18th August | 2018 | Saturday | 12:40:53 PM

युवा उत्तराधिकारी

स्वयम्भुनाथ कार्की   POSTED ON : Monday, 14 May, 2018 (1:40:45 PM)

युवा उत्तराधिकारी

अहिले कार्यशील भएकामध्ये अधिकांश अधबैंसे नेपालीहरू त्यो सातसाले पुस्ताका छोराछोरी हुन् । अनि युवालाई भनेर भाग खोज्ने अहिले सबैभन्दा ऊर्जाशील हुनुपर्ने पुस्ता चाहिँ ती अधबैंसे पुस्ताका छोराछोरी हुन् जो अहिले वास्तवमै युवा छन् । सहजताका निमित्त कुनै एक समयलाई आधार मानेर विवेचना गर्ने यो एउटा प्रयत्नमात्र हो । किनभने जन्ममरण प्राकृतिक कुरो हो जो भइरहेको हुन्छ । त्यसैले कुनै दुई पुस्तालाई जोड्ने तेस्रो पुस्ता पनि हुन्छ ।

यसलाई उमेर समूहमा लैजाने हो भने बीस पच्चीसको उमेरमा युवा जोश जा“गरका साथ कोही कर्मक्षेत्रमा आउ“छन् । कोही पचास–साठीको अवस्थामा अधबैंसे हुन पुग्छन् अनि सत्तरी–पचहत्तरबाट वृद्ध हुन्छन्, यदि जीवनले साथ दियो भने । 

औसतमा चौबीस वर्षको समय एक पुस्ता हुन आउ“छ । यो भनाइको आधार पिँढीबीचको न्यूनतम औसत उमेर यसैको आसपास हुनु हो । सात सालमा क्रियाशील भएकाहरूलाई पहिलो पुस्ता मान्ने हो भने अहिले क्रियाशील हुने अवस्थामा तेस्रो पुस्ता पुग्दैछ । राजनीतिमा, व्यापारमा, सामाजिक कार्यमा सातसालको पुस्ता वृद्ध भइसकेको छ । उनीहरूमध्ये जीवित रहेकाहरूको अनुभव र बौद्धिक सम्पत्ति त प्रयोग गर्न सकिएला तर कार्यक्षेत्रमा योगदानको आशा गर्न सकिँदैन । कोही अपवादका रूपमा वर्तमानमा पनि सक्षम हुनुभएको हुनसक्छ तर अपवाद भनेको अपवादै हुन्छ ।

नेपाली राजनीतिले प्रकृतिको यो चक्र भुलेको छ या मिच्न खोजेको छ । एकपटक नेतृत्वमा आएको पुस्ताले आफूलाई अनन्तकालसम्म त्यो स्थानको हकदार सोच्न पुग्छ । उत्तराधिकारलाई आफ्नो प्रतिद्वन्द्वी ठान्छ । फलतः त्यो उसले उत्तराधिकारी पुस्तालाई उत्तराधिकारी होइन आफ्नो इच्छाअनुसार चल्ने कठपुतली बनाउन खोज्छ । आफूभन्दा पछिल्लो पुस्तालाई सीप, अनुभव, ज्ञान हस्तान्तरण गर्नु आत्मघाती ठान्ने रोगले यो पुस्ता ग्रस्त छ । नेपाली राजनीतिमा यो रोग पहिलेदेखि नै लागेको थियो तर २०३२ पछिदेखि यो रोगबाट कोही अछूतो रहन सकेन ।

त्यस बेलाको भोलि अर्थात् अहिलेको आज प्रमुख भूमिकामा हुनुपर्ने युवाहरूलाई आफ्नो झण्डा बोक्न सिकाइयो । जुझारू कार्यकर्ता भनेर फुरुङ्ग पारेर ढुंगा हान्न लगाइयो, डण्डा बोक्न र चलाउन सिकाइयो । आफ्ना कुरा मनाउन गरिएका हड्ताल आदिमा तोडफोड गर्न अह्राइयो । चर्का भाषण गर्न उक्साइयो । समग्रमा भन्नुपर्दा आफ्नो निमित्त समर्पित हुन र आफ्ना विरोधीको मूलोच्छेदन गर्न सिकाइयो । चाहे त्यो विरोधी ती युवाका आत्मीय परिजन नै किन नहून् । हरेक कुरामा आ“खा बन्द गरेर समर्थन गर्न सिकाइयो । विरोधीका सबै काम कुराको बुता र बर्कतले भेटेसम्म प्रतिरोध गर्नुलाई योगदान भनेर सिकाइयो ।

