18th November | 2018 | Sunday | 6:44:19 PM

राजनेता बन्ने इच्छाशक्ति खोजी

राजन कार्की   POSTED ON : Thursday, 05 July, 2018 (12:35:36 PM)

राजनेता बन्ने इच्छाशक्ति खोजी

सन् १९६३–०६७ मा कोदारी राजमार्ग निर्माण गर्दा चीनले बनाइदिएको मितेरी पुल तरेर कम्युनिस्ट छिर्ने भयो भनेर दिल्लीको सातो गएको थियो । कम्युनिस्ट कोदारी राजमार्गबाट न नेपाल छि¥यो, न भारत नै पुग्यो । भारतको आफ्नै कोखमा लाल कम्युनिस्ट जन्मे जसले रक्तपात नै मच्चायो, आज भारतभित्र अनेकन लाल किल्ला छन्, जसको प्रतिवाद गर्न भारतकै लागि चुनौती बनेको छ । कम्युनिस्ट गाडी चढेर आउने होइन रहेछ, कम्युनिस्ट त अशिक्षा र गरीबी अनि विभेदमा पो उम्रने रहेछ ।

नेपालमा त झापा विद्रोह भयो, जनयुद्ध भयो, जनआन्दोलन पनि भयो र सत्तामात्र होइन इतिहास नै बदलिदियो कम्युनिस्टले । रगतको होली खेल्ने कम्युनिस्टहरू आज सूर्यमुखी झण्डा उचालेर प्रजातान्त्रिक नेपालको कमाण्ड गर्ने कमाण्डर बनेका छन् । प्रजातन्त्रवादी निस्तेज बनेर शक्ति आर्जन गर्ने नुस्खाको पर्खाइमा छन्, पहाडका गरीबहरूले हिमाली डाँडा पखेरामा यार्सागुम्बा खोजी गरेजस्तो पाराले ।

बुलेटभन्दा ब्यालेट बलियो हुन्छ । जनताद्वारा जनताका लागि जनताले गर्ने शासन नै प्रजातन्त्र हो । अमेरिकाका सोह्रौँ राष्ट्रपति लिंकनको यही विश्वासमा मानवाधिकारको नया“ रङ चढाएर प्रजातन्त्रको लहर जोडतोडले चलेको छ । प्रजातन्त्रको यो लहरको विपरीत धारमा कम्युनिजम नेपालमा चीन, उत्तरकोरिया, लाओस्, भियतनाम, क्युवामा भन्दा पनि शक्तिशाली बनेर कवाज खेल्ने खेलाडीका रूपमा देखिएका छन् । 

२१ औं शताब्दीमा एन्टी करेन्टका रूपमा नेपालबाट सशक्त कम्युनिस्ट सरकारको सूर्योदय भएको छ । नेपाली कम्युनिस्टहरूले माओको रातो किताब पढेर सिकेको, जानेको र व्यवहारमा उतारेको अक्किल भनेको लुकेर बस्ने र मौका मिल्नासाथ छक्याएर हान्ने र जित्ने हो । झापा आन्दोलनदेखि जनयुद्धको दश वर्षको घटनाक्रम त्यही हो । जनआन्दोलनदेखि कम्युनिस्टको रणनीति बदलिएको छ । प्रजातान्त्रिक माध्यमबाटै सत्ता कब्जा गर्नुपर्ने तिनको नयाँ रणनीति सफल भएको छ ।

नेपालमा ब्यालेटबाट कम्युनिस्टहरू शासनमा पुगेको ६ महिना पनि नपुग्दै अमेरिकासँगै टाँसिएको मेक्सिकोमा वाम पार्टी भुभमेन्ट फर नेशनल रिजनरेशनका एन्ड्रेस म्यानुअल लोपेज ओब्राडर निर्वाचित भएका छन् । पहिले पहिले रुसमा पानी पर्दा नेपालमा छाता ओढ्ने भनिन्थ्यो, मेक्सिकोमा चुनाव जित्दा बाबुरामहरू नेपालमा जुरुकजुरुक उचालिएका थिए ।

प्रजातन्त्रका पिता अब्राहम लिंकनले १८६२ तिर गरेको प्रजातन्त्रको परिभाषा आज पनि अमर छ र त्यही अमरवाणीका मार्गमा कम्युनिस्टसमेत राजनीति गर्न बाध्य भएका छन् । फरक यत्ति छ, कम्युनिस्टहरू आफ्नो अभिष्टलाई प्रजातान्त्रिक जामा लगाएर पूरा गर्न थालेका छन् । यद्यपि कम्युन र कम्युनिस्ट तन्त्र लामोसमय चलाउन मुश्किल छ । किनकि गरीब र अशिक्षित जनतालाई एक दुईपल्ट झुक्याउन सकिन्छ, सधैँ झुक्याउन सकिँदैन ।

