22nd September | 2018 | Saturday | 4:32:51 PM

राजनीतिले थुपारेको फोहर

राजन कार्की   POSTED ON : Thursday, 13 September, 2018 (4:12:49 PM)

राजनीतिले थुपारेको फोहर

डाइनामाइट आविष्कारकले साहित्यमा नोबल पुरस्कार राखेका हुन् । यसको अर्थ विनासकारी आविष्कार मानवीय मूल्य र मान्यताका लागि हो । मान्छेले मान्छेको मासु किन खाँदैन ? मानव सभ्यताको विनष्टकारी विध्वंश नहोस् भनेर मनाही गरिएको हो । यद्यपि तान्त्रिक, कालविद्या आर्जन गर्न चाहनेहरू आधारातमा चिहानमा गएर साधना गर्छन्, मान्छेको मासु पनि खान्छन् र तिनलाई अघोरीबाबा भनिन्छ । तिनमा शक्ति नहुँदो हो त सर्वांग नांगै र रुखमा बस्ने खडे बाबालाई भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी कुनै पनि संकटको निदान खोज्न उनैलाई भेट्न जान्थिन् तर खडे बाबा र इन्दिरा गान्धी दुवैको मृत्यु असामान्य तरिकाले भएको हो । भनिन्छ, जो इन्द्रजाल खेल्छ, ऊ तन्त्रमन्त्रको शक्तिको दावा गर्छ, उसको मृत्यु असामान्य हुन्छ । 

नेपालको राजनीतिमा पञ्चायत फोहरको डंगुर हो, एकतन्त्रीय शाही शासन हो भनेर यति ठूलो आन्दोलन भयो कि २०३७ सालको जनमत संग्रहले नसकेर २०४६ साल कुर्नुप¥यो र राजाले जनतासामु झुकेर दलमाथिको प्रतिबन्ध फुकुवा गर्नुप¥यो ।

अब त तीस वर्षे पञ्चायतले थुपारेको फोहर सफा होला भनेर आतिसवाजी गरेर खुसियाली मनाइयो तर बहुदलीय बाह्रवर्षे शासन कुशासन भएर आयो । तीस वर्षमा पञ्चायतले गरेको फोहरभन्दा धेरै गुण बढी फोहर सिर्जना हुनगयो । राष्ट्रिय उद्योग निजीकरण गरेर पचासौं हजारलाई बेरोजगार बनाइयो । धेरैको चुलोचौको चिसो हुनपुग्यो, धेरैको घरव्यवहार बिल्लिबाठ भयो । लाउडादेखि महाकालीसम्मका काण्डहरू भए, कमिशन र भ्रष्टाचारबाहेक बहुदलीय शासनमा प्रशंसा गर्नुपर्ने केही कुरै रहेन । सांसद खरिद बिक्री, सांसदलाई थाइल्याण्डमा मसाज गराउन पठाउनेसम्मका निर्घिणी काण्ड गर्ने नेता आज पनि नेता नै छन्, आज पनि शक्तिमै छन्, सत्तामै छन् ।


कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए, उनैले चाँदीको किस्तीमा सत्ताको साँचो राखेर धारा १२७ अनुसार राजालाई बुझाएका हुन् । राजाले तीन वर्षमा चुनाव गराएर जनप्रतिनिधिलाई शासन सुम्पिन्छु भन्ने कबुल गरे । यो कुरा तत्कालीन सात दललाई मन परेन, अझ ठूलो कुरा के भने भारतलाई मन परेन र तत्कालीन जनयुद्धकारी माओवादीलाई दिल्लीमा बाह्रबुँदे सहमति गराएर नेपालको जनआन्दोलनमा सरिक हुन निर्देशन गरेकै हो । माओवादी मिसिएपछि उन्नाइस दिने जनआन्दोलनमा एक्काइस जना मारिए । जनविद्रोहको त्यो बाढी राजाले थाम्न सकेनन् र २०६३ साल वैशाख एघार गते मृत संसद राजाले ब्यूँताइदिएका हुन् । त्यो कति ठूलो राजनीतिक फोहरको थुप्रो थियो ।

परिवर्तन भयो, मुलुक र मुलुकको शासन व्यवस्था सफा हुने सपना देखाइयो । जनयुद्धकारी माओवादी सतहमा आयो, सरकारमा गयो र आतंकको फोहर सफा गरेर शान्ति ल्याउने कबुल गरियो । नेपालको यो समाचार विश्व समाचार बन्यो । विश्वको ध्यान नेपालको राजनीतिक सफाइ यात्रातिर तानियो र यो व्यवस्थालाई बहुदलीय प्रजातन्त्रबाट लोकतन्त्र भनियो । पहिलो काम राजाको अधिकार खोसियो, दोस्रो काम हिन्दू राष्ट्रलाई धर्मनिरपेक्ष भनियो । तेस्रो काम अन्तरिम संविधान जारी गरेर पहिलो संविधानसभाको चुनाव भयो । 

