22nd September | 2018 | Saturday | 6:40:31 PM

संस्मरण : मलाई झस्काउँछन् ती बाटाहरूले

विनोद दाहाल वत्स   POSTED ON : Saturday, 09 June, 2018 (3:29:53 PM)

संस्मरण : मलाई झस्काउँछन् ती बाटाहरूले

यातायात व्यावसायीहरूको बन्दका कारण पर्याप्त सवारी साधन चलेका थिएनन् । भाइ हरिहर र म बिहान सबेरै पैदलै कार्यस्थलतिर लागेका थियौँ । चावहिल सरस्वती नगरको तेर्सोमा हाम्रो छेउमै आएर एउटा गाडी रोकियो । सर्वोच्च अदालतका हाकिम साहेबको गाडी रहेछ । भाइको कार्यालय पनि अदालतै हो, काठमाडौं जिल्ला अदालत । त्यसैले उहाँले भाइलाई चिनेरै गाडी रोक्नुभएको रहेछ । म पनि गाडीमा बसेँ । उहाँले मेरो बारेमा भाइसँग सोध्नुभयो । मैले आफ्ना कुरा आफैँ छोटोमा भने, ‘हामी दाजुभाइ हौँ ।’ 

‘किन एक जनाले सेतो लाएको अर्काले चाहिँ नलाएको त ?’ उहाँले सोध्नुभयो । 

उहाँ अर्थात् धनबहादुर रोकायलाई मैले मेरो आफ्नो विवशता बताएँ । म चावहिलमा झरेँ । 

यो सामान्य प्रसंग मैले एउटा आलेखका रूपमा प्रकाशन गर्छु भन्ने सोचिनँ र गाडीमा बस्नुभएका उहाँहरू दुईजनाको नाम पनि सोधिनँ । तर, पछि भाइबाट उहाँहरूको नाम मलाई थाहा भयो । चालकको छेउको सिटमा बस्ने अर्का सरको नाम सुरेन्द्र पौडेल रहेछ ।  रोकाय सरका प्रश्नले मभित्र एउटा हुन्डरी सिर्जना गरिदियो । हुन त यो प्रश्न मलाई अरू पनि धेरैजनाले सोधेका थिए, जवाफ पनि दिँदै आएको थिएँ र अहिले पनि दिइरहेको छु ।

मैले पिताजीको आशोच बार्दा अरू सम्पूर्ण निष्ठाकर्मको पालना विधिपूर्वक गरेर पनि श्वेतवस्त्र धारण गरिनँ । यसका धेरै कारण छन् । पहिलो त मनोवैज्ञानिक कारण नै हो । म अत्यन्त कमलो मनको छु । आफूलाई सहृमाल्न नसकेर धेरै पटक म भक्कानिएको छुु । पोहोर जेठ १७ गते मेरा पिताजीको निधन भयो । निधन सबै दुःखद् नै हुन्छ । ९४ वर्षको दीर्घजीवन बाँचेर पिताजी बित्नुभयो तैपनि हामी छोराछोरीका लागि भने पिताजीको यो निधन असामयिक नै भयो । बाँचुन्जेल उहाँका इन्द्रिय वयस्क मानिसका जस्ता तेजिला थिए । चस्मा नलगाई पढ्न सक्नुहुन्थ्यो । बोली, श्रवणशक्ति, आहारा सबैथोक राम्रो थियो । उहाँले ‘म चौरानब्बे वर्षको उमेरमा मर्छु’ भनेर पहिले नै हामीसँग भन्नु पनि भएको थियो । हामीले उहाँको यो कुरा पत्यार गरेका थिएनौँ तर उहाँले भनेजस्तै भयो, उहाँ बित्नुभयो ।

हाम्रो सनातन धर्मले तोकेका रीति र संस्कार राम्रा र वैज्ञानिक पनि छन् । विश्वास लाग्नेले यिनको पालना गर्ने हो, नलाग्नेले पालना नगरेका पनि छन् । तर, सधैँ गर्दै आएका यिनै संस्कारमाथि ‘यसो पो गर्ने हो त, उसो पो गर्न हो’ त भनेर पालना गर्ने र गराउनेहरूबीचमै पनि बेलाबेलामा अनावश्यक वादविवाद हुने गर्छन् । यी हाम्रा संस्कारभित्र सिर्जना भएका नकारात्मक पक्ष हुन् जुन हुनुहुँदैनथ्यो । मेरा पिताजीको अवसानमा पनि केही यस्ता कुराहरू भए । 

अस्पतालले पनि धेरै बूढो मानिसलाई उपचार गर्न मान्दोरहेनछ । मेरो पिताजीको अन्तिम क्षणमा यस्तै भयो । बूढो मान्छे, सबै अंग कमजोर भइसकेका छन्, घरै लगेर आफ्नो धर्म र परम्पराबमोजिमका काम गर्नूस्, जुन बेला जे पनि हुनसक्छ भनेर चिकित्सकहरूले उहाँलाई फिर्ता गरे । अस्पतालबाट घर लगेको केही दिनमै पिताजी बित्नुभएको थियो । हामी सबै छोराछोरी उहाँको निधनको पूर्वाभासले घरमा भेला भइसकेका थियौँ ।

