17th October | 2018 | Wednesday | 5:43:25 PM

प्रधानमन्त्रीले हिम्मत गर्ने समय

राजन कार्की   POSTED ON : Thursday, 17 May, 2018 (3:22:00 PM)

प्रधानमन्त्रीले हिम्मत गर्ने समय

पाँचवर्षका लागि राजनीतिक प्रतिस्पर्धा सकियो । त्यसपछि हुने आवधिक चुनावका लागि दलले जनताप्रतिको जिम्मेवारी पूरा गर्ने समय हो यो ।

अब अलमलिनुपर्ने कुनै कारण छैन । प्रधानमन्त्री शक्तिशाली भएका छन् । उनले सुशासन र समृद्धिका लागि काम गर्छु भन्ने कबुल पनि गरेकै हुन् । चुनावअघि र प्रधानमन्त्री भएपछि पनि त्यो कबुलतिर नलागेर पार्टी एकताको गाईजात्रा देखाइरहनु प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी हो । एकता गर्न सकिन्छ, सम्भव होला तर पार्टी एकताका कारणले देशको शान्ति, समृद्धि र सुशासनमा किन बाधा पारिरहेको छ ? पार्टी एकता देशको अपरिहार्य कुरा होइन, त्यो पार्टी पार्टीबीचको आपसी मामिला हो । देशको मामिला, जनताको अपेक्षामा आफूलाई ढाल्नु र सेवकका रूपमा प्रस्तुत हुन जरुरी छ । एमालेको नेतृत्वमा बनेको माओवादी केन्द्रसहितको सरकारले आफ्नो बाटो बिराइरहेको छ ।

पाँचवर्षको कार्यकाल हो यो सरकारको । संक्रमणकालीन मुद्दाको फस्र्यौटदेखि सुशासन र समृद्धिमा देखिएका अवरोधहरूको सामना गर्नुछ । प्रधानमन्त्रीका लागि निर्मम निर्णय र निगरानी गर्ने बेला हो यो । यस्तै बियाँलो गर्ने हो भने पाँच वर्षको समय यसै बित्न सक्छ । २०६३ सालको परिवर्तन र २०७२ सालको संविधान तथा संविधानको कार्यान्वयनले तात्विक अन्तर केही नल्याउन पनि सक्छ ।

देश विकास कुरिरहेका छन्, जनता जीवनस्तरको सहजता खोजिरहेका छन् । देश र जनतालाई यति ठूलाठूला सपना बाँडिएका छन् कि सपनाको त खातै लागिसक्यो । पहिले देखाएका सपना पूरा भएका छैनन्, अब जलमार्ग र रेलमार्गका सपना देखाइएका छन् । यता सपना देखाइएको छ, उता एकअर्काप्रति शंका गरेर पार्टी खिचलो मिलाउन सकिएको छैन । सत्ताधारीले पाँच वर्षका लागि महाराजा भएँ भन्ठानेका छन् । तिनको क्रियाकलापले यस्तै अनुभूति भएको छ । उत्तरदायित्व यसरी हाँस न कुखुराको चालले पूरा हुनसक्दैन । चुनौतीपूर्ण अवसरका दिनहरू अलमलमै धमाधम बित्न थालेका छन् ।

समस्या र लथालिंगे चाला कुनै एक क्षेत्र वा संस्थामा मात्र छैन । शिक्षा क्षेत्र पूरै राजनीतीकरण भएको छ भने स्वास्थ्य क्षेत्रमा अराजकता छ । न्यायदेखि परराष्ट्रसम्म, व्यापारदेखि उद्यमसम्म, राज्यका सबै तह र तप्का, सञ्जालभरि सिण्डिकेटको जञ्जाल नभएको र सेटिङमा कानुन मिच्ने र राज्यदोहन गर्ने काम रोकिएको छैन । युवा निकासी गर्ने र यही नाममा मानव बेचबिखनसम्मका अपराध खुलेआम भइरहेका छन् । हिजो सिंहदरबारबाट हुने गरेको भ्रष्टाचार अब स्थानीय सात सय ५३, सात प्रदेश सरकार र एक केन्द्रीय सरकारसहित सात सय ६१ सरकारमा क्यान्सरको किटाणुजसरी फैलिन पुगेको छ ।

