18th October | 2018 | Thursday | 6:57:24 AM

पुरुषमा सरिताको सटिक नजर

रमा लुइँटेल   POSTED ON : Saturday, 12 May, 2018 (2:09:50 PM)

पुरुषमा सरिताको सटिक नजर

‘के मलाई निश्छल, निष्कपट माया गर्ने पुरुष यो धर्तीमै छैन त ?’

प्रेमी त मुसलमान परेछ भन्ने थाहा पाएपछि त्यो प्रेमलाई तिलाञ्जलि दिएर अर्को युवकसँग प्रेम गरेर बिहे गरे पनि टिकाउ भएन । पारपाचुके भयो । यो पारपाचुकेमा सघाउने पुरुष रमेशसँग फेरि भयो । यो प्रेममा पनि धोका भएको प्रसंगसँगै उक्त प्रश्न गरेर ‘पुरुष’ शीर्षकको कथा सकिन्छ । 

पुरुष कथासंग्रहभित्रको पुरुष शीर्षकको कथाले भनेजस्तै साँच्चै के पुरुषले महिलालाई स्वार्थरहित प्रेम गर्दैन त ? साहित्यकार सरिता अर्याल प्रेममा व्यापार मिसिएका कारण स्वार्थरहित प्रेम पाउन मुश्किल भएको बताउँछिन् । कथा संग्रहमा संगृहित आफ्ना १६ वटा कथामध्ये सरितालाई यही कथा साह्रै राम्रो लागेको छ । त्यसो त आमालाई आफ्ना सबै सन्तान बराबर नै लाग्छन् तर पनि ‘पुरुष’ एकदमै राम्रो लाग्नुको कारण उनले विस्तार गरिन् । उनले भनिन्, ‘समाजमा रहेका फरक फरक पुरुष पात्र यो कथामा छन् त्यसैले साह्रै मन परेको हो ।’ 

महिला प्रेममा समर्पण चाहन्छन्, त्याग चाहन्छन्, दिगोपन चाहन्छन् । तन र मन दुबै दिन्छन् । उनले पुरुष कथाको पात्र पुरुष रमेश र ती महिलातर्फ इंगित गर्दै उनले भनिन्, ‘पुरुषले तन दिन्छ, मन दिँदैन, त्यसैले प्रेम दिगो हुँदैन ।’ पुरुष कथाको पात्र रमेश मात्रै होइन, सम्पूर्ण विषय नै दिदीबहिनीसँग भेटघाट हुँदा चलेको प्रसंगबाट जन्मिएको हो । त्यसैले उनले कथासंग्रहको नाम नै पुरुष राखिन् । कथासंग्रहको नाम पुरुष राखेकोमा कतिले ‘अर्को फेमिनिस्टको जन्म भयो’ भन्दै टिप्पणी पनि गरेका छन् । यो टिप्पणीप्रतिको उनको प्रतिक्रिया छ, ‘फेमिनिष्ट होइन, यथार्थ जन्मिएको हो, पुरुषमा केन्द्रित भएकाले हो ।’

समाजभित्रका मसिना र ध्यान नपुगेको विषयलाई सरिताले टपक्क टिपेर कथाको रूपमा ढालेकी छिन् । पुरुष कथाका पात्र पनि उनले नजिकको परिवेशमा फेला पारेकी हुन् । कथाको विषयवस्तु बग्रेल्ती देखेकी सरिताले यथार्थमा भेटिएका पात्रहरूसँग कुरा गर्दा र मनका कुरा खोतल्दा कहिले पेट मिचीमिची हाँसेकी छिन् त कहिले बलिन्द्रधारा आँशु झारेकी छिन् । 

अप्रिल फुल भन्ने कथा सरिता आफ्नै कथा हो । कथाका पात्र याकुब उनका गडफादर हुन् । उनलाई अमर बनाउन यो कथा लेखेको सरिता बताउँछिन् । कथासंग्रहमा रहेका कथामा महिलाका भोगाइ, अभाव, चरित्र, पुरुषको चरित्र, व्यक्तित्व कथाका विभिन्न पात्रमार्फत प्रस्तुत गरेकी छिन् ।

सरिता यथार्थपरक कथा लेख्छिन् । आफ्नो रचनामार्फत समाजको वास्तविकता बाहिर ल्याउँछिन् । उनले लेख्नुको कारण खुलाउँदै भनिन्, ‘समाज कता जातै छ, देखाइदिने हो, पात्रहरू मार्फत उनीहरूमार्फत अवस्था बताइदिने हो ।’

पुरुष पीडित छैनन् ?

