18th August | 2018 | Saturday | 12:39:46 PM

तराई मधेसमा बगरखेती

डा. श्रीभगवान ठाकुर   POSTED ON : Saturday, 05 May, 2018 (3:27:27 PM)

तराई मधेसमा बगरखेती

नेपाल हिउँ, नदी, मुहान, ताल तथा जमिनमुनिका पानीको पर्याप्तताले गर्दा जलस्रोतको धनी राष्ट्र मानिन्छ । हिमनदी, हिमाली तुषारो र हिमताल पानीका मुख्य भण्डार मानिन्छन् । नेपालमा ३२५२ हिमनदी, २३२३ हिमताल र ६००० नदीहरू रहेका छन् । जलवायु परिवर्तनले नेपालमा हालसम्म १२ हिमताल विष्फोट भई बाढी आएका र २० वटा अझै फुट्ने खतराको सम्भावनामा रहेका छन् । यी ६००० नदीनाला ४५ हजार किमि लामो दुरीमा फैलिएका छन् । 

एक हजार नदी १० कि.मी. लम्बाइका र २४ वटा १० किमि लम्बाइका छन् । ती नदी उत्तरबाट दक्षिणतर्फ तराई मधेस भएर बगेका छन् । ठूल्ठूला नदी जस्तै, कोशी, गण्डकी, कर्णाली, महाकालीदेखि लिएर मझौला खालका बागमती, कमला, राप्ती, मेची, कन्काई तथा बबई एवं साना नदीहरू तिनाउ, बाणगंगा, तिलावे, सिर्सिया, लालबकैया, मनुस्मारा, हर्दिनाथ, सुनसरी आदि नदी बगेका छन् । यी नदी वरिपरिका क्षेत्रफल समतल भूभागमा वर्षामा पानीको बहावको कारण जंगलका र खेतीयोग्य भूमि तथा खेतबारीहरू बगरको रूपमा परिणत भएका छन् । नेपालमा तराई मधेसका २१ जिल्ला गरी ७८ हजार हेक्टरभन्दा बढी जमिन बगर भई उत्पादनविहीन बनेको छ । 

नदी खोला किनाराका बालुवाले पुरेका, कटान गरेका तथा छाडेका अधिकांश भूमि वर्षातमा बाढीले ढाक्ने र हिउँदमा प्रयोगमा नआएको अवस्था रहेको छ । जलवायु परिवर्तन, कमजोर भौगोलिक बनावट, पहाडको भिरालोपना आदि कारणले तराईमधेसका नदी किनाराका पर्यावरण बिग्रदै गरेको र वर्षा हुने समयको फेरबदलका कारण बाढी तथा सुक्खाजस्ता समस्याले नदी किनारका उब्जाउ जग्गा बगरमा परिणत भइरहेको अवस्था छ । यहाँ बसोबास गर्ने मानिसको जनजीवन दिनानुदिन जोखिमपूर्ण हँुदै गइरहेको छ । यस्ता नदी किनार तथा छेउछाउका बालुवामा वर्षायामपछि उपभोग तथा आम्दानी गर्ने उद्देश्यले उपयुक्त प्रविधिबाट कृषिवाली उत्पादन गर्ने कार्यलाई बगरखेती भनिन्छ । 

केही वर्षयता बगरमा फर्सी समूहका बाली लगाएर नगद आम्दानी गरी जीविकोपार्जनमा सुधार गर्ने अवसर देखिन थालिएको छ । यसमा भारतबाट किसान आई सानासाना पाटामा बगर खेती गर्ने पुरानो परम्परा भए पनि हालमा नेपालका केही संस्था हेल्भेटास, फोरवार्ड, प्राक्टिकल एक्सन, लघु उद्यम विकास कार्यक्रम, संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन, सरकारी कृषि विकास कार्यालयलगायत अन्य संस्थाबाट कैलाली,बर्दिया, बाँके,दाङ, कपिलवस्तु, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, उदयपुर, सुनसरी, झापा जिल्लाहरूमा बगरमा तरकारी खेती थोरै क्षेत्रफलमा गरिएको छ । भर्खरै तराईका १४ जिल्लामा इसिमोडसहितको टोलीले गरेको बगर नक्सांकनमा ४५ हजार हेक्टर जग्गा नदीको बाढीले ढाक्ने समथर बगर क्षेत्रफल रहेको छ ।

