24th April | 2018 | Tuesday | 5:06:32 PM

एउटा सफल भ्रमण

कालिदासबहादुर राउत क्षत्री   POSTED ON : Tuesday, 10 April, 2018 (6:05:44 PM)

एउटा सफल भ्रमण

प्रधानमन्त्री खड्गप्रसाद ओली राजकीय भ्रमणमा ६ अप्रिलका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा नयाँदिल्ली पुगे । त्यहाँ पुग्नासाथ उनी उच्चस्तरीय भेटघाटमा व्यस्त रहे । दिल्लीमा भेटघाटको प्रतिपक्षी दलका नेताहरूबाट सुरुवात भयो । उनले सर्वप्रथम वरिष्ठ राजनीतिज्ञ शरद यादवसँग भेट गरे । यसपछि कांग्रेस अध्यक्ष राहुल गान्धी र पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहसँग पनि उनको भेट भयो । 

यसै अवसरमा भारतीय उद्यमीहरूलाई एक समारोहबीच सम्बोधन गर्दै उनले भने ‘उदार आर्थिक नीतिबाट पछाडि फर्कने कुनै उद्देश्य छैन, त्यसमा हामी प्रतिबद्ध छौँ, नेपालमा लगानीको वातावरण अनुकूल छ ।’ नेपालबाट राजकीय भ्रमणमा दिल्लीमा जाने प्रधानमन्त्रीहरूलाई भारतका राज्यमन्त्रीले एयरपोर्टमा स्वागत गर्ने गर्थे भने ओलीलाई दोस्रो मर्यादा क्रममा रहेका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेबाट महŒव प्रष्टिएको छ । विगतमा गिरिजाप्रसाद कोइरालालाई तत्कालीन प्रधानमन्त्रीले स्वागत गरेका थिए ।

भारतीय विदेश मन्त्रालयको सहकार्यमा भारतीय उद्योग परिसंघ, भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की) र भारतीय च्याम्बर अफ कमर्स (एसोच्याम) द्वारा आयोजित ‘इण्डिया नेपाल बिजनेश फोरम’ लाई प्रधानमन्त्रीले आग्रह गरे र भने ‘ढुक्कसँग लगानी गर्नुस्’ । उनले भारतमा पाइला टेक्नासाथ सो कार्यक्रममा नेपालमा लगानीको वातावरण रहेको सन्देश व्यवसायी एवं उद्यमीलाई दिएका थिए । 

भारतीय लगानीकर्ताहरू विश्वका विभिन्न देशमा जानसक्छन् भने भौगोलिक निकटता, अन्तरदेशीय प्रशारण लाइन, पारदर्शी प्रशासन, वैदेशिक लगानीमैत्री कानुन, बलियो लगानी बोर्ड, कर छुट, विदेशी कम्पनीलाई जग्गा खरिद र बिक्रीमा छुट तथा सस्तो श्रम लगनीका प्रमुख आधार हुनाले प्रतिफलका हिसाबले समेत नेपाल आकर्षक गन्तव्य रहेकाले छिमेकमै लगानी किन नगर्ने भन्ने प्रधानमन्त्रीको प्रश्न थियो । नेपालमा लगानी गर्न सबै क्षेत्र खुला रहेको र तीन चौथाइ समर्थन सहितको वर्तमान सरकार नीतिगत निरन्तरता र लगानीमैत्री वातावरण बनाउन प्रयासरत रहेको छ भन्ने विचार उनले त्यहाँ प्रकट गरेका थिए ।

प्रमुख दुई आर्थिक महाशक्तिको बीचमा रहेकाले बजारको कुनै चिन्ता नरहेको बरू उत्पादनको समस्या रहेको धारणा उनले  राखेका थिए । यस क्षेत्रको २.५ अर्बभन्दा बढीको जनसंख्या नै उद्यमीका निम्ति बजार हो । त्यहाँ उनले २०७२ साल असोजमा संविधान जारी भएर राजनीतिक परिवर्तन संस्थागत भएको विचार व्यक्त गरेका थिए । अब जनताको आकांक्षा पूरा गर्दै जीवनस्तर सुधारका लागि छिमेकीलगायत अन्य मित्रसँग मिलेर उन्नति गर्ने धारणा उनले राखेका थिए । 