यो समाजमा महिलामात्रै पीडित भएका छैनन् । पीडित हुने पुरुष पनि छन् । सरिताले पूर्वी नेपालको एउटा उदाहरण दिइन् । केही दिनअघि अध्ययन अनुसन्धानका सिलसिलामा त्यता पुगेकी उनलाई त्यहाँको घटनाले अझैं जिरिङ्ग बनाउँछ । 

मलेसिया गएका ती पुरुष घर आए । बिरामी भएर नेपाल फर्किएका श्रीमानलाई उनकी श्रीमतीले घर पस्न दिइनन् । कुरा बुझ्दै जाँदा ती महिलाले आठ वर्षअघि नै सम्बन्ध विच्छेद गरेकी रहेछिन् । सम्बन्ध विच्छेद भइसकेपछि पनि उनले श्रीमतीकै हैसियतमा विदेशबाट आएको रूपैयाँ लिँदै आएकी रहेछिन् । कुराकानीको क्रममा गम्भीर देखिएकी सरिताले भनिन्– पुरुषमाथिको हिंसा यो भन्दा अर्को के होला ¤ 

त्यतिमात्रै होइन, पछिल्लो समय डिभोर्सले समाज कलंकित हुँदैछ । बिहे गर्ने केही समयपछि डिभोर्स गर्ने अनि सम्पत्ति लिने घटना बढेका छन् । एकै महिलाले तीन जनासँग डिभोर्स गरेको घटना उनले केही दिनअघि सुनेकी थिइन् । श्रीमती भएर सम्पत्ति पाउने भएपछि डिभोर्सको विकृति बढेको उनको ठम्याइ छ । भन्छिन्, ‘सम्पत्ति पाउने भएपछि सम्बन्ध झिनो भइदियो । पुरुष पीडित नभएका होइनन्, हिंसा नभोगेका होइनन् तर संख्या गौण छ ।’ 

हिंसा खेपेका पुरुषहरूलाई ‘तिमीले पीडा बाहिर ल्याउन हुन्न’ भन्दै पित्तृसत्ताले दबाउन खोजेको उनको भनाइ छ । त्यसैले पुरुषले भोगेको हिंसा नगन्यमात्रै बाहिर आउँछ । सरितालाई कहिलेकाहिं लाग्छ, महिलालाई मात्रै उचालेर हिँड्ने गैरसरकारी संस्थाले ठिक गरिराखेका छैनन् । सिक्काको अर्को पाटो पुरुष कुन अवस्थामा छ त्यो बुझ्नु आवश्यक छ । 

हाम्रो कुराकानीमा सम्बन्ध विच्छेद, पित्तृसत्ता, महिला, समाज लगायतका विषय थिए । पत्रकार र अनुसन्धानकर्ता समेत रहेकी सरिता दुर दराजका महिलाको अवस्था र चेतनास्तर सम्झेर केहीबेर भावुक बनिन् । घोत्लिइन् । अनुसन्धानका लागि दुर्गम ठाउँ पुग्दा उनले वास्तविक नेपाली महिला भेटिन् । शहरी महिलाको अवस्था र चेतनास्तर केही बदलिए पनि यो गति एकदमै कमजोर भएको उनको निष्कर्ष छ । समाज सुस्तगतिमा छ । ग्रामीण भेगका महिलाको अवस्था उत्साहजनक छैन । उनीहरूको पहिचान छैन । उनीहरूको आवाज सुनुवाइ हुँदैन । काठमाडौं र विकसित शहरका महिलालाई हेरेर देश भरका महिलाको चित्रण गर्न सकिँदैन ।

