24th April | 2018 | Tuesday | 4:59:24 PM

विजयको अर्को इनिङ

वासु शर्मा   POSTED ON : Saturday, 07 April, 2018 (4:14:44 PM)

विजयको अर्को इनिङ


दुई वर्षअघि, जब इन्जिनियर विजय राजभण्डारीले आफ्नो कामबाट अवकाश लिए, त्यस उप्रान्त अवकासपछि के गर्ने भन्ने प्रश्नले उनलाई घोच्न थाल्योे । यद्यपि, उनी समाजसेवाको मार्गमा हिँड्ने सोच बनाउँदै थिए ।

समाजसेवामा उनको पहिलेदेखि नै रुचि भएकाले पनि यतातिर उनको ध्यान गएको थियो । यसरी समाजसेवा गर्ने निश्चित गरिसकेपछि उनले नियाल्न थाले सामाजिक संस्थाका क्रियाकलापलाई, सूक्ष्मरूपमा । 

यसैक्रममा उनले हेल्प नेपाल नेटवर्कको वेबसाइट हेरे । विदेशमा बस्ने नेपालीले प्रतिमहिना एक डलर सहयोग गर्ने, नेपालमै रहेकाहरूले एक सय रुपैयाँ सहयोग गर्ने, स्वास्थ्य, शिक्षा र दैवी विपद्का क्षणमा हेल्प नेपालले देखाउँदै आएको सक्रियता, र संस्थालाई प्राप्त सहयोग रकमको सम्पूर्ण परिचालन र पारदर्शिताले उनलाई हेल्प नेपालतिर आकर्षित तुल्यायो । यसै कारण उनले हेल्प नेपालसँग जोडिने आकांक्षा देखाए ।

हेल्प नेपाल नेटवर्कको समूहले पनि केही विज्ञको साथ चाहिरहेका अवस्थामा पूर्वमन्त्री तथा प्रशासक शंकरप्रसाद कोइराला र इन्जिनियर विजय राजभण्डारीलाई आफ्ना साथमा पायो र हेल्प नेपालको सल्लाहकारमा मनोनयन ग¥यो । आज दुवै सल्लाहकारको असीमित साथ र सहयोग हेल्प नेपालले पाइरहेको छ । 

हेल्प नेपाल नेटवर्कका सल्लाहकार विजय राजभण्डारीको उमेर २३ वर्ष हुँदा उनले सिलिभ इन्जिनियरिङ सिध्याइसकेका थिए । काठमाडौं ओमबहालको नेवार परिवारमा जन्मिएका राजभण्डारीले त्यति बेलासम्म राजधानी बाहिरको नेपाललाई खासै नजिकबाट नियाल्न सकेका थिएनन् । तर, जब उनको इन्जिनियरिङको पढाइ पूरा भयो त्यसपछि भने उनले नेपालका विभिन्न विकट भेग हेर्न पाए । नेपालको दुर्गम क्षेत्रलाई बुझ्न पाए ।

वास्तवमा, डिग्री लिइसकेपछि कामको जोहोको पनि आवश्यक त थियो नै । त्यसैले त्यसपछिका दिनमा उनको काम जागिर खोज्ने पनि बन्यो । त्यसैबेला युनिसेफले केही इन्जिनियर माग गरेको कसैले उनलाई सुनायो । यो थाहा पाएपछि उनले युनिसेफमा जागिर खानका लागि आवेदन दिए र उनले जागिर पाए ।

काठमाडौं बाहिर नगएका, उमेरले पनि त्यति परिपक्व नभएका विजयले जागिरका लागि पश्चिम नेपालका दुर्गम ठाउँ जानुपर्ने भयो । उनको पहिलो कार्यक्षेत्र नै रुकुम जिल्लाको चौरजहारीमा हुन गयो । 

नामै नसुनेको ठाउँमा आफ्नो पहिलो पोस्टिङ भएपछि उनलाई उत्सुकता जाग्यो, यो स्थान कहाँ पर्छ ? भन्ने, उनले नेपालको नक्सा नियाले र रुकुम खोजे । चौरजहारी खोजे । नक्सा हेरेपछि उनलाई चौरजहारीमा हवाईजहाज पनि जान्छ भन्ने थाहा भयो, यसले उनी खुशी भए । 

