24th June | 2018 | Sunday | 8:58:25 PM

रञ्जनको रोमाञ्चक मिडियायात्रा

हिमालय टाइम्स   POSTED ON : Saturday, 09 June, 2018 (3:45:13 PM)

रञ्जनको रोमाञ्चक मिडियायात्रा

व्यवसायीसँग विज्ञापनको कुरा गर्दा अनुदान सम्झिने समयमा मिडिया मार्केटिङमा आए रञ्जनचन्द्र अधिकारी । उनले झण्डै साढे दुई दशकअघि मिडिया मार्केटिङको करिअर शुरू गर्दा धेरै सञ्चार माध्यमहरू खुलिसकेका भए पनि विज्ञापन बजार आजजति फराकिलो थिएन । सबै खालका सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरूले मात्रै पाउँथे । निजी सञ्चार माध्यमले विज्ञापन पाउनु कठिन थियो, छापा र श्रव्य–दृश्य दुवैका लागि ।

यस्तै समयमा रञ्जनचन्द्र इमज च्यानलमा आबद्ध हुन पुगेका थिए । आज उनी ईमेज ग्रुप अफ कम्पनीका सेल्स एण्ड मार्केटिङ डाइरेक्टरका रूपमा कार्यरत छन् । उनले मिडिया मार्केटिङमा करिअर सुरु गरेको समय बद्लिँदै गयो । सरकारी सञ्चार माध्यमहरूले पाउँदै आएका विज्ञापन निजीले पनि पाउन थाले । ईमेज च्यानलले नेपाल टेलिभिजनबाट बिहानको डेढ घन्टा समय किनेर सूचना र मनोरञ्जन कार्यक्रम चलाउँथ्यो । नेपाल टेलिभिजनले व्यावसायिकरूपमा उपयुक्त नठानेको समय सदुपयोग गरेर ईमेज च्यानलले मनोरञ्जनात्मक कार्यक्रम सुरु गरेको थियो । रञ्जनले यही समयमा काम सुरु गरे । त्यो बेला विज्ञापन लिनु निकै कठिन काम थियो । विज्ञापन व्यवसाय प्रबद्र्धका लागि भन्ने धारणा बलियो थिएन, चन्दा दिनुपरेको जस्तो व्यवहार हुन्थ्यो । 

कठिन ठानिएको यही कामलाई रञ्जनले आफ्नो पेशा बनाए, आज उनी नेपाली मिडिया मार्केटिङमा सुपरिचित व्यक्तित्व बनेका छन् । मिडिया मार्केटिङबाहेक दायाँबायाँ हेरेनन् । यसमा उनी सफल हँुदै आए । निजी सञ्चार माध्यम विस्तारसँगै विज्ञापनदाताहरूको व्यवहार सकारात्मक बन्दै गयो । एकपछि अर्को गर्दै खुलेका निजी सञ्चार प्रतिष्ठानहरूले विज्ञापनमा प्रतिस्पर्धा गर्न थाले । विज्ञापनबाट व्यवयाय प्रबद्र्धनमा सघाउन थाले । यससँगै व्यावसायिक कम्पनीहरूले विज्ञापनका लागि बजेट छुट्याउन थाले । व्यवसायीहरू विज्ञापनप्रति आकर्षित हुन थाले । क्रमशः विज्ञापन बजार विस्तार हुँदै गयो । यसमा निजी सञ्चार माध्यम निकै अगाडि आए । रंगिन कलेवरका ठूला पत्रिकाहरूले विज्ञापनमा फड्को मार्न थाले । ब्रोड सिटका दैनिक पत्रिकाहरूले विज्ञापन बजारमा चमक ल्याउने ‘ज्याकेट एड’ छाप्ने शैली अपनाए । रेडियो, टेलिभिजनहरूमा विज्ञापनका आयाम र शैलीहरू परिस्कृत हुँदै गए । 

साँघुरो विज्ञापन बजार चुनौतीपूर्ण थियो । रञ्जनले आजको स्थितिमा आइपुग्न निकै ठूलो धैर्यका साथ काम गर्नुप¥यो । लगनशीलता, इमानदारी र पेशाप्रतिको निष्ठाले उनी मिडिया मार्केटिङमा स्थापित भए । आज उनी आफूले करिअर सुरु गर्दाको दिन सम्झन्छन् । आज मिडियाको विस्तारसँगै मिडिया मार्केटिङले ठूलो फड्को मारेको छ । यो अवस्थामा आइपुग्न संस्थागत र व्यक्तिगत दुवैरूपमा आफूले लगनका साग कठिन यात्रा गरेको बताउँछन् रञ्जन । विज्ञापन दाताहरूसँगको सम्बन्ध विस्तार र सहकार्यले मिडिया मार्केटिङको फैलावट बढ्दो छ । यही मेसोमा रञ्जनको व्यक्तित्व पनि विस्तार भएको छ । यो बिन्दुमा आइपुग्दा रञ्जनलाई आफ्नो यात्रा रोमाञ्चक लाग्छ । 

रञ्जन भन्छन्, ‘मिडिया र विज्ञापनलाई नयाँ सोचका साथ अगाडि बढाउनेहरू बजारमा टिक्छन् । आधुनिक प्रविधिले विज्ञापनको अकर्षण बढेको छ । व्यवसायी र मिडिया कम्पनी दुवै लाभान्वित भएका छन् ।’ 

यससँगै चुनौती पनि त्यतिकै देखेका छन् उनले । भन्छन्, ‘सरकारले प्रष्ट दृष्टिकोणका साथ नीति नियम बनाएर चुनौतीहरू सामना गर्नुपर्छ, त्यसमा व्यवसायीहरू झन् सक्रिय हुनुपर्छ ।’ 

रञ्जन सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन् । उनी विभिन्न संघ सस्थामार्फत अनाथ बालबालिका र ज्येष्ठ नागरिकको सहयोगका लागि जुटेका छन् । नेपालमा हुने विभिन्न सौन्दर्य प्रतियोगिता र रियालिटी शोहरूमा कुशल निर्णायकको भूमिका निर्वाह गरेका छन् ।