21st September | 2018 | Friday | 6:00:37 PM

कपिलधाम

विष्णुराज आत्रेय   POSTED ON : Saturday, 07 July, 2018 (2:06:09 PM)

कपिलधाम

समस्त सुखशयलको भोग गरेर तृप्त भएका थिए कर्दम र शतरूपा । तर जतिसुकै लौकिक सुखभोग प्रप्त गरे पनि नारी मन भने सन्तानको मुख नदेख्दासम्म शान्त हुँदैन । पतिका काखमा बसेर जतिसुकै सुखभोग गरे पनि आफ्नो काखमा शिुशु नखेल्दासम्म नारीमन परितृप्त हुँदैन र पूर्ण सन्तुष्ट हँुदैन । शतरूपालाई अहिलेसम्म कुनै सन्तान भएका थिएनन् । उनी आफ्ना पति कर्दमबाट ऋतुदानको प्रतीक्षामा थिइन् तर प्रतीक्षको घडी अन्त्य हुने साइत जुरेको थिएन । 

एकदिन अपराहृणतिर बगैँचामा एकान्त विश्राम गर्दै थिए । त्यहाँ नोकर–चाकर कुनै पनि थिएनन् । देवहूति त्यस दिन ऋतुमती भएको चारदिन भएको थियो । त्यसै हुनाले उनी भर्खरै ऋतुस्नान सकेर आफ्ना मोतीजस्ता पानीका थोप्ला चुहिने खुला केश झट्कार्दै फट्कार्दै घामतिर पिठ्युँ गराएर ऋषिका नजिकै बसेकी थिइन् । 

‘‘स्वामी ¤ आज हजूरलाई एउटा कुरा निवेदन गर्न मन लागेको छ ।” 

त्यसै बखत लज्जा र सङ्कोचका साथ देवहूतिले कर्दम ऋषिलाई विस्तारै भनिन् ।

तिमीलाई के भन्न मनलाग्यो भन न ¤ 

पतिको आज्ञा पाएपछि देवहूतिले विनम्र हँुदै भनिन्– 

हजूरका योगशक्तिका प्रभावले निर्माण भएको यस अलौकिक विमानगृहमा रहेर हामीले धेरै ठाउको भ्रमण ग¥यौँ, धेरै कुराको सुखभोग ग¥यौँ । 

एक्लो पुरुषले मात्र केही हुँदैन । एक्ली नारीले मात्र पनि केही हुँदैन । नारी र पुरुष दुवैको ठूलो त्याग र तपस्याले मात्रै गार्हस्थ्य जीवन सुखमय हुन्छ । पति र पत्नीका बीच आफ्नो व्यक्तिगत स्वार्थको सर्वथा त्याग र सर्वात्मभावले एक–अर्काप्रतिको समर्पण भावले निरन्तर कर्तव्यशील हुनु नै नारी र पुरुषको कठोर तपस्या हो । यसले नै चिरकालसम्म दाम्पत्य जीवन सुखी र सफल हुन्छ । 

हामी विमानगृहमा बसेर सुख–शयल गरेको पनि यतिका वर्ष भइसक्यो । यति हुँदा पनि हामीले सम्पन्न गर्नुपर्ने मुख्य काम त बाँकी नै छ । 

के काम प्रिये ? कर्दम ऋषिले आश्चर्य मान्दै देवहूतिलाई सोधे ।

‘‘उहिले परमपिता ब्रहृमाले हजूरलाई ग्राम्यधर्मले सन्तानोत्पादनका लागि आदेश गर्नुभएको होइन र ?” 

