरणमा बनेको दुई तिहाइभन्दा बढी बहुमतसिद्ध नयाँ सरकारमा अर्थमन्त्रीको रूपमा जानेमानेका अर्थशास्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । अर्थतन्त्रविज्ञ एवं नेपाल राष्ट्रबैंक तथा राष्ट्रिय योजना आयोगको नेतृत्वसमेत सहृमालिसकेका खतिवडाको नियुक्तिलाई लिएर धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । निश्चिय पनि राम्रो गर्नसक्ने, विगतमा पनि केही गरेर देखाएका व्यक्तिले महŒवपूर्ण पदमा अवसर पाउनु देशकै लागि हितकर छ । देशलाई एक कुशल नेतृत्व दिनसक्ने अर्थमन्त्री चाहिएको थियो । केही वर्षयता अर्थमन्त्रालय कुल नेतृत्वको अभावमा गुज्रिँदै थियो । 

अहिले देशमा केन्द्रीकृत राज्यव्यवस्था परिर्वतित भएर संघीय ढाँचाको विकेन्द्रीकृत पद्धतिको त सुरुवात भएको छ तर राज्यको आर्थिक हैसियत परिवर्तन भएको छैन । परनिर्भरतामा परिवर्तन भएको छैन । बरू राज्यको खर्च बढेको छ । राज्यप्रणाली सञ्चालन गर्न बढी खर्च लाग्ने भएको छ । साधारण खर्चको भार असाधारणरूपले बढ्दैछ, त्यही आधारमा पुँजीगत खर्च घट्दो छ । त्यसकारण मुलुक झन् बढी चुनौतीपूर्ण अवस्थामा छ । यदि संघीय सरकार सञ्चालन र विकास खर्च पर्याप्त हुनसकेन भने व्यवस्था परिवर्तनले मात्र कुनै अर्थ राख्दैन । फेरि यही व्यवस्थाविरुद्ध आवाजहरू उठन् सक्छन् । त्यसकारण संघीयतामा खर्चको व्यवस्थापन गर्दै मुलुकलाई विकासको दिशामा शीघ्र अगाडि बढाउनुपर्ने चुनौती सरकारसामु छ । यस्तो चुनौतीको घडीमा वाम सरकारका प्रधानमन्त्री केपी ओलीले गैरराजनीतिक क्षेत्रका दक्ष व्यक्तिलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएर राम्रो सन्देश दिएका छन् । 

नेपाल राष्ट्र बैंकका गभर्नर भएर काम गरिसकेका खतिवडा सोही संस्थाको अनुसन्धान विभागसमेत सहृमालेका व्यक्तित्व हुन् । खतिवडाले छोटो समय राष्ट्रिय योजना आयोगमा बसेर काम गरिसकेका छन् । त्यतिमात्र नभएर उनले अन्तर्राष्ट्रिय संघसंस्थामा समेत काम गरिसकेका छन् । त्यस क्रममा खतिवडाले राम्रै काम गरेका हुन् । मिडियामा पनि उनको कामको सराहना भएको हो । खासगरी लामो समय नेपाल राष्ट्र बैंकमा रहेर काम गरेका उनले राष्ट्र बैंकलाई अब्बल संस्था बनाउन महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । गभर्नर भएपछि उनले चालेका कदमका लागि पनि उनी प्रशंसित भए । मुलुकमा अहिलेको समयमा सबैभन्दा प्रभावकारी मानिएका बैंक तथा वित्तीय क्षेत्रलाई अनुशासित, मर्यादित एवं व्यावसायिक बनाउने काममा खतिवडाको निकै राम्रो योगदान छ । खासगरी खतिवडाले आफ्नो कार्यकालमा घरजग्गासम्बन्धी ऋणलाई कडाइ गरेका थिए । त्यसले पनि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको थियो । यसर्थ विगतमा पनि केही गरेका एक अनुभवी व्यक्तिसँग आममानिसले आश गर्नु स्वाभाविक हो ।

