18th November | 2018 | Sunday | 5:55:10 PM

कपिलधाम

विष्णुराज आत्रेय   POSTED ON : Saturday, 30 June, 2018 (2:20:07 PM)

कपिलधाम

महर्षि कर्दम र देवहूति दुवैले गृहस्थाश्रममा प्रवेश गरे । उनीहरूको गृहस्थाश्रममा प्रवेश ब्रहृमाजीका आज्ञाले मैथुनिक अर्थात् योनिजन्य सृष्टिको विस्तारका लागि थियो । देववाणीमा छोरीलाई दुहिता भनिन्छ । या दूरे हिता = निहिता सा दुहिता ।

त्यसै हुनाले छोरीहरूलाई कन्यादान दिएर टाढा पतिगृहमा पठाइन्छ । दानको अर्थ यहाँ बाबु–आमाले छोरीप्रतिको ममता र वात्सल्यलाई समेत बिर्सेको होइन । वस्तुुतः उसले आफ्ना समर्पण भावले पतिगृहलाई नै अत्मीय बनाओस् र त्यसैलाई आफ्नो कर्मक्षेत्र ठानोस् भन्ने भावले कन्यादान दिने विधि प्रचलित चलन चलाइएको हो । 

यसरी ती विवाहित चेलीहरूले आफ्नो माइती घरको असल एवं अनुकरणीय कुराहरू पतिगृहमा पु¥याउँछन् । यसैगरी पतिगृहबाट माइतीघरमा जादाँ पनि त्यहाँका राम्रा एवं अनुकरणीय कुराहरू उनीहरूले माइतीमा लैजान्छन् । यसरी आनुवंशिक सम्बन्धसँगै एक अर्काका राम्रा संस्कार व्यवहारको परस्पर आदान प्रदान हुनुले समस्त विश्वलाई नै आर्य बनाउने, समस्त पृथिवीलाई नै एउटै कुटुम्ब बनाउने साथै मानवमात्रमा बन्धुता र भ्रातृत्वको भावनालाई दरिलो पार्ने आर्यावत्र्तको उद्देश्य पनि सम्पन्न हुन्छ । 

नारीजन स्वभावैले पुरुष जनभन्दा धेरै अंशमा बढी कोमल स्नेहिल र भावुक हुन्छन् । यौवनको जहाँसम्म प्रश्न छ, नारीहरू पुरुषका तुलनामा चाँडै यौवनवती र ऋतुमती हुन्छन् । अतः पुरुषका अपेक्षा नारीहरूको विवाह चाँडै गर्ने शास्त्रीय नियम छ । पुरुषका अपेक्षा नारीबाट चाँडै सृष्टिको विस्तार हुन्छ । त्यसै हुनाले सृष्टिको प्रारम्भदेखि नै आर्यावत्र्तमा पुरुषको भन्दा नारीहरूको सङ्ख्या तुलनात्मक रूपमा बढी हुन्छ ।

मलाई प्राप्त गर्न मेरा पतिले दश हजारवर्ष तपस्या गरेका हुन् भन्ने कुरा पतिपरायणा शतरूपालाई थाहा थियो । त्यसै हुनाले उनी पतिलाई परमेश्वरका रूपमा मान्दथिन् । राजकुमारी भएर पनि उनले समस्त राजकीय सुख–सुविधा बिर्सेर पतिगृहमा जे जति उपलब्ध छ त्यसैमा प्रसन्न र सन्तुष्ट हुदैँ महर्षि कर्दमको अहर्निश सेवा गर्न थालिन् । 

बिहा भएपछि पनि कर्दम ऋषि प्रायः आफ्नू ध्येय चिन्तनमा नै रहन्थे । उनले पहिले आफूले गरिआएका आश्रमका समस्त कामको अभिभारा उनकी पत्नीले आफँै सम्हाल्न थालिन् । उनले आफ्नो ध्येय चिन्तन गर्ने र आश्रममा आएका अतिथि, सत्सङ्गी एवं जिज्ञासुहरूलाई आदेश उपदेश गर्ने कार्यमा पहिलेभन्दा पनि धेरै समय दिन पाए । 

