19th October | 2018 | Friday | 10:56:19 AM

ममताभित्रको ममता

सन्देश पाण्डेय   POSTED ON : Saturday, 11 August, 2018 (3:51:55 PM)

ममताभित्रको ममता

ए सुन न !

भन न !

म पुस्तक लेख्दैछु, पाण्डुलिपि हेर्छौ ?

अँ हेर्छु । 

बिगे्रको भाषाशैली शुद्धाशुद्धि पनि हेर ल ?

हस्, पुस्तक के सम्बन्धी छ ?

उपन्यास हो ।

हरियो साडीमा स्वयंसेविकाको भूमिका निर्वाह गर्दै महायज्ञमा आएका भक्तमण्डलहरूको सेवामा देखिएकी एउटी केटी । अँ, २०७३ कात्तिक महिना मालुंघा, स्याङ्जा जिल्लामा कालीगण्डकी तटको समीपमा आध्यात्मिक अभियन्ता श्री चैतन्य कृष्ण गुरुजीको संयोजकत्वमा भइरहेको महायज्ञ । जहाँ पहिलो पटक मैले उनलाई देखँे । मलाई दोस्रो दिन थाहा हुन्छ उनको नाम पल्लवी न्यौपाने ।

उपन्यास के सम्बन्धी छ ?

मैले उनलाई सोधेँ, ‘प्रेम कथा हो ?’

आफैँ पढ, पढेपछि थाहा हुन्छ ।

अँ पढेपछि थाहा पाएँ । मैले उपन्यासलाई भन्दा पनि लेखिकालाई बुझ्ने प्रयास गरेँ । उपन्यास बुझेँ तर बुझ्न सकिनँ उनलाई । मैले उपन्यास पढ्दा सोचेको पनि थिइनँ विषयवस्तु घटना यस्तो होला भनेर तर नसोचेकै भइदियो । उपन्यास नारी जीवनकै पीडा र सङ्घर्षहरूले  भरिएको थियो । पानाहरू क्रमशः पल्टिँदै थिए । उपन्यास पढ्दा आँखा रसाउँथे ।  एउटी नारी भएर बाँच्नुपर्ने पीडालाई, हाम्रो समाजको नारीप्रतिको धारणालाई उपन्यासले देखाउँन  खोजेको थियो । पल्लवीको लेखन राम्रो थियो ।

भाव र अभाव कहिल्यै एकै ठाउँमा बस्दैनन् तर आज उपन्यासका घटनाले दुःखी भएको म र लेखिकाको लेखन देखेर खुसी भएको म । खै ! कसरी भनूँ यी दुबै क्रिया एकैपटक कसरी सम्भव भयो ? मैले पाण्डुलिपि हेरेँ । वाल्मीकि विद्यापीठका प्राध्यापक डा. लेखप्रसाद निरौला गुरुजीले पनि हेर्नुभयो । भाषाशैली शुद्धाशुद्धि सम्पूर्ण काम सकियो । उपन्यास नौ भागमा विभक्त भयो । अन्त्यमा नामकरण गर्नु थियो । अनेक नाम आए र तीमध्येबाट एक नाम छानियो । उपन्यासको नामकरण पनि भयो– ममता ।

उनको साहित्यिक लेखन देखेर म रमाएँ । ममात्रै होइन सम्पूर्ण साहित्यानुरागी पनि खुशी भए । कानुनको धारा घोक्दै बसेकी उनी, त्यसमाथि माया प्रेमका कुरा गर्ने उमेर थियो उनको । आफ्नो बारेमा सोच्ने बेला थियो तर ठीक विपरीत थियो उनको सोच विचार । सबै कुरा त उनको कृति पढेपछि थाहा हुन्छ । स्वार्थी दुनियाँमा आफ्नालागि मात्रै नसोचेर समस्त नारी र नारीका वेदनालाई कुशलतापूर्वक चित्रण गर्दै सुक्ष्म तथा गहन विचार व्यक्त गरेकी छिन् उनले यस उपन्यासमा । यतिमात्रै होइन आफ्नो उपन्यासमार्फत उनले अरूप्रति सद्भाव व्यक्त गर्ने, करुणा देखाउने, माया दिनेजस्ता काम गरेकी छिन् ।  

त्यसो भए एउटा कविता सुनाउछु है ?

उम्.. ¤ मुड छैन तेही पनि सनाऊ न ?