विगतमाझै यसपटक पनि अर्थमन्त्रीले उत्पादनमूलक क्षेत्रमा नै जोड दिएका छन् । उनले के कस्तो नीति लिनेछन् भन्ने सबै प्रष्ट भइसकेको छैन तर उनले उत्पादनमा जोड दिन आवश्यक छ किनकि देश सीमित पँुजीको समिप्यमा छ, तर जनताका आशा र अपेक्षा धेरै छन् । मुलुक विश्वसामु नै दश नम्बरभित्रको गरीब राष्ट्रमा पर्छ । हाम्रो विकासको गति अरू देशको तुलनामा पुछारमा छ काठमाडांैलाई छोडेर अरू ठाउँलाई हेर्ने हो भने । अर्को चुनौती भनेको मुलुक पूर्णतया परनिर्भर हुँदै गइरहेको छ । खासगरी काम गर्नसक्ने बलियाबांगा युवायुवती बाहिरिएका छन् । तिनैले पठाउने रेमिट्यान्सको भरमा मुलुक थेगिएको छ । युवा जनशक्तिको उपयोग स्वदेशमै सिर्जनशील ढंगले गर्ने र उनीहरूबाटै उत्पादन बढाउने कार्यक्रम मुलुकका लागि आवश्यक छ । 

हाम्रो चुलोचौको समेत रेमिट्यान्सले नै बालेको अवस्था छ । यसरी मुलुक धान, मकै, गहुँ, माछामासु, फलफूल, तरकारी, लत्ताकपडा, इलेक्ट्रोनिक समान, औषधिलगायत सबै कुरामा परनिर्भर छ । त्यसकारण अर्थमन्त्रीले यही परनिर्भर हुनु परेका वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने नीतिगत कार्यक्रम अघि बढाउन जरुरी छ । त्यसका लागि घरजग्गा किनबेच तथा अटोमोबाइल लगायतमा सीमित पुँजी घुमिरहेको अवस्था बदल्न जरुरी छ । अर्थमन्त्रीले निजी क्षेत्रसँग भएको पैसासमेत कसरी हुन्छ उत्पादनमूलक एवं रोजगारी सिर्जना गर्ने प्रकारको क्षेत्रमा लगानी गर्ने प्रकारको नीति लिन जरुरी छ । छिटो ठूलो आर्जन गर्ने उद्देश्यले ठूलो करम अनुत्पादक क्षेत्रमा लगानी हुँदै आएको छ । पैसा व्यवासायमा नभई नाफाको व्यापारमा लगाी हुने गरेको छ । यस्तो अवस्था बदल्ने खालको नीति अंगीकार गरेर देशलाई परनिर्भरताबाट आत्मनिर्भर, बेरोजगारीको अवस्थाबाट स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्नसक्दा मात्रै अर्थमन्त्री सफल हुन सक्छन् । संघीय सरकार सफल हुनसक्छ ।

पुँजी नै विकासको प्रमुख साधन हो । हामीले पनि पुँजीवादी अर्थव्यवस्था नै अंगीकार गरेका छौँ । भलै हाम्रो समाजवादसम्म पुग्ने लक्ष्य छ तर अहिलेको वास्तविकता भनेको पँुजीवाद नै हो । अपवादबाहेक संसारका सबै मुलुक मिश्रित पुँजीवाद नै अंगीकार गरेर अघि बढिरहेका छन् । नेपालमा पनि पुँजीवाद र समाजवादको बीचको बाटो मिश्रित अर्थव्यवस्था अहिलेको खाँचो हो । जो हामीले अभ्यास गरिरहेका छाँै । 

यसरी अर्थमन्त्री डा. खतिवडाले पुँजीको बागडोर सहृमालेका बैंक तथा वित्तीय क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न हौसाउने प्रकारको नीति ल्याउन जरुरी छ । खासगरी हालका वर्षहरूमा खेतीयोग्य जमिन खण्डीकरण गरेर घडेरी बनाउने र दलाली गर्ने, चलखेल गर्ने र पुँजीलाई त्यतैतिर रिंगाइरहने परिपाटी विकास भएको छ । त्यसैको फलस्वरूप देशभर चाहिने नचाहिने प्रकारले घरघडेरीको मूल्यवृद्धि गरिएको छ । त्यो विकृति अन्त्य गर्न सरकारले ध्यान दिनुपर्छ । अर्थमन्त्रीले यसको संकेत गरिसकेका छन् र त्यसले एक किसिमको हलचल मच्चाएको छ । अर्थमन्त्री दृढताका साथ अघि बढ्न जरुरी छ । 