सरिताले आफ्नो कथासंग्रह भित्रको आफ्नो अर्को कथा ‘कतारको कहर’ प्रसंग झिकिन् । वैदेशिक रोजगारमा गएका पुरुषको भोगाइ यो कथामा छ । अन्य कुनै विषयको अनुसन्धानका लागि तराईको एउटा गाउँमा पुग्दा उनले यो कथाको विषय भेटेकी थिइन् । विदेशमा काम गर्न गएका श्रीमान् र सन्तान छोडेर कथाकी महिला पात्रले अर्को पुरुषसँग घरजम गर्छिन् । विदेशबाट फर्किएका ती पुरुषले पनि केही दिनपछि दोस्रो घरजम सुरु गर्छन् । घरजम जसोतसो अघि बढ्दै थियो । हात्तीले घर भत्काइदिएपछि ती पुरुष पात्र फेरि विदेश जाने योजना बनाउँछन्, विदेशी भूमिमा पसिना बगाउन पुग्छन् । दुर्भाग्य ¤ एउटा दुर्घटनामा परेर उनको जीवन लिला समाप्त हुन्छ । क्षतिपूर्ति वापत उनको परिवारले पाउने रूपैयाँ बुझ्ने बेला पहिली श्रीमती पुग्छिन् । ‘पासपोर्टमा तपाईंको नाम भएकाले हामीले तपाईंलाई पैसा दियाँै, बाँकी आफै मिलाउनु होला’ भन्दै अड्डाका कर्मचारीले जेठी श्रीमतीको हातमा पैसा दिन्छन् । यसबाट विचलित भएकी दोस्री श्रीमतीलाई सरिताले प्रत्यक्ष भेटेकी थिइन् । त्यो भेटमा कानुनी लडाइँ लड्न आग्रह गरेर फर्किएकी सरितालाई सधैँ एउटै प्रश्नले झस्काइराख्थ्यो । त्यो प्रश्न थियो, ‘के ती महिलाले पैसा पाइन् त ?’ 

यो कथा संग्रहमा रहेका अन्य कथामा पुरुषले महिलालाई कसरी प्रेममा पार्छन्, यौन सम्बन्धलाई कसरी लिन्छन् यो सम्बन्ध राख्न कसरी बाध्य पार्छन् भन्ने जस्ता विषय अत्यन्तै मार्मिक र यथार्थपरक ढंगबाट प्रस्तुत गरिएका छन् । 

महिलाको चित्रण कस्तो छ ? 

‘पुरुष कथा संग्रहभित्रका कथाका महिला पात्र कमजोर भए ।’

यो टिप्पणी सरिताले धेरै सुनिन् । यसमा उनको आफ्नो तर्क छ । भन्छिन्, ‘मेरा कथा यथार्थपरक हुन्, पात्रलाई कस्तो रूपमा प्रस्तुत गर्ने भन्दा पनि, यथार्थ अवस्था देखाउन खोजेकी हुँ ।’ 

यो त भयो, सरिताको आफ्नै कथासंग्रह भित्रको महिलापात्रको अवस्था । 

उनले पढेका अन्य पुस्तकमा महिला पात्रलाई कसरी चित्रण गरिएको छ त ? उनले यसको सटिक जवाफ दिइन्– कसको कलम हो भन्नेमा भर पर्छ ।

हरिमाया भेटवालको उपन्यास ‘कैली’ मा महिला पात्रलाई सशक्त रूपमा चित्रण गरिएको छ । पछिल्लो समय महिला पात्रलाई रुन्चे, पिन्चे र कमजोर रूपमा प्रस्तुत गर्ने शैली बदलिदै गएको अनुभव उनको छ । 

मेरो मनमा अर्को प्रश्न उब्जियो । पुरुष कलम र महिला कलमले महिला पात्रलाई प्रस्तुत वा चित्रण गर्ने शैली फरक हुन्छ कि हुँदैन ? अध्ययन र अनुभवका आधारमा यो प्रश्नको उत्तर आओस् भन्ने मेरो अपेक्षा थियो । सरिताले नयनराज पाण्डेको ‘यार’ को प्रसंग उठाइन् । यार पढ्दा पढ्दै उनलाई लागेको थियो, महिलालाई कतिसम्म खसालेर लेख्न सकिँदो रहेछ भन्ने । यारलाई आफूले साहित्यकारका रूपमा नभई सामान्य पाठकका रूपमा विश्लेषण गरेको सुनाइन् । उनले भनिन्, ‘यसमा अभिव्यक्ति फरक पार्न सकिन्थ्यो ।’ 