उनले टाउको निहु¥याउँदै लज्जा र सङ्कोचका साथ भनिन् । 

‘‘तिमीले उचितै भन्यौ । हो यो कुरा त ।” कर्दमले पत्नीको कुरा समर्थन गरे ।

‘‘अनि किन त यतिका विलम्ब ? समयमा सन्तान जन्माएर समयमै तिनलाई हुर्काउन बढाउन पाइए पो पछि बुढेसकालमा सुख हुन्छ । बुढेसकालमा जन्मेका सन्तान हुर्काउँदा बढाउँदा र उसलाई शिक्षा–दीक्षा दिँदा बाबुआमालाई धेरै नै कष्ट हुन्छ । फेरि नाति–नातिनाको मुख पनि त हेर्न भ्याउनु प¥यो ¤ साउँभन्दा बयाजको बढी माया हुन्छ, भन्छन्,’’ देवहूतिले भनिन् ।

‘‘संसार भनेको यही हो शतरूपा ¤ पुरानो कुरा सम्झ त ¤ पहिले तिमीलाई ममात्रै भएर पुगेको थियो । मबाहेक संसारमा अरू कुनै वस्तु सपनामा पनि चाहिएको थिएन । अहिले तिमीलाई ममात्र भएर पुगेन । तिमी मबाट अघाइसक्यौ । तिमीलाई छोराछोरी चाहियो । त्यतिले मात्र कहाँ पुग्ला र ¤ छोराछोरीका लागि भनेर बुहारी र जुवाइँ पनि त चाहिएलान् नि । होइन त ?” कर्दमले भने

‘‘हो त नि ? बिना बुहारीको छोरो र बिना जुवाइँकी छोरी त झन् चिन्ताको घर हुन्छ ।” देवहूतिले भनिन् ।

‘‘हो, यही हो संसार भनेको । यो मायाको आदि अन्त्य छैन । मानिसका इच्छाको सीमा–साँधि छैन । भोग भोगेर कहिले मन परितृप्त हुँदैन । तृष्णारूपी आगोमा भोगरूपी घ्यु जतिजति थप्यो उति उति दन्किन्छ । 

अहिलेसम्म त तिमी समग्ररूपमा मेरी छ्यौ । सन्तान जन्मेपछि हाम्रो माया बाँडिन्छ । त्यसपछि त तिमी मेरीमात्र भएर बसिरहन पाउन्नौं । मसँग मात्र भइरहन भ्याउन्नौं । यसैकारण जानीजानी मैले सन्तान उत्पादनमा विलम्ब गरेको हुँ । यदि तिम्रो यही इच्छा छ भने आज तिम्रो मासिक धर्मको चौथो दिन हो । आजै मुहूत्र्त हेरेर म तिमीलाई ऋतुदान दिन्छु,’’ कर्दमले भने ।

‘‘जो निगाह स्वामी,’’ देवहूतिले भनिन् । 

त्यसैदिन राति महर्षि कर्दमले पत्नी देवहूतिमा आफ्नो वीर्यको नौ भाग गरेर सृष्टिको छिटो छरितो विकासका लागि क्रमशः नौ पल्ट वीर्र्याधान गरे । समय पुगेपछि देवहूतिले आफ्ना गर्भबाट क्रमशः नौ ओटी छोरीहरूलाई जन्मदिइन् । न्वारनमा तिनका नाउँ क्रमशः कला, अनसूया, श्रद्धा, हविर्भू, गति, क्रिया, ख्याति र अरुन्धती राखियो ।

समय बित्दै गयो । ती नवैओटी कन्याहरू आफ्ना सुयोग्य मातापिताको शिक्षा, दीक्षा र संस्कार पाएर हुर्किँंदै बढ्दै गए । सन्तान जन्मनमात्रै कसैलाई ढीलो र कसैलाई चाँडो हो । जन्मेपछि त हेर्दा हेर्दै सलक्कै बढिहाल्छन् । जतिसुकै असल र गुणी भए पनि कन्यालाई अरूको हात सुम्पनुपर्ने बाध्यता हुन्छ । असल छ, गुनिली छ भनेर कन्यादान नगरी छोरीलाई माइतीमै बुढीकन्या गराएर पालिराख्नु भएन । एउटी दुइटीमात्रै भए पनि हुन्थ्यो । यहाँ त नौ नौ ओटी थिए । एउटा बगालै थियो कन्याहरूको । राम्रोसँग जाँच बुझ नगरी ती कलेजीका टुक्राहरूलाई भिरबाट ढुङ्गो लडाए झैँ लडााइदिन पनि त भएन । साह्रै बिलखबन्धमा परेका थिए कर्दमदम्पती ।

