19th October | 2018 | Friday | 9:30:34 PM

अधिनायकवादको स्रोत

देवेन्द्र चुडाल   POSTED ON : Tuesday, 12 June, 2018 (6:03:31 PM)

अधिनायकवादको स्रोत

दुई तिहाइ बहुमतसहितको नेकपाका एक अध्यक्ष केपी ओली नेतृत्वको सरकारको परीक्षाको घडी आएको छ । स्थिर सरकार र समृद्धि यो सरकारको मुख्य नारा हो, ओलीको नारा हो । सरकार आफ्नै नाराहरूको कार्यान्वयनमा कति अग्रसर हुन्छ त्यसमै सरकार र नेपाली जनताको भविष्य गाँसिएको छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा अघि सारेका विषयहरू जनतालाई देखाएका सपना साकार पार्ने सूचकहरू हुन सक्नुपर्छ । अहिले नै सरकारको पूर्ण समीक्षा गर्ने बेला भइसकेको छैन तर केही भन्न सकिने भएको छ । अहिलेसम्मको काम हेर्दा दुई तिहाइको ओली सरकारले ठोस र उपलब्धिमूलक काम गर्न सकेको छैन । यातायात क्षेत्रको सिन्डिकेट हटाएको भन्ने उद्घोष गरे पनि पूर्णरूपमा लागू भएको छैन । अहिले पनि एक प्रकारको सिन्डिकेट कायमै छ । राजधानी उपत्यकाभित्रका बसहरूले भेडाबाख्रा कोचे झैँ यात्रु कोचेकै छन् । यात्रुले सास्ती पाएकै छन् । 

शासन प्रशासनमा अनेक समस्याहरू भए पनि तिनको समाधानको साटो ओली सरकारका मन्त्रीहरू सस्तो लोकप्रियताकै लागि दौडिएका छन् । नियम कानुन पालना गराउन सक्रिय हुनुपर्ने मन्त्रीहरू फिलिमको हिरोजस्तो सेलिब्रेटी हुन खोजिरहेका छन् । उद्घाटन र सभा समारोहमै रमाएका छन् । सरकार भनेको क्लब, सामाजिक मञ्च, युवा समूह होइन । मन्त्री धारो, पाटीपौवा, सडक सफा गर्न कुचो लिएर निस्किनु पर्छ भन्ने होइन । सफा बनाउने नीति नियम पो चाहियो । त्यसलाई व्यवस्थित गर्नु प¥यो । मन्त्रीहरू बाटो बढार्दै, प्रदूषण जाँच गर्दै, तरकारीको मूल्य सोध्दै हिँड्ने र टेलिभिजनले देखाउने होडमा मन्त्रीहरू लागेका छन् । यसो गर्दा मन्त्री खुब सक्रिय भएको भन्ने भ्रम छर्न त सजिलो होला तर समस्या समाधानको उपाय यो होइन । सडकमा ट्राफिक नियम नमान्नेमा मन्त्री र अरू भिआइपी नै अगाडि हुन्छन् । लोकतन्त्रमा सबैको अधिकार बराबरी हुन्छ भनेर भाषण गर्ने भिआइपीकै चरित्र ठीक उल्टो छ । नीति नियम कार्यान्वयन गर्नेहरूले पहिला आफैँ पालना गर्नुपर्छ । सस्तो लोकप्रियताले दीर्घकालीन समाधान दिँदैन । 

मन्त्रीहरूको काम सरकारका योजना कार्यान्वयन गर्नु हो, आफ्नो मन्त्रालयमा राम्रा योजना बनाएर कार्यान्वयन गर्नु हो । हाम्रा मन्त्रीहरू भने अल्पकालीन र चर्चामुखी कार्यक्रम मन पराउँछन् । वामपन्थीको दुई तिहाइ बहुमतको सरकारले स्थिरता र विकासलाई केन्द्रमा राख्नुपर्नेमा प्रचारमुखी मात्रै हुँदा पाँच वर्षमा ठूलो फड्को मार्न सक्दैन । सरकारले नीति तथा कार्यक्रम र बजेटमा पाँच वर्षका लागि निकै ठूला उपलब्धिको आशा देखाएको छ । कतिपय त निकै अपत्यारिला छन् तर सरकार त्यसरी अघि बढ्न सकेको छैन । प्रधानमन्त्री, मन्त्री र पार्टीका नेताहरू अब यो सरकारलाई पाँच वर्ष कसैले हल्लाउन सक्दैनन् भन्नमै रमाइरहेका छन् । प्रचारमुखी सस्तो लोकप्रियतामा ठोस नीति र दीर्घकालीन कार्यक्रम हुँदैन । 

