22nd September | 2018 | Saturday | 7:22:29 PM

लोकतन्त्रमा विधिको शासन

गंगा दाहाल   POSTED ON : Wednesday, 06 June, 2018 (3:24:42 PM)

लोकतन्त्रमा विधिको शासन


२००८ सालमा जन्मेका केपी ओली सर्वाधिक जेल यातना भोग्ने र जेलमा बस्ने राजनेता हुन्, जसले २०१५ सालपछि सर्वाधिक जनमत, जनबल जिते र दुई तिहाइ बहुमतका साथ सरकारको नेतृत्व गर्ने व्यक्तित्व बनेका छन् । यिनै केपी ओलीले समृद्धि र सुशासनको एकमात्र अर्जुनदृष्टि रहेको बताएका छन् । यो उद्देश्य प्राप्त गर्न उनलाई सफलता हासिल भयो भने नेपालको राजनीतिक इतिहासमा केपी ओलीको नाम र काम दुवै स्वर्णाक्षरले लेखिन सक्छ । ओलीको आत्मशक्ति व्यापक देखिन्छ । ओलीका सामु त्यो अवसर छ, जुन सर्वाधिक सम्पन्न मुलुक नर्वेलाई प्राप्त छ । ओलीको अभिष्ट पूरा हु“द गए गरिब र विकासशील नेपाल नर्वेको स्थितिमा नपुग्ला भन्न सकिन्न । 

केपी ओलीको नेतृत्वको सय दिनकै हाराहारीमा उनलाई प्रचण्डको दबाब खप्न र खेप्न गाह्रो भयो र जेठ १५ गते गणतन्त्र दिवसका दिन उनले विधिलाई हस्तक्षेप गर्नुपर्ने बाध्यता आइप¥यो । सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय दिएका व्यक्तिलाई सद्चरित्र भएको आवरणमा सरकारले माफी दिने सिफारिश ग¥यो र राष्ट्रपतिले लालमोहर ठोकिदिइन् । यो घटनाले कम्युनिष्ट सरकार विधिको शासन, लोकतन्त्रप्रति प्रतिबद्ध छैन कि भन्ने आशंका उठाएको छ । यस्तो जनआकांक्षा विपरीतका घटना अब हुने छैनन् भन्ने आशा राखौं ।

फौजदारी अभियोग लागेमा सांसद पद रहने कि नरहने, निलम्बनमा पर्ने कि नपर्ने ? यो बहसले संसद र सडकमा निकै हल्लीखल्ली मच्चिरहेको छ । संसदको प्रतिध्वनि आमनागरिकसम्म पनि पुगेको छ र नागरिक समाज जिब्रो टोक्दै, लोकतन्त्रमा पनि पञ्चखत माफी हुन्छ र भन्ने प्रश्न गर्न थालेका छन् । निश्चय नै यो नेकपाप्रतिको नकारात्मक अभिव्यक्ति हो ।

एमाले र माओवादी केन्द्र मिलिसकेका छन्, नेकपा करिब करिब नया“ पार्टी दर्ता पनि भइसक्यो, पुराना पार्टीका नया“ नामभित्रका सबै शीर्ष नेताहरूले पार्टी पंक्तिलाई स्कुलिङ गरेको भनेको लोकतन्त्रप्रतिको प्रतिबद्धता र विधिको शासन नै हो । हाम्रो देशको राज्यप्रणाली विधिको शासनमा चलेको छ । हाम्रा न्यायका कुनै पनि सिद्धान्त अथवा हामी बा“चेको समाजले कुनै प्रकारको हिंसा वा अपराधलाई स्वीकार गर्दैन । हामीले न्यायपूर्ण समाज नै खोजेका हौं ।

स्थानीय, प्रदेश, राष्ट्रियसभा, प्रतिनिधिसभामा आमनागरिकले दिएको लोकप्रिय मतको आधार स्थिर सरकार, शान्ति र विधिको शासनकै लागि हो । यो सत्य नेकपाले कुनै हालतमा बिर्सन मिल्दैन । जुन दिन नेकपाले पाइला तलमाथि गर्छ, त्यस दिनदेखि नेकपाको ओह्रालो यात्रा सुरु भयो भनेर जाने हुन्छ ।

नेकपालाई गल्ती गर्ने छुट छैन । नेकपाले सूर्यको उज्यालो शान्ति र समृद्धिका उदाहरणसहित सिंहदरबारलाई गाउ“सम्म पु¥याउनै पर्छ ताकि आमजनताले जुन अपेक्षा गरेका छन्, त्यसमा नेकपा दह्रो उभिएर खरो सावित हुनसकोस् । त्यसै समाजमा बलात्कार र घरेलुदेखि राष्ट्रिय तहसम्मका हिंसा बढेर गएका छन् । तस्करी र माफियाकरण, राज्यका प्रत्येक अंगमा भ्रष्टाचारीकरण पाकेको बालीमा बाढी पसेर सखाप पारेजस्तो कहालीलाग्दो स्थिति छ । अपहरण, हत्या, चन्दाआतंक, करणी, मानव बेचबिखनमा समेत सत्ताधारी, सांसद र उच्च पदस्थ कर्मचारी सामेल भएका खबर आइरहेका छन् । यसमाथि अहिले हत्या र सुन तस्करी काण्डको लहरोले पहरो गजेको छ । यो स्थितिमा विधिप्रति सरकार अड्न सकेन भने ऊ असफल हुन सक्छ । राजनीति कहिलै पनि सोझो बाटो हिँड्दैन र राजनीतिमा असम्भव भन्ने केही हु“दैन । अहिले जुन शक्तिशाली नेकपा देखिएको छ, गल्ती गर्दा त्यो शक्ति क्षीण हुनसक्छ ।

