14th December | 2018 | Friday | 2:43:11 AM

जीवनाथका यात्राकृति

विनोद दाहाल   POSTED ON : Saturday, 04 August, 2018 (6:45:25 PM)

जीवनाथका यात्राकृति

नेपाली साहित्यमा यात्रा साहित्यले निकै पछि मात्र प्रवेश पाएको हो । हुन त ‘जंगबहादुरको बेलायत यात्रा’ निकै अगाडि लेखिएको हो । यसपछि यस्ता यात्रा साहित्यले त्यति महŒव पाएका थिएनन् । यात्राको लेखन केवल यात्रा विवरणका रूपमा आए, यसले साहित्यको स्थान ग्रहण गर्न सकेको थिएन । विश्वमा टाढा टाढाको यात्रा गर्ने काम निकै पहिलेदेखि भएका हुन् । चिनियाँ यात्री हुएन साङको यात्रा, कोलम्बसको अमेरिका पत्ता लगाउँदाको र अन्य यात्रा तथा भास्को डिगामाको युरोप र एशियाको यात्रा विश्वमा कहलिएका यात्रा हुन् तर यिनका यात्राविवरण राम्ररी साहित्यिक रूपमा अगाडि आएनन् । 

नेपालमा यात्रा विवरणलाई साहित्यका रूपमा विकसित बनाउन डा. तारानाथ शर्मा, घनश्यामराज राजकर्णिकार, जय छाङ्छाहरूको महŒवपूर्णस्थान छ । डा. शर्माले नै यात्रा निबन्धलाई ‘नियात्रा’ नाम दिएका हुन् । यो नामकरणलाई प्रसिद्ध भाषाशास्त्री बालकृष्ण पोखरेलले पनि समर्थन गरे । ताना शर्माले नै पहिलो पटक ‘बेलायततिर बरालिँदा’ नियात्रा कृतिमा नेपालको सम्मानित पुरस्कार ‘मदन पुरस्कार’ पाएका थिए । विश्व भ्रमण गर्ने सबैले नियात्रा लेखेनन् र नियात्रा लेख्न सक्ने सामथ्र्य भएका सबैले विश्व भ्रमण गर्न पाएनन् । भ्रमणको अवसर र कलमी सामथ्र्य दुबै भएकाहरू कमै मात्र हुन सक्छन् । यही वर्गका एकजना स्रष्टा हुन् जीवनाथ धमला । 

जीवनाथ धमला ओखलढुंगाको बेतिनीमा २०१६ सालमा जन्मिएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर हुन् । उनी हाल नेपाल टेलिभिजनमा कार्यरत छन् । प्रतिभाशाली साहित्यकार धमला २०४५ सालको राष्ट्रिय कविता महोत्सव पदक, २०५५ सालमा षडानन्द प्रतिभा पुरस्कार र २०५५ सालमै युवावर्ष मोती पुरस्कारबाट सम्मानित छन् ।  

खोज पत्रकारितामा आफ्नो उच्च स्थान बनाइसकेका धमला साहित्यमा पनि स्थापित छन् । कविता, निबन्ध, जीवनी र नियात्रा लेखनमा उनको कलम तीव्र गतिमा चलेको पाइन्छ । धेरै देशको भ्रमण गरिसकेका धमलाले भ्रमणका लेखनबाट भ्रमणलाई अरू बढी उपलब्धिमूलक बनाएका छन् । टेलिभिजन कार्यक्रम सञ्चालनमा पनि उनी अब्बल छन्, उनको प्रस्तुति र स्वरसमेत प्रशंसनीय छ । 

स्रष्टा धमलाको पछिल्लो नियात्रा कृति हो ‘सम्झनाका प्रतिविम्ब’ । यसपूर्व उनको ‘बर्लिनतिरका झझल्काहरू’ शीर्षकमा पहिलो नियात्रा संग्रह प्रकाशित भइसकेको छ । यो दोस्रो नियात्रा संग्रह उनको पछिल्लो कृति हो । यसपूर्व उनका विभिन्न शीर्षकमा आठवटा पुस्तक प्रकाशित भएका छन् । ‘मान्छेको अस्मिता’ (कविता संग्रह) २०४९ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भयो । दोस्रो कृति ‘उध्र्वमुखी महायात्रा’ पनि कविता संग्रह नै हो । २०५५ सालमा कृति पनि नेपाल प्रज्ञा प्रतिष्ठानबाटै प्रकाशित भएको हो  । उनका कविता विद्यालय पाठ्यपुस्तकमा पनि समावेश छन् । यसबाट उनका कविताको स्तरीयता प्रमाणित हुन्छ । 

उनका केही जीवनी संग्रहहरू पनि प्रकाशित छन् । ‘व्यक्ति व्यक्तित्व’ शीर्षकमा २०५९ सालमा साझा प्रकाशनबाट प्रकाशित जीवनी संग्रह तेस्रो कृति हो र जीवनी विधामा पहिलो हो । ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा दुई शिखरपुरुष’ शीर्षकमा २०६० सालमा विद्यार्थी प्रकाशनबाट प्रकाशित जीवनी विधा उनको चौथो कृति हो । पाँचौँ र नियात्रातर्फको पहिलो कृति ‘बर्लिनतिरका झझल्काहरु’ हो । यो नियात्रा संग्रह पुण्यमाता प्रकाशनले २०६२ सालमा प्रकाशन गरेको थियो । छैटौं कृतिका रूपमा सन्तनेता कृष्णप्रसाद भट्टराईको जीवनी ‘कृष्णप्रसाद भट्टराई ः जीवन र राजनीति’ पनि पुण्यमाता प्रकाशनबाटै प्रकाशित भएको हो ।

सातौं कृति हो ‘अक्षरहरूको बिस्कुन’ । २०६८ सालमा पुण्यमाता प्रकाशनबाटै छापिएको यो कृति निबन्ध संग्रह हो । निबन्धतर्फ यो उनको पहिलो कृति हो । यसबाट साहित्यकार धमलाले आफूलाई निबन्धकारका रूपमा पनि स्थापित गर्न सकेका छन् । आठौं कृतिका रूपमा ‘गिरिजाप्रसाद कोइराला ः संकल्प र नेतृत्व’ प्रकाशित भयो । यो जीवनी र व्यक्तित्व प्यासिफिक पब्लिकेसनले २०७२ सालमा प्रकाशन गरेको हो । यसैगरी जीवनाथ धमलाकाको नवौं कृति ‘लौहपुरुष गणेशमान सिंह, जीवन, संघर्ष र राजनीति’ शीर्षकमा प्रकाशित भएको छ । यो जीवनी र व्यक्तित्वमूलक विधाको प्रकाशन पनि प्यासिफिक पब्लिकेसनले नै २०७३ सालमा गरेको हो । 

यसरी उनले नेपाली कांग्रेसका नेतात्रयकै जीवनी लेखिसकेका छन् । उनको नवीनतम प्राप्तिका रूपमा २०७४ सालमा प्रकाशित भएको ‘सम्झनाका प्रतिविम्ब’ नियात्रा संग्रह हो । 

२२८ पृष्ठको ‘सम्झनाका प्रतिविम्ब’ नियात्रा संग्रह प्यासिफिक पब्लिकेसनले छापेको छ । २०७४ सालमा प्रकाशित यो कृतिको मूल्य संस्थागत रूपमा ३०० र व्यक्तिगत रूपमा २२५ रुपौयाँ छ । हरिकृष्ण बस्ताकोटीको आवरण निकै आकर्षक छ । आवरणमा चीनको ठूलो पर्खाल राखिएको छ । छपाइ  स्तरीय छ र अशुद्धिहरू छैनन् भने पनि हुन्छ । भूमिकाममा डा. गोविन्दराज भट्टराईको ‘सम्झनाका प्रतिविम्बहरूमा देखिएका स्रष्टा जीवनाथ धमला’ शीर्षकमा उनको विचार प्रस्तुत भएको छ भने त्यसपछि लेखकको ‘आफ्नो भनाइ’ रहेको छ । प्यासिफिक पब्लिकेसनका अध्यक्ष ओमप्रकाश खरेलको ‘प्रकाशकीय’ रहेको छ । 