ऋषि कर्दमको आवश्यकता अनुसार बिहानदेखि साँझसम्म उनलाई चहिने कुरा यथासमय यथास्थानमा तयार पारेर राखिदिन्थिन् देवहूति । कर्दम ऋषिलाई यो कुरा चाहियो भनेर माग्ने र कुनै कुरा नभएर काम अड्किने स्थिति नै हुन दिइनन् उनले । आश्रमभित्रको मात्र काम होइन, आश्रम बाहिर गाई गोठ, फूलबारी, करेसाबारी र जङ्गलबाट आफूहरूर पाहुनालाई समेत कन्त–मूल गिठी–तरुलको जोहो पनि उनैले गर्नुपर्दथ्यो । कहिले त आफू खान–बस्न लागेकै बेला एउटो पाहुनो टुप्लुक्क आइपुग्थ्यो । भएन फसाद ? त्यस स्थितिमा आफू भोकै बसेर पनि पाहुनाको सेवा गर्नुपर्दथ्यो ।

यसरी आफ्नो व्यक्तिगत भोक, प्यास, आराम, विश्रामको समेत केही वास्ता नगरी पति र अतिथिजनको काममा रातोदिन जोतिनु पर्दा एउटी महिलाको त्यसमाथि सुकुमारी राजकुमारीको शरीरले कतिदिन सक्नु ? शतरूपा क्रमशः दिनानुदिन दुब्लाउँदै गइन् । उनका हात–गोडाका जोर्नी करकरी खान थाले । दिनभरि कामले थाकेकी देवहूति राति पनि अबेला अबेला सुत्न जान्थिन् । दिउँसो त दिउँसो राति पनि कर्दम ऋषि तिनै जोगी तपसी सत्सङ्गी जिज्ञासुहरूलाई सिकाउँदै बातमार्दै त्यतै सुतिदिन्थे । राति अबेरसम्म काममा जोतिँदा थाकेकी ती ऋषिपत्नी एक त मसक्क निदाउन सक्दैनथिन्, कतै निदाए पनि उनको निद्रा नपुग्दै बिहान भइदिन्थ्यो । उनको व्यथा–कथा बुझ्ने कोही थिएन । आफ्ना पतिको मन कहिले आफूतिर फर्कला ? यसकै पर्खाइमा थिइन् शतरूपा ।

एकदिन को कुरा । ऋषि कर्दम आँगनमा बसेर सत्सङ्गी र जिज्ञासुलाई उपदेश दिँदैथिए । बाहिर चरक्क घाम लागेको थियो । तिर्खाएको ठानेर शतरूपा शीतल जलको एउटा घल्चा र करक (करुवा) लिएर भित्रबाट बाहिर आउन लागेकी थिइन् । उनलाई त्यहीँ भनन्न रिँगायो । उनी त्यहीँ ढलिन् । कर्दम ऋषिले झल्याँस्स भएर पत्नीलाई हेरे । ऋषि त तीन छक्क परे ।

अहो देवहूति ? तिम्रो यस्तो कारुणिक दशा ? यो के भयो ?

देवहूति बेहोस भएर ढलेकी थिइन् । उनी बोलिनन् । त्यहाँ जम्मा भएका मानिसहरूले हत्तपत्त पानी ल्याएर उनको मुखमा छर्किदिए । बल्ल उनी बिस्तारै बौरिन् । अनि स्वामी ? भन्दै फेरि अचेत जस्ती भइन् । हजूरलाई मैले जल टक्र्याउन सकिनँ । मलाई आश्रम नै घुमेजस्तो लाग्यो । म ढलेँ । मेरो अपराधमा क्षमा पाऊँ स्वामी ¤ देवहूतिले आफ्नो पतिको पाउमा छाँद हाल्दै भनिन् । कर्दम ऋषिले आगन्तुकहरूलाई अब तिमीहरूजाओ भनेर विदा गरे ।