सानो उदाहरण– काठमाडौं महानगरपालिका, यसका मेयरले सय दिनमा एक सय एक काम गर्छु भनेर राजधानीबासीसँग भोट मागे । वर्षदिन भयो उनको कार्यकालमा एउटा पनि काम हुनसकेको छैन । उल्टै महानगर त भ्रष्टाचारनगर पो हुनपुग्यो । राजधानीको यो हालत छ भने बाँकी स्थानीय सरकारको बेहाल कस्तो होला ¤

राजनीतिक क्रान्ति सकियो भनेर बुर्लुक बुर्लुक उफ्रनेहरूकै मुखबाट अब आर्थिक क्रान्ति गर्ने समय आएको उद्घोष भइरहेकै छ । राजनीतिक क्रान्ति सकिएको हो भने फेरि मुलुक त्यही राजनीतिक द्वन्द्वको भुमरीमै किन फन्को मारिएको छ ? आर्थिक क्रान्तिको समय आएको हो भने आर्थिक क्रान्ति सुरु गर्नका लागि किन भद्रो हेरिरहनु प¥यो ? स्वदेशी लगानी बाहिरिँदै छ, विदेशी लगानी आकर्षित पार्न सकिएको छैन । यस विषयमा विशद छलफल गरेर राष्ट्रिय नीति तय गर्न किन सरकार सक्रिय छैन ¤

हिजो भाषण थियो, आज पनि भाषण छ । हिजो राजनीतिक विवाद थियो, आज पनि विवाद छ । हिजो भ्रष्टाचारमय शासनमा सुशासन ल्याउने कुरा गरियो, आज पनि त्यही कुरा गरिँदैछ । फरक के भयो ? फरक के गरियो ? नतिजा शून्य छ ।

कडा प्रश्न गर्ने हो भने– हेर्दा डरलाग्दो देखिने कछुवाको दाँत नै हुँदैनन् । सानो जीव हो, लामखुट्टे त्यसका १७ ओटा दाँत हुन्छन् । दुईतिहाइ भएको यो सरकार हेर्दा डरलाग्दो छ, तर यसको गति साह्रै सुस्त देखिन्छ । राज्य संयन्त्र लामखुट्टेजस्तै बनेको छ र १७ तिरबाट देश र जनतालाई टोकिरहेको छ । यो सरकार लामखुट्टेको जुनीबाट माथि उठ्ने कहिले ? यो प्रश्न गर्ने समय हो ।

दशवर्षे जनयुद्ध जनआन्दोलनमा मिसिएपछि सफल भयो, यसका साना नेपोलियन थिए प्रचण्ड । भारतले नाकाबन्दी गर्दा भारतका सामु झुक्न नमान्ने बाध्यतामा परेर राष्ट्रवादी नायक बनेका अर्का साना नेपोलियन थिए ओली । यी दुई नेपोलियन यतिबेला सत्ताको शिखरमा छन् । यी दुवै दुई दुईपल्ट प्रधानमन्त्री भइसकेका छन् र अहिले पनि सत्ता यिनकै मुठ्ठीमा छ । यिनलाई अब के प्राप्त गर्नु छ र यिनीहरू देशभित्रका महामारीविरुद्ध निर्मम निर्णय गरेर निगरानी गर्न छाडेर ङारङार–ङुरङुर गरिरहेका छन् ? जनतालाई शक्तिशाली बनाउने माध्यम जनता नै हुन् भन्ने नेपोलियनको मान्यता थियो तर यिनमा त्यो मान्यता देखिँदैन । आफू शक्तिशाली हुनसके राजनीतिक बिजेता भइन्छ भन्ने गलत मान्यता बोक्दा यिनको ओह्रालो यात्रा सुरु भएजस्तो देखिँदैछ । अहंकार बुद्धिमा र खिया फलाममा लाग्ने हो । काई ढुंगामा लाग्छ, ओली र प्रचण्ड दिशाहीन बन्दैछन् । खोई ¤ किन हो, यिराजनेता बन्न चाहँदैनन् ।