महिलाको कलमले नै महिला पात्रलाई सशक्त बनाएको पाइन्छ । 

शिक्षक, पत्रकार हुँदै साहित्यकार 

तीन पुस्तापछि सरिता छोरीको रूपमा जन्मिएकी थिइन् । उनी जन्मिएपछि परिवारमा छुटै रमाइलो भएको थियो । सबैकी प्यारी बनेकी सरिताको बाल्यकाल हत्केला हत्केलामै बित्यो । सुनसरीमा जन्मिएकी उनले शारदा माध्यमिक विद्यालय बलाहाबाट एसएलसीसम्मको पढाइ पुरा गरिन् । काठमाडौं आएको तीन चार महिनापछि उनी बिहान क्याम्पस पढ्थिन् । दिउँसो स्कुल पढाउँथिन् । साहित्यमा सानैदेखि रुचि भएकाले फुर्सदमा साहित्यिक किताब पढ्न रुचाउँथिइन् । विद्यार्थी र शिक्षक हुँदा लेख्ने, पढ्ने क्रम बढ्दै गयो । समय आफ्नै गतिमा बढिराखेको थियो । चार वर्षसम्म शिक्षक बनेको विद्यालय छोडेर आफैँले विद्यालय खोल्ने योजना बनाइन् । शिक्षण पेशाले उनलाई समाज, परिवार, अभाव र आवश्यकता बुझ्न सहयोग ग¥यो । विद्यालयको नेतृत्व गर्दा देखेका विषय र अभावले उनी चिमोटिन्थिइन्, रन्थनिन्थन् । अभिव्यक्तिको सशक्त माध्यमको खोजीमा थिइन् । त्यसको लागि उपयुक्त माध्यम पत्रकारिता हो भन्ने ठानेर सरिताले निजी स्कुल सञ्चालन छाडिन् र २०५२ सालबाट सुरु गरिन् ।

यही क्रममा एक दिन उनी हिमालय टाइम्स दैनिकको कार्यालयमा पुगिन् । पत्रिकामा सम्पादक किशोर नेपालले केही प्रश्न गरे । घुम्ने मेचमा बसेका किशोरले मेच फनक्क घुमाउँदै भनेछन्, ‘यस्तै घुम्ने मेचमा बसेर आउनु भएको छ, तपाईले पत्रकारिता गर्न सक्नु हुन्न, पत्रकारिता गाह्रो काम हो ।’ उनले आफू गाह्रै काम रोजेर आएको भन्दै दृढतापूर्वक आग्रह गरिन्– पहिला काम दिएर हेर्नुस्, त्यसपछि कुरा गरौला । 

आफूले केही महŒवपूर्ण रिपोर्टिङ गरेको उनले सुनाइन् । सधैँ केही फरक काम गर्न चाहने सरिता दैनिक पत्रिकाको रिपोर्टर भएर लामो समय बस्न सकिनन् । आफ्नै लगानीमा ‘सुखी संसार’ नामक मासिक पत्रिका प्रकाशनमा लागिन् । सुखी संसार प्रकाशन गरेको केही समयपछि संयुक्त लगानीमा ट्याब्लोइड ‘नयाँ सडक’ दैनिक प्रकाशित हुन थाल्यो । केही समय यो दैनिकामा संलग्न भएपछि उनले अध्ययनका लागि पत्रपत्रिकाबाट टाढा रहने निश्चित गरिन् । हाल अध्ययन÷अनुसन्धानमा लागेकी ५० वर्षीया सरिता अहिले साहित्य क्षेत्रमा सक्रिय छिन् । साहित्यको कथा विधा मन पराउने उनको पुरुषभन्दा अघि ‘फर्केर हेर्दा’ कथासंग्रह प्रकाशित छ ।


Views: 10