अबको लक्ष्य भनेकै आर्थिक परिवर्तन हो, लगानीका ध्येयमा नेपाल भर्जिनल्याण्ड हो भन्ने विचार पनि उनले त्यहाँ प्रकट गरेका थिए । पारदर्शी र भ्रष्टाचारमुक्त प्रशासनप्रति वर्तमान सरकार प्रतिबद्ध छ । नेपाल सधैँ भारतीय पर्यटकका निम्ति आकर्षक गन्तव्य रहँदै आएको हुनाले र पर्यटन क्षेत्रमा थुप्रै सम्भावना भएका कारणले यस क्षेत्रमा लगानी गर्न उनले आवाहृन गरे । कृषि र जडिबुटीका क्षेत्रमा पनि प्रसस्त सम्भावना छन् । यसै अवसरमा प्रधानमन्त्री केपी ओलीको तर्फबाट जलस्रोत तथा ऊर्जा मन्त्रालयका सहसचिव माधव बेल्वासेले जलविद्युत् लाइसेन्स लिन र उत्पादन गर्न नेपाल विश्वकै सबैभन्दा सहज गन्तव्य भएको र नीतिगत सुधारसँगै उच्च क्षमताका अन्तरदेशीय प्रशारण लाइनसमेत निर्माणका क्रममा रहेकाले लगानीका निम्ति आवाहृन गरेका थिए । 

प्रधानमन्त्री केपी ओलीसँग समकक्षी नरेन्द्र मोदीले वन टु वन भेटवार्ता गरिसकेपछि मोदीले ट्विटमा नेपालका प्रधानमन्त्री ओलीलाई भेटेर प्रसन्न छु भनेका छन् । नेपाल र भारतबीच अब कुनै समस्या नरहेको र नेपालको विकासमा भारतको विश्वासिलो साथ सहयोग र समर्थन रहने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थियो । भारतीय प्रधानमन्त्री मोदीले नेपालको शान्ति र विकासमा भारतले खुलेर सहयोग र समर्थन गर्ने बताएका थिए भन्ने कुरा ओलीले उद्धृत गरेका छन् ।

त्यस भेटवार्तामा नेपालमा भारत विरोधी भावना हटाउन सक्नुपर्ने विषयमा पनि कुराकानी भयो भनिएको छ । ओलीले भारतलाई यस विषयमा आश्वस्त पारेका छन् । नेपालमा हालै भएको निर्वाचनलाई भारतले स्वागत गरिसकेको छ । नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको दुई देशबीचको मैत्रीसम्बन्ध थप विस्तार भएको र आफूहरूबीच कुनै पनि अविश्वास नरहेको उनले बताए । भारतको तर्फबाट जलमार्ग जहाज, वीरगन्ज–काठमाडौं रेलमार्ग र कृषिको आधुनिकीकरणमा प्याकेजमा सहयोग गर्ने सम्बन्धमा घोषणा भएको छ । 

दुई प्रधानमन्त्रीले संयुक्तरूपमा भारतीय सहयोगमा निर्माण भएको वीरगञ्जको एकीकृत भन्सार जाँचचौकी दिल्लीमा बटम थिचेर उद्घाटन गरे । भारतीय प्रस्तावमा बन्न लागेको अरुण तेस्रोको शिलान्यास मोदी नेपालमा आएर पछि गर्ने समझदारी भएको छ । नयाँ सन्धि सम्झौता यसपटक केही नहुने तर विगतका सहमति सन्धि सम्झौता कार्यान्वयनमा ल्याउने समझदारी भएको छ । 

नेपालसँगको सम्बन्ध सुदृढ बनाएर आगामी वर्ष २०१८ मा सम्पन्न हुने चुनावमा केन्द्रित हुने भाजपाको रणनीति रहेको छ । विज्ञहरू भन्छन्– यसपालि पुराना सन्धि सम्झौताको पुनरावलोकनको विषय उठेन, किनभने प्रबुद्ध समूह (इपिजी) ले यो विषय टुंग्याउदै गएको छ । तसर्थ भ्रमणका एजेन्डा आर्थिक सामाजिक विषयमा केन्द्रित रहे । आव २०७३÷०७४ मा व्यापारघाटा ९ खर्ब ११ अर्ब रुपैयाँ रहेकामा भारतसँग मात्र ६ खर्ब थियो । चालु आवमा पनि व्यापार घाटा ६ खर्ब १३ अर्ब रुपैयाँ रहेकामा यो वर्ष ४ खर्ब ५ अर्ब रहेको छ ।

