24th April | 2018 | Tuesday | 4:19:36 AM

श्वेतपत्रमा आरोप प्रत्यारोप

स्वयम्भूनाथ कार्की   POSTED ON : Monday, 16 April, 2018 (7:31:52 PM)

श्वेतपत्रमा आरोप प्रत्यारोप

श्वेतपत्र जारी गरेर हक्की स्वभावका भनेर चिनिएका डा. युवराज खतिवडाले आफ्नो विरोधको आँधी निम्त्याका छन् । पञ्चायतबाट ढुकुटी लिँदा डा. देवेन्द्रराज पाण्डेले कस्तो अर्थतन्त्र बुझेका थिए त्यो उल्लेख गर्न आवश्यक ठानेनन् । त्यसको २८ बर्ष पुग्न केही दिन बाँकी हुँदा ८९ बुँदे श्वेतपत्रलाई ३१ पेजमा पेश गरेर सबै राजनीतिकर्मीको तारो बनेका छन् अर्थमन्त्री खतिवडा । यो उनीमाथिको चौतर्फी हमलामा उनले आस्था राखेको दल वा उनलाई अर्थमन्त्री बनाउने दल पनि पछि परेको छैन । 

अहिले श्वेतपत्रको विरोध गर्ने काममा पनि ४७–४८ को बजेटबाट तथ्यांकहरू तानिएका छन् । रुपैयाँमा तुलना गर्दा अचाक्ली बढेको देखिएको अर्थतन्त्रको आकार बढेकै हो वा सुन्निएको मात्र हो ? त्यसबेला उपभोक्ताले अधिकतम मूल्यमा किनेको २ रुपैयाँको बिजुलीलाई अहिले २६ रुपैयाँभन्दा ज्यादा तिर्नु पर्छ । 

श्वेतपत्रलाई डा. रामशरण महतले ‘लालपत्र’ र डा. मीनेन्द्र रिजालले ‘पीतपत्र’ भनिदिए । लालपत्र भन्ने डा. महतको जोड मुलुकको आर्थिक अवस्था सन्तोषजनक रहेकोमा छ । शुरुमा नराम्रो देखाएर पछि केही नै नगरी त्यसको वास्तविक अवस्था देखाएर त्यो श्रेय लिन खोजेको भन्ने छनक छ । डा. रिजालको पीतपत्र भन्ने दृष्टिकोणमा भने तथ्य तथ्यांकहरूको कुटिलतापूर्वक प्रस्तुति गरेर भ्रम पार्न खोजिएको भन्ने भनाइ छ । उनले पेश गरेका केही रोचक तथ्यहरु छन् जो साँच्चै नै रोचक छन् । ४७–४८ मा १०० रु आर्जनमा ८ रुपैयाँ ८० पैसा राजश्व भएको र त्यही राजश्व ७३–७४ मा १०० रु आर्जनमा २५ रुपैयाँ ३० पैसा भएको कुरा उनी सगर्व प्रस्तुत गर्दछन् । 

यी कुराहरू कत्तिको सकारात्मक हुन् वा नकारात्मक, त्यो यस्तै डा. साहेवहरू नै भनुन् । तर, यसको असर जनतालाई उनीहरूले भनेको जस्तै सकरात्मक परेको छ वा छैन, त्यो जान्नु भने रोचक हुन्छ । नेका विपक्षी भएको कारणले यसरी प्रतिकारमा उत्रनु स्वाभाविक मान्न सकिएला र सत्तापक्षका अर्थशास्त्रीहरूले पनि श्वेतपत्रलाई अर्थमन्त्रीको अनुचित कदमको रूपमा लिनु पनि त्यति अस्वभाविक होइन । नयाँ राज्य पुनर्संरचनामा आउनुभन्दा पहिलेको भन्दा उन्नति प्रगति हुने आशाले आएको हो । जनताले चामत्कारिक परिवर्तनको आशा गरेको छन् । स्वयं नेतृत्वले पनि ‘संसार चकित पार्ने’ दावी गरिरहेको छ । यस्तोमा अर्थतन्त्रको यो हरिविजोग देखाउनु ठिक हुन्न थियो भन्ने सोच एमालेवृत्तमा आउँनु अस्वभाविक होइन ।