‘पराग–राग माधवी

प्रमोद–मोद पल्लवी

प्रकाश छर्किदे रवि

जता छ पुष्प पल्लवी ।’

समाजमा वास्तविक तथ्यहरूको केन्द्रीयतामा जीवन भोगाइ र अनुभूतिहरूको प्रस्तुति सन्दर्भ नै सामाजिक उपन्यासको विशिष्ट पक्ष हो । हाम्रो समाजमा देखिएका विद्यमान लैंगिक विभेदको प्रभाव र नारी जीवनका सङ्घर्षपूर्ण मोडहरूलाई मार्मिकरूपमा प्रस्तुत गर्नु उपन्यासकारको एउटा विशिष्ट खुबी हो । यस उपन्यासमा सामाजिक मान्यताभित्र महिलाहरूमा विद्यमान वैयक्तिक स्वतन्त्रताको अनुभूति र चाहनाहरूको खोजी नहुनु, पुरुषप्रधान समाजमा पुरुषहरूबाटै महिलाहरूप्रति हुने दुव्र्यवहार वा घटनामा महिला नै दोषी देखिनु, कतिपय अवस्थामा स्वयम् महिलाबाट महिलामाथि अत्याचार हुनु जस्ता विषयलाई समेटेर हाम्रो समाजको यथार्थता चित्रण गरेको छ ।

सामाजिक परिवेशमा नारी जीवनका कठिनाइपूणर््ा अवस्थाहरूलाई संकेत गर्दै पुरुषप्रधान समाजमा केही अपवादलाई छोडेर नारीप्रतिको दृष्टिकोण र व्यवहार लंैगिक विभेदमै आधारित रहेको देखिन्छ तर पनि सफल र संघर्षशील नारीले साँच्चै उद्यमशीलता र धीरतालाई आत्मसात् गरेको अवस्थामा जस्तासुकै बाधा व्यवधान लाञ्छनाहरू पनि आफैँ निस्तेज हुँदै जान्छन् भन्ने कुरालाई पनि यस उपन्यासले देखाउन खोजेको छ र नेपाली समाजमा चेतना फैलाउनु यसको मुख्य उद्देश्य रहेको छ । यो उपन्यासको सन्देश पनि नेपाली समाजमा नारीपुरुषको समानताको माग हो ।

नवोदित साहित्यकार पल्लवी न्यौपानेद्वारा रचित उपन्यासमा सन्तानप्रतिको ममता, श्रीमानप्रतिको ममता र दायित्व, कर्मप्रतिको ममता, धीरता जस्ता विषय उपन्यासमा उठान भएका छन् । नेपाली समाजमा महिलाले भोग्नुपर्ने समस्याहरू तथा पुरुषहरूको स्वैच्छाचारिकताप्रति उदासीन बस्ने सामाजिक प्रवृत्तिको निरन्तरता यस कृतिमा उद्घाटित भएको छ । सरल, तार्किक तथा व्यंग्यात्मक शैली उपन्यासकारले असनाएकी छिन् ।

मानव मस्तिष्क बडो विचित्रको छ । अनेक कुराको कल्पना गर्छ । सबै खालका मान्छेसँग अचम्म अचम्मका कला हुन्छन् ।  कस्ता कस्ता अनौठा विचार उत्पन्न हुने गर्छन् मानव मस्तिष्कमा ? फेरि आफूलाई हेर्छु्, साहित्यकार इन्द्रबहादुर राईको ‘खीर’ कथा जस्तो जिन्दगी । कता कता के नमिलेको के नमिलेको । क्या झुर् व्यर्थ जिन्दगी । ‘व्यर्थं सत् किञ्चित् ज्ञापयति ।’ धन्न ¤ यही वाक्य छ र आजसम्म ढुक्क छु म । भविष्यमा जे होला तर वर्तमानमा खुसी छु प्रसंग मोड्न चाहन्न म विदुषी कै कुरा गर्छु । अँ माया प्रेमका कुरा नगरेर वा अध्ययनका हिसाबले अलग विधा अँगालेकी लेखिका नेपाली साहित्य क्षेत्रमा नयाँ पालुवा बनेर उदाएकी छिन् । उनका आगामी कृतिहरू उनी जस्तै सधैँ पुष्पित र पल्लवित बन्न सकून् ।

साहित्यकार पल्लवीलाई अझै यथार्थपरक, कसिला, बेजोड, प्रवाहपूर्ण, सरल र हृदयस्पर्शी सिर्जनाका लागि उत्तरोत्तर प्रगतिको कामना ।

Views: 25