22nd September | 2018 | Saturday | 6:37:29 PM

प्रदेश २ को समीकरण फेर्नु गलत

  POSTED ON : Friday, 08 June, 2018 (6:11:52 PM)

प्रदेश २ को समीकरण फेर्नु गलत

प्रदेश २ मा समीकरण फेरबदलको कोसिस भइरहेको छ तर यो रणनीतिक भूल हुनेछ । फोरम र राजपालाई त्यहाँका जनताले ठ्याक्कै बहुमत दिएका छन् । यो ५ वर्ष यिनै दुई दललाई ‘लौ, यो प्रदेशको सरकार चलाऊ’ भनेर छोडिदिनुपर्छ । यी दुई दल फुटेर सरकार ढाले भने पनि नेकपा र कांग्रेसले अर्को गठबन्धन निर्माण गर्नेतिर लाग्नु हुँदैन । कामचलाउ हैसियतमै भए पनि यिनलाई अर्को निर्वाचनसम्म काम गर्ने मौका दिनुपर्छ र उनीहरूले नचाहे पनि बाध्य पार्नुपर्छ । 

‘पहाडिया शासक वर्ग’ ले मधेसीलाई पछाडि पारे भन्ने चर्को नारा लाएर अहिलेसम्म यिनले आफ्नो कमजोरी र गलत व्यवहारलाई ढाकछोप गर्न पाएका छन् । सरकार चलाउन र प्रादेशिक कानुन निर्माण गर्न आवश्यक संख्या आफूसँग भएकाले अब यिनले काम गरेर देखाउनुपर्नेछ । यिनका अबका अनेकथरि बहानाबाजीलाई जनताले विश्वास गर्ने छैनन् । यो कुरा बुझेर उनीहरू आफैं सरकारबाट हट्ने प्रयासमा लाग्न सक्छन् तर उनीहरूले यो पाँच वर्ष सरकारबाट हट्न पाउने छैनन् । उनीहरूले काम नगरी धर पाउँने छैनन् । 

मधेसका स्वघोषित नेताहरूले यो ५ वर्षमा सुशासन कसरी दिन्छन्, विकास निर्माणका गतिविधिलाई कसरी अघि बढाउँछन्न् शान्तिसुरक्षाको कस्तो प्रबन्ध मिलाउँछन्, मधेसमा व्यप्त सामाजिक विभेद र आर्थिक असमानतालाई घटाउन के कस्ता कार्यक्रम अघि सार्छन् भन्ने कुरा मधेसका जनताले एकपल्ट हेर्न पाउनुपर्छ । नत्र अर्को चुनावमा पनि यिनले ‘पहाडीया शासक वर्गले मधेसीहरूले बनाएको पहिलो सरकारलाई टिक्न दिएनन्’, ‘खसवादी पार्टी पनि सरकारमा भएकाले मधेसीको पक्षमा काम गर्न सकिएन’ भन्दै बहाना गर्न पाउँनेछन् । 

फेरि पनि, यिनले ‘संविधान विभेदकारी रहेको, केन्द्रले असहयोग गरेको, स्रोत र साधन नदिइएको’ जस्ता गनगन त गर्ने नै छन् तर त्यतिबेला यिनको स्वरमा त्यो दम बाँकी रहने छैन । यदि उनीहरूले राम्रा काम गरेर देखाएछन् भने त्यसबाट त देश र मधेस दुवैको भलो नै हुनेछ, दुवै लाभान्वित हुनेछन् । उनीहरूले यसरी काम गरे भनेमात्र हामी यिनले भन्दैआएको कुरामा सत्यता रहेछ भनरे मानौंला ।

होइन उनीहरूले पाँच वर्षको लामो समयमा कुनै रचनात्मक काम गर्न सकेनन् भने उनीहरू काम गर्नका लागि होइन अरूलाई दोष दिएर आफ्नो राजनीतिक दुनो सोझ्याउँन मात्र राजनीतिमा लागेका र पदमा पुगेका रहेछन् भनेर समयले नै प्रमाणित गर्नेछ, हामीले प्रमाणित गरिरहनुपर्ने कुनै आवश्यकता नै रहने छैन । त्यसकारण दुई नं. प्रदेशको सरकार सञ्चालन निर्वाध रूपमा हालको सरकारलाई निरन्तर मौका दिइरहनुपर्छ, केन्द्र सरकारको कुनै हस्तक्षेप हुनु हुँदैन । 

(यो विचार व्यङ्यकार महेश थापाको फेसबुकबाट साभार गरिएको हो ।)


Views: 0

सम्बन्धित सामग्री:

कपिलधाम

: Saturday, 22 September, 2018 (5:53:30 PM)