नेपाली कांग्रेसले त विज्ञप्ति नै जारी गरेर श्वेतपत्रको विरोध गरेको छ । यस विरोधमा वामपन्थी दलहरूको पनि मौन समर्थन रहेको छ । कतै ५ बर्षको कतै १० बर्षको तथ्यांक प्रस्तुत गरेर अर्थशास्त्रीले गर्न यसो गर्न नमिल्ने तथ्यांक देखाइएको आरोप छ । विगत १० बर्षको अधिकांश समयमा कम्युनिष्टको हातमा शासन भएको भनेर एकले अर्कामाथि दोषारोपण गर्ने प्रयत्न भएको छ । नेपाली कांग्रेसले यो श्वेतपत्रलाई वर्तमान आर्थिक अवस्थाको चित्रणभन्दा पनि परोक्षरूपमा आफूमाथिको आरोपको पमा लिएको देखिन्छ । त्यसैले कतै देखाएभन्दा धेरै राम्रो आर्थिक स्थिति रहेको दावी गरिएको छ भने कतै यस्तो हुनुमा कांग्रेसमात्र जिम्मेवार नरहेका तर्कहरू दिइएका छन् ।

अपेक्षाकृत स्वतन्त्र अर्थशास्त्रीहरू भने आर्थिक अवस्था त्यस्तो विकराल नरहेको तर ओह्रालो भने लाग्दै गरेको भन्ने गरेका छन् । विषयगत प्राविधिक दुरुह शव्दावलीको जाल पिंmजाएर सबै आआफ्नो कुराको पुष्टि गर्न लागेका छन् । तर नेपालको आर्थिक अवस्था सन्तोषजनक रूपले राम्रो छ त ? श्वेतपत्रलाई जे भने पनि छाती ठोकेर नेपालको आर्थिक अवस्था ठीक छ भनेर भन्न कोही तयार छैनन् । श्वेतपत्रले संकेत गरेका नकारात्मक कुराहरूको अस्तित्व काल्पनिक होइन । 

अर्थशास्त्री अनि राजनीतिबाजहरूको शब्दजालमाभन्दा जनताको रुचि आजको अवस्थामा आफ्नो कमाइले आवश्यकता धान्न सकेको छ कि छैन ? भोलि धान्नसक्ने अवस्था आउला कि नआउला ? भन्नेमा छ । अब कतिञ्जेल राहदानी बोकेर कोरियन दूताबासबाहिर लाइनमा बस्नुपर्ला भन्नेमा छ । सर्वसाधारणलाई कुन सूचकांकको के अर्थ भन्ने जानकारी नहुन पनि सक्छ र जान्ने चासो नहुन पनि सक्छ । तर, ४७–४८ मा कमाइको १०० रुपैयाँमा लागेको ८ रुपैयाँ ८० पैसा बढेर हाल पुगेको २५ रुपैयाँ ३० पैसाले जनताको गाँसमा के असर पा¥यो त्यो कुरामा रुचि छ ।

जेष्ठ नागरिकहरूले पाउँदै आएको समाजिक सुरक्षा भत्ता निरन्तर रहला वा नरहला भन्ने उनीहरूलाई चिन्ता छ । कतिपयको दवाईपानी यसैमा अश्रित छ, यो आश बाँच्न पाउने वा नपाउनेमा अनुवाद हुन्छ । जीवनभर काम गरेर बुढेसकालको सहाराको निमित्त निवृत्तभरण कमाएका राष्ट्रसेवक त्यसको निरन्तरतामा शंका गर्न थालेका छन् । यो श्वेतपत्र जारी हुनुभन्दा पहिलादेखिको निरन्तरता हो । बैंकहरूका काउन्टरमा लाग्ने गरेको भिड ह्वात्त घटेको छ, ऋणमा बैंकको व्याजदर बढ्दो छ । यी सबै कुराहरू किन र कसरी भए श्वेतपत्र, लालपत्र, पीतपत्र खेल्नेले जनतालाई जवाफ दिनु पर्नेहुन्छ ।