ब्रहृमा बा आफ्ना दिव्य नयनले एकदिन मनुष्यलोकतिर हेरिरहेका थिए । उनको दृष्टि मनुष्यलोकमा कर्दम र देवहूतिको आश्रमतिर गयो । त्यसबेला कर्दमदम्पतीका नौ ओटी छोरीहरू बढेर तरुनी–बरुनी भएका थिए । यिनले तिनको बिहेका लागि आमाबाबुलाई योग्य वर नपाएर छट्पटिएका देखे । पहिले मानव वंशको विस्तार गर्नका लागि सन्तान उत्पादन गर्न भनेर छोरा कर्दम ऋषिलाई ब्रहृमाले नै अह्राएका थिए । अहिले तिनका छोरी र आफ्ना नातिनीको बिहे नहुँदा ब्रहृमालाई पनि पीर प¥यो ।

ब्रहृमाले उत्निखेरै अत्रि मरीचि आदि ऋषिहरूको स्मरण गरे । तिनको पनि विवाह भएको थिएन । पिताका आज्ञाले एकल अत्रिले आङ्गिक पुत्र त उत्पन्न गरेका थिए तर त्यसले अपेक्षित वंशवृद्धि हुने देखिएन । ब्रहृमाले सम्झना गर्दा साथै तत्काल मरीचि, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलह, क्रतु, भृगु, वशिष्ठ र अथर्वा नामका ऋषिहरू त्यहाँ उपस्थित भए । पहिले प्रकृति–पुरुषको भोगानुकूल मैथुनी सृष्टि गर्न आफ्ना ती छोरा अत्रि आदि ऋषिहरूलाई बिहे गर्न ब्रहृमाजीले राजी गराए । त्यसपछि सनक आदि चार कुमार र देवर्षि नारदसमेत ती आठजना ऋषिहरूलाई समेत साथमा लिएर ब्रहृमाजीले प्रस्थान गरे । 

चारकुनामा चारओटा र अगाडि बीचमा एउटा समेत पाँचओटा राजहाँसहरूले उडाउने हंस विमानमा चढेर ती सबै सत्यलोकबाट मनुष्यलोकमा आए । त्यहाँ ओर्लिएपछि उनी सरासर कर्दम आश्रममा पुगे । कर्दमदम्पतीले ब्रहृमा तथा आएका अन्य पाहुनालाई समेत अभिवादन र शिष्टाचार गरे, भलाकुशारी भयो । केही समयको विश्रामपछि ब्रहृमाले भने– 

कर्दम र देवहूतिलाई अगाडि राखेर ब्रहृमाजीले मरीचिआदि नौ ऋषिहरूसँग तिनका नौ ओटी कन्याहरूको बिहेको प्रस्ताव गरे । कर्दमदम्पतीलाई त खाोजेजस्तै भयो । 

कन्याहरूलाई पनि त्यहीँ झिकाइयो । ब्रहृमाजीका पावन सान्निध्य र साक्ष्यमा तिनलाई ऋषिहरू रोजाइयो । सबैले आआफ्ना गुण र स्वभावसँग मिल्ने मनपरेका युवा ऋषिहरूलाई रोजे । ब्रहृमाजीले कर्दम र देवहूतिलाई यी मेरी नातिनीहरूको विवाह वैदिक विधिअनुसार गरिदिनु भनी राम्रोसँग अह्राई–पह्राई आफूहरू बिदा भए ।

 विवाह गर्ने लगन भएपछि कर्दम र देवहूतिले तीमध्ये जेठी छोरी कला मरीचिलाई, माहिली अनसूया अत्रिलाई, साहिँली श्रद्धा अङ्गिरालाई, काहिँली छोरी हविर्भू पुलस्त्यलाई, राहिँली छोरी गति पुलहलाई, ठाहिँली क्रिया क्रतुलाई, ग्वाहिँली छोरी ख्याति भृगुलाई ठूली काञ्छी छोरी अरुन्धती ऋषि वशिष्ठलाई र सानी कान्छी छोरी शान्ति अथर्वा ऋषिलाई बिहे गरेर दिए ।