हो, नेपालको सन्दर्भमा झट्ट हेर्दा लिंकन ढालेर लेनिनको सालिक ठड्याइएको छ । माओ बोकेर राजनीतिको मालिक बनेका छन् । लेनिनको देशले लेनिनलाई बिर्सिंदैछ, माओको देशमा उदार अर्थतन्त्रले विश्व विजय गरिसक्यो, नेपाली कम्युनिस्ट माओको रातो टीका लगाएर नेपाललाई स्वर्ग बनाउने सपना देखाइरहेका छन् । इन्द्राशनमा बसेर अप्सराहरू नचाउने स्वर्ग भनेको हो भने यतिबेला विश्वमै धनी नेपालका कम्युनिस्टहरूलाई त्यो स्वर्ग प्राप्त भइसकेको छ । शासित वर्ग जो हातमुख जोड्न दिनरात एक गरिरहेका वर्ग छन्, तिनीहरू हिजो पनि सास्तीमा थिए, आज झन् सास्तीको जाँतोमा पिसिन थालेका छन् । नेपालका कम्युनिस्टहरू रातो चामलको भात खाएर कालो धनको रक्षा गरिरहेका छन्, तस्कर र माफियाको सुरक्षामा समय खर्चिरहेका छन्, तिनले बनाउने स्वर्ग भनेको दुर्योधनको जुवाघर नै हो । 

चीनका राष्ट्रपति सी चिन फिङले कुनै पनि पार्टी पदाधिकारीले निजी सम्पत्ति राख्न नपाउने नीति लागू गराएका छन् । चीनका माओलाई माइवाप ठान्ने कम्युनिस्टहरूको सुन र सम्पत्ति कति कति ? पार्टी र पार्टी नेताको सम्पत्ति विवरण, तिनको दाइजोमोहले बताएन र हाम्रा कम्युनिस्ट नेताहरू कुन तहका कम्युन्यालिस्ट, शोषक र सामन्त रहेछन् ?

जनताको घर छैन, घर भएकाको छानो छैन, पढ्ने स्कुल घर छैन, खोलो तर्ने पुल छैन, युवालाई रोजगार छैन, स्वच्छता कतै कुनै क्षेत्रमा छैन, सुशासन छैन, सेवाग्राहीलाई सुविधा छैन, जनताको आँखामा आँसु छ, राहत छैन, यस्तो सरकार जन्ती गए जसरी लस्कर लिएर विदेश यात्रा गर्छ, प्रतिष्ठानका नाममा ६० करोड बाँड्छ, पूर्वविशिष्टहरूलाई पञ्चदेवलको हण्डी बाँडेजसरी राजर्सी खान्की बाँड्छ, बाहुबलीहरूको घेराबन्दीमा बसेर पहुँचहीनहरूको बेवास्ता गर्छ, यस्तो बर्बादतन्त्र बनेको छ कम्युनिस्टतन्त्र । 

नतिजा खोजेका आमनागरिकका लागि २०६३ सालको परिवर्तन, २०७२ सालको संविधान र संविधानले गराएको स्थानीय, प्रदेश, संघीय संसद् र राष्ट्रियसभाको निर्वाचनपछिको सातसय ६१ सरकार राजनीतिक अस्थिरता र आर्थिक अराजकताको नमुना बन्न थालिसकेको छ । ब्यालेटबाट आएको त हो, जंगलीले जंगलतन्त्र नै चलाउने रहेछ । परिवर्तनका बाघहरू दिनदिनै वनबिरालो सावित भइरहेका छन् । 

नयाँ नेपालको हुँकार लाउनेहरूले भएको नेपालको जगेर्ना नगर्ने चालामाला देखियो । तोप पड्केजसरी पड्कनेहरू सिंहदरबारका शासक बने, चीन गए, भारत गए, यिनको गतिमति पानीको फोकोभन्दा भिन्न देखिँदैन । सडकमा गरेको भाषणमा बासना आउने कम्युनिस्टहरू शासनमा गनाउन थाले । पाँच वर्षका लागि शासनमा पुगेका कम्युनिस्टहरू ६ महिना नपुग्दै काँचो वायु छाडेर देश र समाजलाई प्रदूषित पार्न थाले ।