मामाको हत्या गरेर अलाउद्दिन खिल्जी दिल्लीका सम्राट बनेको इतिहास छ । तिनै खिल्जी चित्तौढका राजा रत्नसेनकी महारानी पद्मिनी हासिल गर्ने महŒवाकांक्षामा लाग्दा उनले चित्तौढ त जिते, पद्मिनी हासिल गर्न सकेनन् । पद्मिनीले जौहर गरेर प्राण त्यागिन् । भष्मासुरको कथा र खिल्जीको इतिहास उस्तै छ ।

एमाले र माओवादीले भारत र क्रिश्चियन हतियारको आडमा राजतन्त्र र हिन्दु धर्मको हत्या गरेर सत्ता हासिल गरे । यिनले हासिल गर्न खोजेको पद्मिनीरूपी आलोपालो र निरन्तरको शासनसत्ता यही चाल र तालले हासिल गर्नसक्ने देखिँदैन । यिनलाई काम गर्नेभन्दा पनि एकता गर्ने, फेरिफेरि चुनाव जित्ने वातावरण बनाउने अहंकारले छोपेको छ । यिनीहरू भष्मासुरे प्रवृत्तिमा लीन भइसकेका छन् । भष्मासुर आफ्नै कारणले समाप्त भएको थियो । नेतामा हुनैपर्ने राजनीतिक धर्म भएन भने न विवेक रहन्छ, न नैतिकता । यी दुवै गुण नभएपछि तिनका लागि स्वाधीनता र सार्वभौमिकता भनेको न धोती हो न टोपी ।

सिंहदरबारमा बस्नेले बेलायती बैठकमा रहेको ऐनामा आफ्नो अनुहार हेरून्, आफ्ना विगत सम्झून्, कहाँ उभिएको छु भनेर मनन गरून् । चुनावका बेलामा तिनले केके प्रतिबद्धता व्यक्त गरेका थिए ती पनि पढून् । अनि सुशासन र समृद्धिका लागि हिम्मत गरेर अघि बढून् । 

पद्धति परिवर्तन भयो, पद्धति जीवनपद्धति किन हुनसकेन भनेर नियालून् र अब गर्नुपर्ने काम केके हुन् भनेर खुट्याऊन् । आजैदेखि निर्मम निर्णय गर्ने इच्छाशक्ति जगाएर निर्णय गर्न थालून्, कार्यान्वयनमा उत्रिऊन् र आफ्ना परायाको मुहार होइन, ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सकून् । देशभित्र पिलो पाकिसकेको छ । चिरफार गरेर खिल निकाल्नै पर्छ, अन्यथा यो पिलो क्यान्सरमा परिणत हुने खतरा बढी छ । २०१५ सालपछिको शक्तिशाली सरकार हो यो । यसलाई जनबल, जनसमर्थनको कमी छैन, कमी छ भने सरकारले शान्ति, समृद्धि र सुशासनका लागि निर्मम निर्णय गर्ने हिम्मतको मात्र छ ।

मलेसियाका फादर अफ नेशन, महाथिर महोमद हुन् । १९८१ देखि २००३ सम्म सत्तामा बसेर मलेसियालाई सम्पन्न पारेर पन्छिएका थिए उनी । उनले ठाने मलेसिया फेरि गलत बाटोतिर लाग्न लाग्यो । उनी चुनावमा खडा भए, जनतालाई फेरि गुहारे, साथ चाहियो भने । जनताले उनैलाई जितायो र महाथिर फेरि मलेसियाको सत्तामा उक्लिएका छन् । ९२ वर्षका महाथिरको पहिलो भाषण थियो– म जिउँदैछु, म जनताको अपेक्षा पूरा गर्छु । मलेसिया मेरो गौरव हो ।

निष्ठा यस्तो हुन्छ । हिम्मत यस्तो हुन्छ । देशप्रतिको जिम्मेवारी यस्तो हुन्छ । किन सत्ताधारीले महाथिरको जस्तो कबुल नगरेको ? कबुल गरेका कामहरू किन सुरु नगरेको ? अब पनि यिनले मेरो र तेरो भनेर विभेद गरिरहनुपर्ने हो र ? देश बनाउनेको अर्जुनदृष्टि हुन्छ । हाम्रा नेताहरूको अर्जुनदृष्टि खाली सत्ता, सुविधा, शक्ति र सम्पत्तिमात्र हो ।

चबवबलद्दण्ज्ञद्दपबचपष्२थबजयय।अयm


Views: 5