‘अहिले पनि रुकुम निकै पछाडि परेको जिल्लामध्येमा पर्छ,’ राजभण्डारीले भने, ‘त्योबेला कस्तो थियो होला ? अनुमान गर्न सक्नुहुन्छ ।’

पहिलो जागिर, पहिलो नियुक्ति भएको ठाउँ । उनी जानैपर्ने थियो । त्यसैले उनी हवाईजहाज चढेर नेपालगञ्ज पुगे । नेपालगञ्जमा युनिसेफको क्षेत्रीय कार्यालय थियो । त्यहाँ डेढ महिनाको तालिम सकेर उनी हवाईजहाजबाटै रुकुम पुगे । 

काठमाडौंका विजयलाई रुकुममा अभ्यस्त हुन गाह्रो भयो । ‘न पिउने पानी, न शौचालय’, उनले भने, ‘तर म कहिल्यै पनि विचलित भइनँ र आफूलाई तोकिएको जिम्मेवारी इमानदारितापूर्वक निर्वाह गरिरहेँ ।’

यही विकट र दुर्गम भेगको बसाइँले उनलाई समाजसेवातर्फ अभिप्रेरित गर्दै लग्यो र आज उनी समाजसेवामै समर्पित छन् ।

ती जिल्ला घुम्दा उनले नेपाल र नेपालीको वास्तविक जीवनलाई नजिकबाट देखे । यथार्थ तर दारुण चित्र त्यहाँको समाजमा पाए । त्यहाँ दुःख असरल्ल परेको उनले अनुभूत गर्दै गए । दुःखको जिन्दगी बाँच्न विवश थिए त्यहाँका मानिस । स्थानीय बासिन्दाको विवशता टुलुटुलु हेर्न बाध्य थिए उनी । 

यस्ता अनेकन दृश्य त्यहाँको बसाइँका क्रममा उनले अनुभव गरे । दुई छाक टार्न र एकसरो जीउ ढाक्नसमेत नेपालीले कति सास्ती खेप्नु परेको छ ¤ यसले उनलाई बेलाबेलामा झक्झक्याइ रहन्थ्यो । 

‘यदि नेपाल हेर्न मन भए तपाईं राजधानीबाहिरै जानुपर्छ’ विजय भन्छन्, ‘काठमाडौंलाई मात्रै हेरेर नेपाल देखिँदैन । नेपालको यथार्थ र कारुणिक कथालाई बुझ्न सकिँदैन । वास्तविक नेपालको स्वरूप त्यस्ता विकट जिल्लाहरूमा देखिन्छ ।’

त्यसो त विजय रुकुम जाजरकोट मात्रै बसेनन् । जागिरको सिलसिलामा देश विदेश पनि घुमे । युगाण्डा, जिम्बावे, पाकिस्तान, उत्तर कोरिया, काजिकस्तान, थाइल्याण्ड र भारतलगायतका देशमा उनले काम गरे । कामसँगसँगै उनले मुलुकका लागि केही गर्नुपर्ने मानसिकता पनि उनले बनाउँदै गए ।

त्यसैको परिणति हो विजयको समाजसेवाको यो इनिङ । र, यो इनिङमा आफूलाई पूर्णत सक्रिय तुल्याउन उनी लागी परेका छन् ।

एउटा प्रसंगमा विजय भन्दै थिए, ‘हेल्प नेपालले नेपाली समाजमा गर्दै आएको सहयोग र त्यसको समर्पण कसैबाट लुकेको विषय होइन । आज पनि विपद्का बेला होस् वा स्वास्थ्य र शिक्षाका क्षेत्रमा होस्, हेल्प नेपालले आफूलाई परिचालित गर्दै आएको छ । म पनि हेल्प नेपालले गर्ने सहयोग कोष वृद्धिका लागि सक्रिय रहेको छु । समाजसेवा कठिन काम हो । भने जत्ति सजिलो छैन यो कार्य । यसका लागि सबैभन्दा कठिन काम भनेको नै रकम उपलब्ध गराउनु हो । त्यसैले कोष अभिवृद्धिका लागि गर्नुपर्ने काम प्राथमिकतामा रहेको छ ।’

