17th October | 2018 | Wednesday | 10:07:24 PM

नेपाली कांग्रेसको कार्यभार

  POSTED ON : Sunday, 28 February, 2016 (9:25:25 PM)

नेपाली कांग्रेसको कार्यभार

नेपाली कांग्रेसको बारेमा हरेक नेपालीसँग आआफ्नै बुझाइ, अपेक्षा र आग्रह÷पूर्वाग्रहहरू छन् । यहाँ कांग्रेसको इतिहास र वर्तमानको बेलीबिस्तार लगाउनु जरुरी छैन । पंक्तिकारले अक्सर गर्ने टिप्पणीमा नेपाली कांग्रेस प्राथमिकतामा पर्दैन । नयाँ र क्रान्तिकारी भनिएका, आफूलाई कांग्रेससँग तुलना गर्न हिच्किचाउने शक्तिहरूले किन आफ्ना गतिविधि जनमुखी बनाउन सकेनन् भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास हुनेगर्छ । त्यसो गरेबापत कतिपयले कांग्रेसको अन्ध समर्थकको रूपमा बुझ्ने गरेको समेत पाइन्छ । कम्युनिस्ट पार्टीहरू कांग्रेसजस्ता मात्रै भएर पुग्दैन भन्ने मान्यतासहित तिनै विषयमा बढ्ता केन्द्रित हुन चाहने पंक्तिकारको यस आलेखमा नेपाली कांग्रेसको पक्षमा टिप्पणी गर्ने कोसिस गरिएको छ । नेपाली कांग्रेस तेह्रौं महाधिवेशनको संघारमा छ । यसैबीच सबैतिर कांग्रेसको आगामी नेतृत्वको विषयमा अनेकन अनुमान र दाबीसहितका तर्क–वितर्क सुन्न पाइन्छ । नेतृत्वको दाबी गर्नेले पार्टीमा गुटबन्दी अन्त्य गर्ने र सबैलाई मिलाएर लाने एजेण्डा अघि सार्दै आएका छन् । विगतमा यो पार्टीले जनजीविकामा आमूल परिवर्तन ल्याउने गरी काम गर्ने मौका नपाएको होइन । तदनुरूप पार्टीको नेतृत्व र समय नपाएको पनि होइन । सुवर्ण शमशेर, बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै पार्टी यहाँसम्म आइपुगेको छ । बरु मदन भण्डारीपछि कम्युनिस्ट पार्टीहरूमा त्यो स्तरको नेतृत्वको निरन्तरता देखिएन । जहाँनिया राणाशासन विरुद्ध विद्रोहको पृष्ठभूमिमा उदाएको यस दलले पटक पटक ऐतिहासिक आन्दोलनको नेतृत्व गरेको छ । चाहे त्यो प्रजातन्त्र स्थापना, पञ्चायती व्यवस्थाको अन्त्य होस् वा गणतन्त्र स्थापना । फेरि पनि परम्परावादी, बेढंगी दलको परिचय बोकेर घिस्रिरहेको छ । यौटा मान्यता छ, हरेक सामान्य मानिस जीवनमा एकपटक कम्युनिस्ट हुन्छ तर जीवनभर कम्युनिस्ट रहिरहन सक्दैन । कांग्रेसको हकमा भने त्यसो हुँदैन । जीवनमा एकपटक वा पटक पटक कांग्रेस हुने सुविधा सबैलाई छ । स्वभावैले कांग्रेसको संगठन र कार्यकर्तालाई कम्युनिस्ट दलहरूको तुलनामा धेरै स्वतन्त्रता छ । त्यसैले बढ्ता भद्रगोल पनि छ । त्यसो भन्दैमा अनुशासन र व्यावहारिक राजनीतिभन्दा पर केन्द्रबिन्दु बनाएर हिँड्ने प्रयास कांग्रेस वा कम्युनिस्ट जोसुकैको लागि आत्मघाती हुन्छ । इतिहास हेर्दा नेपालका कम्युनिस्ट पार्टीहरूको उद्भव र विकास कांग्रेसका कमजोरीहरूमाथि टेकेर भएको हो भन्ने निष्कर्षमा पुग्न कुनै गाह्रो छैन । केही अपवाद बाहेक यहाँको कम्युनिस्ट राजनीति र त्यसको नेतृत्व कांग्रेसको आलोचना र उसका कमजोरीहरू औँल्याउने भन्दा पर पुग्न नसकेको यथार्थ हामीसामु छ । पत्रकार विजयकुमारको टिप्पणी छ– यदि नेपाली कम्युनिस्ट पार्टीहरूले साँच्चिकै गरीब दुःखीका निम्ति काम गरेको भए आजको मितिसम्म आइपुग्दा नेपाली कांग्रेस आफैँ असान्दर्भिक भइसक्थ्यो । उनको यो उद्धरणले कांग्रेसको सान्दर्भिकता, आवश्यकता, राजनीतिक भविष्यमात्रै नभएर कम्युनिस्ट राजनीतिको प्रवृत्तिसमेत देखाएको छ । नभने पनि हुने कुरा पछिल्लो पटक नेपाली कांग्रेस पार्टीको एकतापश्चात् हरेक नेताले ‘भावनात्मक एकता’ भन्न छुटाउँदैनन् । यो सबैभन्दा चल्तीको वाक्यांश भएको छ । त्यससँगै आफ्नो र अर्को को हो भन्ने अंकगणित दुरुस्त राख्ने कार्यमा समेत उत्तिकै लागिपरेका छन् । गाउँ वा इकाइदेखि केन्द्रसम्म दुई गुटमा विभक्त भएर सौदाबाजी, बार्गेनिङ र छिनाझपटी चलिरहेको छर्लङ्ग देखिन्छ । बिपी–विचारको संवाहक बन्नुपर्ने दलका नेता कार्यकर्ताले उनको नाम जप्दै भागबन्डा र गुटबन्टी गरिरहेको दृश्य कांग्रेसको कुनचाहिँ शुभचिन्तकले रुचाएको होला ? हरेक क्रान्तिमा अग्रपंक्तिमा रहेर परिवर्तनको नेतृत्व गर्ने दलले पुरातनवादी, सुस्त, जड दलको परिचय बोकेर हिँडिरहनु पर्नुको कारण के होला ? यसबारेमा चिन्ता गरिदिने र त्यसको निवारण गर्ने जिम्मेवारी कसले लिन्छ ? फलानो दा’ वा फलानो गुटको पछाडि दौडिरहने तर अब युवाले नेतृत्व गर्नुपर्छ भनेर डंका पिट्ने युवा कांग्रेसहरूको चेतनामा आमुल परिवर्तन कसरी आउला ? केन्द्रदेखि गाउँसम्मै ६०÷४० को भागबन्डाको स्कुलिङबाट कस्तो नेतृत्व निर्माण हुन्छ ? दा’हरूको भजनमण्डलीभन्दा बाहिर पुगेर पार्टीका लागि मरिमेट्ने युवाको संख्या शुन्यप्रायः देखिनुको कारण के हो ? आजको परिदृष्यमा यी प्रश्न निकै पेचिलो बनेका छन् । यी प्रश्नहरूलाई आत्मसात् गर्नसक्ने नेतृत्वले मात्रै कांग्रेसलाई लागेका अनेक लाञ्छना, आरोपबाट मुक्ति दिन सक्छ । यी प्रश्नहरूमा सोच्ने र क्रियाशील नेतृत्व चयन गर्ने काम पनि कांग्रेसीहरूकै हो, अरू कसैले गरिदिने होइन । आशा गरौं, यो महाधिवेशनले त्यस किसिमको नेतृत्व चयन र विकास गर्न सक्नेछ र सुदृढ कांग्रेस बनाउने छ । भन्नैपर्ने कुरा आजको नेपालमा कसैले ‘म प्रजातन्त्रवादी हुँ’ भन्छ भने समाजले उसलाई कांग्रेस भनेर बुझ्छ । अर्थात् नेपालीका लागि प्रजातन्त्रवादी हुनु कांग्रेस हुनु सरह हो । अर्कोतर्फ आजका मितिसम्म प्रजातान्त्रिक विचारधारामा आस्था राख्ने मतदाताका लागि कांग्रेसकै हाराहारीको दोस्रो कुनै विकल्प समेत उपलब्ध छैन । यसर्थ कांग्रेसको राजनीतिक धरातल सदा सुरक्षित छ । जबकि यही कुरा कम्युनिस्टहरू को हकमा लागू हुँदैन । नेपालमा सामान्य हिसाबले हेर्दा वामपन्थी जनमतको बाहुल्य देखिए तापनि त्यो आफैँमा विभाजित, खण्डित छ । माक्र्सवादी भएरमात्रै पुग्दैन, कुनचाहिँ माक्र्सवादी हो ? कुन कित्ताको ? कुन दल हो ? यस्ता प्रश्नको जवाफ खोज्नुपर्ने अवस्था छ । कम्युनिष्ट दलहरू ससाना टुक्रमा विभाजित छन् । माओवादीभित्र