पुस्तकमा विभिन्न २६ वटा शीर्षकमा उनले भ्रमण गरेका ठाउँहरूको रोमाञ्चक अनुभूति प्रस्तुत गरेका छन् । नेपाल टेलिभिजनका कार्यक्रम निर्माता धमलाले दक्षिण कोरियामा व्यक्ति वृत्तचित्र प्रदर्शनी गर्न जाँदाका अनुभूतिहरूबाट यो पुस्तकको लेखन आरम्भ गरेका छन् । ‘वाङ्देलका रंगहरूमा मुस्कुराएको नेपाल’, ‘हो आम संग्रहालय र सल्लाको सिम्टा’, ‘सुओनमा नेपाल भेट्दा’ ‘एउटा निर्जन शहरभित्र’ ‘कोरियन रेष्टुराँमा एक साँझ’ शीर्षकका नियात्राहरू उनको कोरिया यात्रासँग सम्बन्धित छन् । उनले यी नियात्राहरूमा कोरियाको समद्धि, विकास र कोरियालीहरूको व्यवहारको चित्रण गरेका छन् । 

यसैगरी उनका काठमाडौंदेखि बेइजिङसम्म, बेइजिङको कार्यशाला, ठूलो पर्खालमाथि उभिँदा, तियानमेन स्क्वायरमा टहलिँदा, बेइजिङका केही आकर्षण, चिनियाँ खानाको स्वाद, बेइजिङको पार्कमा केहीबेर, बेइजिङदेखि बैंककसम्म शीर्षकका आठवटा नियात्रा चीन भ्रमणसँग सम्बन्धित छन् । यी नियात्राले चीनको भ्रमण नगरेका पाठकहरूलाई राम्रो जानकारी प्राप्त हुन्छ । सूचना, सामान्य ज्ञान र मनोरञ्जनका लागि यी नियात्रा निकै उपयोगी सिद्ध हुन सक्छन् । यी नियात्राभित्रका कतिपय सदर्भहरूले पाठकलाई पनि आफू चीन पुगेको आभास गराउँछन् । यो सिंगो नियात्रा संग्रह दक्षिण कोरिया, चीन र मलेशियाको भ्रमणकेन्द्रित छ । 

फेरि मलेसिया जाँदा, म त नेपालमै, मुहाजीको प्रतीक्षामा, सम्झनामा ट्याक्सी ड्राइभरजस्ता शीर्षकमा लेखिएका उनका नियात्रा उनको मलेसियाको भ्रमणसँग सम्बन्धित छन् । ज्ञानको क्षितिज उघार्दै, दक्षिण कोरियाको अतीत र नेपालको वर्तमान, जोशियन राजाको दरबार, सिउलमा उक साँझ, जोई जो र लोरा, साँझको खाना, होटलको छेउछाउ, हानगाङ्गको किनारमा र टाइम्स स्क्वायरको कोठाबाट हेर्दा जस्ता विभिन्न शीर्षकमा यस संग्रहका बाँकी नियात्राहरू संग्रहित छन् । यीमध्ये सबैजसो नियात्राहरू उनको दक्षिण कोरियाको भ्रमणसँग सम्बन्धित छन् । 

नियात्राकार धमलाले आफू जहाँजहाँ पुगेको चर्चा यस कृतिमा गरेका छन् पाठकलाई पनि आफूसँगसँगै त्यहीँ पु¥याएका छन् । ती ठाउँको खानापान, चालचलन, संस्कार र सभ्यताका साथै ती ठाउँको प्राचीनतम इतिहासको बारेमा जानकारी दिएका छन् । यो कृति सूचनामूलक पनि छ । 

नेपालका अनगन्ति मानिसले लेखक धमला जसरी विदेश घुम्ने अवसर पाएका छैनन् । यसैगरी उनकै जसरी विदेशको यात्रा गर्ने प्रशस्त मौका पाएर पनि लेखकीय सामथ्र्य, रुचि तथा अभ्यास नभएर नलेख्नेहरू पनि धेरै होलान् । नियात्राकार धमलाले भने विदेश भ्रमणका अवसरहरूलाई आफ्नो लेखकीय सामथ्र्यले पाठकहरूसम्म पु¥याएका छन् । 

एकै व्यक्तिबाट एकभन्दा बढी प्राप्तिको आशा गर्नु अन्यथा हुनजान्छ तर स्रष्टा धमलाबाट यस्तो आशा गर्न सकिने कुरा सिद्ध भइसकेको छ । असल सोच तथा उत्साही  कलम लिएर अघि बढिरहेका धमलाबाट भावि दिनमा पनि यस्ता कृतिको अपेक्षा गर्नु असान्दर्भिक हुने छैन । नियात्राकारलाई हार्दिक शुभेच्छा ।  



Views: 15