23rd July | 2018 | Monday | 11:09:57 PM

पार्टीमा कमजोरी खोज्ने बेला

विनोद दाहाल   POSTED ON : Thursday, 12 April, 2018 (8:50:47 PM)

पार्टीमा कमजोरी खोज्ने बेला

अहिले विस्तारै नेपाली कांग्रेसको लोकप्रियतामा ह्रास आएजस्तो देखिँदै आएको छ । यो यथार्थ हो कि केही तात्कालिक कारणले मात्र यस्तो देखिएको हो भन्ने प्रश्न टड्कारो बनेको छ अहिले । पदीय जिम्मेवारी लिएका नेताहरूले वास्तवमै पार्टीलाई बलियो बनाउने काम गर्न नसकेका हुन् वा उनीहरूले काम गर्दागर्दै पनि पार्टी यो अवस्थामा पुगेको हो त्यो एउटा महŒवपूर्ण सवाल हो । अहिले पार्टीमा आफू पनि महŒवपूर्ण पद ओगटेर बसेकाहरू पनि अरूलाई दोष दिएर आफू पानीमुनिको ओभानो बन्न खोजिरहेका छन् । 

पार्टीको पतन उन्मुख अवस्था वास्तवमा अहिलेको कारणले मात्र सिर्जना हुन पुगेको होइन, यसको लामो समीक्षा गर्नुपर्ने हुन्छ । २०४६ सालको शाही घोषणाबाट बहुदलीय प्रजातन्त्र प्राप्त हुनेबित्तिकै उत्साहका साथ यो पंक्तिकार पनि पार्टीका झण्डा र चौवन्नी सदस्यता प्याड बोकेर आफ्नो गाउँ पुगेको थियो । एकजन गाउँले आफन्तलाई पार्टी सदस्यता लिन आग्रह गर्दा उनले इन्कार गर्दै भनेका थिए ‘हेर भाइ, भोका उडुसले झन् बढी रगत खान्छन् । पञ्चायतले भ्रष्टाचार ग¥यो भनेर त्यसलाई फालेर यो व्यवस्था ल्याउनेहरूले पाँच वर्षभित्र पञ्चको भन्दा बढी भ्रष्टाचार गरेनन् भने मलाई पाजी भन्नू’ ।

मेरो अनुरोध उनले अस्वीकार गरे सदस्यता लिएनन् । मेरो सिंगो गाउँ प्रजातान्त्रिक इलाकाको भनेर हामीले घोषणा गर्यौ तर उनी पछिसम्म पनि एक्लै बसे, स्वतन्त्र रूपमा, कुनै पार्टीतिर लागेनन् । त्योबेला उनी समाजमा नमिल्दो मान्छे देखिए र हामीबाट अलिक पर पनि भए तर उनको भनाइ प्रमाणित हुन तीनचार वर्षभन्दा बढी लागेन । उनको भनाइ र अडान सही प्रमाणित भएपछि त उनलाई सलाम गर्न करै लाग्यो । आफूले भगवान्का रूपमा मानेका आफ्ना नेताहरूको आस्थामा यति छोटो समयमै गिरावट आएपछि हामी कार्यकर्ताहरू निराश हुनुभन्दा अर्को कुनै विकल्प नै थिएन । ती गाउँले दाइका अगाडि हामीले टाउको निहुराउनु प¥यो, उनले कसो रहेछ त भन्न पाए । किन यस्तो भयो त ? अब त्यसको कारण खोज्नुपर्ने बेला आएको छ । आएको मात्र होइन अब त बितिसकेको छ । यसको कारण निकै पहिले खोजिनुपर्ने थियो तर सबै आशालाग्दा बहुदलीय नेताहरू भ्रष्टाचारको त्यही गन्धे आहालमा डुबिसकेका हुँदा कसैले यसतर्फ चासो दिएनन् । 

