24th April | 2018 | Tuesday | 5:04:25 PM

जर्मनीमा देखेका केही नयाँ

भरत शाक्य   POSTED ON : Saturday, 07 April, 2018 (4:19:17 PM)

जर्मनीमा देखेका केही नयाँ

करिब दुई दशकपछि पुरानो याद बोकेर म जर्मनीको फ्र्यान्कफोर्ट पुगेको थिएँ । मेस्से फ्र्यान्कफोर्टको औपचारिक कार्यक्रमपछि पूर्वनियोजित रूपमा शहर घुम्ने सोचमा जीबासँग भेट भयो । 

‘फ्र्यान्कफोर्टमा हेर्नुपर्ने वा घुम्ने मुख्य थलो कुन हो त ?’ मैले प्रश्न गरेँ । 

‘मेस्से, वर्षमा थुप्रै अन्तर्राष्ट्रिय स्तरका ठूलठूला मेला लाग्दछन् । मनिसले घुम्ने भनेकै त्यहीं हो । वास्तवमा यो शहर धेरै सानो छ तर यो ठूलो आर्थिक र व्यापारिक केन्द्र हो । त्यसरी नै जर्मनीको ध्वजाबाहक लुफ्थान्साको आधार विमानस्थल पनि यहाँ नै छ । त्यसैले पहिलोपटक सुन्दा चाहिँ यो निक्कै ठूलो शहरजस्तो लाग्छ,’ जीबाको रमाइलो जवाफ आयो । 

‘तैपनि घुम्ने ठाउँ त होलान् नि ?’ मैले थपेँ ।

‘ठाउँ त जति पनि छन् नि ¤’ जीबाले भनेपछि भोलिको दिन घुम्ने कुरा भयो । 

हिउँ परिरहेको थियो बाहिर, सडकमा जम्न भने सकेको थिएन । पर रुखमा र जमिनमा केही हिउँ जमेर हेर्नलायक बन्दै थियो । हामी शहर पुरानो र केन्द्रतिर पैदल नै लम्कियौं तर ट्राममा जान उपयुक्त ठानेर हामी ट्राममा केही स्टेशन परसम्म पुग्यौँ । शहरको केन्द्रमा जर्मनीका भानुभक्त गोयथेको शालिक रहेछ । त्यस क्षेत्रको सडक पेटी र सडकबीचको पार्कजस्तो आनन्दमय सजावट पार गर्दै हामी पर पुग्यौँ । पुरानो चोक र वास्तुकलापूर्ण घरहरू ज्यादै मनमोहक थिए । अघि बढ्दै जाँदा शहरको बीच भागको नदी पनि देखियो । हामी पुलतिर लाग्याँै । मेरो विचारमा हामी पुल पारितिर जाँदै छौँ । 

‘तपाईंलाई एउटा अनौठो ठाउँ देखाउछु’ जीबा यसो भन्दै अघि लागे । हामी पुल उक्लन थाल्यौँ, पुलको छेउमा पुग्दा जीबाले मेरो मोबाइल मागे र मेरो फोटो खिच्न थाले । ‘यी चाबीहरू देख्नुभयो ? यहाँका हरेक पुलमा देख्नुहुन्छ, यो युरोपको नयाँ फेशन हो । युवा जोडी आउँछन्, तिनीहरू साँचो लिएर आएका हुन्छन्, साँचोमा नाम वा नामको पहिलो अक्षर कोरेका हुन्छन् । उनीहरू पुलमा आएर यसरी साँचो झुण्ड्याउँछन् र चाबी नदीमा फ्याकेर जान्छन् । यसको तात्पर्य साँचो उनीहरूको प्रेमको पर्याय हो । उनीहरूले पुलमा प्रमाण झुण्ड्याएका हुन् जुन साँचोको चाबी नदीमा फ्याकेपछि कसैले पनि भेट्न सक्दैन । उनीहरूको प्रेम कसैले पनि छुटाउन सक्दैन र प्रेम जीवन्त रहन्छ भन्ने यसको अर्थ हो ।’ मलाई नेपालमा मन्दिर र पार्कहरूका ढुंगा र रूखमा युवा जोडीहरूले नाम खोपेको सम्झना आयो । कतिपय ठाउँमा धागो बाँध्ने र अनेक चिज राख्ने गरेको पनि याद आयो । 

