22nd July | 2018 | Sunday | 2:43:44 AM

विकासमा ग्रामीण सडकको अवस्था

कृष्णप्रसाद सिग्देल   POSTED ON : Wednesday, 11 April, 2018 (6:55:01 PM)

विकासमा ग्रामीण सडकको अवस्था

अचेल देशका विभिन्न ठाउँमा ग्रामीण सडक बनाउने होड चलेको छ तर पहाडी क्षेत्रमा भने जथाभावी खनिएका कच्ची सडकहरूले विकासभन्दा बढी विनासलाई निम्त्याएका छन् । सडक विस्तार र यातायात सञ्चालन विकासको पहिलो आधार हो । यातायातको सुविधा नभएका ठाउँ दुर्गम क्षेत्रको रूपमा चिनिन्छन् । यातायातको पहुँच नहुँदा ग्रामीण क्षेत्रका बासिन्दा बजार, सेवा एवं आर्थिक अवसरबाट वञ्चित हुने भएकाले सडक विकास र विस्तारको आवश्यकता अपरिहार्य मानिँदै आएको हो तर व्यवस्थित तरिकाले कहीं पनि यस्ता सडकहरूको निर्माण सम्पन्न गर्न सकिएको छैन् । 

सडक सञ्जालको विस्तारबाट ग्रामीण विकासको अवस्था माथि उठ्ने त छँदैछ, स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, बजारजस्ता सामाजिक सेवा र सुविधाको उपलब्धतामा समेत सहज पहुँच पुग्ने देखिन्छ । यसका साथै स्थानीय कृषिजन्य उत्पादनको बजार, रोजगारी र आर्थिक क्रियाकलापमा वृद्धि भई कुनै पनि व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुने कुरा पनि निर्विवाद देखिन्छ । यातायात सञ्जालको विकासले दैनिक उपभोग्य वस्तुको मूल्यको सहजतासँगै जग्गाको मूल्यमा पनि वृद्धि हुने हुँदा आर्थिक क्षमतामा अभिवृद्धि हुन्छ तर पछिल्लो समय विकासले केही विनासलाई पनि निम्त्याइरहेको अवस्था छ । 

सडक विभागको एक तथ्यांकअनुसार हालसम्म नेपालको पक्की सडकमा अन्दाजी ३० प्रतिशत जनताको मात्र पहुँच रहेकोे छ । त्यसमध्ये करिब ७० प्रतिशत सडक सञ्जाल तराई क्षेत्रमै रहेको छ । ग्रामीण पूर्वाधार विकास एवं कृषि सडक विभाग (डोलिडार) का अनुसार हालसम्म नेपालको ग्रामीण क्षेत्रमा साना, ठूला गरी ५ हजार ४ सय २६ वटा सडक निर्माण भएका छन् । जसको कुल लम्बाइ ४२ हजार ६ सय २७ किलोमिटर रहेको छ । यसमध्ये १ हजार २ सय ३२ किलोमिटरमा कालोपत्रे र ८ हजार ४ सय आठ किलोमिटरमा ग्राभेल छ भने ३३ हजार ४६ किलोमिटर सडक कच्ची अवस्थामा रहेको छ । यसबाट देशका २ करोड ३१ लाख ५१ हजार ४ सय २३ जनता लाभान्वित भएका छन् । 

नेपालका पर्वतीय क्षेत्रमध्ये सुगमता, उत्पादकत्व, हावापानी लगायत विविध कारणले गर्दा महाभारत र चुरे पर्वतीय क्षेत्रमा मानिसकोे बसोवास अन्य पर्वतीय क्षेत्रको तुलनामा बढी छ । त्यस्ता कोमल भू–बनोटयुक्त भिराला पहाडमा बिगत डेढ दशकदेखि दीर्घकालीन सोचबिना द्रूततर गतिमा सडक निर्माणको होड चलिरहेको छ । कतिपय स्थानमा त काठ तस्करले आफ्नो स्वार्थका लागि वनजंगल क्षेत्रबाटै सडक निर्माण गराएका छन् । यस्ता ग्रामीण सडकहरूले विकासभन्दा बढी विनासलाई निम्त्याइरहेका छन् । सामुदायिक वनबाट अवैधरूपमा काठ कटानी गरी फाइदा लिन पाइने हुँदा ठेकेदारको मिलेमतोमा वनबाट रेखांकन गरी सडक निर्माण गर्ने गरेका घटना नेपालको चुरे क्षेत्रमा प्रशस्त पाइन्छन् ।