यही संविधानसभाको पहिलो बैठक २०६५ जेठ १५ गतेबाट गणतन्त्र कार्यान्वयन गरेर राजतन्त्रको अन्त्य गरिएको हो । तर, यो संविधानसभाले संविधान जारी गर्न सकेन, माओवादी प्रधानमन्त्री डा. बाबुराम भट्टराई नै संविधानसभा विघटन गर्न बाध्य भए । त्यसपछि दोस्रो संविधानसभाको निर्वाचन भयो र बल्लबल्ल २०६३ को परिवर्तन २०७२ साल असोज तीन गते संविधान जारी गरेर एउटा बाटो लिन सफल भयो । यो संविधानअन्तर्गत स्थानीय, प्रदेश, राष्ट्रियसभा र संघीय संसदको निर्वाचन सम्पन्न भयो । यी निर्वाचन कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारले सफलतापूर्वक सम्पन्न गरे तर माओवादी र एमालेको गठबन्धनले कांग्रेसलाई हृवाइटवासजस्तै अवस्थामा पु¥याइदियो ।

निर्वाचित सरकारका रूपमा एमालेका केपी ओली प्रधानमन्त्री भए । त्यसपछि माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनाएका छन् र नेकपाले देशको कमाण्ड लिएर सत्ता सञ्चालन गरेको अवस्था छ । यहाँसम्म आइपुग्दा, राजनीतिमा फोहरबाहेक केही देखिएन । सांसद किनबेच भए, चुनावमा टिकट लिलाम गरियो । घूस ख्वाउने राजदूत बने, संवैधानिक अंग प्रमुखदेखि अदालतका न्यायाधीश पनि बन्न सफल भए । पियन अर्थात् सहायकदेखि सचिव, मुख्यसचिवसम्मका पदमा राजनीतिकरण गरियो । राजनीतिक प्रभाव नभएको र विधिले चलेको कुनै पनि निकाय देखिएन । मानौँ मुलुक फोहरको कन्टेनर हो । लोकतान्त्रिक गणतन्त्रको बोर्ड झुण्ड्याएर अलोकतान्त्रिक क्रियाकर्मतर्र्फ सबै निरन्तर सामेल भइरहे ।

अब त स्थिर सरकार आयो, अब त फोहर सफा होला, विधिको शासन चल्नेछ । विधिभन्दा बाहिर जो जान्छ ऊ दण्डित हुनेछ भन्ने एउटा विश्वास पलाएको थियो । प्रधानमन्त्री बनेका केपी ओलीले भनेकै हुन्, ‘जो भ्रष्ट छ, उसलाई टपाटप टिपेर फाल्ने हो । अधिनायकवादको कल्पना नगरौं, सुशासन र समृद्धि एकमात्र लक्ष्य हो । त्यो लक्ष्य प्राप्त गनै कटिबद्ध छु ।’

तिनै केपी ओलीले जेलका अपराधीलाई सज्जन भनेर राष्ट्रपतिमार्फत् छुटाए । तिनै केपी ओलीले भ्रष्ट तŒवहरूलाई संरक्षण दिए । तिनै ओलीले दुर्नामहरूलाई तक्मा दिलाए । तिनै ओलीले अयोग्य प्रधान न्यायाधीशलाई प्रसिद्ध प्रबल जनसेवा पदकबाट बिभूषित गराए । तिनै ओलीले अदालत नै गनाउने गरी भ्रष्टाचारमा संलग्न भएका व्यक्तिलाई प्रधान न्यायधीशमा सिफारिस गरे । तिनै ओलीले तेत्तीस किलो सुनकाण्डको अनुसन्धान रोकाए र रिपोर्ट आफैँले लुकाए । तिनै ओलीले विधि निर्माताहरूलाई करोडौं बजेट दिएर ठेकेदार बनाएका छन् ।

तिनै ओलीले नेपाल कहिल्यै पुग्न नसक्ने आर्थिक र प्राविधिक सहयोगका लागि बंगालको खाडीको सम्मेलन नेपालमा गराए । ओलीको प्रतिबद्धता ल्हासा जाने कुतीको बाटोमा अलमिलन पुगेको छ । नेपालको कानुन दैव जानून, नेपाल आफैँमा राजनीतिले थुपारेको फोहरको थुप्रो बनेको छ । राजधानीको फोहरले बागमती प्रदूषित छ, राजनीतिको फोहरले नेपाल राष्ट्र विषाक्त भइसकेको छ ।