परम्पराको राम्ररी पालना गरेर उहाँका मृत्युकर्महरू सम्पन्न ग¥यौँ । अब वार्षिक तिथि आउन लागेको छ । अहिलेसम्म पनि हामी निष्ठामै छौँ । थाहा छैन हामीले यहाँ निष्ठाकर्म पालना गर्दा उहाँ (परलोकमा) मेरा पिताजीले आत्मिक सुख पाउनुहुन्छ कि हुन्न तर यो हाम्रो परम्परा हो, धर्म हो भन्ने ठानेर हामी पालना गरिरहेकै छौँ । 

यति भएर पनि मैले श्वेतवस्त्र धारण गरिनँ, मलाई मेरो अन्तरआत्माले यस्तो निर्देशन दियो । मैले सेता लुगा नलगाएकामा समाजमा म निकै आलोचित भएको छु तर बाबु मरेको एक महिना नहुँदै सेता लुगा लगाएकाहरूले मजाले रक्सीमासु खाएको पनि देखेको छु । यसको ठीक विपरीत मैले सेता लुगा नलगाएर पनि अरू हाम्रा सम्पूर्ण परम्पराको पालना गरेको छु । 

मरेको मानिस कहाँ जान्छ कसैलाई थाहा छैन । स्वर्ग र नरक छन् वा छैनन् त्यो पनि हामीलाई थाहा छैन तर हामी यिनको एउटा काल्पनिक चित्र मनमा उतारेर बाँचिरहेका छौँ । यसले हामीलाई नियममा बस्न सघाएको छ, यो यसको सकारात्मक चिन्तन हो भन्ने मलाई लाग्छ । 

म शिक्षण पेशामा आबद्ध छु । मैले घडीको संकेतका आधारमा चल्नुपर्छ । बाटामा हतारहतार गरेर हिँडिरहेको हुन्छु । त्यहीबेला मलाई कुनै चिनारूले मेरो सेतो लुगा देखेर सोध्छ, ‘को बितेको ? आमा कि बुबा, कति वर्षको हुनुहुन्थ्यो, कालगतिले कि कुनै दुर्घटनामा परेर ? कहाँ ? कुन रोगका कारणले ? कहिले ? यी सबै प्रश्नको जवाफ दिँदादिँदै मेरो निकै समय बित्छ र म कक्षामा पस्दा ढिलो भइसकेको हुन्छु ।

एकजनालाई सबै कुरा भनेर अलिक पर्तिर पुग्न नपाउँदै फेरि अर्कालाई यिनै कुरोको फेहरिस्त जस्ताको तस्तै बताउनुपर्ने हुन्छ । यी अफ्ठ्याराका कारणले मात्र मैले सेता लुगा नलगाएको हुँ, यसमा मेरो कुनै सामाजिक विद्रोह वा क्रन्तिकारिता छैन । म क्रान्ति गर्न डराउँछु र मबाट कुनै खालको क्रन्ति हुन पनि सक्तैन तर पिताजी बितेका बेला सेता लुगा नलाएकामा कतिले मलाई ठूलो क्रन्तिकारी पनि देखेका छन् र कतिले परम्पराद्रोही । फेरि ममा अर्को स्वभाव पनि छ, म आफूलाई लागेका कुरा गरेरै छाड्छु, जसले जस्तो आलोचना गरे पनि म त्यसको पर्वाह गर्दिनँ । 

शोकमा भएको संकेत हो सेतो वस्त्र, यो धारण गर्नु नराम्रो कुरो होइन । कसैले कुनै उत्सव वा खुसियालीमा रातो वा अन्य कुनै रंग तथा अरू कुरा नछ्यापिदेओेस्, परैबाट चिनोस्, अनि सेता लुगा लाएर पनि अशोभनीय काम वा नगर्नु पर्ने काम ग¥यो भने सबैले थाहा पाऊन् भन्नका लागि भिन्न पहिरनमा रहनुलाई म अनुचित पनि मान्दिनँ । पिताजीप्रति सम्मानभाव नभएर मैले सेतो नलगाएको पनि होइन । त्यस समयमा विद्वान छवि बनाउन सफल मेरा पिताजीको कारण नै मैले दुईचार कक्षा पढ्ने अवसर पाएको हुँ । पचास नाघेको उमेरमा पनि उहाँले मेरो स्वास्थ्यका बारेमा लिएको चिन्ताले म अहिले पनि भक्कानिइरहेको छु । म टुहुरो भएको छु र पिताजीको अभावको पीडाले अहिले म बेस्सरी थिल्थिलिएको छु । 