अब बल्ल अतीतको घटना कर्दम ऋषिका चित्तमा पत्रैपत्र गरी उघारियो । सन्तान उत्पादनका लागि बिहे गरेर आश्रममा भिœयाएकी पत्नीको यस्तो अवस्था देख्दा उनलाई ठूलो पश्चात्ताप भयो । ऋषिले स्वयं अपराध बोध गरे । सती साध्वी शतरूपाको पतिसेवा र कर्दम ऋषिको तपस्याको प्रभावले त्यहाँ उनले चाहेमा सबै कुरा उपलब्ध थियो । जिज्ञासु र शिक्षार्थी आएका बेला उनलाई उपदेश गर्ने र अरू बेला समाधिमा बस्ने बानी लागेका कर्दम ऋषिलाई पत्नीमाथि यत्रो अन्याय भएको पत्तो भएन । अब भने उनी सतर्क भए । उनले भने– 

प्रिये पतिपरायणा एवं मप्रति पूर्ण समर्पित भएर तिमीले यत्रो वर्ष मेरो अटूट सेवा ग¥यौ । तिम्रो कठोर पतिव्रता धर्मको पालन र मेरो योगबलले यस ब्रहृमाण्डमा भएको कुनै पनि सुखभोग हामीलाई अप्राप्य छैन । तपस्या भन्ने कुरा गर्नमात्र कठिन हो । गरेपछि त्यो निष्फल कहिल्यै हुँदैन । अब हामी त्यस अलौलिक सुख–भाोगतिर लागौँ । 

जो आज्ञा स्वामी ! देवहूतिले भनिन् । कहिले पनि नचिताएको आफ्ना स्वामीको यो वाक्य सुन्दा उनका रक्तहीन र दुब्लाएर हाड–छाला भएको मुहारमा पनि केही हिसी आयो । कर्दम ऋषिले पत्नी देवहूतिलाई दुवै हातले आड दिँदै उठाए । उनको काँधमा हात राख्दै अँगालो मार्दै उनलाई बिस्तारै बाहिर ल्याए । अब कर्दम ऋषिले आफ्नो योगबलले तत्कालै स्वर्ग मत्र्य पाताल तीनैतिर जानसक्ने एउटा ठूलो विमानको सृष्टि गरे ।  त्यो विमान साघारण विमानमात्र नभएर वायुवेगमा दौडिने विशाल कल्पना लोक नै थियो । एउटा सानू संसार नै अटाएको थियो त्यसमा । 

त्यस विमानभित्र गृहस्थ जीवनलाई चाहिने सम्पूर्ण कुरा जस्तै शौचकक्ष, स्नानकक्ष, शृङ्गारकक्ष, ध्यानकक्ष, भोजनकक्ष, बैठककक्ष, विहारकक्ष, शयनकक्ष, अतिथिकक्ष आदि शीत–ताप नियन्त्रित थिए भने फूलबारी र सुन्दरबगैँचा आदि सबै सुसज्जित एवं ऋतुनियन्त्रित रूपमा उपलब्ध थिए । त्यहाँ तिनीहरूलाई आवश्यक पर्ने किन्नर–किन्नरीजस्ता सेवक र सेविकाहरू सयौँका सङ्ख्यामा जति बेला पनि इच्छा लागेको कुरा पु¥याउन टक्र्याउन उपस्थित थिए । जसै कर्दम ऋषिले देवहूति लाई त्यस विमानभित्र प्रवेश गराए । उनी त त्यहाँको वैभव र सजावट देखेर तीन छक खाइन् । 