जबसम्म यो सिकाउने पुस्ता जीवित र कर्मशील थियो यसले राम्रो प्रतिफल पनि नदिएको होइन । यो नाशवान् संसारमा अजरअमर कोही छैन, समय गतिले सबैलाई पाखा लगाउँछ । त्यसपछि जब यो पुस्ताले आफ्नो बुद्धि र विवेकले केही गर्नुपर्ने अवस्था आयो तर गर्न सकेन । आफूलाई सिकाउने पुस्ताका नेताको तथा उनको वादको गुणगान गर्नुबाहेक अरू काम कठिन भयो । दोस्रो पुस्ताले पहिलो पुस्ताका नेताहरूको सामिप्यको महिमा गाइरहे । फलानाले एकपल्ट मलाई यसो भन्नुभएको थियो भनेर तितामिठा यादमा भूतजीवी भइरहे । त्यो पुस्ताले सोच, काम गर्ने तरिका, सीप आदि हस्तान्तरण गरेर उत्तराधिकार सार्ने प्रयत्न गरेको थिएन ।

त्यसैले पहिलो पुस्ताले गरेको कामको अनुकरण भने गरे तर त्यो काम कुन कारणले गरिएको थियो त्यो भने पत्तो भएन । नेता र दलभक्तिको अगाडि परिवार तुच्छ हो, समाज तुच्छ हो, देश तुच्छ हो भन्ने कुरा सिकाउने पाठशालाबाट दीक्षित पुस्ता आज नेतृत्व गर्नुपर्ने अवस्थामा पुगेको छ । आफ्नै बुद्धिले केही गर्नसक्ने अपवादबाहेक अरूसँग कुनै ल्याकत वा क्षमता छैन । आफूलाई सिकाइएको कुराले नेतृत्व सम्हाल्न उसले सक्दैन । आफूले सिकेको काम इमानदार भएर गर्दा पनि विपरीत परिणाम देख्दा ऊ क्रोधित हुन्छ । नेतृत्व हस्तान्तरण भनेको आफ्नो हार हो भन्ने उसले सिकेको छ र हार्न हु“दैन भन्ने जानेको छ ।

वर्तमानमा यो कमी हरेक ठा“उमा देख्न पाइन्छ । अब विस्तारै सबैतिर नेतृत्वको अभाव हुँदै गएको छ । यो खाडल भर्न विभिन्न नाम र बहानामा विभिन्न मुलुकले हस्तक्षेप गर्न थालेका छन् । शुद्ध नेपाली परम्परा तथा सीप सिकाउन त्यसको विषेशज्ञ भएर आउने विदेशीहरूमाथि भरोसा गर्नैपर्ने अवस्थामा मुलुक पुग्न थालेको छ । क्रमभंगताको नाममा त्यस्ता विदेशीहरूले नेपाली नेतृत्वको का“ध चढेर समाज भत्काउँदै छन् । आफूले गौरव गरिरहेको कौशल र सीपलाई लज्जाजनक मान्ने बनाउनुमा उत्तराधिकार हस्तान्तरण गर्ननसक्ने पुस्ता दोषी छ जसको कारणले वर्तमानमा यो कहालीलाग्दो अवस्थाले ठा“उ पाएको छ ।

उत्तराधिकार कुनै पनि कुराको निरन्तरता र अनन्तसम्म लैजाने औजार हो । आजको स्वार्थले कतै मेरो आशन पो डोलायमान हुने हो कि भन्ने भयले उत्तराधिकारी हस्तान्तरण गरिँदैन भने त्यो राष्ट्रको समाप्तितर्पmको यात्रा हो । युवाहरूले काम गर्न चाहनु, काम गर्ने क्षमता पनि हुनु तर के गर्ने भन्ने सोच नहुनु कुनै पनि राष्ट्रको निमित्त अत्यन्त दुर्भाग्यपूर्ण अवस्था हो । यो कुरा विगत महाभूकम्प र त्यसको सामना गर्दा देखिएको व्यवहारले सावित गरेको छ । यो अवस्था बारम्बार दोहोरिँदै गइरहेको छ । आफ्नै एउटा निर्णय अर्को निर्णयसँग विपरीत भएकोसम्म पनि उनीहरूले थाहा पाउन सकेका छैनन् ।