यस्ता जग्गा वर्षभरि नै बाँझो तथा नागै बालुवा वा खरपातले भरेको रहन्छ । तर बगरको माटो, बालुवा तथा पानीको अवस्थाअनुसार केरा, उखु, बदाम, ओल, सखरखण्ड, आलु, कुरिलोजस्ता विभिन्न किसिमका बाली लगाएर प्रशस्त आम्दानी गर्न सकिन्छ । नदी खोला किनारका जग्गालाई उपयोगबाट आम्दानी गरी स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन, नदी किनारको पर्यावरणमा सुधार ल्याउन, जैविक विविधता कायम, भोकमरी र कुपोषण न्यून गर्नका साथै जलवायु जन्य जोखिमका लागि अनुकुलन क्षमता बढाउनसमेत बगर खेती महŒवपूर्ण मानिन्छ । बगर खेती तराईमधेशका जिल्लाहरूमा प्रशस्तै गर्न सकिने सम्भावना रहेको छ । यसबाट स्थानीय तहका सार्वजनिक जग्गा प्रयोग भई राजस्व वृद्धिमा समेत सहयोगी हुनेछ ।

नदी किनार तथा नदी छेउछाउमा र वन क्षेत्रभित्र सार्वजनिक जग्गामा बगर खेती गर्ने चलन रहेको छ । नदीले बगाएर ल्याएका मसिनो बालुवा र पाँगो माटो मिसिएको जग्गा बगर खेतीका लागि उपयुक्त हुन्छ । बाटोको सुविधा भएको तथा वन्य जीवजन्तुबाट जोगाउन सकिने खाले जग्गा छनोट गर्नुपर्छ । बगर खेतीका लागि नदी प्रवाहका विपरित दिशातर्फ कित्ताकित्ता बाड्ने खालको तथा चैत वैशाखमा विरुवाको जरा जमिनमुनि नदीको पानीको सतह वा चिस्यान भेट्ने (आधा मिटरदेखि १ मिटर गहिरो) खालको जग्गा छनोट गरिन्छ । सुक्खा याममा नदी खोलाको पानीको सतहमुनि जाने हुनाले बालीको जरा पानीको सतहमा भेटिने गरी बगरमा साधारणतया नाली बनाएर, र खाल्डो खनेर बाली लगाइन्छ । बगर खेतीका लागि गर्मी याममा हुने काँक्रो फर्सी समूहका बालीहरू जस्तैः काँक्रो, करेला, लौका, चिचिण्डा, तरबुजा, खरबुजा, परबल, फर्सी, जुकिनी, खिरी, आदि राम्रोसँग खेती गर्न सकिन्छ ।

बगरमा तरकारी खेतीका लागि नदी खोलामा मंसिरको पहिलो हप्तामा खाडल खन्ने, दोस्रो हप्तामा मल मिसाउने र अन्तिम हप्तासम्म वीउ राखिसक्ने गर्नुपर्छ । यदि नदीको पानीको सतहमाथि तथा कात्तिकतिर बाढी आएको खण्डमा पुस पहिलो हप्तामा पोलीब्यागमा बेर्ना उमारी माघको दोस्रो हप्तामा खनिएको खाडलमा रोप्नुपर्छ । फागुन अन्तिम र चैतदेखि बेमौसमी तरकारी बेचेर धेरै आम्दानी गर्न सकिन्छ । यसमा विषेश गरी चिसोबाट बचाउन छाप्रो, सिंचाइ, खुल्ला तथा छाडा पशु, जंगली जनावर, रोग, किरा, चोरी, आदिबाट बचाउँनु जरुरी हुन्छ ।

अतः नदी किनारका बगरमा रहेका हजारौं हेक्टर जग्गालाई उब्जाउशील बनाई आम्दानी लिन प्रचुर सम्भावना भएकाले संघीय प्रणालीमा गइसकेको अवस्थामा बालुवामा सुन फलाए भनेझैं स्थानीय तहले बगरको समुचित व्यवस्थापन (तथ्यांक, सम्भावना अध्ययन, योजना तर्जुमा, लगानी, कार्यान्वयन तथा अनुगमन मूल्यांकन) गरेर खाद्य सुरक्षा, वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता, गरिबी न्यूनीकरण एवं समृद्धिमा अहम् भूमिका खेल्न सकिन्छ ।