22nd September | 2018 | Saturday | 7:38:11 PM

वास्ता नगरिएका कुरा

राजेश्वरी घिमिरे   POSTED ON : Saturday, 09 June, 2018 (3:24:48 PM)

वास्ता नगरिएका कुरा

हालसालै सामाजिक सञ्जालमा भारतीय चर्चित कवि जावेद अख्तरको एउटा छोटो भिडियो क्लिप हेर्न पाइयो । त्यसमा अख्तर भन्छन्, ‘जुन समाजमा आमाको पूजा हुन्छ, त्यहाँ महिलाको हालत अवश्य खराब हुन्छ ।’ यसको पुष्टि गर्ने क्रममा उक्त भिडियोमा अख्तरले अति साधारण भाषामा भारतीय समाजमा आमालाई देवीको दर्जा त दिइन्छ तर एउटा स्वतन्त्र मानिसको रूपमा पाउने सामान्य अधिकारबाट पनि कसरी बञ्चित गरिएको हुन्छ भन्ने कुरा प्रस्ट्याएका छन् । उनको यो कुरा नेपाली सामाजिक परिप्रेक्ष्यमा पनि उत्तिकै लागू हुन्छ । 

हो त, सोचेर हेर्दा हाम्रो समाजले त आफ्नी आमाको मात्रै इज्जत गर्नु अनि बाँकी अरूका आमाहरू चाहिँ दोस्रो दर्जाका नै हुन् भन्ने किसिमको सनातन व्यवहारलाई गौरवपूर्ण हिसाबले स्वीकार गरिरहेको रहेछ । हामी महिला आफैँ पनि यो शब्दजालको मोहमा परेर आफैँमाथिको शोषण स्वीकार गरिरहेका रहेछौँ । अख्तरका यी प्रभावशाली तर्कले मैले स्वीकार गर्दै आएको मान्यतामाथि अति नै निर्मम ढंगले प्रहार गरिदियो तर आमालाई देवीसमान मान्ने कुरा पनि भन्नलाई मात्रै हो, व्यावहारिक जीवनमा त्यो निकै कम देखिने गर्दछ । 

कहिलेकाहीँ अति सामान्य ठानिएका अझ स्वाभाविक मानिएका विषयहरूले गम्भीर अर्थ राख्दछन् । म करिब दुई दशकदेखि बेलायतमा छु । लामो समयदेखि विदेशलाई नै कर्मभूमि बनाएकाले नेपाली परिवेशका कतिपय पक्षसँग म बेखबर छु । एक हिसाबले भौतिक र मानसिक दुवै किसिमको ‘ग्याप’ पनि छ । तर, आफ्ना नजिकका आफन्त र साथीहरूसित कुराकानी हुँदा र कहिलेकाहीँ कुराकानीकै क्रममा सुनिने अनुभव र विचारहरूलाई मनन गर्दा महिलाप्रतिको विभेदपूर्ण दृष्टिकोण कागजी रूपमा कम आए पनि व्यावहारिक रूपमा अझै धेरै काम गर्न बाँकी नै छ भन्ने मनमा लागिरहन्छ । 

यो अवस्था नेपालमा मात्रै होइन, यहीँ बेलायतमा पनि नेपाली समुदायका जमघटतिर जाँदा महसुस गर्न सकिन्छ । अझ फरक संस्कृति बोकेका समुदायका जीवनशैली र व्यवहारका बीच तुलना गर्दा त झन् हामी कति गलत वा ठीक छौँ भन्ने कुरा आफैँ छर्लंग हुँदोरहेछ । 

एउटा प्रसंग जोड्न चाहन्छु । गत महिना म दुई फरक सांस्कृतिक पृष्ठभूमिका वैवाहिक समारोहमा सरिक भएँ । तिनमा एउटा मेरी बेलायती साथीको छोरा र अर्को चाहिँ नेपाली साथीको छोराका विवाह समारोह थिए । दुवै विवाहमा सामेल हुँदा म उत्तिकै खुशी थिएँ । मेरो साथीहरूसितको जमघट हुन पाउनुको खुशी मात्रै थिएन, त्यो चाहिँ एक हिसाबले व्यस्त जीवनमा एक दिन भए पनि रमाइलो रिफ्रेसमेन्ट पाइने कारणले पनि थियो । 

बेलायती साथी आस्ली छोराले आफ्नी प्रेमिकासित विवाह गर्ने निर्णय गरेदेखि नै हुनेवाला बुहारी, उनका बाबुआमासँगको भेटघाट† बिहेको मिति† हल तय गर्ने† किनमेल गर्ने† छोरा र हुनेवाला बुहारीको ड्रेस छनौटमा सहयोग गर्ने लगायतका विवाहका पूर्वतयारीमा क्रिश्चियन समुदायमा गरिने हरेक क्रियाकलापहरूमा आफू आफ््नो लोग्नेभन्दा बढी खटिन् । उनको भूमिका सबैभन्दा बढी सक्रिय देखियो तर यसको विपरीत नेपाली साथीको छोराको विवाहमा चाहिँ आमाको भूमिका घरभित्र मात्रै सीमित भयो । यो पूरै मागी विवाह थियो । हुनेवाला बुहारी हेर्ने, उनको परिवारसित कुरा गर्ने लगायतका क्रियाकलापहरूमा उनलाई संलग्न गराइएन । उनले हुनेवाला बुहारीको फेसबुक फोटो र प्रोफाइल हेरेर चित्त बुझाइन् । 