आँखा अगाडिका समस्या समाधान गर्नमा भन्दा दूर भविष्यको सपना बाँड्नमा केन्द्रित छन् प्रधानमन्त्री र उनका मन्त्रीहरू । सरकार प्रमुखबाट काल्पनिक सपनाको उडानभन्दा पनि समस्याको ठोस समाधान अपेक्षित हुन्छ । ओली सरकारको साढे चार महिनाको मूल्यांकनले उति सारो आशा जगाउन सकेको छैन । यो सरकारले सत्तामा टिकिरहन विकास निर्माणका खोक्रा नारा दिनु जरुरी छैन । सरकारको काम देखिनुपर्छ । सरकार प्रमुखले आफ्ना नीति निर्देशन लागु गराउनुपर्छ । लोकतन्त्रबाट नेपालीले धरै आशा गरेका छन् । जीवनको सुरक्षा† रोजगारीको ग्यारेन्टी† शिक्षा, स्वास्थ्यमा सहज पहुँच† जीवन स्तरको समृद्धिलगायतका अन्य पक्षमा उपलव्धि खोजेका छन् । शिक्षा र स्वास्थ्यमा अहिले पनि निमुखाको सहज पहुँच छैन । सरकारले निःशुल्क उपलब्ध गराउने भनेको सामान्य औषधिसमेत जनताले पाउन सकेका छैनन् । आखिरी किन ? किनभने सरकारले यसलाई प्राथमिकतामा राखेकै छैन । 

मिठा भाषणले मात्रै राशन प्राप्त हुँदैन । प्रधानमन्त्री ओली मान्छे मक्ख पर्ने भाषणकै सिर्जनामा रमाइरहेका छन् । राजनीतिक दलका नेता र कार्यकर्ताबाहेक सामान्य जनताको पहुँच सरकारमा कमजोर छ । निमुखाको हित नभएसम्म सरकारले काम गरेको मानिँदैन । पहुँचवालाको जहिले पनि हित भएकै छ । समृद्धि पनि निमुखाहरूकै लागि हुनुपर्छ । ती जनता राजनीतिक दलका नेताहरूलाई चुनाव जिताएर सत्तामा पु¥याउने भ¥याङमात्रै होइनन् । काठमाडौं उपत्यकाका सडकको धुलो र धुँवा हेर्ने हो भने यो सहर बस्न लायक छैन । प्रदूषणकै कारण मानिसहरू विरामी परेका छन् । उपत्यकामै खानेपानीको हाहाकार छ । मेलम्चीको पानी पिउने सपना अझै सपनामै सिमित छ । कमसे कम तत्काल समाधान गर्न सकिने समस्याहरू समाधान गर्नु सरकारको जिम्मेवारी भए पनि सरकार भने रमिते मात्रै छ । 

अहिले पनि दैनिक हजारौँ नेपाली युवाहरू रोजगारीको लागि विदेशिन बाध्य छन् । खाडी मुलुकमा गएर ४५–५० डिग्रीको तापक्रममा उनीहरू रगत पसिना बगाउँछन् । दिनहुँजसो त्रिभुवन विमानस्थलमा आउने युवाको शवको संख्या घटेको छैन । खाडी मुलुकलगायत अन्य मुलुकमा श्रम सहचारी व्यवस्थासम्बन्धी कमजोरीले ती पीडितले दुःख पाउनु परेको छ । रोजगारी बढाउने काम नारामा मात्र सिमित छ । ओली सरकारले बजेटमा वार्षिक ५ लाख युवायुवतीलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने भनेको छ, आगामी पाँच वर्षमा रोजागारीका लागि कुनै पनि युवा विदेश जानु पर्दैन भनेको छ तर त्यो पूरा हुने विश्वसनीय कार्यक्रम छैन । रोजगारी बढाउने क्षेत्रमा सिन्डिकेट अन्त्य भएको घोषणा गरिए पनि त्यसको विकल्प सरकारले दिएको छैन । 

केही मानिसलाई लोकप्रियताको सोख धेरै हुनसक्छ । यसो हुनु मानवीय प्रवृत्ति भए पनि राजनीतिमा त्यस्तो प्रवृत्ति घातक सावित हुन सक्छ । लोकप्रियतालाई राजनीतिक उपलब्धिका रूपमा हेरिएको खण्डमा लोकतन्त्रमाथि नै खतरा उत्पन्न हुनसक्छ । संसारभरका अधिनायकको उदय लोकप्रियताको मोह र आफू लोकप्रिय छु भन्ने भ्रमबाटै भएको छ । यही भ्रम नै अधिनायकवादको मूल स्रोत हो । इतिहास साक्षी छ, धेरैजसो अधिनायकवादी शासकको जन्म राष्ट्रवाद र समृद्धिको चर्को नाराबाटै भएको छ । ओली र उनको सिंगो सरकार यस्तै दिशामा अघि बढ्ने संकेत देखापरेको छ । प्रधानमन्त्री ओली, उनका मन्त्री र सरकारको समग्र शैलीले अधिनायकवादको संकेत गर्न थालेका छन् । तसर्थ प्रधानमन्त्री ओली इतिहास बुझ्दै सस्तो लोकप्रियताको भ्रमबाट मुक्त हुन अनिवार्य छ । 





 


Views: 6