22nd September | 2018 | Saturday | 6:28:20 PM

गण र गणतन्त्र

राजन कार्की   POSTED ON : Thursday, 07 June, 2018 (12:44:16 PM)

गण र गणतन्त्र

गणतन्त्र पद्धति हो, पद्धतिलाई जीवनमा ढाल्ने गण अर्थात् नागरिक हुन् । सबै प्रकारका चुनाव सम्पन्न भइसक्यो, चुनावबाट गणप्रतिनिधिहरू पनि काममा लागिसके । तैपनि गण र गणतन्त्र वल्लो किनार र पल्लो किनारजस्तो अवस्थामा छन् । एउटै भँगालो, एउटै खोलो, एउटै नदी र एउटै सागरमा समाहित भएर गण र गणतन्त्र बगेजस्तो लाग्दैन ।

संविधान कार्यान्वयन भयो भनिँदैछ तर गणले गणतन्त्र जिन्दावाद भनेको सुनिँदैन । गणतन्त्र दिवस अहिले पनि गणका बीचमा, गणका सहभागितामा मनाउन सकिएन । उही प्रहरी, कर्मचारी, सेनाको गण र भाडाका गणहरू नचाएर गणतन्त्र किन मनाइँदैछ ¤ गणतन्त्र आएको ११ वर्षपछि पनि बन्दुके गणतन्त्र छ । गण गणतन्त्र मनाउन नसक्नुको कारण र त्यसको निराकरण के के हुन सक्छन् ?

उता संविधानबाट हटिसकेको राजतन्त्रका पूर्वप्रतिनिधि ज्ञानेन्द्र शाह मन्दिर गए मन्दिरमै, बाटोमा देखे बाटोमै, दशैँको टीका होस् बाटोघाटो, मन्दिर मठमा होस्, जनताको भीड देखिन्छ । पूर्वराजा देख्नासाथ आमनागरिकको हुल उनलाई घेर्न पुग्छ र ‘राजतन्त्र जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ ’ को नारा लगाइहाल्छ ।

आखिर हटाइसकेको, हटिसकेको राजतन्त्रमा त्यस्तो के आकर्षण छ ? सत्ता र शक्तिबाट किनारा लगाइएको राजतन्त्रले के नै गरिदिनसक्छ र ? यो पद्धतिले देश डुबाएको अर्थमा नागरिकहरू आक्रोशित छन् भने पनि मेरो भूमिका निर्धारण गर्नेछन् भनेर नागरिकको मुख ताकेर बसेका पूर्वराजाले कसरी देश बचाउन सक्छन् ? जुन दिन शक्ति थियो, २०६३ साल वैशाख ११ गते, मरेको संसद ब्यूँताउने काम गरेकै हुन् । 

शायद, राजतन्त्रको टोक्रोमा रामवाण सकिइसक्यो, त्यसपछि उनी भगवान र जनताका तपस्यामा लीन छन् । उनले कुन कहिले वरदान पाउलान् र वरदानको उपयोग गर्लान्, अहिले केही भन्न सकिने अवस्था छैन । तैपनि रानु देखेर माहुरी झुम्मिएझैं झुम्मिन्छन् गण । लोकतन्त्र, गणतन्त्रका गण, अस्ताएको सूर्यलाई नमस्कार गर्छन्, शायद यो पनि हिन्दू संस्कार र परम्परा हो ।

हुन त भाले नबासे पनि रात ढल्छ, बिहान हुन्छ । राजनीति सम्भावनाको खेल हो । नदी र राजनीति सोझो हिँड्दैनन् । नेपालको राजनीतिले यू टर्न लिनसक्छ । नेपाल हिन्दूराष्ट्र बन्यो भने ठूलो उपलब्धि मान्नुपर्छ । तीन लाख इसाई ३३ लाख भए । ९३ प्रतिशत ॐकार परिवार दिनदिनै घट्दैछन् । ॐकार परिवार यसरी विभाजित छन् कि इसाई बढेको देखेर पनि ॐकार परिवार घुरेर, कुरेर र गर्जिएर तमासा हेरिरहेका छन् । मानौं, ॐकार परिवारमा आत्मबल नै छैन ।

ॐकार परिवार र हिन्दूधर्मका रक्षक बनेका विभिन्न संघ, संगठनदेखि विश्व हिन्दू महासंघसम्म, कहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीतिर हेर्छन्, कहिले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथतिर हेर्छन्, कहिले भारतका विभिन्न पीठका शंकराचार्यतिर । 