बिहेपछि आआफ्ना पत्नीहरू अघि लाउँदै ऋषिहरू आश्रमतर्फ फर्के । भृगु ख्यतिलाई लिएर भृगुथुम रुरुक्षेत्रतिर गए । पुलस्त्य र पुलह आफ्ना पत्नी हविर्भू र गतिलाई लिएर हाल म्याग्दी जिल्लाको पुलातिर गए । महर्षि अत्रि खेचरपर्वतको गुफाश्रमतिर लागे । 

आफ्ना छोरीहरूलाई घर पठाएपछि बेसीबाट बोकेको धोक्रा भरिको गहु्रङ्गो धानको भारी लेखमा पु¥याएर बिसाउँदाको हलुङ्गो अनुभव गरे, त्यतिबेला कर्दमदम्पतीले । 


कर्दम र देवहूतिको आश्रम हाल कपिलवस्तुको कपिलधाममा कपिलगंगा किनारमा छ । त्यहीँ अवतार भएको हो चतुर्बाहु भगवान् भगवान् विष्णुको, कपिलका रूपमा । त्यसै हुनाले आज पनि चतुर्बाहु भगवान् अवतीर्ण भएको त्यस ठाउँको नाउँ लोकबोलीमा चौबाहा भएको छ । चौबाहा शब्द संस्कृत चतुर्बाहुकै परिवत्र्तित वा विकसित रुप हो ।

पुलस्त्य ऋषि कर्दम र देवहूतिकी छोरी हविर्भूलाई लिएर उत्तर लागे । उनको आश्रम गण्डकी प्रस्रवणक्षेत्र अन्तर्गत हाल पुला भन्ने ठाउँमा छ । पुला पुलस्त्य आश्रमकै जनजिब्रोमा आएको संक्षिप्त उच्चारण हो । अहिले यो ठाउँ म्याग्दी जिल्लामा पर्दछ । महर्षि पुलस्त्य र हविर्भूृबाट दुई छोरा जन्मे कुम्भज र विश्रवा । कुम्भज ऋषि जन्मिदा यिनी बूढी औंठा जत्रा मात्र थिए । छोरा जन्मेको हर्षभन्दा उनको बूढी औला जत्रो शरीर देखेर पुलस्त्य र हविर्भूलाई साहै्र चिन्ता भयो । उनले शिशुको शरीर बढाउने उपायबारे शरीर विज्ञानसँग सम्बद्ध विभिन्न शास्त्रको अध्ययन गरे । अन्त्यमा उनी एउटा निष्कर्षमा पुगे ।

पुलस्त्यले एउटा माटाको ठूलो घडा ल्याए । त्यसलाई संस्कार गरेर शुद्ध पारे । त्यस घडामा कृष्णा गण्डकीको शुद्ध जल भरे । केही जरी–बुटीको धूलो र रसायनहरुको मिश्रण पनि गरे । अनि त्यसमा अङ्गुष्ठ प्रमाणको त्यस शिशुलाई केही वैदिक मन्त्रहरुको उच्चारण गर्दै त्यसै घडामा राखिदिए । हावा निस्कने सानो प्वाल राखेर घडाको मुख बन्द गरिदिए । औषधशक्ति तथा मन्त्रशक्तिका प्रभावले त्यो शिशु त्यही पानीमा खाने खेल्ने पौडिने उफ्रिने गर्दै हुर्किन थाल्यो । भूरो खेल्दा उफ्रिँदा पानी छचल्केको सोर बाहिरबाटै सुनिन्थ्यो । त्यो सुनेर भ्रूणका माता पिता पुलस्त्य र हविर्भू खुशी हुन्थे । 

एक दिनको घटना हो । पुलस्त्य दम्पती आश्रमबाहिर आगनमा बसेर शास्त्र चर्चा गर्दैथिए । आश्रमभित्रबाट केहीकुरा विस्फोट भएको सोर सुनियो । दुवैजना अत्तिँदै भित्र गए । माटाको घडा फुटेर पानी छताछुल्ल भएको थियो । बालक थोते गिजा देखाउँदै दुवै हात–खुट्टा उफार्दै हास्दै गरेको तिनीहरुले देखे । हविर्भूका खुशीको सीमारहेन । उनले आफ्नो त्यस गुथुमुने छोरालाई जुरुक्क उचालिन् । ऋषिले छोराको नामकरण संस्कार गरिदिए ।