माओवादीहरू भन्छन्, ‘अब जनयुद्धका सबै मुद्दा आममाफी हुनेछन् । आममाफी नै किन ? फौजदारी मुद्दामा पीडकलाई दण्ड र पीडितलाई न्याय नदिँदा अन्तर्राष्ट्रिय अधिकारकर्मीले के भन्लान् ? कसैले हेगमा मुद्दा ठोकिदियो भने नेपालको स्थिति हस्तक्षेपको भुँमरीमा पर्ला कि नपार्ला ? न्याय पाऊँ भनेर गंगामाया अधिकारी अहिले पनि अस्पतालमा अनशन बसिरहेकी छन् । उनको छोरालाई मार्ने आरोपित तेह्रमध्ये बाह्र जनालाई चितवन अदालतले बरी गरिदिएको छ र ती बूढीआमा गंगामाया भन्छिन्, ‘यो देशमा न्याय पाऊँ भन्नु बेकार रहेछ ।’

यी सबै फोहर हुन् । फोहरको थुप्रो । शुद्धीकरण कहिले सुरु गर्ने ? कहाँबाट, कसले सुरु गर्ने ?

नेपालमा को छैनन् ? नेपाली वैज्ञानिक नासासम्म पुगिसके । प्राविधिकदेखि समाजशास्त्रीसम्म प्रशस्त छन् । संचेतनाको व्यापक विकास भएको छ । स्कुल, कलेज, प्राविधिक शिक्षा अब्बल छन् । यतिसम्म प्रगतिमा पुगिसकेको मुलुकमा राजनीतिक असभ्यताको विकृति यस्तो छ । सुधार्ने राजनीतिले हो । राजनीति सुधार्ने जनताले हो । पढेलेखेका बुद्धिजीवी राजनीतिक पार्टीमा विभक्त हुँदा यथार्थ आलोचना र सुझाव आउन सकेन । जतिसुकै गलत क्रियाकलाप पनि पाच्य हुँदै गएको छ । यही रोग महारोग बन्दा राष्ट्र फोहरको थुप्रो बन्न पुगेको हो ।

नैतिक पतनको यो शृंखला रोकिएन भने फलाम खिया लागेर धुलोमाटो बनेझैं राष्ट्रलाई राजनीतिक खियाले धूलोपीठो बनाउने निश्चित छ ।

राजनीतिमा देवताको पोसाक राजनीतिक नेताहरूले लगाउने र तिनै नेताको झुण्डझुण्डमा संचेतन, बुद्धिजीवीहरू लागिरहने हो भने यो आफ्नो घुँडामा आफैँले बन्चरो हान्नुसरह हो । जसरी त्रिभुवन विश्वविद्यालयका राजनीतिक धमिरा धरमराइरहेका छन्, त्यसैगरी राष्ट्र अक्कलविनाको नक्कलले अस्तिŒवहीन बन्दै जानेछ ।

राजनीतिबाट कल्याणको कामना गर्नेहरूले पहिले राजनीतिलाई पवित्र पार्न जरुरी छ । अन्यथा अरूका सन्तान बिग्रे भनेर दंग नपरौं, हाम्रा सन्तान पनि यही दूषित पानीले फोहरी नै हुनेछन् । राष्ट्रको फोहर सफा गर्नैपर्छ, तबमात्र नेपाल र नेपाली सफा हुनेछन् ।

विद्या नभएका विद्यासुन्दरले काठमाडौं महानगरलाई फोहरमाडौं बनाए बनाए, निष्ठा नभएका पार्टीहरूले राष्ट्रलाई फोहर नेपाल बनाउनेछन् । सबैलाई चेतना होस्, सबै राजनीतिक फोहर सफा गर्न अग्रसर होऔँ । अब देश फोहरमाथि उभिएर सुशासन र समृद्धिमा पुग्न सक्दैन । फोहरमाथि देश उभिनु र बारुदमाथि ओलीका सपना कोरलिनु उस्तै हो ।

जनयुद्ध र जनआन्दोलनको डाइनामाइट हामीले भोग्यौं । डाइनामाइटका आविस्कारकले नोबल पुरस्कार स्थापना गरेजस्तै, यो पद्धतिले सफा नेपालको निर्माण स्थापित गरोस् । 


Views: 10