‘युरोपमा पनि यस्तो हँुदो रहेछ, अचम्म लाग्यो ।’ मैले जीबालाई भनेँ ।

‘त्यसैले त यहाँ ल्याएको देखाउन, तपाईंलाई एउटा लेख्ने सामग्री भयो नि फोटोसहितको’ उनले भने । 

अपराहृन हिउँ पर्न छोडिसकेको थियो । मौसम सफा र स्वच्छ थियो तर चिसो भने निक्कै बढेको थियो । हामी गोयथे होटलको रेष्टुराबाट बाहिर निस्कियाँै । पाँच सय मिटर जति मात्र के हिँडेका थियाँै शहरी क्षेत्र सकिएजस्तो खाली क्षेत्रमा हामी पुग्याँै । 

‘शहरी क्षेत्र सकिएको हो र ?’ मैले प्रश्न गरेँ । 

‘मैले भनेको थिएँ नि फ्र्यान्कफोर्ट शहर ठूलो छैन भनेर, तर यो शहरको किनारा सबै खाली क्षेत्र होइन । यो शहरभित्र यस्ता धेरै ठाउँ देख्न सक्नुहुन्छ । यो शहरकै एक भाग हो । सहकारीद्वारा सञ्चालन गरिएको हुन्छ यो जमिन । यहाँ ठूला, स्थायी प्रकृतिका घर अथवा संरचना निर्माण गर्न पाइँदैन । यो जमिन खाली राख्न पनि पाइँदैन र फोहर पनि राख्न पाइँदैन । यो जमिनको स्वामित्व जोसँग छ उसले करेसाबारीको रूपमा होस् कि फलफूल अथवा बगँैचाको रूपमा व्यवस्थित राखेकै हुनुपर्छ । 

यसको नियमन सहकारी समितिले गर्छ । यो जमिन सहकारी समितिको निर्णयअनुसार व्यवस्थित गर्नसक्ने व्यक्तिलाई हस्तान्तरण गरिएको हुन्छ । नियमअनुसार व्यवस्थित नगरेमा दण्डसजाय र स्वामित्व निलम्बन गर्न सकिन्छ तर किनबेच हुन सक्दैन । त्यसैले फ्र्यान्कफोर्ट शहरमा यसरी शहरबीचमा र वरिपरि यस्ता खाली जमीन बाँकी रहेका छन् ।’ जीबाले सविस्तार वर्णन गरे । 

जीबाले पनि फ्र्यान्कफोर्ट शहरमा सहकारीको सुव्यवस्थापन गरेको सुनेर मलाई गर्व लाग्यो । 

वास्तवमा सहकारीको यस्तो व्यवस्था दोस्रो विश्वयुद्धपछि भएको रहेछ । त्यसबेला उत्पादन र खानाको अभाव, कामदार र रोजगारीका अभावजस्ता समस्या हटाउन गरिएको व्यवस्था रहेछ यो । त्यसबेला बहुसंख्यक रूपमा टर्कीका नागरिक सहकारीमा श्रममा लागेका रहेछन् । त्यसैले अहिले पनि त्यस्तो सहकारीमा टर्किसहरूको बाहुल्य रहेछ । 

मैले फ्र्यान्कफोर्ट शहरमा त्यस्ता सहकारीका जमिनमा ससाना टहरा बनाइएको देखेँ । फूल, तरकारी फलफूल रोपिएको र आआफ्नै तरिकाले सजाइएको पनि देखेँ । सबैभन्दा रमाइलो लागेको हरेक भागको जमिनमा थरिथरिका झण्डा गाडिएको थियो । वास्तवमा जुन देश र जातिको भनेर गर्व गरिन्छ त्यहाँ त्यहीं देशको झण्डा राख्ने प्रचलन रहेछ । 

‘जीबा, तिम्रो सहकारीको जमिनमा पनि नेपालको झण्डा राखेका छौँ ?’ मैले जिज्ञासा राखँे । 

‘छ नि’ जीबाले खुसीसाथ सहकारीको जमिन उपयोग गरेको व्याख्या गरे । 

मेरा लागि यो पनि यसपटकको जर्मनी यात्रामा देखे भोगेको एउटा अचम्मको कुरा हो ।