पहिले पञ्चायतलाई गाली गरेर उनीहरूले केही वर्ष बिताए । त्यसले थुपारेका कुँडाकर्कट सफा गर्दैछौँ भनेर केही वर्ष जनतालाई अल्मल्याए । आफूले देश र जनताका लागि कुनै रचनात्मक काम गर्नुको साटो पाएको अवसरको दुरूपयोग गरे । पञ्चायतलाई गाली गर्नेहरूले नै धमाधम आफ्नो पार्टीमा पञ्चहरूलाई भिœयाए । 

आमनिर्वाचनमा पनि स्वस्थ प्रतिस्पर्धाको सट्टा बुथ कब्जा गर्ने, जाली मत र मतदाताको प्रयोग गर्ने, धन र जनको दुरूपयोग गर्नेलगायतका कामले प्रश्रय पाउन थाले । आफ्नै दलका नेतालाई हराउन त्यही दलका नेता लाग्न थाले । आप्mनो नजिकका व्यक्तिमात्र प्रधानमन्त्री र मन्त्री भइरहनुपर्छ भन्ने मान्यताले नेताहरू ग्रसित हुन पुगे । कालिदास प्रवृत्ति पार्टीमा हाबी भयो । 

पार्टीको बहुमत भएको प्रतिनिधिसभा भत्काएर भुइँमा पछारिएपछि मात्र उनीहरूको होस खुल्यो तर यो फोहोर गरिसकेपछि दैलो देखेजस्तो मात्र बन्न पुग्यो । त्यसपछि पनि यस्ता कामहरू भइरहे, रोकिएनन् । हजारिया नोटको जोखेर कारोबार भयो, सांसदहरूलाई कुनै होटलमा जम्मा पारेर राख्ने वा सिंगापुरको सयरमा पठाउनेजस्ता काम भए । जति यस्ता काम भए त्यत्तिनै प्रजातन्त्र कमजोर बन्दै गयो र प्रजातन्त्रको पहरेदारी गर्छ कि भनेर जनताले आश गरिएका पार्टीबकै यस्तो व्यवहार देखेर निराश भए अनि यसको वैकल्पिक दलको खोजी गर्न थाले । 

यही क्रममा वामपन्थी दलहरूले यो अवसरलाई राम्ररी उपयोग गरे । आफ्नो संगठन बलियो बनाए र नेपाली कांग्रेसको आलोचना गरे । जनताले उनीहरूलाई विश्वास गर्न पुगे । यो अवस्थालाई कांग्रेसका नेताहरूले अझै राम्ररी बुझेनन् वा बुझेर पनि बुझ पचाइहरेका छन् । पार्टीको हिृवप उल्लंघन गर्ने काम पनि भए । घरमा आगो लगाएर खरानीको व्यापार गर्ने काम रोकिएन । राजनीतिको आगोलाई खेलौना ठानेर खेलाउनेहरू यसमा जलेर घाइते बन्न पुगे । दलका नेताहरूबीच नै पानी बाराबारको व्यवहार गरिएका नेतालाई प्रधानमन्त्रीको काँडै बनाएर २०५६ को चुनाव गर्नुप¥यो । यही बेलामा आफूले सन्तुष्ट पार्न नसकेका आफ्ना कार्यकर्ता गएर चर्काएको माओवादी विद्रोहको सामना पनि गर्नुप¥यो । 

यसपछि त पार्टी नै फुट्यो । आफैँले फेद काटेर सुकाएको बेलोबाट फलको आश गर्नु निरर्थक सपना थियो । राजा वीरेन्द्रको वंश विनास र ज्ञानेन्द्रको सत्तारोहण पछिका दिन नेपाली कांग्रेसका लागि अझै निराशालाग्दा बने । माओवादी शान्ति प्रक्रियामा आएपछि नेपाली कांग्रेस अझै पछि प¥यो । सधैँ एक नम्बरको वरियतामा रहेको यो पार्टी दोस्रो र तस्रो बन्न थाल्यो । यसप्रतिको सहानुभूति घटेर गयो ।