हरेक पर्व पर्वमा मन्दिर गएर हेरौं, देशैभरिका मन्दिरहरू भक्तजनले भरिभराउ देखिन्छन् । तर, त्यो शक्ति यसरी तितरवितर छ कि यो शक्ति नभएर भक्तालुको भीडमात्र हो । भीडलाई हाक्नसक्ने न कृष्ण देखिन्छन्, न अर्जुन, न त कुनै कर्ण नै छन् । द्रोणाचार्य र कृपाचार्यहरू जति पनि छन्, ती सबै कोठाचोटाबाट बाहिर निस्कन चाहँदैनन् । यिनको लोभ र लाभका कारण हिन्दुत्वको बिलाप भइरहेको छ । गणतन्त्रका हिन्दू गणलाई धर्मनिरपेक्षताको रसायनको घोल, झोल बनाउने भ्रमजाल फिँजाउने क्रम जारी छ । ताकि राजभक्ति देखाउने गणको तापक्रम विस्तारै सेलाउँदै जाओस् ।

भर्खरै मध्यमधेसमा राजतन्त्र जिन्दावादको नारा घन्कियो । नारा उता लाग्यो, प्रतिध्वनि सिंहदरबारदेखि राष्ट्रपति दरबारसम्म घन्किएको सुनियो । के चाहियो, प्रधानमन्त्री गर्जिहाले– यो तमासा नदेखाएकै जाति, मान्छे मान्छे हुन्छ, विष्णुको अवतार हुँदैन । अर्कोपालिदेखि मै निम्तो दिन्छु, गणतन्त्र दिवसमा सामेल भए हुन्छ ।

राजतन्त्र जीवित छ, गणतन्त्र गण जीवनमा घुल्नै नसकेको सत्यबोध भएर दुई तिहाइ बहुमतको सरकार प्रमुखले पूर्वराजालाई यसो भनेका हुन् त ?

समयको गति कसले रोक्न सक्यो र ? कहिले कसैसँग नझुकेको, कसैलाई नपर्खेको, कहिले सूर्य नअस्ताउने मुलुक भनिने बेलायतको सत्ता र संस्थाले लेडी डायनाको शवयात्रा कुर्नुप¥यो, शवका सामु झुक्नुप¥यो । के थाहा, नेपालको गणतन्त्र राजाले आफ्नो घुँडामा आफैंले बञ्चरो हानेर साइत जुराएका थिए, यो गणतन्त्रमा नेपाली गणको भाग्य र भविष्य राजतन्त्रकै सहभागितामा कोर्ने दिन देखिएको पो छ कि ¤ किनकि परिवर्तनको १३ वर्ष र गणतन्त्र घोषणाको ११ वर्षमा पनि गणतन्त्र र गण सर्वसम्मतिको पद्धति बन्न सकेको छैन ।

चुनाव त रेशम चौधरीले पनि जिते, मनाङबाट दीपक मनाङे र ललितपुरबाट राजीनामा दिएका प्रहरीले पनि जिते । प्रचण्डजस्ता नेता राजधानीबाट खुइलिए, १० वर्ष सशस्त्र युद्ध गरेर १७ हजारको ज्यान लिनसक्ने माओवादीजस्तो पार्टी एमालेमा बिलिन भयो । २०१५ सालको चुनावमा कांग्रेस सर्वशक्तिमान बनेको पार्टीले १९ महिना शासन गर्न सकेन । अहिले पाखामा पाहा पछारिएजसरी पछारिएको छ । २०१५ सालमा ४ सिटमा खुम्चिएको कम्युनिष्ट २०७५ सालमा आएर दुई तिहाइको प्रचण्ड बहुमतका साथ सत्ताको कमाण्ड, देशकै कमाण्ड समाल्ने सूर्योदय भएको छ ।

एमाले र माओवादी मिलेर बनेको नेकपाको सरकारको पहिलो निर्णय कानुनले हत्यारा भनेका पूर्वमाओवादी बालकृष्ण ढुंगेललाई माफी दिएर धृतराष्ट्र शैली देखाएका छन् । यो कर्मले नेकपाको नेतृत्व अन्धोमात्र होइन, विवेकहीन पनि छ भन्ने अर्थमा आमनागरिकले बुझ्नुले गणतन्त्रमा गण छैनन्, अपराधशास्त्र हावी छ भन्ने देखाएको छ । यसकारण क्षयरोगीझैं टाक्सिँदै गएको गणतन्त्र तंग्रिन सक्दैन, प्रधानमन्त्रीले भनेजस्तो समृद्धि र सुशासन आउनेवाला छैन भन्न सकिन्छ ।

जनआन्दोलनको मुख्य माग भने पनि, संविधानसभा, सबै तहका आमनिर्वाचनको मुख्य सवाल भनेको निरंकुशताको अन्त्य, प्रजातन्त्रको ग्यारेन्टी र विधिको शासन थियो । अब त जनतामा घुलमिल भएको आइएनजीओ, कानुन निर्माणदेखि अड्डाअदालत सबैतिर पो पुग्न थाल्यो । हाम्रो वन र वन्यजन्तुसम्बन्धी कानुन आइएनजीओले बनाइदिने भएछ । नेकपाको शासन कति बलियो, नेकपाको शासनमा गण र गणतन्त्रको सम्मानित आसन कहाँनेर पुगेछ ? विदेशी चलखेल, तिनको हैकम र ‘जसोजसो बाहुन बाजे उसैउसै स्वाहा’ यही हो गण र गणतन्त्रको गरिमा, महिमा ?