व्यापारघाटा बढ्नुमा भारतका कतिपय नीति नियमको हात देखिएको छ । तसर्थ कोलकता र विशाखापटनमा बन्दरगाह समस्याबारे पनि भारतले ध्यान दिनु जरुरी छ । पञ्चेश्वर, माथिल्लो कर्णाली हुलाकी राजमार्गजस्ता भारत सरकार र भारतीय लगानीका परियोजनालाई तीव्रता दिनुपर्ने सुझाव विज्ञहरूको थियो । नेपाल–भारत ऊर्जा व्यापार सम्झौताका विरुद्ध भारतले ऐन बनाएर यसको एक पक्षीयरूपमा उल्लंघन गरेको छ । 

सम्झौतामा खुला बजारको शर्त छ । भारत सरकार वा भारतीय नागरिकको लगानी परेका परियोजनाका विजुली मात्र किन्ने व्यवस्था राखिएको छ । विश्व तीव्र गतिमा अघि बढेको छ । सुगौली सन्धिपछि नेपाल भने अधोगतिमा छ । भारतसँगको असमान विनियमको परिणाम पनि हो यो । अबको कूटनीतिक सम्बन्ध एकाइसौं सताब्दीको आवश्यकता र सम्भावनामा आधारित हुनुपर्छ । 

भारतले नेपालविरुद्ध पटकपटक नाकाबन्दी लगाएको भए पनि यो पटक बढी उदारता देखाएर दुवै देशबीच कुनै तुष छैन, अब सम्बन्ध राम्रो भएर जान्छ भन्ने देखाएको छ । तर, बारम्बार धोका पाएको देशले सजिलै विश्वास गर्नु हुँदैन । प्रधानमन्त्री ओली उत्तराखण्डस्थित कृषि विश्वविद्यालयकै हलमा मानार्थ विद्यावारिधि उपाधिले विभूषित भए । 

दिल्लीबाट फर्किएलगत्तै उनी २६ गते बुधबार अर्को छिमेकी देश चीन जाँदै छन् । चिनियाँ क्रान्तिका नायक माओत्सेतुङले नेपालका तत्कालीन राजा महेन्द्रलाई भारतसँग निकट सम्बन्ध राख्न बारम्बार सुझाव दिने गरेको कुरा पुराना मानिसहरू बताउँछन् । प्रधानमन्त्री  ओली चीनको हेनान प्रान्तमा हुने वाआओ फोरम फर एसिया सम्मेलनमा उनी जाँदैछन् । 

सम्मेलनको समापन समारोहमा चिनियाँ राष्ट्रपति सी चीनपिङ र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने कार्यक्रम छ । चिनियाँ विदेश मन्त्रालयका अधिकारी वाङ लीको नेतृत्वमा चार सदस्यीय टोली काठमाडौं आएर बेइजिङ फि¥यो । एसियाली देशमा विकास र समृद्धिका लागि चीनले अघि सारेको विएफए नामक परियोजनामाथि छलफल हुने हुँदा वोआओ सम्मेलन ऐतिहासिक बनाउने प्रयासमा चीन जुटिरहेको छ । 

अन्त्यमा, भारतका प्रधानमन्त्रीले नेपाल नयाँ युगमा प्रवेश गरेको उद्घोष गरेका छन् भने नेपालका प्रधानमन्त्रीले भारतसँग नमुना सम्बन्ध बढाउने उद्घोष गरेका छन् । प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकामा स्वीकार भइसकेको छ । मुख्यतः तीन क्षेत्रमा कृषिमा नयाँ साझेदारी, रक्सौल–काठमाडौं रेलमार्ग विस्तार अर्थात् इलेक्ट्रिफाइड रेल लिंक, इनल्याण्ड वाटर कनेक्टिभिटी अर्थात् जलमार्ग सञ्चालन गर्ने सहमति भएका छन् । त्यसबाट हामी निकै आशावादी बन्न सक्ने अवस्थाको सिर्जना भएको छ । समग्रमा प्रधानमन्त्री ओलीको भ्रमण सफल भएको छ ।