नेपाली धर्म–संस्कृतिमा बाटोघाटोको निर्माण कार्यलाई पुण्य कर्मको रूपमा लिइन्छ । पहिला पहिला सानातिना गोरेटो, घोडेटोको निर्माण जनश्रमदानबाट गर्ने गरिन्थ्यो । हालैका वर्षहरूमा मोटर बाटो निर्माण गर्नुपर्ने भएकाले जनश्रमदानबाट सम्भव देखिँदैन् । यसका लागि सरकार, स्थानीय निकाय (जिल्ला विकास समिति, नगरपालिका तथा गाउँ विकास समिति), दातृ संघसंस्था र गैरसरकारी संस्थाकै भूमिका अपरिहार्य मानिन्छ । नेपालका सडकमध्ये करिब ७० प्रतिशत दातृ संस्थाको सहयोगमा निर्माण भएका छन् । सन् १९७६ मा पहिलोपटक नेपालमा ग्रामीण सडक निर्माण गर्नका लागि एसियाली विकास बैंकले सहयोग गरेको थियो । त्यसपछि भने स्वीस विकास नियोग, जिटिजेडलगायतका संस्थाले ग्रामीण सडकको विकासमा सहयोग गर्न थाले । हाल आएर नेपाल सरकारले आफ्नै स्रोत परिचालन गरी ग्रामीण सडक निर्माणमा जोड दिएको छ । नेपालको दुर्गम भूभागमा बसोवास गर्ने वर्गको पहिचान गरेर उनीहरूलाई देशको मूल प्रवाहमा जोड्नको लागि ग्रामीण सडकको निर्माण अपरिहार्य बनेको छ । तर, आवश्यक अध्ययनबिना नै ग्रामीण भूभागमा सडक निर्माण गरिँदा आर्थिक एवं वातारणीय प्रभाव परेको छ । 

मानवीय श्रमको प्रयोग गरेर खनिएका सडकहरू वातावरणीय दृष्टिकोणले अनुकूल मानिन्छन् । किनकि यस्ता सडकमा भूक्षय, पहिरो र बाढीका समस्या त्यति धेरै बढेको पाइँदैन । अचेल त्यसतर्फ त्यत्ति ध्यान दिइएको पनि पाइँदैन् । श्रमको प्रयोग गरेर बनाउन सकिने सम्भावना हुँदाहँंदै पनि व्यक्तिगत लाभको उद्देश्यले उपकरणको प्रयोग गर्ने प्रवृत्ति बढेको छ । छिटो सडक निर्माण हुने भनी ग्रामीण सडक निर्माणमा डोजर, एक्स्क्याभेटरजस्ता गह्रौं उपकरणको प्रयोग गर्ने प्रचलन बढेको छ । 

यसकारण कमलो र भिरालो प्रकतिको चुरे तथा महाभारत पर्वतीय क्षेत्रका सयांै स्थानमा रहेका वनजंगल र खेतीयोग्य जमिन खलबलिन पुगेको छन् । यसबाट विभिन्न खालका क्षति पनि भएका छन् । स्थानीय बासिन्दाको हितलाई ध्यानमा राखेर उनीहरूलाई फाइदा पुग्ने, वनजंगल, खेतबारी, पानीका स्रोत, सुन्दर पर्यटकीय क्षेत्रलगायतका स्थानलाई क्षति नपु¥याई वातावरण एवं प्राविधिक दृष्टिकोणले समेत अनुकूल हुने किसिमले ग्रामीण सडक निर्माण गरिएका उदाहरण बिरलै पाइन्छन् । जिल्ला यातायात गुरूयोजनामा नपरेका स्थानबाट सडक निर्माण गर्दा कममात्र सञ्चालनमा आउने तथा सम्भ्रान्त वर्गको फाइदा हुने खालका मौसमी सडकको निर्माण हुने गरेको पाइन्छ । 

सडक निर्माणमा ग्रामीण महिला, गरीब तथा सीमान्तीकृत समुदायको सहभागिता र लाभ हुने कुरातर्फ ध्यान दिइँदैन । अवैज्ञानिक तवरले ग्रामीण सडकको निर्माण गरिनुको अल्पकालीन र दीर्घकालीन असर देखिन्छन् । यसबाट भूक्षयमा वृद्धि, वातावरणीय एवं जलाधारीय अवस्थामा ह्रास, सडक निर्माण गर्दा जथाभावीरूपमा फालिएका ढुंगा, माटो, गिटीका कारण खेतीयोग्य भूभाग पुरिन गई हजारौं हेक्टर खेत बगरमा परिणत भएका छन् । 