मलाई काखमा राखेर खेलाउने, गालामा म्वाइँ खाने, घुगुती खेलाउने, मेरो खुसीमा खुसी हुने र मेरा पीडामा मर्माहत बन्ने, मलाई औंला समातेर हिँड्न सिकाउने मेरा पिताजीलाई बाँसमा बाँधेर काँधमा बोकेर लगी मैले आर्यघाटमा जलाएर आएँ, म कति स्वार्थी ? म आफैँलाई सोध्ने गर्छु । मैले मेरो पिताजीलाई बोकेर घरदेखि पशुपति आर्यघाटसम्म लाँदाका बाटामा हिँड्न म अझै डराइरहेको छु, झस्किरहेको छु ।

मैले मेरा पिताजीलाई पोल्न लगेका ती बाटा हिँड्दा मलाई असाध्यै बिझाउने गर्छन् । पैतालामा घोच्छ र फोका उठ्छन्, त्योभन्दा पनि मन अझै बढी बिझाउँछ र मनमा त झन् ठूल्ठूला फोका उठ्छन् । त्यसदिन मैले धोती र सेतो गन्जी लगाएर खाली खुट्टा कपनदेखि आर्यघाटसम्म पिताजीलाई बोकेर जाँदा पनि मेरा खुट्टा दुखेको मैले थाहा पाइनँ ।  

झरझुट्ट गहना र ठूलो रातो पोते लाएर बुबाको अन्तिम अवस्थामा पानी खुवाउँदै हुनुहुन्थ्यो आमा । राता लुगा उहाँको सोख हो । राता लुगामा रहेको उहाँको त्यो स्वरूप भोलिपल्ट पूर्णरूपमा फेरिन पुग्यो । पिताजी बित्ता रोइरहेका हामी छोराछोरीलाई उहाँले नै सम्झाउनु भयो । मलाई यो कुरा सम्झिँदा सपना हो कि विपनाजस्तो लाग्छ तर यो सपना होइन विपना नै हो । यो आहत मनको झस्काइ नै मनोवैज्ञानिक कारण बन्न सक्छ जसले मानिसलाई रोगी र बिरामी बनाउँछ । म बेलाबेलामा बिरामी भइरहेको छु र अझै बौरिन सकेको छैन । पिताजीबिनाको टुहुरो जीवनको बिकराल सकस भोगिरहेको छु म अहिले, सम्भवतः यो सबैलाई हुने साझा अनुभूति होला तर आफूलाई परेका बेलामा मात्र यस्तो समस्या बढी मार्मिक बन्दो रहेछ मान्छेका लागि ।

म नारायण गोपाल, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद भट्टराईजस्ता गायक, कवि तथा पत्रकारका मलामी गएको छु । मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका राजनेताको पनि मलामीको भीडमा मिसिन पुगेको छु अनि मेरा नाता र जिल्लाबासीको मलामी बनेर सयौंपल्ट आर्यघाटको बागमती तटमा बसेर धुवाँमा रुमल्लिएको छु । पृथकपृथक मानिसको मलामी जाँदा मलाई पृथकपृथक अनुभूति भएको छ । मलाई मेरा पिताजी बित्ताको अवस्थाजस्तो अत्यासलाग्दो अनुभूति अरू कुनै बेला भएन र पिताजीलाई बोकेर जाँदाको जस्तो अन्तरपीडा अरूको मलामी जाँदा भएको थिएन । 

मैले अरूको मलामी जाँदा जल्दै गरेको लासनेर उभिएर साथीहरूसँग ठूलोठूलो स्वरमा गफ गरेको छु र अरूसँग लय मिलाएर हाँसेको पनि छु तर मेरा पिताजीको लास जलिरहेका बेला त्यहाँ उभिएर गफ गर्ने हाँस्ने र कुनै दुःखको अनुभूति नभएजस्तो अनुहार लाउनेहरूतिर फर्केर हेरेँ । लास जलिरहेको समयमा जतिबेला फुर्सद हुन्छ त्यहीबेला गएर उपस्थिति जनाउने अनि कपीमा नाम लेखेर अफ्नो काममा जाने गरिन्छ । वास्तवमा मलामीले त घरबाट मूर्दा उठाउँदादेखि लासको अन्तिम दाहसम्म रहेर साथ दिनुपर्ने हो । शहरी सभ्यता र व्यस्तताले अहिले हामी यसो गर्न सकिरहेका छैनौँ । 

गाउँमा हुँदा कस्तो राम्रो एकता थियो । मर्दापर्दाको साथ अटुट रूपमा रहन्थ्यो । सबैले मिलेर काम गरिन्थ्यो । जनजीवन खर्चिलो पनि थिएन । अब त गरीबले मर्न पनि शहरमा पाउँदैन कि जस्तो लाग्छ, गरीबहरू मर्न गाउँ फर्किनु पर्छ अब किनकि यहाँको मरण र मरणपछिको संस्कार पनि निकै महँगो छ । महँगीमा मर्न निषेध गर्नुपर्छ, यो मेरो मात्र निजी विचार हो, अरू यसमा सहमत हुनु आवश्यक छैन । 

कपन, फैका, काठमाडौं ।   


Views: 0

सम्बन्धित सामग्री:

कपिलधाम

: Saturday, 22 September, 2018 (5:53:30 PM)