15th October | 2018 | Monday | 10:49:45 PM

समृद्धि सपनाको खेती

गोविन्द लुइँटेल   POSTED ON : Sunday, 08 April, 2018 (5:17:17 PM)

समृद्धि सपनाको खेती

नेपालमा यतिबेला ‘समृद्धि’ सबैको जिब्रोको टुप्पोमा झुण्डिएको शब्द भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मन्त्र सुनाए । दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको गठबन्धनले संसदीय निर्वाचनमा मुख्यरूपमा चार वटा नारा अघि सारेको हो– राजनीतिक स्थायित्व, स्थिर सरकार, समृद्धि र राष्ट्रियता । राजनीतिक स्थायित्व, स्थिर सरकार र समृद्धि परिपूरक मानिए, छिटो छिटो सरकार परिर्वतन  विकास र समृद्धि बाधाक भयो भन्ने अर्थ र अनुभवका आधारमा । राष्ट्रियता नेपालको पुरानो नारा हो । नयाँ संविधानमा असन्तुष्टि जनाएर दक्षिणी छिमेकी भारतले नाकाबन्दी गरेपछि राजनीतिक नाराका रूपमा अझ ‘राष्ट्रियता’ प्रबल भएर आयो । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा भारतको नाकाबन्दीमा नझुकेको र भारतलाई नै नाकाबन्दी फिर्ताका लागि बाध्य बनाएको भन्ने आमधारण बन्यो । एक हदमा यो यथार्थपरक पनि थियो ।  

हालै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा गरेको सम्बोधनमा ‘समृद्धि’ लाई उच्च प्राथमिकता दिइएको छ । संविधानअनुसार सबै तहका निर्वाचन सम्पन्न भई संविधानले व्यवस्था गरेका सबै संरचनाहरू निर्माण भएकोले राजनीतिक प्रणाली संस्थागत गर्ने सफलता हासिल भएको भनिएको छ । राष्ट्रपतिको भनाइ छ– सर्वस्वीकृत र सर्वाधिक लोकतान्त्रिक विधिबाट साढे दुई वर्षअघि प्रगतिशील र लोकतान्त्रिक संविधान जारी भएपछि प्रारम्भ भएको पछिल्लो र महŒवपूर्ण संक्रमणकालको अत्यन्त महŒवपूर्ण चरण अब पूरा भएको छ । राष्ट्रपतिको निष्कर्ष छ– मुलुक अब पूर्णरूपमा जननिर्वाचित प्रतिनिधिहरूको अगुवाइमा विकास, स्थिरता, समृद्धि र शान्तिको बाटोमा अग्रसर भएको छ । 

यी भनाइहरूको सार के छ भने, संविधान सर्वस्वीकृत छ, राजनीतिक मुद्दाहरू सकिएका छन् र अबको एउटै काम हो समृद्धि । दोस्रोपटक प्रधानमन्त्रीका रूपमा भारत गएका ओलीले आफ्नो मन्त्र सुनाए– समृद्ध नेपाल, सुखी नेपाली । समृद्धिको न्युनतम मापदण्ड के हो, के के हासिल भएपछि समृद्धि भएको ठहर्छ, अझ त्यसअघि समृद्धिको बाटोमा अघि बढेको भन्ने देखिने सूचक के के हुन्छन्, यी पक्षमा ठोस गृहकार्य भएको छैन । समृद्धिको नारामा सरकार बनेको दुई महिना भएको छैन । त्यसैले अहिले नै सरकारले समृद्धि हासिल गर्ने दिशामा केही गर्न सकेन भनेर टिप्पणी गर्ने समय भएको छैन । यस्तो टिप्पणी यो आलेखको उद्देश्य होइन । यसपटक ओली गठबन्धनको बहुमत र संसद्मा दुई तिहाई भन्दा बढी समर्थन प्राप्त प्रधानमन्त्री छन् । त्यसैले समृद्धिसपना र नारामा सफलताका संकेतहरू खोज्नु मानासिव हुन्छ । 

युवाहरू ठूलो संख्यामा विदेशिएका छन् । सरकारी तथ्यांकअनुसार वर्षेनी पाँच लाखको हाराहारीमा युवाहरू खाडी मुलुकतिर जाने गरेका छन् । देशमा बेरोजगारी व्याप्त छ, श्रमको उचित मूल्य छैन त्यसैले युवा पलायन बढ्दो छ । चुनावी नारा छ– सबै युवाका लागि रोजगारी सिर्जना । केही अपवादबाहेक युवा जनशक्ति या त सस्तो मूल्यमा श्रम बेच्न विदेशिएको छ या त देशमा बेरोजगार छ । देशमा श्रमशक्तिको खाँचो छ । भूकम्पपछिको पुनर्निर्माणका लागि दक्ष, अर्धदक्ष, अदक्ष सबै किसिमका मजदुरको अभाव देखाप¥यो । भारतीय मजदुरहरूले नेपालका कुनाकुनामा पुगेर काम गरेका छन्, हाम्रो युवा जनशक्ति विदेश पलायन भएको भयै छ । 

