18th October | 2018 | Thursday | 12:22:11 PM

मातातीर्थ औंशी अर्थात् माता सम्मान दिवस

गीता अधिकारी   POSTED ON : Tuesday, 17 April, 2018 (1:56:25 PM)

मातातीर्थ औंशी अर्थात् माता सम्मान दिवस

‘प्रेम त आमाले गरिन् बाँकी सबले नाटक गरे’ गतहप्ता सामाजिक सञ्जालका यस्तै केही पोष्टहरूले मेरो मन तरंगीत बनाइरहेका थिए । ‘मलाई शिक्षित आमा देऊ म तिमीलाई आदर्श राज्य दिन्छु’ भनेका थिए नेपोलियन बोनापार्टले  । त्यस्तै ‘आमा शिक्षित भए समाज शिक्षित बन्छ ।’ जे–जे खोज सबै चिज धर्तीमै छ थरिथरि, जन्म दिने आमा अर्को पाइँदैन कसैगरी ¤ जस्ता भनाइहरू पनि आमाका सन्दर्भमा चर्चामा छन् । भनिन्छ, भगवान्ले आफ्नो प्रतिनिधिका रूपमा सबै घरमा आमा पठाएका हुन् । ‘मातृभाषा’, ‘मातृधर्म’, ‘मातृभूमि’ जस्ता शब्दले उद्गमको अर्थ लगाउँछ । प्राणीको उत्पत्तिको स्रोतको अर्को नामनै ‘मातृ’ हो । समग्र मानव सभ्यतामा मातृ पक्षको अहं स्थान रहेको हुन्छ ।

आमाको मुख हेर्ने दिन अर्थात् मातृ औंशी भनिने वैशाख महिनाको कृष्णपक्षको औंशी तिथि मातृ औंशीका रूपमा मनाइन्छ । आमा भएकाहरूले आफ्नो सामाथ्र्यअनुसार आमालाई खुसी पार्ने काम गर्छन् । विभिन्न कारणले घरदेखि टाढा हुनेहरूले सम्पर्र्कका विभिन्न माध्यमबाट आमालाई सम्झिन्छन् । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमालाई सम्झिने कार्य गर्दछन् । कसैकसैैले यसदिन आफ्नी दिवंगत आमाको सम्झनामा विभिन्न सामाजिक कार्य गर्ने गरेको पनि पाइन्छ । 

काठमाडौंको मातातीर्थमा यसदिन आफ्नी आमाको मुक्तिको कामना गर्दै तर्पण दिने कार्य पनिगर्ने गरिन्छ । काठमाडौं उपत्यकाको पश्चिम थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा मातातीर्थ रहेको छ । यस्तै देशका अन्य धार्मिक स्थानहरूमा पनि  मातृ औंशीमा आफ्नी आमाप्रति श्रद्धा भाव व्यक्त गर्ने गरिन्छ ।

अरूको लाख, आमाको काख भनिन्छ । आमाको ममताको अगाडि जुनसुकै मूल्य पनि कम हुन्छन् । त्यो ममता किनेर पाइँदैन । हाम्रा लागि लागि धर्तीले जति बोझ थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यत्तिकै कष्ट सहेकी हुन्छिन् । शान्ति, क्षमा, करुणा, वात्सल्य, दान र दयाको स्रोत मानिन्छ आमालाई । गर्भकालदेखि नै आफ्ना सन्तानप्रति आमाको आत्मिक सम्बन्ध हुन्छ । आमा भएर पनि आमाको महŒव नबुझ्ने पनि हालान् तर ती मानवरूपीधारी मात्र हुन् ।  बाहिर ठूला–ठूला कुरा गर्ने केही व्यक्तिहरू घरभित्र भने आमालाई हेला गर्ने र आमालाई वृद्धाश्रम जान बाध्य बनाउने गरेका घटनाहरू हामी देखिरहेका छौँ । 

आमालाई एकदिन भेटेर खुशी पार्नेमात्र होइन  सधैँ सम्झनु र खुशी पार्नु जरुरी छ ।  पछिल्लो समयमा आफैँले जन्माएका छोराछोरीबाट पीडित भएका छन् आमाहरू उनीहरूले आफ्नै सन्तानबाट पीडा भोग्नु परिरहेको छ । आमाका आँखामा आँशु आउन नदिने प्रण गर्नुनै सच्चा सन्तानको कर्तव्य हुन्छ ।