विदेशी विचार बोक्ने स्वदेशी पार्टी । दक्षप्रजापतिको अहंकारपछिको मूर्तिजस्तो हुनथाल्यो । अतिवादबाट सत्तामा पुग्नेहरू खतिवादी हुनेछन् । जसरी पनि सत्तामा पुग्ने अनि धृतराष्ट्रले जसरी अन्यायको साम्राज्य फैलाउने । नेपालमा जे भइरहेछ, यही भइरहेको छ । नेपालको अवन्तिको मूल कारण यही हो ।

नेपाली विचार बोकेर नेपालमा उभिने पार्टीको खाँचो छ । नेकपा यस्तो पार्टी भएको भए नेपालका दुर्दिनको सातो लिन थालेको देखिन्थ्यो । जुन जोगी आए पनि कानै चिरिएका । नेकपाको शासनले कुम्भकर्णे आसन जमायो, कुशासनको असारे भेल रोकिने भएन । भ्रष्टाचारका किटाणु यसरी सल्बलाउन थालेका छन् कि कुशाासनले क्षयरोगी बनिसकेको नेपालमा भ्रष्टाचारकै महामारी फैलिन थालेको छ ।

बचाउने कसले ? कुनै नेता महाथिर बनेर उभिन तयार छैन । ९३ वर्षका महाथिर मोहम्मत म मरेको छैन भनेर मलेसियालाई गौरवशाली बनाउन कम्मर कसेर फेरि राजनेताका रूपमा उभिन पुगेका छन् ।

नेपालमा सयौं नेता छन्, नेताले भरिपूर्ण छ नेपाली राजनीति । तर, एउटा नेता पनि राजनेता बन्छु भनेर इच्छाशक्ति राख्दैन । देशका लागि उभिँदैन । म पार्टी नेता हुँ भन्छन् र पार्टी नेताकै रूपमा मर्न तयार हुने नेतालाई के भन्नु र खै ?

भनिन्छ, कायरहरू दिनदिनै मर्छन् । बहादुर दिनदिनै बाँच्छन् र एकपल्ट मर्छन, गौरवपूर्णरूपमा मर्छन् । त्यसैले त सिंगापुरलाई सम्पन्न बनाउने लि क्वान यु बेनिभोलेन्ट लिडर थिए, जसको मृत्युमा विश्वले आँसु बगायो । हाम्रा नेता मर्दा सरकारको आदेश मान्न जाने दशजना सिपाहीले शोक धुन बजाइदिन्छन् । जनताले आँसु बगाउँदैनन् । मरेपछि तिनलाई पार्टीले सम्झन्छ, देशले सम्झदैन ।

हुन त लोकतान्त्रिक गणतन्त्र नेपालमा लोकतन्त्र दिवस सत्ताधारीलाई सिपाहीले घेरेर सेनाको हेलिकोप्टरबाट फूल अबिर वर्षाएर मनाउने देश हो । लोक कता छ, गण के गर्दैछन्, सरकारले अहिलेसम्म खोजी गरेकै छैन । लोक सहभागी नभएको लोकतन्त्र दिवस, गणले बेवास्ता गरेको गणतन्त्र दिवस भव्यताका साथ मनाइयो भनेर राज्य प्रचारवाजी गर्छ ।

लड्डु लडे झिल्ली झरे, गरीबलाई सपना देखाएर चुनाव जित्न सजिलो छ, चुनाव जितेर ब्यालेटको गरिमा र महिमा कायम राख्न मुस्किल । त्यसमाथि मानवाधिकारको पक्षमा उभिन त झन् गाह्रो । कतै सोम शर्माले देखेजस्तो कम्युनिस्टले देखाएको सपने चुच्चे रेलले नघोचोस्, समुद्रमा चलाउने पानी जहाज नडुबोस् ।

अर्काको देशका लेनिन वा माओको सालिक राम्रो होला, हाम्रो देशका लागि सुहाउने त राष्ट्रनिर्माता, देशभक्त, वीर वीरांगनाकै हो । म नेपाली हुँ भन्न नसक्ने, म नेपाल बनाउँछु भन्न नसक्ने, म नेपालीत्वको जगेर्ना गर्छु नभन्ने हो भने कम्युनिस्ट शासन कम्युनिस्टहरूको शासन बन्ला, नेपालको शासन कसरी बन्नसक्छ ?

हामी कम्युनिस्ट सरकार होइन, नेपाल सरकार खोजिरहेका छौँ । हामी कम्युनिस्ट नेता होइन, नेपालका नेता, राजनेता हेर्न चाहिरहेका छौँ । जीवनको उत्तराद्र्ध अर्थात् पुरातन मान्यताअनुसार वानप्रस्थ गर्ने उमेरमा पुगिसकेका कम्युनिस्ट नेताहरूको मरेर पनि बाँचिरहने बुद्धि बंगारो किन उम्रदैन, कुन्नि ?


Views: 18