स्वर्गकी अप्सराभन्दा राम्रा शयौँ रूपवती नारीहरूको रूपसौन्दर्य एकै ठाउँ जम्मा भए जस्तै राम्रीे देवहूतिको पहिलेको शरीर अहिले दुब्लाएर हाडछाला भएको थियो । अनुहार घामले डढेर कालो भइसकेको थियो । दुवै ओठ कलेटी परेका थिए । कपालका रौँहरू आपसमा टाँसिएर लट्ठा परेका थिए । लुगा कपडा पनि जीर्णशीर्ण भइसकेका थिए । उनका जिउभरि कटकटिएको मयल शरीरबाट निस्कने पसीनाले भिज्दा टाढाबाटै हसक्क गन्हाउँथ्यो । अहिले त उनी आफँैले आफूलाई चिन्न नसक्ने भएकी थिइन् ।

कर्दमदम्पती त्यस वायुयानभित्र पसेका मात्र के थिए, किशोरी केटीहरूको एउटा समूह तत्कालै त्यहाँ उपस्थित भयो । तिनीहरूले देवहूतिलाई बुकुवा, तेल तातो चिसो पानी तथा सुगन्धित द्रव्य आदिले सुसज्जित भव्य स्नानकक्षमा लगे । तिनीहरूले चिसो र तातो पानीको धारा र लघुसरोवरमा विस्तारै विस्तारै मिची मिची स्नान गराए । नयाँ र दामी वस्त्र पहिराए । विभिन्न आभूषणले उनलाई सिरपाउसम्म सिँगारे । 

समस्त सिँगार–पटार सकेपछि ती सेविकाहरूले शतरूपालाई एउटा मानिस कदको ऐनासामू लगेर उभ्याए । अब त उनी पहिलेभन्दा पनि अझ राम्री भएकी थिइन् । पहिले ऐनासामू उभिँदा उनी धेरै दुब्लाएर आफूलाई आफैँले चिन्न नसक्ने थिइन् भने अहिले पनि अति नै राम्री सोह्रवर्षे दिव्य वधूटी देखिने भएकीले देवहूति आफैँले आफैँलाई एकछिन चिन्न सकिनन् । त्यतिबेला देवहूतिलाई आफ्नो पुनर्जन्म नै भएजस्तो लाग्यो । निःस्वार्थ पतिव्रतको प्रभावले तिनलाई आफूभित्र पहिलेभन्दा पनि बढी सामथ्र्य आर्जन भएको अनुभव भयो । 

उता तपस्याले हाड छाला भएर बूढाजस्ता कर्दम ऋषि पनि बाइस–पचीस वर्षका युवा भए । तल जाँघमा सेतो उज्यालो धोतीमाथि कौशेय दोसल्ला, छातीमा स्फटिक एवं रुद्राक्षको टल्कने माला र निधारमा त्रिपुण्ड्रभस्म शोभित थियो, उनको पनि । उनका पनि अघि पछि आठ–दशजना सेवकहरू सधैँ सेवामा खडा रहन्थे । कसैले पाउपोस लगाइदिन्थ्यो, कसैले छाता ओढाइदिन्थ्यो । 

शय वर्षको लामो समयसम्म यसरी त्यस विमान गृहमा बसेर रमण र विचरण गर्दै ती युवादम्पती कर्दम र देवहूतिले समग्र यौवनानन्द प्राप्त गरे । तिनीहरू नपुगेको ठाउँ र तिनीहरूले नदेखे नभोगेको कुनै कुरा बाँकी रहेन । 

(विष्णुराज आत्रेय विद्वान लेखक हुनुहुन्छ । उहाँ नेपाली,संस्कृत तथा अवधि भाषाका साहित्यकार हुनुहुन्छ । उहाँको पौराणिक, ऐतिहासिक तथा बौद्ध वाङ्मयको पृष्ठभूमिमा लेखिएको ‘कपिलधाम’ उपन्यास हिमालय टाइम्सले प्रत्येक शनिबार शृंखलाबद्ध रूपमा प्रकाशन गर्दैछ ।)


Views: 12