हेल्प नेपाल नेटवर्कको परफरमेन्स राम्रो मात्रै होइन, यो संस्था राजनीतिक रंगमा नमुछिएका कारण यसमा आबद्ध हुन प्रेरित भएको बताउँछन् उनी । हेल्प नेपालको सल्लाहकार भइसकेपछि उनले यसको वेबसाइट अझै राम्रो बनाउने काम थालेका छन् । यसका साथै विभिन्न बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्दै समाजसेवाका लागि सहयोग जुटाउने कार्यमा पनि लागेका छन् ।

 विजय भन्छन्, ‘कर्पोरेट सोसियल रेस्पोन्सविलिटी’ का माध्यमबाट हेल्प नेपालका लागि फण्ड रेज गर्ने काममा म अहिले लागि रहेको छु । नेपाल राष्ट्र बैंकको नियमअनुसार बैंकहरूले नाफाको निश्चित प्रतिशत रकम समाज सेवामा खर्चनुपर्ने हुन्छ । मेरो सक्रियता अहिले त्यस्ता संस्थासित समन्वय गरी हेल्प नेपालका लागि कसरी सहयोग रकम जुटाउन सकिन्छ भन्नेमा बढी केन्द्रित छ ।’

यथार्थमा जागिरका दौरानमा आफूले देखेका भोगेका र अनुभव गरेका कुरालाई आधार बनाएरै उनी यतिबेला समाजसेवामा संलग्न भएका हुन् भन्न सकिन्छ । यस क्रममा उनले युगाण्डाको गृह युद्धदेखि बिहारको ‘गुण्डाराज’ सम्मलाई गहिरोसित नियालेका छन् । तर, चाहृयो भने ती सबै कुराबाट मुक्ति पाउन सकिन्छ भन्ने कुरा पनि उनले बुझेका छन् । कसरी बिहार फेरियो, युगाण्डाले कसरी आफूलाई परिवर्तन ग¥यो भन्ने देखेका उनले नेपाल पनि अब आर्थिक समृद्धिको बाटोतर्फ अग्रसर हुने अनुभव गर्दै आएका छन् । कुरा गर्ने र काम नगर्ने प्रवृत्तिबाट अब मुलुकले मुक्ति पाउने उनको विश्वास छ । 

मुलुक संघीयतामा गएपछि स्थानीय तहको समस्या समाधान गर्न सजिलो हुने उनको बुझाइ छ । विजयको भनाइ छ, ‘सरकारले सम्बन्धित विज्ञको समूह बनाएर त्यसबाट लाभ लिन सक्नुपर्छ । हाम्रो मुलुकमा धेरै विज्ञहरू हुनुहुन्छ । उहाँहरूको विज्ञतालाई सरकारले कसरी उपयोग गर्ने भन्ने विषयमा ध्यान दिन आवश्यक छ ।’

विजय राजभण्डारी अहिले आफ्नो कामलाई सार्थक तुल्याउन लागी परेका छन् । उनी आफूले सफलता पाउने कुरामा विश्वस्त पनि छन् । उनी भन्छन्, ‘विश्वास नै सबैभन्दा ठूलो कुरा हो । मैले मेरो तर्फबाट गर्नुपर्ने कामहरू सबै गरिरहेको छु ।’

कुराकानीको बिट मार्दै विजयले एउटा राम्रो उदाहरण दिए । कतिपय कर्पोरेट कम्पनीले सडकमा रुख रोप्ने वा अन्यत्र कतै वृक्षरोपण गर्ने काम गर्दै आएका छन् । तर, यस्ता कार्य गरेपनि ती वृक्षहरूको संरक्षण कहींकतैबाट हुन सकिरहेको पाइँदैन । अर्थात् त्यस किसिमको खर्च बालुवामा पानीको थोपा सरह भइरहेको छ । त्यो रकमलाई मानवसेवाका लागि खर्चिन सके समाजलाई केही न केही उपलब्धि हुने पक्का छ ।