23rd May | 2018 | Wednesday | 4:18:27 AM

मोदीको भ्रमण र हाम्रो चासो

विज्ञान दाहाल   POSTED ON : Friday, 11 May, 2018 (2:16:03 PM)

मोदीको भ्रमण र हाम्रो चासो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको पूर्वतयारी भइरहेको छ । देशको प्रशासनिक निकाय सुरक्षा प्रबन्ध गर्नेदेखि लिएर नागरिक अभिनन्दनसम्मको तयारीमा व्यस्त छ । अर्कातिर प्रदेश नम्बर २ का सत्तापक्षका केन्द्रीय नेताहरू सरसफाइ अभियानमा संलग्न भएका तस्वीरहरू सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका छन् । नागरिक अभिनन्दनको धुमधामका साथ तयारी गरिँदै छ ।

काठमाडौंमा रहुन्जेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राजधानीको हायात होटलमा बस्ने भएका कारण हायात गेटवरिपरिको बाटो पिच गरिएको छ । यसरी धमाधम भएका तयारीले ओली सरकारको पहिलो कार्यकालमा बिग्रिएको सम्बन्ध अहिले सुध्रिएको प्रमाणित हुन्छ । वर्तमान दौडधुपको अन्तर्य र कूटनीतिक रहस्यका सम्बन्धमा यो भ्रमणपश्चात बहस होला नै । भारतसामु नझुक्ने व्यक्तिका रूपमा आफ्नो छवि बनाएका प्रधानमन्त्री ओलीकासामु अहिलेको यो सहज सम्बन्ध स्वाभाविक बन्ला वा अस्वाभिक यी चर्चाका विषय बन्छन् नै । 

जनकपुरको साँचो, दशगजाको नागरिक अभिनन्दन र अलिअगाडि नेपाली पक्षले लगाएको विद्युतीय तारबाट भारतीय जवानले हटाइदिएको विषयले जनस्तरमा मोदी भ्रमणको रौनक खासै देखिँदैन भन्ने अनुमान धेरैको छ । पहिलो र दोस्रो भ्रमणमा मोदीले नेपालमा राम्रो स्वागत र सम्मान पाएका थिए, तिनको तुलना अहिलेको भ्रमणसँग हुन सक्तैन । 

यसरी नेपाल र भारतबीच हुने द्विपक्षीय भ्रमणको असर नेपाली जनमानसमा सुखद् रहेका छैनन् । अझ सन्धि र सम्झौताहरू प्रतिपक्षीका लागि नारा नै बनिरहेका छन् । यस्ता संवेदनशीलताले नेपाल र भारतको सम्बन्ध निर्देशन गरिरहेको छ । अतः यो भ्रमण यस कारण पनि महŒवपूर्ण छ कि प्रधानमन्त्री मोदी चीनपछि नेपाल भ्रमणमा निस्किएका छन् । त्यसकारण ओली सरकारले विश्वपरिस्थिति कूटनीतिक चातुर्य र गाम्भीर्यलाई अन्दाज गर्न सक्नु पर्दछ । 

चुनावलगत्तै, भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण, त्यसमा ओलीलाई दिइएको महŒव, फलस्वरूप केपी ओलीको पहिलो विदेश भ्रमणसमेत भारत नै हुनु र भारतीय पक्षकै रुचिमा मोदीको भ्रमण मिति निर्धारण गरिनुलाई महŒवको दृष्टिले हेरिएको छ । नेपालले यस विषयलाई सुझबुझपूर्ण ढंगले मनन् गरी प्राथमिकता तय गर्न जरुरी छ । 