जनताले अलिक बढी आश गरेका नेताहरूको  मृत्यु भइसक्यो । भ्रष्ट आचरणमा डुबेकाहरू अहिले पार्टीको मूल प्रवाहमा पुगेका छन् । अहिले विभिन्न राजनीतिक नियुक्तिदेखि कार्यकर्ताको परिचालनमा समेत योग्य र सक्षमको कदर छैन । जुन पार्टीको र जोभए पनि पैसाको पोको बोकेर राजनीतिक नियुक्ति माग्न आयो भने उसले पाउने भयो । बाहिरी आलोचनाबाट उनीहरू डराउन छोडे । आफू शक्ति र सत्तामा भएका बेलामै त हो आफ्ना मान्छे र आफन्तहरूलाई पद र प्रतिष्ठामा पु¥याउने भन्ने भावना अहिलेका नेताहरूमा छ । यही भावनाका कारण पार्टी, प्रजातन्त्र र देश विकासकै काम हुन सकेन । 

२०४६ सालको प्रजातन्त्र आएका बेला जन्मिएका बालबालिका अहिले ३० वर्षका बन्न लागे तर प्रजातन्त्र अझैसम्म पनि अपरिपक्व अवस्थामै रुमल्लिइरहेको छ । योभन्दा दुर्भाग्य नेपाल र नेपालीका लागि अरू केही हुनै सक्तैन । नेपाली कांग्रेसमा अहिलेको प्रमुख समस्या पनि उही हो पहिलेकै जस्तो । पार्टीभित्र गुटबन्दी छँदैछ घटेको छैन बरु अझै मौलाएर गएको छ । अनि पर्टीलाई मिलाएर लाने, एक बनाउने भन्ने सोच भएका नेता पनि छैनन् र त्यो चाहना पनि कसैमा छैन । एउटा नेताका व्यक्तिगत कमीकमजोरीलाई सार्वजनिक गर्दै आफू नेता हुन खोज्नेहरूको पार्टीमा कमी छैन । यसले गर्दा आफैँ पछाडि परिन्छ भनेर तिनीहरूले पनि सोच्नुपर्ने हो तर सोचेका छैनन् ।

 ‘हामी नेताहरू त धेरै भयौँ तर राजनेता हुन चाहिँ कोही पनि सकेनौँ’ भनेर स्वर्गीय गणेशमान सिंहले त्यहीबेला भनेका थिए । गणेशमानले त आफू जत्तिको मानिसलार्ई समेत राजनेता मानेनन् तर उनीभन्दा निकै पछाडिका नेतासमेत आफू ठूलो नेता हुँ भन्ने अहंकारमा छन् । गणेशमानको यो धारणा व्यक्त भएको करिब तीन दशक बितिसक्ता पनि उनका स्तरका नेता कोही जन्मिन सकेनन् । यो पनि अर्को दुर्भाग्यको कुरा हो । नेपाली कांग्रेसको महाधिवेशन भएको दुई वर्ष बितिसकेको छ । स्थानीय निर्वाचन भएको नौ महिना बित्यो । अनि यसैगरी प्रदेश र स्थानीय निर्वाचन भएको पनि चार महिनाभन्दा बढी भइसकेको छ । यी विभिन्न घटनाले आफूलाई झनझन पछाडि पार्दै लगेपनि नेपाली कांग्रेस आफू र आफ्नो पार्टीलाई उकास्ने कुनै काममा नलागी सुतेको सुत्यै छ । 

आपसी गाली गलौजले प्रशस्त ठाउँ लिइरका छन् । यसले पार्टीलाई उकास्ने काम निश्चय पनि गरेको छैन । यसको सट्टा पार्टीको हितका योजनाहरू ल्याएर गुटबन्दीको अन्त्य गर्दै यसैमा लाग्ने हो भने निश्चय पनि पार्टी संगठन मजबुत हुन जान्छ र पार्टीले पनि पुनर्जीवन पाउन सक्छ । होइन भने यति लामो र रचनात्मक इतिहास बोकेको यो पार्टी प्रजापरिषद् जसरी नै इतिहासमा मात्र सीमित बन्न जान्छ कि भनेर सोच्नुपर्ने हुन्छ ।