आमालाई माता, जननी, महतारी, मुमा, मा, माई, आदि शब्दले पनि सम्बोधन गरिन्छ  । हामी कुनै दुःख, कष्ट आइपर्दा सबैभन्दा पहिला आमालाई नै सम्झन्छौँ । हामी जन्मदेखि ठूलो हुन्जेलसम्म आमाबाट माया, ममता पाइरहेका हुन्छौँ । उनको मायामा कुनै स्वार्थ हुँदैन । यसैले त आमा जननी हुन, देवी हुन् । आमाको जस्तो निष्कलंक र स्वच्छ माया अरू कसैले दिन सक्दैन । तिनै आमालाई कष्ट पु¥याउनु सन्तानको कर्तव्य हुन सक्तैन ।

त्यस्तै आज नेपाल आमा पनि गरिबी र विदेशीको दासत्वबाट मुक्त पार्ने सन्तानको खोजीमा छन् । हामी नेपालआमाका सन्तानहरू जिम्मेवार हुन जरुरी छ । नेपाल आमाका करिब पन्ध्रसय सन्तान दैनिक विदेशिन  बाध्य छन् । यस्तो बाध्यात्मक अवस्थाको अन्त्य गर्नु पनि हाम्रो कर्तव्य हो । नेपालमै बसेर नेपाल आमाको सेवा गर्न नेपालीले पाउनुपर्छ । विदेशमा गएर पसिना बगाउनुको साटो नेपाल आमाको मुहार हँसिलो पर्ने काममा जुट्नसके देशको सेवा पनि हुनसक्थ्यो । हरेक आमाले आफ्ना सन्तान मिलेर बसेको, प्रगतिपथमा लम्केको हेर्न चाहन्छिन् । आमालाई सबैभन्दा ठूलो पीडा सन्तानहरू एकआपसमा लड्दा हुन्छ । त्यसैले आमालाई खुशी पार्न हामी मिलेर बस्नुपर्छ काममा लाग्नुपर्छ । आमा र सन्तानबीचको सम्बन्ध प्रगाढ बनाई सबैले आफ्नी आमाका साथै नेपाल आमालाई समेत समृद्ध र खुशी बनाउनु आवश्यक छ । संस्कृतमा उक्ति पनि छ ‘कुपुत्रो जायते क्वचिदपि कुमाता नभवितु ।’

‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरियसी’ अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् । हरेक प्राणीका लागि आमाको स्थान सर्वथा पूजनीय हुन्छ । प्रकृतिमा हरेक प्राणीले आमाद्वारानै जीवन पाएका हुन्छन् । जे भनेर उच्चारण गरे पनि आमा शब्दको महिमा अपरम्पार छ ।

संसारभरिनै आमालाई कुनै न कुनै रूपमा सम्झिने गरिन्छ । यसका लागि दिन फरक होलान् र शैली पनि फरक होलान् तर  आमालाई सम्झिने काम सबैले गर्छन् । बेलायतमा मदरिङ् सन्डे वा ग्रीसमा यशु मन्दिरमा परम्परागत उत्सव मनाउने गरिन्छ । चीनमा मातृ दिवस निकै भव्यताका साथ मनाइन्छ । त्यस्तै बोलिभियामा मे २८ लाई मातृत्व दिवसका रूपमा मनाइन्छ । रोमानियामा मातृ दिवसलाई महिला दिवसका रूपमा मनाइन्छ । संयुक्त राज्य अमेरिका र क्यानाडामा मे महिनाको  दोस्रो आइतबारलाई मातृ दिवसको रूपमा मनाउने गरिन्छ  । अन्य देशमा पनि आआफ्नै प्रचलनअनुसार फरकफरक तिथि मितिमा आमालाई विभिन्नरूपमा सम्झिने गरिन्छ ।

आमाको मुहार हसाउन सकेमात्र हामी बाँचेको अस्तित्व रहन्छ र हाम्रो जीवन सार्थक हुनेछ । कहिलेकाहीँ मात्र आमालाई सम्झेर, आमालाई एक छाक मीठो खुवाएरमात्र हुँदैन । जन्म दिने आमा र नेपाल आमालाई हामीले सधैँ खुशी र सुखी राख्न सक्नुपर्छ । आमाको मुख हेर्ने दिन अर्थात् मातृ औंशीका दिन यो प्रण गर्न मात्र सकेपनि आमाप्रतिको सम्मान वृद्धि भएको मानिने छ, र ‘मातृ देवो भव’ भन्ने हाम्रो पौराणिक उद्गारले सार्थकता पाउँनेछ ।  


Views: 3