कुम्भ अर्थात् घडाबाट ज्न्मेका हुनाले शिशुको नाउँ उनले कुम्भज राखिदिए । तिनलाई घटोद्भव, र कुम्भसम्भव पनि भन्न थालियो । कुम्भसम्भवको कद भने यति गर्दा पनि समान्य व्यक्तिको भन्दा होचो थियो । उनि अलिक पुड्का कदका देखिन्थे । 

छोरा कुम्भसम्भवको संस्कार र शिक्षा दीक्षा पिता पुलस्त्यले उपयुक्त समयमा गर्दै गए । यिनी पछि गएर जलविज्ञानका विशेज्ञ भएर निस्के । यिनी मन्त्रद्रष्टा ऋषि पनि भए । यिनले ऋग्वेदका केही मन्त्रको साक्षात्कार पनि गरेका थिए । कुम्भज ऋषिले धेरै वर्षसम्म विवाह गरेका थिएनन् । उनी सधैँ तपस्या र शास्त्र चिन्तनमा नै रम्ने गर्दथे ।

एकदिनको कुरा । महर्षि कुम्भज कतैतिर जाँदै थिए । उनले बाटो छेउकै एउटा रुखमा एकजना मानिस उधो मुण्टो लाएर झुण्डिएको देखे । उनी आश्चर्य चकित भएर एकछिन ट्वाल्ल पर्दै त्यो दृश्य हेरिरहे । तिनका आँखाबाट आसूका थोपाहरु थोप्लिइरहेका थिए । त्यो देखेर मुनिलाई दया लाग्यो । उनले सोधे– 

तपाईं को हुनुहनुन्छ ? किन यसरी झुण्डएिको ?आत्महत्या गर्नुत ठूलो पाप हो ।

ती झुण्डिएका मानिसले भने– म तिम्रो पितृ हुँ । तिमीले विहा नगर्दा सन्तान हुँदैनन् । सन्तान नजन्मेपछि हाम्रो पिण्डपानी रोकिन्छ । हाम्रो गति हँुदैन । त्यही भावी कष्टको चिन्ताले सताएर मलाई यो स्थितिमा ल्यायो । मलाई यस स्थितिबाट मुक्त गर्न चाहन्छौ भने आफूले विहे गरेर सन्तान उत्पादन गर्ने वचन देऊ ।

कुम्भज ऋषिले पितृलाई आफूले बिहे गरेर सन्तान उत्पादन गर्ने वचन दिए । पितृ त्यही अन्तर्धान भए । 

कुम्भसम्भव आफ्नो विवाहका लागि योग्य कन्याको खोजीमा हिँडे । धेरैतिर सोधदा बुझ्दा उनले विदर्भ नरेशकी राजकुमारी लोपामुद्रालाई आफू योग्य हुने ठम्याए । लोपामुद्रा पनि विदुषी र ब्रहृमवादिनी थिइन् । उनले पनि केही ऋग्वेदका मन्त्रको साक्षात्कार गरेकी थिइन् । दुवैको विवाह सम्पन्न भयो । लोपामुद्रा र  कुम्भज बाट छोरा जन्मे । तिनको नाउँ दृढस्यु र इध्मवाह राखियो ।  

(विष्णुराज आत्रेय विद्वान लेखक हुनुहुन्छ । उहाँ नेपाली,संस्कृत तथा अवधि भाषाका साहित्यकार हुनुहुन्छ । उहाँको पौराणिक, ऐतिहासिक तथा बौद्ध वाङ्मयको पृष्ठभूमिमा लेखिएको ‘कपिलधाम’ उपन्यास हिमालय टाइम्सले प्रत्येक शनिबार शृंखलाबद्ध रूपमा प्रकाशन गर्दैछ ।)


 


Views: 1