विगतमा वयोवृद्ध र रोगले अशक्त भएका तत्कालीन प्रधानमन्त्रीलाई इटा बोकाएर फोटो खिचाउनु प्रदर्शन होइन, बिरालो बा“धेर गरेको श्राद्ध हो । गर्न खोजेर पनि के गर्ने भन्ने थाहा नपाएको बलियो प्रमाण हो त्यो । अनि यसै गरेर कसैले बा“स बोकेको, कसैले केही बोकेको फोटो खिचाउनु भनेको नेताप्रति देखाएको वफादारी हो । जब त्यो उच्च तहमा नै काम के हो प्रदर्शन के हो थाहा छैन भने युवाहरूले काम गर्न चाहेर पनि के गर्ने थाहा पाएनन् भने कुन आश्चर्यको कुरा भयो त ¤

ठूलो रुखमुनि अन्य वनस्पति पलाउँदैनन्, यदि पलाइहाले भने पनि एकदमै कमजोर हुन्छन् । त्यस्तै ओजश्वी नेताको आवसानपछि त्यो स्थान भर्न कोही अर्को क्षमतावान् नदेखिनु आजको कठोर यथार्थ हो । यस संसारमा भएका सबै वस्तु नाशवान् हुन् । त्यसैले आफू पनि कुनै दिन मर्नु पर्छ भन्ने ज्ञान सबैलाई छ तर व्यवहारमा भने आफू अजरअमर भएको भ्रम देखिन्छ । त्यसैले उत्तराधिकार पैदा गर्नुपर्ने स्थानमा उत्तराधिकारीलाई प्रतिद्वन्द्वी ठान्न पुगेका ती ओजश्वी नेताहरूलाई के भन्ने ? त्यो उनीहरूको ओजश्वीपन नभएर स्वार्थीपन भन्न सकिन्छ । उत्तराधिकारी पुस्तालाई प्रतिद्वन्द्वी मानेर ज्ञान हस्तान्तरण नगरेका कारणले आज नेतृत्व गर्नुपर्ने पुस्ता कुहिराको काग भएको छ र घेराभन्दा बाहिर परेको छ ।

युवाहरू चुप लागेर बस्न सक्दैनन्, बस्न चाहँदैनन् पनि । केही न केही गर्न जुट्ने गर्छन्, इमानदारीले आफ्नो गच्छेअनुसारको तन, मन, धन पनि समर्पण गर्छन् तर, के गर्ने भनेर निर्णय गर्न सक्दैनन् । यसपछि उनीहरू कुनै खेल प्रतियोगिता वा सांस्कृतिक कार्यक्रमलाई सघाउन पुग्छन् । कोही नारा लेखिएका टिसर्ट वितरण गर्न पुग्छन् । कोही फलफूल लत्ताकपडा वितरण गर्न पुग्छन् भने कोही सडक बडार्न पुग्छन् । यसरी उनीहरू मन बुझाउन खोज्छन् तर मन बुभ्mँदैन अनि ती युवाहरू विद्रोही हुन्छन् । यो सब विगत चालीस÷बयालीस वर्षदेखि युवाहरूको दुरूपयोग गरेर आफ्नो हितमा प्रयोग गरेको परिणाम हो ।

अनि यसको दोषी ती हुन् जसले सीप, कौशल अनि ज्ञान हस्तान्तरण गरेर उत्तराधिकारी पैदा गर्नुको साटो तिनलाई आफ्नो भजने बनाए । अब यो क्रम रोकिनु नै पर्छ, युवाहरूलाई झण्डा र डण्डामा सीमित गर्ने अपराध गरिनु हुँदैन । मौसमी आवरण भिरेका राजनीतिज्ञहरू जो आन्दोलनमा प्रहरीलाई गुलेली ताकेको र आगो ओकल्ने भाषण गरेको भरमा तिनलाई नेतृत्वबाट पुरस्कृत गर्दा नेतालाई त केही फाइदा होला तर राष्ट्रलाई भने त्यो मन्दवीष हुन्छ । राष्ट्रको र भविष्यको अलिकतिमात्र भए पनि चिन्ता छ भने युवालाई झण्डा र डण्डामा सीमित गर्नु हुँदैन, उनीहरूमा उत्तराधिकार सुम्पिनु पर्छ ।

(कार्की विराटनगरबाट लेख्छन् ।)