नेपालको अर्थतन्त्रमा दीर्घरोग लागेको छ यो कुरा आफ्नो कमाइको पैसाको वर्कत घटदै गएकाले सर्वसाधारणले महशुस गरेका छन् । कमाइका माध्यमहरू निरन्तर घट्दै गएको छ यो कुरा दूतावासमा प्रवेशाज्ञा र श्रम स्विकृतिको निमित्त रातरातभर लाइन बस्ने जनताले जानेको छैन र ? श्वेतपत्रले आर्थिक अवस्था उजागर गर्दा जनतामा नैराश्य छाउँछ भन्ने तर्क त्यसै पनि लाचरी हो । २८ बर्ष नाध्दा पनि मेलाम्चीको पानीले काठमाडांैका सडक धुने सपना सपना नै छ । धाराको टुटीबाट पानी झर्ने साइत अदालतको तारेख सरेभैmँ सरेकोस¥यै छ भने राजनीतिबाजले देखाएका सपनाहरू जनतले गम्भीरतापूर्वक लिएका छैनन् । त्यसैले देखाइएका सपना पूरा नहुने भए भनेर जनतामा नैराश्य छाउने छैन ।

आफ्नो घर आँगनमा आएको सिंहदरवारले सुविधा पक्कै थपेको छ, तर त्यसको मोल चर्को हुँदै गएको छ । कमाइको १०० रुपैयाँ ९१ रुपैयाँ २० पैसा रहँदाको २८ बर्ष पहिले होस् वा त्यही १०० रुपैयाँ ७४ रुपैयाँ ७० पैसा रहँदा, जनताले केही भनेका छैनन् । चर्को ब्याजको ऋण तरलता अभावले रोकिदा पनि जनता निरास भएका छैनन् । नेपाली जनताको सहनशीलको उदाहरण हो यो । यी सबै थपिएका संरचना पदाधिकारी आदिको खर्च उसैले बोक्नुपर्छ । चाहे आज होस् वा ऋणको रूपमा भावी सन्ततिले । त्यसको निमित्त मानसिक रुपले तयार हुनुपर्छ । अवस्था जनतासँग लुकेको पनि छैन र लुकाउनु आवश्यक पनि छैन । 

अझै राम्रो उत्पादन गराउन निजीकरण गरिएका सरकारी उद्योगहरू अहिले छैनन् । यो कुरा जनतालाई पनि थाहा छ । पहिले विदेशी लगानीमा सञ्चालित उद्योगहरूमध्ये कति जनशून्य भएका छन् त्यो विदेशी लगानीकर्ताले पनि देखिरहेका छन् । डा. युवराज खतिवडाको समर्थनमा यो आलेख होइन । तर, उनको प्रशंसा भने गर्नैपर्ने हुन्छ । डा. देवेन्द्रराज पाण्डेले छुटाएको महत्वपूर्ण काम डा. खतिवडाले शुरु गरेका छन् । अब बरु हरेक सरकार परिवर्तनमा जानेले र आउनेले अकरनामाको रूपमा नै सही यस्ता कुरा जनसमक्ष ल्याउँनै पर्छ, चाहे यसलाई श्वेतपत्र, लालपत्र, पीतपत्र जे  भनियोस् । 

कालो पत्र नै भनिए पनि यो क्रम निरन्तर हुनु नै पर्छ । जसरी सार्वजनिक पद धारण गर्नेले आफ्नो सम्पत्ति विवरण बुझाउने काम गर्दछन् त्यसै गरेर हरेक अर्थमन्त्रीले पनि यस्ता कुरा जनसमक्ष ल्याउँनै पर्छ । वर्तमानमा डा. युवराज खतिवडा अभिमन्यू भएका छन् महारथिहरूबीच एक्ला महारथि । अभिमन्यू जस्तै उनी पनि आलाकाँचा छन् । जसरी शौर्य भएर पनि अभिमन्यू अनुभवहीन थिए त्यसै गरेर क्षमता र ज्ञान भए पनि राजनीतिक दाउपेचमा डा. खतिवडा अनुभवहीन देखिएका छन् । अब उनी अभिमन्यूभैmँ डटेर बस्छन् कि आत्मसमर्पण गर्छन् त्यो उनको कुरा हो । तर, अहिलेलाई उनी घागडान महारथिहरूबीचका एक्ला नाबालक महारथि भएका छन् । व्यक्तिगत रूपले उनको आर्थिक नीतिसँग सहमत असहमत हुनु अर्को कुरा हो तर अहिले भने उनको हिम्मतको प्रशंसा गर्नै पर्छ ।