22nd September | 2018 | Saturday | 7:37:09 PM

विपीको सिद्धान्त र वर्तमानको कांग्रेस

विनोद दाहाल   POSTED ON : Thursday, 14 June, 2018 (6:02:52 PM)

विपीको सिद्धान्त र वर्तमानको कांग्रेस

अहिले नेपाली कांग्रेस इतिहासमै सबैभन्दा कमजोर भएको छ । शेरबहादुर देउवा यस पार्टीको केन्द्रीय सभापति छन् । दुई वर्षअघि भएको तेह्रौं महाधिवेशनबाट उनी सभापति चुनिएका थिए । उनीसँग नेता रामचन्द्र पौडेल पराजित भएका थिए । चुनाव एउटा प्रक्रिया हो । यो प्रजातन्त्रको मूल मर्म हो तर यो पार्टीमो चुनावपछि हालसम्म पनि गहिरो मनमुटाव छ भन्ने कुरा बेलाबेलाका विभिन्न घटनाबाट पुष्टि हुँदै आएका छन् । 

स्थानीय निकाय, प्रदेश र संघका निर्वाचनमा पराजित बनेपछि पार्टीमा यस्तो दरार अझै फराकिलो बन्दै गएका हुन् । यो सम्पूर्ण पराजयको जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले मात्र लिनुपर्छ भनेर रामचन्द्र पौडेल पक्ष लागेको छ । पौडेल पक्षले उनलाई माफी मगाउन खोजिरहेका छन् । उता यो पराजयको जिम्मा पार्टीले लिनुपर्छ, आफूले मात्र लिने होइन भनेर देउवा र उनको पक्षले भन्ने गरेको छ । यो पक्ष चुनावमा भएको पराजयको जिम्मा स्विकारेर माफी माग्न कुनै पनि हालतमा तयार छैन । नेपाली कांग्रेस एउटा पार्टी हो तर यसका पक्ष र विपक्ष देख्दा यो एउटा पार्टी नभएर दुई वा तीनवटा पृथकपृथक पार्टी हुन् जस्तो लाग्छ । यस्तो अवस्थामा अब यो पार्टी एक ढिक्का भएर चल्न कहिल्यै पनि सक्तैन कि भन्ने आशंका पैदा हुन पुगेको छ । 

नेपाली कांग्रेस नेपालमा सबैभन्दा लामो समयसम्म शासन सत्तामा रहन सफल पार्टी हो । यो सबैभन्दा पुरानो पार्टी पनि हो । स्थापनाको ७१ वर्ष भइसकेको यो प्रजातान्त्रिक र समाजवादी पार्टीका रूपमा चिनिएको छ तर यसमा स्थापना कालदेखि नै गुटबन्दी थियो र अहिलेसम्म पनि यस्तो अवस्था रहिरहेकै छ । रहिरहेको छ मात्र होइन यसले अहिले त अझै चरम रूप धारण गरेको छ । यसका केही दृष्टान्त यस प्रकार छन् । 

यसको प्रत्यक्ष्य अनुभूति पार्टी कार्यकर्ता र सामान्य मानिसले दैनिकजसो आयोजना हुने विभिन्न कार्यक्रममा प्रस्तुत हुने नेताहरूको अभिव्यक्तिबाट पनि प्रष्ट हुने गरेको छ । सन्दर्भ हो केही दिन पहिले आयोजित एउटा पुस्तक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता देवेन्द्रलाल नेपालीले दिएको फरकफरक अभिव्यक्तिको । कार्यक्रम एउटै हो र वक्ता पनि एउटै पार्टीका हुन् तर त्यहाँ उनीहरू फरकफरक पार्टीका नेता जसरी प्रकट भएर अभिव्यक्ति दिए । 