झ्वाट्ट हेर्दा हाम्रो नेपाली संस्कार या संस्कृतिमा यो कोट्याइरहनुपर्ने विषय होइन । यो अति सामान्य कुरा मानिँदै आएको छ, जुन पुस्तौँदेखि निरन्तर हुँदै आइरहेको छ । नारीवादी दृष्टिबाट हेर्दा निश्चितै यो नारीप्रतिको विभेदको वास्ता नगरिएको एउटा सानो उदाहरण मात्रै हो । तर, ‘घर भनेको स्वर्ग हो । यसलाई सजाउनुपर्छ, सिँगार्नुपर्छ’ भन्ने किसिमको आदर्शलाई बोक्ने हाम्रो समाजमा महिलाप्रतिको विभेदलाई एकछिन बिर्सिदिने हो भने पनि ठूलो व्यावहारिक र संस्कारगत त्रुटि हो यो  ।

यतिका वर्षदेखि देख्दै, भोग्दै आएको अझ भन्ने हो भने हाम्रो जनजीवनमा स्वाभाविक र सहज बन्दै आएको यो चलन अर्थात् छोराको बिहेमा आमा चाहिँ जान नहुने यो चलन मलाई यतिबेला निकै असहज लागिरहेको थियो । शास्त्र जान्नेले यसका पछिल्तिरको धार्मिक र सांस्कारिक कारणको कुरा अगाडि तेस्र्याउलान् । अझ यसको लामो सांस्कृतिक परम्पराको कुरा गर्लान् । तर, सोचेर ल्याउँदा यो देवीतुल्य मानिएकी आमाप्रतिको अपमान र अविश्वासभन्दा बढी अरू केही लागेन ।

एउटी आमाले छोराको जन्मदेखि हरेक पाइला पाइलामा साथ दिन्छे, उसलाई हुर्काउँछे, संरक्षण गर्छे, सम्मान गर्छे । अनि हाम्रो संस्कार र संस्कृतिले भन्छ ‘आमाको स्थान भगवानको भन्दा पनि माथि छ । आमाको पूजा गर्नुपर्छ, सम्मान गर्नुपर्छ ।’ तर, त्यही आमा छोराको जिन्दगीको सबैभन्दा महŒवपूर्ण खुशीमा सहभागी हुन पाउँदिन । न त छोराले विवाह गर्ने केटी हेर्न ऊ जान्छे न त विवाहको मुख्य समारोहमा सहभागी हुन्छे । आमा त घरको ढोकाभित्र बसेर बुहारीको प्रतीक्षा गर्छे । यसको अर्थ र कारण के हो ? छोराको हुर्काइ बढाइमा आफ्नो आधा जीवन समर्पण गरेकी आमाको भूमिका यो महŒवपूर्ण घडीमा चाहिँ किन गौण बनाइएको होला ? यसको पछिल्तिर लुकेका सांस्कृतिक मनोवैज्ञानिक सोचिहेर्दा यसको आशय प्रष्ट नै देखिन्छ । देवीको पगरी गुथाइएकी आमाको शक्ति र अधिकार चाहिँ कुन हदसम्म रहेछ भन्ने यसले सोझो रूपमा पुष्टि गर्दछ ।

अर्को व्यावहारिक पक्ष घरका हरेक सदस्यको पूर्ण सदस्यताको पहिचान हो । घरका सबै सदस्यहरूका बीच प्रजातान्त्रिक र बराबरीको सम्बन्ध भयो भने मात्रै त्यो परिवारमा कलह र द्वन्द्व रहँदैन । घरका हरेक निर्णयमा खुशी अथवा दुःखमा सँगै हुनु नै परिवार हो । आमाले पनि बाबुसरह यस्ता पारिवारिक काममा संलग्न हुन नपानउने अवस्थाले हाम्रो समाजमा महिलाको स्थान माथिल्लो छैन भन्ने बुझिन्छ । 

जावेद अख्तरले भनेझैँ आमाको स्थान देवताको सरह होइन, एउटा पूर्णसदस्य अथवा पूर्ण मानवको रूपमा हुनुपर्छ । विवाहपश्चात् घरका सदस्यको सम्बन्ध भन्ने कुरा मानिसको आफ्ना स्वभाव, एकअर्काको सहयोग, सहनशीलतामा भर पर्दछ । एउटी आमाले घरको पूर्ण सदस्य हुन पाउनु उनको अधिकार हो । त्यो अधिकार दिन किन हामी हिच्किचाउँछौँ ?