अर्को हालका वर्षमा विकृतिको माध्यम बनेको छ सहकारी क्षेत्र । खासगरी सहकारीले गर्ने भनेको आपसी सहकार्यमा आर्थिक सामाजिक सुधारको कार्य हो । सहकार्य त्यतिबेला हुन्छ, जतिबेला सबै पक्षको भलो हुन्छ । सबै पक्षले राहतको महसुस गर्न सक्छन् । नेपालमा अधिकांश सहकारीहरू सहकार्यको माध्यमबाट एक अर्काबीच हितकर काम गर्नुभन्दा निजी कम्पनीको झैं काम गर्दैआएका छन् । सहकारीहरूले साहूले झैं पञ्चायती शैलीमा ब्याज असुल्ने गरेका छन् । जनताबाट निकै तल्लोस्तरको ब्याजमा निक्षेप उठाउने र ढाडै सेक्किने ढंगको ब्याजमा ऋण प्रवाह गर्ने गरेका छन् । धेरै ‘सहकारीहरू’ सहकारीको भावनाविपरीत चलेका छन् । निजी क्षेत्रका बैंक तथा वित्तीय क्षेत्रभन्दा निश्चिय पनि सहकारी क्षेत्र फरक हो । त्यसकारण उसको भूमिका बंैक वित्तीय क्षेत्रको भन्दा भिन्न हुन जरुरी छ । 

सहकारी भनेको समाजवादको बाटोसम्म पुग्ने एउटा माध्यम हो । मुलुकले नयाँ संविधानमार्फत् समाजवादसम्म पुग्ने यात्रा तय गरिसकेको छ । त्यसकारण नयाँ अर्थमन्त्रीले सहकारी क्षेत्रलाई पनि नियमन तथा नियन्त्रण गर्ने र सहकारीको मर्म एवं धर्मबमोजिम काम गर्ने प्रणालीको विकास गराउन जरुरी छ । बरू त्यसका लागि सरकारले सहकारी क्षेत्रमा संग्लनहरूलाई आवश्यक तालिम तथा चेतना जागृत गराउन लगानी गर्नुपर्छ । सहकारी क्षेत्र नामजस्तै सहकारी हुनुपर्छ । हिजोआज सबैभन्दा बढी विकृति यसै क्षेत्रमा छन् । धेरैले सहकारीलाई कमाई खाने, अझ ठगी खाने माध्यम बनाएका छन् ।

समाजमा अलिक टाठाबाठाहरूले सहकारी खोल्ने, त्यसको धर्म उद्देश्यविपरीत जनताको निक्षेप मनलाग्दो ढंगले जग्गाकारोबार गर्नदेखि आफ्नो दुनो सोझ्याउन प्रयोग गर्ने गरेका पाइन्छन् । अझ कतिले त जनताले खाईनखाई कमाएको पैसा सबै कुम्ल्याएर भागेका उदाहरणहरू कति छन् कति छन् । त्यसकारण अब त नयाँ संविधानबमोजिम नयाँ नेपाल, समृद्ध नेपाल निर्माणको अभियान सुरु भएको छ । अतः हजारौं जनता प्रताडित सहकारी क्षेत्रलाई व्यवस्थित, कडाइ र धर्म तथा उद्देश्यबमोजिम काम गर्ने बनाउन सरकार लागी पर्नुपर्छ । सहकारीलाई पनि राष्ट्र बैंककै निगरानीमा ल्याउन जरुरी छ । यस क्षेत्रका सबै खालका विकिृति विसंगति अन्त्य गर्नु जरुरी छ । कडाइका साथ सुधार गर्नु आवश्यक छ । किनकि नेपालमा अहिले ३० हजार सहकारी दर्ता भइसकेका र १२ हजार सहकारी सञ्चालनमा छन् । यस क्षेत्रमा ठूलो हिस्सामा नेपाली जनता संग्लन छन् । 

यस क्षेत्रमा हुने विकृति पखाल्दा सरकारले धेरै काम गरेको अनुभूति हुन्छ । खासगरी सरकारले कृषि तथा जडिबुटीका क्षेत्रमा काम गर्ने सहकारीहरूलाई प्रोत्साहन गर्न जरुरी छ । त्यस्ता सहकारीहरूले जनताको स्वास्थ्य तथा आधारभूत आवश्यकता परिपूर्ति गरेका हुन्छन् । अर्को उपभोक्ता वस्तुहरू सहुलियत दरमा बिक्री प्रर्बद्धन गर्ने सहकारीहरूलाई पनि सरकारले हेर्नुपर्छ । अर्थमन्त्री खतिवडा सम्भावना र चुनौका कसीमा छन् । उनी खरो उत्रिन सकून् । मुलुकको परिस्थिति मनन गरेर कार्य सम्पादन गर्न सकून्, उनलाई शुभकमना ¤