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले पार्टीको नीति तथा सिद्धान्त नछोडेको बताए । ‘हामीले संविधानसभाबाट संविधान बनाएर जनतालाई दिएका छौँ । नेपालको सत्तरी वर्षको इतिहासमा सबैभन्दा बढी विवादित संवैधानिक विषयको टुंगो लागेको छ’ उनले भने ‘राजालाई प्रजातन्त्र चाहिँदैन भने जनतालाई पनि राजा चाहिँदैन भनेर विपीले भनेका थिए, अहिले राजाले प्रजातन्त्र नचाहेका कारण हामीले राजा फाल्नु परेको हो । यो विपीको विचारभन्दा भिन्न होइन ।’ यसरी उनले आफ्नो विचार व्यक्त गर्दा त्यहाँ उपस्थित कतिपय कार्यकर्तालाई उनको विचार ठीक लागिरहेको थिएन भने एकथरीलाई उनको यो भनाइ सही लागेको थियो । यस्तो हुनु भनेको नेपाली कांग्रेसभित्रको अन्तरद्वन्द्व छताछुल्ल भएर सडकमा पछारिनु हो । 

प्राध्यापक पीताम्बर शर्मा दाहालद्वारा लिखित पुस्तक ‘मेरो रिमरिमे सम्झना’ को विमोचनका क्रममा उनले यस्तो धारणा राखेका थिए । कार्यक्रममा उनले चुनाव हार्नुलाई आफ्नो पार्टीको सांगठनिक कमजोरीका रूपमा लिनुपर्ने विचार व्यक्त गरे । ‘हार्नु हाम्रो कारण हो तर हाम्रो सिद्धान्तले जितेको छ, अब संविधानमाथि राजनीति गर्ने होइन, यसको कार्यान्वयनमा इमानदारिता देखाउनुपर्छ’ उनले भने ‘हामी विपक्षमा छौँ तर हामी देशलाई अस्थिरतामा लान चाहँदैनौँ । कार्यकारी राष्ट्रपतिको चाहना कम्युनिस्टहरूको अति महŒवाकांक्षा हो र यसले मुलुकलाई अनिष्ट गर्छ कि भन्ने आशंका मात्र हो हाम्रो ।’ उनले लोकतन्त्रमाथि अझै पनि खतरा छ भन्दै पार्टी एक हुनुपर्ने विचार व्यक्त गरका थिए । 

नेपाली कांग्रेसलाई एउटा मात्र पार्टी देख्तै आएका सामान्य कार्यकर्ताले उनको भनाइबाट नेपाली कांग्रेस एक रहेनछ भन्ने थाहा पाए । वरिष्ठ नेताबाटै सार्वजनिकरूपमा आफ्नो पार्टीको अन्तरद्वन्द्व यसरी छरपष्ट नपार्नु नै उचित हुन्छ भनेर बुझ्नु बुद्धिमानी हो तर पार्टीमा विग्रह छ । अरूलाई दोषी देखाएर कार्यकर्ताको सहानुभूति लिन खोजेको हो भने यो झन् अनुचित काम हो । 

कार्यक्रममा मन्तव्य प्रकट गर्ने क्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टीले पुराना कार्यकर्तालाई सम्झिन सक्नुपर्छ भनेका थिए । ‘संस्थागतरूपमा सम्मान गर्नुपर्ने धेरै व्यक्ति छुटेका छन् । तिनलाई मर्यादा गर्न मात्र सक्यौँ भने पनि नेपाली कांग्रेसभित्रको बौद्धिक खडेरी कम हुने थियो ।’ उनले यसरी निराशा प्रकट गरेबाट नेपाली कांग्रेस पार्टीमा समस्या छन् भन्ने कुरा अझै प्रष्ट भएको छ । पार्टीमा प्रवृत्ति, पद्धति र प्रक्रिया तीनै कुरा लोकतान्त्रिक छैनन् भन्दै उनले अहिले कम्युनिस्टहरू मिल्नु पनि सकारात्मक कुरो हो भने । 