मात्रै पनि आधा दर्जन दलहरू छन् । कोष्ठभित्र र बाहिरको माओवादी, एकीकृत र खण्डित माओवादीको भेद खोज्नुपर्ने अवस्था छ । एमाओवादी नेता राम कार्कीको तर्क मान्ने हो भने कम्युनिस्टको ब्याड राख्नुपर्छ तर कांग्रेस जहाँ छरेपनि उम्रन्छ । यति सजिलै जहाँ छरेपनि उम्रिने कांग्रेसलाई बिस्तार गर्न नसक्नुको कारण के हो ? कमजोरी कसको हो ? अब कांग्रेस नेताहरूले यी प्रश्नको त्यसको निदान खोज्नुपर्छ । त्यसको लागि उचित मौका आएको छ । जुनदिनसम्म चारतारे झण्डा बोकेर हिँड्ने कार्यकर्ताले फलानो दा’ हाम्रा मान्छे होइनन् भन्नुपर्ने नियतिको अन्त्य हुँदैन तबसम्म पार्टी एकीकरण वा भावनात्मक एकता एकादेशको कथा हुनेछ । पत्याइनसक्नुको लोककथाजस्तो हुनेछ, एकछिन सुन्नलाई मात्र । ‘मास बेस्ड पार्टी’, प्रजातन्त्र र बहुलवादको ठेकेदार हुँ भन्ने दाबी, बिपी–विचारको पक्षपाती भएको जिरह गर्दैमा कांग्रेस असल छ, ठीक छ भन्ने अर्थ लाग्दैन । जसरी सामन्ती, शोषक, नोकरशाही, दलाल–पूँजीपति, साम्राज्यवादीले यसो गरे, उसो गरे भन्दैमा कम्युनिस्टहरू असल हुन् भन्ने पुष्टि हुँदैन, ठीक त्यसैगरी प्रजातान्त्रिक दल हुँदैमा विकृतिहरूको भरिया बन्ने छुट कांग्रेसलाई छैन । प्रजातान्त्रिक चरित्र र व्यवहार देखिनुपर्छ । हरेक नेता–कार्यकर्ताले यही सामान्य विषयलाई आत्मसात् गर्न सकेमा कांग्रेस अब्बल राजनीतिक दल बन्नेछ र बनिरहनेछ । कम्युनिस्टहरूको भाग खोस्न जानुपर्ने वा उनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था नै छैन । सधैँ अरूले कांग्रेससँग प्रतिस्पर्धा गर्नुपर्नेछ । अबको बाटो नेपाली कांग्रेस कांग्रेसजस्तो मात्रै भए पुग्छ । प्रजातान्त्रिक विचार अँगाल्नेहरूको नेतृत्व लिएर समाजलाई अग्रगति दिनेबाहेक दोस्रो कुनै कार्यभार कांग्रेससँग छैन । यो कार्यभार पूरा गर्न कांग्रेस विचारमा मात्रै होइन, व्यवहारमै प्रजातान्त्रिक हुनुपर्छ । सबै नेता, कार्यकर्ता र आमजनताबीच पारदर्शी हुनुपर्छ । पोलिटिकल वा पारिवारिक ‘लिगेसी’, फलानो–ढिस्कानो दा’, फलानो गुट वा झुण्डलाई प्राथमिकता नदिएर पार्टी आफ्नो र आफू पार्टीको हुँ भन्ने मानसिकतामा कांग्रेस राजनीति गर्नेहरूमा होस् । यदि छैन भने पार्टीले संस्थागतरूपमै त्यसको विकासको लागि पहल गरोस् । नेतृत्वले आफ्नो र अर्को को हो भन्ने अंकगणितको बहीखाता बन्द गर्ने आँट गरोस् । कहिल्यै ढुलमुल नगर्ने बहुलवाद, कांग्रेस र प्रजातान्त्रिक विचारप्रति आस्थावान् ‘ओपन मास’ ले कहिल्यै कांग्रेसलाई छोडेर जाँदैन । अहिलेको समयमा कांग्रेसले आफूलाई लोकप्रिय, जनपक्षीय बनाउन अरू कसैसँग सिँगौरी खेल्नुपर्ने स्थिति छैन । आफैँभित्र सामान्य सुधार गरे पुग्छ । सुधार व्यवहारमा देखिनुपर्छ, भाषणले मात्रै हुँदैन भन्ने कुरा आजसम्मको कांग्रेसबाटै पुष्टि भइसकेको छ । बहालवाला सभापति गुमाउँदै महाधिवेशनमा होमिएको नेपाली कांग्रेसलाई शुभकामना !

Views: 274