सबैले बुझ्नु र स्वीकार्नुपर्ने सत्य के हो भने हामी संविधानमा बा“धिएका छौं । हामी पहिले देशभक्त हौं । देश र देशको मूल कानुनभन्दा माथि कोही पनि छैन । यस कुराको बढी हेक्का नेकपाले राख्नुपर्छ । नेकपालाई देशीविदेशी शक्तिले शंकाको नजरले हेर्ने गरेका छन् । लोकतन्त्र भन्दैमा फौजदारी अभियोग लागेका सांसद, मन्त्री, प्रधानमन्त्रीहरूलाई पञ्चखत माफी दिने गर्नु उचित होइन । 

हरेक अपराधी कानुनतः दण्डित हुनैपर्छ, उन्मुक्ति कसैले पाउनु हुँदैन । यसमा आमनागरिक आश्वस्त हुनसके भने बल्ल कानुनी राज अर्थात् स्वराज छ भनेर भन्न सकिन्छ । सानालाई ऐन, ठूलालाई चैन हुनु हुँदैन । सांसदलाई पञ्चखत माफी दिनुपर्छ भन्ने होइन । यदि फौजदारी अभियोगमा पनि सांसदहरूले उन्मुक्ति पाउने हो भने अपराधीकरण बढ्छ । हामीले अपराधीकरण र अराजकताका लागि लोकतन्त्रको अभ्यास गरेका होइनौं । राष्ट्रियता, प्रजातन्त्र र विकासको जग भनेकै कानुनी शासन हो, यो कसैले बिर्सिनु हुँदैन ।

राजनीतिक नेतृत्वको अपराधीकरणले स्थापित विधि र हामीले लिएको लक्ष्य हासिल गर्न अवरोध खडा गरिँदैछ । चाणक्यले भनेजस्तो राजनीति उत्तम समाजसेवा हो र राजनीति मुनाफाखोर व्यापारीकरण होइन भने मुहान सफा पार्नैपर्छ, राजनीतिको मुहान संसद र सरकार हो । संसद र सरकार स्वच्छ भए सुशासनका माध्यमबाट हामीले खोजेको समृद्धि हासिल गर्नसक्छौं । भ्रष्टाचारी चरित्रहरू स्वतः हच्किने छन् र पदीय दुरुपयोग गर्ने हिम्मत कमजोर बन्दै जानेछ । राजनीतिक संरक्षणकै कारणले भ्रष्टाचार र अनियमितता बढेको, अपराधीकरण भएको कुरामा दुई मत छैन । राजनीति गर्नेले विधिमा बस्नासाथ कर्मचारीतन्त्र नियममा बा“धिन थाल्नेछ । सुशासनको पहिलो कदम यही हुनुपर्छ ।

कानुनविपरीतका कामकारबाहीमा निर्मम हुनुपर्ने संसद र सरकारले नै हो । कानुन निर्माता नै कानुनबाट छुट माग्छ, हामीलाई कानुन लाग्नु हुँदैन भन्ने मनस्थिति पाल्छ, आफूलाई भ्रष्टाचारमा संलग्न गराउँछ भने त्यस्ता सांसदहरू यथार्थमा देशका दुश्मन हुन् । तिनीहरू लोकतन्त्र मास्न र देशमा कुशासन ल्याउन खोज्छन् भन्दा फरक पर्दैन । राजनीतिमा लाग्नु भनेको राजनीतिक प्रभाव र दबाबी अस्त्र चलाएर मनलागी गर्न पाउने छुट होइन । सरकार भ्रष्टाचार र अनीतिप्रति शून्य सहनशीलतामा पुग्नैपर्छ । संवैधानिक अंगहरू कमजोर भएको मौकामा अनियमितता निकै मौलाएका छन् । अनियमितता मौलाउनु भनेको सरकार कमजोर हुनु, सरकारको प्रभावकारिता नहुनु हो । 

एमाले र माओवादी केन्द्र मिलेको देशको मुहार उज्यालो पार्न, देशभित्रका फोहर सफा गर्न र जनताको सेवा गर्ने सेवक हु“ भन्ने अन्तर्य प्रमाणित गर्न हो भने उनीहरू विधिको शासनमा उभिनैपर्छ । यद्यपि राज्य र नेकपाकै नेतृत्व तहले विधिभन्दा माथि कोही नभएको र गफ गर्ने फुर्सद नभएको बताएका छन् । अब समृद्धि सुरु भएको अनुभूति हुनुपर्छ । यो नेकपाका लागि काम गरेर देखाउने समय हो ।



Views: 1

सम्बन्धित सामग्री:

कपिलधाम

: Saturday, 22 September, 2018 (5:53:30 PM)