सरकारी तथ्यांकले भन्छ– वर्षेनी कृषि उत्पादनको आयात बढ्दो छ । 

कृषिप्रधान देश नेपालको हालको प्रतिहेक्टर उत्पादकत्वका आधारमा हाम्रो जनसंख्याका लागि खाद्यान्न आयात गर्नु पर्दैन तर किन खाद्यान्न पुगेको छैन ? किन आयात बढ्दै गएको छ ? भारतसँगको व्यापारघाटामा कृषि उपज आयातको हिस्सा ठूलो छ । ग्रामीण क्षेत्रका युवाहरू रोजगारका लागि भारत खाडी मुलुकमा छन् । हाम्रोजस्तो कृषिप्रधान मुलुकमा कृषिमै स्वारोगार अभिवृद्धि आवश्यक हुन्छ । पलायन भएका यी युवाहरू मेरो देशमा म कृषि उत्पादनको कामका लाग्न सक्छु, मेरो उत्पादनको उचित मूल्य पाउनेछु, राज्यले आवश्यक संरक्षण दिनेछ भन्ने कुरामा ढुक्क नभएसम्म स्वदेशमा अडिन मुश्किल हुन्छ । सरकारले यो युवा श्रमशक्तिलाई औपचारिक र अनौपचारिक क्षेत्रका रोजगारी र स्वरोजगारीमा अकार्षित गर्ने कार्यक्रम बनाउन सक्नुपर्छ । 

कषिभूमि बाँझो हुनेक्रम बढ्दो छ । युवा जनशक्ति विदेश पलायन भएकै कारणले उत्पादनशील जमिन बाँझिन थालेको छ । पहाडी क्षेत्रमा परम्परागत खेतबारीहरू बाँझिएर झाडी बन्ने क्रम बढ्दो छ । उत्पादनका लागि श्रमशक्ति नै छैन । तराई क्षेत्रमा उत्पादनशील जमिन धमाधम प्लटिङ भएर घडेरीमा परिणत हुँदैछ । सहरीकरण बढ्नु स्वाभाविक छ तर रातारात धन कमाउने सिमित व्यक्तिहरूको महत्वाकांक्षाले प्लटिङ बढेको छ र राजमार्गसँग जोडिएको खेतीको जमिन बाँझो बस्न थालेको छ । बढ्दो उपभोग संस्कृतिले बढेको खर्च धान्न साधारण श्रमको आम्दानीले पुग्न छाडेपछि श्रमनगरीकन छिटो ठूलो आम्दानी चाहिएको छ । 

श्रम र उत्पादनमूलक कामबिना नारा जतिसुकै ठूलो भए पनि समृद्धि कैतबाट आयत हुनसक्दैन । कृषि, पर्यटन, जलस्रोत र जडीबुटी नै हाम्रो आम्दानीका मुख्य क्षेत्र हुन् । औद्योगिक विकास अर्को पाटो हो । यी सबैबाट शीघ्राती शीघ्र समृद्धि हासिल हुँदैन । दीर्घकालीन कार्यक्रम, प्रष्ट नीति, पूर्वाधार विकास, यात्रीकरण र राज्यबाट आवश्यक संरक्षणले मात्रै कृषिक्षेत्रमा व्यावसाययिकता बढ्न सक्छ । यी सबैमा सबैभन्दा महŒवपूर्ण पक्ष हो श्रमसंस्कृति । हाम्रो श्रमसंस्कृति कमजोर हुँदै गएको छ । खाडीको धूपमा सस्तो मूल्यमा पसिना बगाउने युवा आफ्नो देशमा घरपरिवार र आफ्नो समाजमा बसेर श्रम गर्न किन गौरव  गर्दैन ? यो आजको ज्वलन्त प्रश्न हो । समृद्धि कतैबाट आयात गर्ने हो भने अर्कै कुरा, होइन भने श्रममा स्वदेशमा पसिना बगाउन गौरव गर्ने वातावरण नभएसम्म समृद्धि नारामा सिमित हुनेछ, राजनीतिक खेतीमा सिमित हुनेछ ।

मेरो देशमा श्रम गरेर म मेरा लागि आर्जन गर्न सक्छु भन्ने विश्वास प्रत्येक युवाजनमा जागृत हुन आवश्यक छ । यसका निमित्त व्यक्ति स्वयम् र राज्यको भूमिका के के हो भन्नेमा मिहिन चिन्तन हुन आवश्यक छ । संविधान पूर्ण कार्यान्वयनको चरणमा छ । संविधान अनुसारका राजनीतिक संरचनाहरू खडा भएका छन् । निर्वाचनबाट जनविश्वास प्राप्त सरकार बनेको छ । अब उत्पादनका क्षेत्रमा आशा जगाउने गरी काम थालनी हुन आवश्यक छ । आमनागरिकमा, समस्त युवा वर्गमा स्वदेशमा श्रम गरेर आर्जन गर्ने आत्मविश्वास र आत्मगौरव जागृत हुन आवश्यक छ । यसो भयो मुलुक समृद्धिको मार्गमा अघि बढ्न थालेको संकेतहरू देखिन थाल्नेछन् । 

सरकार आफ्नो नीति तथा कार्यक्रम बनाउने क्रममा छ । सोही अनुसार नयाँ आर्थिक वर्षका लागि नयाँ बजेट बनाउने क्रममा छ । सरकारको नीति तथा कार्यक्रम र बजेटले समृद्धिको खाका कोर्न सक्नुपर्नेछ । यसो नभए राजनीतिक उपलव्धि फेरि पनि धुमिल हुँदै जान सक्नेछ । 

 


 




 

 









Views: 8