पहिले ६०१ सांसद थिए, अहिले स्थानीय, प्रदेश, राष्ट्रियसभा, संघीय संसद गरेर सांसद कति कति, ७६१ जनाको सरकार छ । यति धेरै सांसद र सरकार पाल्ने जनताले नै हो । जनतामाथि करको भार थोपरेरै हो । पीडामाथि पीडा खप्न बाध्य जनताको रगत पिउने ड्राकुल्ला तरिका भएन र ? सिंहदरबारलाई गाउँसम्म पु¥याउन जनताले रगत दिएरै मूल्य चुकाउनुपर्ने ? शासक, प्रशासक, भ्रष्टाचारी, कालाव्यापारी, कमिसन एजेन्ट, तस्कर, माफियाको कालोधनको स्रोत नखोज्ने, जनतामाथि कर थोपर्ने ? गणतन्त्रमा गणको हालत अरू खस्किने र गणले थप समस्या भोग्नुपर्ने देखिँदैछ । 

लोकतन्त्रको गरिमा र महिमा त गणको महŒव स्वीकार गरेरमात्र हुन्छ । नेताहरूको सम्मान गर्ने गणले हो । गणका नजरमा गणनेताको भाउ गुन्द्रुकको जति पनि देखिँदैन । एकजना नेतालाई पनि जनताले आदर्श मानेकै छैनन् । राजनेता कोही बन्नै सकेनन् । सकेजतिका गणलाई पार्टीकरण गर्ने, बाँकी गण छरिएर रहने, गणको असली प्रतिनिधित्व कसैले नगर्ने कारणले चुनाव जितेका नेताले लुट्ने र सुनसम्पत्ति थुपार्ने सुविधा पाएका हुन् । 

गणतन्त्रमा नीति, नैतिकता र निष्ठा सर्वोपरि मानिन्छ । लोकलज्जा हुनैपर्ने गुण हो । हाम्रो लोकतन्त्रमा ती गुण केही पनि छैनन् । संविधान कानुन छ, त्यसका छिद्रको प्रयोग ज्यादा भएर पद्धति अपराधीकरण हुँदै गएको छ । यो ताल र चालले न सुशासन आउँछ, न समृद्धि । 

गणतन्त्रमा गण देखिनुपर्छ, गणमा गणतन्त्र भिज्नुपर्छ । तब न गणतन्त्रप्रति अपनत्वको भाव विकास हुन्छ । नेतामा गणतन्त्र देखिने, गणतन्त्रमा नेतामात्र देखिने, गण त कता हो कता ? यही कारण त समाजमा विसमता बढेको छ । विखण्डन र विभाजनका रेखाहरू कोरिएका छन् । एकता भाँडिएको छ । सद्भाव खल्बलिएको छ ।

भनिन्छ, असक्षम, अकर्मण्य र आफूले आफैंलाई ढाँट्नेहरू जीवनमा अनेकपल्ट मर्छन् । नेकपा जो सर्वशक्तिमान् छ, बाहुबली छ, उसले गण र गणतन्त्रलाई ढाँट्न सुरु गरिसक्यो । नयाँ नेपाल बनाउने भनेर भएको नेपाललाई गया नेपाल नबनाओस् । नेकपाले यो अवसरलाई ‘राजनीतिक मृत्यु’ अवसर नबनाओस्, यो राष्ट्रिय चिन्ताको विषय हो ।

प्रतिगामी न पञ्चायत थियो, न बहुदल, प्रतिगामी न राजतन्त्र थियो न लोकतन्त्र । प्रतिगामी छ भने सोचमा छ । विवेकहीनतामा छ । व्यवस्था जहिले पनि राम्रोका लागि आउने गर्छ । व्यवस्थापक राम्रो सोचेरै जन्मिन्छ तर सत्तामा पुगेपछि निरंकुशता र अधिनायक भूत चढेपछि सही सोच खुइलिन्छ । जुन नियति पञ्चायतले भोग्यो, बहुदल असफल भयो, लोकतन्त्रले त्यस्तो नियति नभोगोस्, यसका लागि व्यवस्थापक बनेर पलाएको नेकपाले गणलज्जा र गण अपेक्षा, गणप्रतिको जिम्मेवारी र नैतिकताको बोध हरहमेशा गरोस् ।

यसका लागि पूर्वराजतन्त्रको सहयोग र सुझाव लिनुपर्छ भने पनि पछि नहटोस् । किनभने, ती पनि नेपाली हुन्, राजनीतिक शक्ति हुन् । सबै शक्ति मिलाउन सके न राजनेता जन्मिने हो । क्रान्तिकारी मुखुण्डो लगाएरमात्र गण र गणतन्त्रमा सिद्धि प्राप्त हुँदैन, चेतना होओस् ।

Views: 2

सम्बन्धित सामग्री:

कपिलधाम

: Saturday, 22 September, 2018 (5:53:30 PM)