अचानक भएको हिउँदे वर्षाको कारणले पनि ग्रामीण सडकहरू भत्किएर गाडी नै नचल्ने अवस्थामा पुगेका छन् । वनजंगलको विनाश हुनुको साथै वन्यजन्तु र बहुमूल्य जडिबुटीहरू समेत लोप हुने अवस्थामा पुगेका छन् । सडक निर्माणसँगै पानी बग्ने नाली नबनाइनु, टेवा पर्खालको निर्माण नगरिनु, वातावरणीय संरक्षणका उपाय एवं इञ्जिनियरिङ दृष्टिले अध्ययन नगरिनुजस्ता कारण यसका कमजोरीहरू हुन् । न्यूनतम प्राविधिक मापदण्ड पूरा नगरी बनाएको सडक चाँडै बिग्रिने, मर्मत गरिरहनु पर्नेजस्ता कारणले बढी रकम खर्च हुने समस्याले स्थानीय स्तरमा ठूलो रकम खर्च हुने गरेको छ । 

पहाडै पहाडले भरिएको सुन्दर देश नेपालको पर्वतीय क्षेत्र हिजोआज विकासको नाममा निर्माण गरिएका ग्रामीण सडकका कारण कुरूप बन्दै गइरहेका छन् । शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातजस्ता अत्यावश्यक भौतिक विकासको अभावका कारण विकासको मूल प्रवाहबाट पछाडि परेका सीमान्तीकृत वर्गलाई ग्रामीण सडकको माध्यमबाट विकासको मूल प्रवाहमा अगाडि बढाउनु आजको अपरिहार्य आवश्यकता हो । कोमल भूबनोटयुक्त स्थानमा सडक निर्माण गर्दा दिगो र संरक्षणमुखी हरित सडकको अवधारणालाई कडाइका साथ लागू गरिनुपर्छ । समयमै यसतर्फ ध्यान दिन सकिएन भने नेपालको पर्वतीय क्षेत्र भूक्षय, पहिरो, वन विनासलगायतका वातावरणीय समस्याका कारण दिनानुदिन कमजोर बन्दै जानेछ । विकासका नाममा निर्माण गरिएका ग्रामीण सडक विनाश निम्त्याउने माध्यम बन्नेछन् । 

देशको करिब दुईतिहाइ भूभाग ओगटेको पहाडी क्षेत्रका अधिकांश भूभाग सडकजस्तो अत्यावश्यक पूर्वाधारको विकासबाट वञ्चित रहनु परेकाले हालैका वर्षहरूमा ग्रामीण सडक निर्माण सबैको प्राथमिकतामा परेको हो । अहिलेको सन्दर्भमा ग्रामीण सडक निर्माणका क्रममा देखिएका समस्याहरूको अध्ययन गर्दै, कमीकमजोरीलाई हटाउँदै लग्नु पर्छ । हरेक प्रविधिका सकारात्मक पक्षहरूलाई ग्रामीण सडक निर्माणमा अपनाउँदा उपयुक्त हुन्छ । श्रमिकबाट निर्माण गर्दा दिगो र गरीबमुखी भएको पाइएको छ भने उपकरणको प्रयोग गर्दा छिटो र सस्तो हुने देखिएको छ । तसर्थ अवस्थाअनुसार दुवै प्रविधिको समिश्रण गरिनु उपयुक्त देखिन्छ । ग्रामीण सडक दिगो तथा सर्वयाम सञ्चालनयोग्य बनाउन सकेको खण्डमा मात्र वास्तविक रूपमा यातायात सुविधा पुगेको मानिन्छ । 

सडकको निर्माण, विस्तार, स्तरोन्नति तथा पुनस्र्थापनामा स्थानीय बासिन्दाको सहभागिता सुनिश्चित गर्न सकेमा लक्ष्य हासिल गर्न बढी मद्दत पुग्छ । सडकको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरण परीक्षण तथा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य रूपमा गराउनु पर्छ । योजना तर्जुमा गर्दा सबै सरोकारवालालाई सहभागी गरउनु पर्छ । सडक निर्माण सँगसँगै गरीब तथा सीमान्तीकृत समुदायका लागि लक्षित आयआर्जनका कार्यक्रमहरू पनि साथसाथै लैजानुका, नाली निर्माण, संरक्षणका उपायहरू पनि अपनाउँदै वातावरण संरक्षणमा पर्याप्त ध्यान दिनु पर्दछ । 

 ([email protected])