हाम्रो समाजको परम्परागत पारिवारिक संरचनाअनुसार बुहारी घरमा आएपछि हिजोसम्म घरको सबैभन्दा तल्लो दर्जाको सदस्य आमाको मर्यादा एक स्थान माथि हुन्छ र बुहारी उनको स्थानमा रहन्छिन् । यो अवस्थामा उनले अवश्य नै केही अधिकार र शक्तिको प्रयोग गर्दा विभेद हुन सक्छ । हामी कल्पना गर्न सक्छौँ लामो समयको कैद भोगेर निस्किएको एउटा कैदीले बाहिर निस्कँदा कस्तो अनुभव गर्दछ । त्यस्तै अनुभव शायद आमाले पनि गर्छिन् । परम्परागत विवाहबाट आएका बुहारी र सासु एकअर्काका स्वभावसित पूर्वपरिचित नहुँदा नयाँ घर प्रवेशकै दिनदेखि टसल, अविश्वास र मतभेद सुरु हुन जान्छ ।  उनीहरूका बीचमा कुनै पनि किसिमको मानवीय सम्बन्ध स्थापना नभई त्यो परिवारको पदीय सम्बन्धमा मात्रै सीमित हुनजान्छ । धेरैजसो घरमा यस्तै हुन्छ ।

मेरो आशय आमाले नै छोराको वैवाहिक जिन्दगीको फैसला गर्न पाउनुपर्छ भन्ने पटक्कै होइन । यो छोराको पूर्ण अधिकारको विषय हो भन्नेमा म दृढ छु । तर, छोराको परम्परागत हिसाबले गरिने विवाहको तयारीका हरेक चरणहरूमा यदि बाबुको उपस्थिति र सक्रिय भूमिका रहन्छ भने त्यहाँ आमाको पनि उत्तिकै भूमिका हुनुपर्छ भन्ने मेरो आशय हो । विवाह धर्मअनुसार गरिने एउटा संस्कार हो भने छोराको जिन्दगीमा सबैभन्दा माथिल्लो स्थानमा रहेकी आमाको उपस्थितिबिनाको वैवाहिक कार्य अपूरो हुन्छ । उनको उपस्थिति र आशिर्वादले मात्रै त्यो विवाहले पूर्णता पाउँछ । 

हाम्रो समाजको परम्परागत व्यावहारिक पक्षलाई हेर्ने हो भने घरमा सबैभन्दा बढी समय सँगै बिताउने र सँगै काम गर्ने सदस्य सासु बुहारी नै हुन्छन् तर घरमा सबैभन्दा तीतो र जटिल सम्बन्ध पनि उनीहरूकै हुने गर्दछ । त्यसकारणले पनि सासु र बुहारीबीच विवाह अगाडि नै राम्रो समझदारी र एक अर्काका रुचि अरुचि जान्नु र बुझ्नु आवश्यक देखिन्छ । जसले एउटा परिवारको आपसी सम्बन्धलाई सुमधुर बनाउन सहयोग पु¥याउँछ । पश्चिमी समाजमा जहाँ सासुबुहारी सँगै बस्दैनन् तैपनि सासुबुहारीको सम्बन्ध राम्रो भयो भने पारिवारिक जीवन स्वर्गतुल्य हुन्छ भन्ने मान्यता राखिएको पाइन्छ । हुनेवाला सासुसँग भेट्न जाने कुरालाई उनीहरु अत्यन्तै महŒवका साथ लिन्छन् । यो केटा वा केटी दुवै पक्षको हकमा लागू हुन्छ । यसको अर्थ कुनै पनि समाजमा आमा नै परिवारको केन्द्रविन्दु हुँदोरहेछ ।  

छोराको विवाहको पूर्व तयारीमा बाबुआमा सँगसँगै हुँदा छोराले उसको श्रीमतीलाई सम्मान गर्न सिक्छ । बुहारीका लागि पनि आफ्नो हैसियतको सुरक्षा मिल्छ अर्थात् यसले बुहारीलाई नयाँ परिवारमा कुण्ठित र दोस्रो दर्जाको सदस्यका रूपमा खुम्चिन दिँदैन । यसले परिवारको एकता बलियो हुन्छ । यो परिवारको उच्च संस्कारको नमुना बन्न सक्छ । हुन त हाम्रो सामाजिक मान्यताअनुसार पारिवारिक संस्कारहरूले तोकिदिएका आदर्श एवम् सुशील महिलाका गुणहरूलाई पालना गर्ने, पुरुषहरूको पारिवारिक सत्तामा हस्तक्षेप नगर्ने परिवारलाई उच्च संस्कारित मान्ने चलन छ । मेरो विचारमा यो उच्च संस्कार नभई उच्च कुसंस्कार हो । 

परिवारमा महिलालाई हरेक निर्णयमा सहभागिता जनाउन नदिने र महिला भनेका कस्ता हुनुपर्छ, उनीहरूले के गर्नुपर्छ भन्ने किसिमका बाध्यात्मक नियम सिर्जना गर्नु भनेको उच्च पारिवारिक संस्कार हुँदै होइन । किनभने पुरुषका सबालमा समाज एवम् परिवारमा सामान्यतयाः यस्ता नियमहरू लगाइँदैनन् ।


Views: 1

सम्बन्धित सामग्री:

कपिलधाम

: Saturday, 22 September, 2018 (5:53:30 PM)