सांस्कृतिक, धार्मिक सम्बन्ध र रोटीबेटीको सवालमा नेपालको नजिकको छिमेकी भारत नै हो । यति घनिष्ठ अन्तरघुलन जति मिठो छ, उत्ति नै नेपाल भारतबीच तीक्त अनुभव पनि छन् । पटकपटकको नाकाबन्दी, आन्तरिक मामिलामा हस्तक्षेप, सीमा विवाद तथा सीमास्तम्भ मिचिने जस्ता कारणले नेपालमा भारतविरुद्धको जनभावना बढिरहेको छ । यी कुरालाई भारतीय पक्षले विश्वासका साथ हल गर्न ठोस प्रयास गर्नु आवश्यक छ । उसले आफ्ना कुरा प्रष्ट रूपमा नेपाली जनतासामु नराखे यो तीक्तता अझै लामो समयसम्म रहिरहन सक्छ । यसो भए नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय थपिन जान्छ र अविश्वासको बादल स्वतः समाप्त हुन्छ । 

भारतीय पक्षले नेपाललाई हेर्ने दृष्टिकोण इष्ट इण्डिया कम्पनीकै नीतिअनुसारको छ । अहिले नेपाल भारत प्रबुद्ध समूह १९५० को सन्धि खारेज गर्ने वा निष्क्रिय गराउने भन्ने सवालमा आआफ्ना धारणा राखिरहेका छन् । बुढीगण्डकी, महाकाली सम्झौता कार्यान्वयनमा भारतीय पक्षले चासो नदेखाएको भन्ने सवाल मिडियाहरूमा आएको छ । यस्ता विषयलाई नेपाल र भारत दुवै देशले यो भ्रमणका क्रममा उठान गर्नुपर्छ । सम्झौता सम्झौताका लागि होइन कार्यन्वयनको लागि हुनुपर्छ । 

पूर्वाधार विकासमा भारतीय सहयोग र प्रविधि नेपालले प्राप्त गर्दै आइरहेको छ । यद्यपि कतिपय नीतिगत

व्यवस्थाले पूर्वाधार विकास तथा प्रविधि हस्तान्तरण सहज बन्न सकेको छैन । आफ्नो लगानीबिना

भारतले अन्य देशबाट विद्यत् खरिद नगर्ने नीति अपनाएको छ । नेपालले भूपरिवेष्ठित मुलुकले पाउनुपर्ने सहयोग निर्वाध रूपले पाउन सकेको छैन । अन्तर्राष्ट्रिय हवाइ उडानका निमित्त नेपाल प्रवेश गर्ने विन्दुका सम्भावना धेरै हुँदा हुँदै पनि भारतले एउटामात्र मार्ग दिएको छ । 

दोस्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल बनिरहेको सन्दर्भमा अर्को छोटो दूरी पर्ने हवाई प्रवेशमार्गको सम्बन्धमा नेपालले कुरा उठाउन जरुरी छ । नेपालमा भएका पाँच सय र हजारका पुराना नोट सटहीको समस्या जस्ताको तस्तै छ । यी यावत विषयमा नरेन्द्र मोदीको के अभिव्यक्ति रहन्छ यसले आगामी सम्बन्धको बाटो पहिल्याउँनेछ । 

त्यसकारण द्विदेशीय भ्रमणहरू शक्ति सन्तुलन वा प्रभाव विस्तारमा मात्र केन्द्रित हुनुहँुदैन । नेपाल भारतबीचको सुमधुर सम्बन्ध आजको आवश्यकता हो । भारतकै कारण सार्क शिखर सम्मेलन स्थगित छ । यो भ्रमणले सार्कको भविष्यका विषयमा पनि दक्षिण एसियालाई नयाँ सन्देश दिन सक्नुपर्छ । जलवायु परिवर्तन र आतंकवाद नियन्त्रणजस्ता विषयमा साझा अवधारणाका साथ दुई देश मिलेर अगाडि जान आवश्यक छ । यो भ्रमणबारे अहिल्यै धेरै कुरा भनिहाल्न उचित हुँदैन किनकि यो भ्रमण हुनै बाँकी छ र यसमा के के हुने हुन् तिनको लेखाजोखा भ्रमणपछि मात्र गर्नु सान्दर्भिक हुन्छ ।