उनको भनाइ सन्तुलित खालको थियो तर यही कार्यक्रममा नेपाल विद्यार्थी संघका संस्थापक तथा नेपाली कांग्रेसका नेता देवेन्द्र नेपालीले ‘संघीयताले नेपालको हित हुनेछैन, नेपाली कांग्रेसले आफ्नो सिद्धान्त छोडेर संघीयता र धर्म निरपेक्षता स्वीकार ग¥यो र यो विचारअनुसार अहिले देश सञ्चालित छ तर यस सिद्धान्तले नेपालको हित गरेको छैन’ भनेका थिए । नेता रामचन्द्र पौडेल र देवेन्द्र नेपालीको विचार भने एक अर्कामा ठ्याक्ठै विपरीत धारतर्फ बगेको थियो । पौडेलले अहिलेको संघीयता र गणतन्त्रलाई नेपाली कांग्रेसको सिद्धान्तअनुसारको कार्यका रूपमा परिभाषित गरेका थिए । नेपालीले यसलाई नेपाली कांग्रेसको सिद्धान्तको विपरीत कार्यका रूपमा व्याख्या गरेका थिए ।

नेपाली कांग्रेसभित्रको चरम मतमतान्तर यहीबाटै प्रष्ट बुझ्न सकिन्छ । उनीहरू आआफ्नो भनाइ राखेर मञ्चमा गएर बसेपछि पनि पुनः एकअर्कातिर औँलो ठड्याएर झगडा गरेको सबैले देखे । जिम्मेवार नेताका यस खालका विचारले पार्टीलाई सही मार्गदर्शन गरेर डोहो¥याउन सक्छ भन्ने कुरामा पार्टीका कार्यकर्ताबीच एउटा गहिरो सन्देह पैदा हुने पक्का छ । 

नेपाली कांग्रेसले विपी कोइरालाको विचारको संरक्षण गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने हो भने सबैभन्दा पहिले आर्टीभित्रका अन्तरकलह मेटाउनु आवश्यक छ । यो सजिलो काम भने होइन । कांग्रेसलाई गुटबन्दीको चरम अवस्थामा लैजाने काम निकै अगाडि शीर्ष नेताबाटै भएको हो । २०४६ सालको प्रजातन्त्र आउनासाथ यस खालका संकेत देखिनथालेका थिए । त्यसको दुई वर्ष बित्तानबित्तै २०४८ सालमा हभएको आमनिर्वाचनको टिकट वितरणका बेलैदेखि यस पार्टीमा गुटबन्दी चरम अवस्थामा पुगेको थियो । त्यसको न्यूनीकरण हुनुको अलावा यो समस्या नेपाली कांग्रेस पार्टीभित्र झनझन बढेर गयो अहिलेको अवस्थामा पुग्यो । 

त्यस बेलैदेखि अङ्कूरण भएर प्रत्येक नेता कार्यकर्ताको मनमा लुकेर बसेको त्यो दुराग्रह र एकअर्काप्रतिको पूर्वाग्रह सबैले छोड्न सक्नुपर्छ । पार्टीमा अरू केही कमी कमजोरीलाई छोड्ने हो संगठन कौशलचाहिँ स्वर्गीय गिरिजाप्रसाद कोइरालामा अद्भूत खालको थियो । उनी कम्युनिष्टहरूका शैलीमा पार्टी संगठन गर्थे । उनकै जसरी मेचीमहाकाली डुलेर पार्टीको पुनर्संगठनको काम अहोरात्र गर्न सक्नुपर्छ । 

अहिलेका सुविधाभोगी नेताहरूमा त्यो खालको सांगठनिक क्षमता र इच्छाशक्ति समेतको कमी छ । उनकैझैँ संगठन विस्तार गर्नसके मात्र पार्टी पूर्ववत् अवस्थामा पुग्नसक्छ, नत्र आगामी निर्वाचनसम्ममा नेपाली कांग्रेस नेपाल प्रजा परिषद्जस्तै इतिहासको कुनै पानामा सीमित हुन पुग्नेछौँ । जुन भावी पुस्ताका लागि इतिहास अध्ययनको विषय मात्र हुनसक्छ । 


Views: 1

सम्बन्धित सामग्री:

कपिलधाम

: Saturday, 22 September, 2018 (5:53:30 PM)