19th October | 2018 | Friday | 3:55:22 AM

आफैँभित्रको संकटमा नेकपा

देवेन्द्र चुडाल   POSTED ON : Friday, 05 October, 2018 (3:40:55 PM)

आफैँभित्रको संकटमा नेकपा

ओली सरकारका प्रायःजसो निर्णयहरू विवादको घेरामा परेका छन् । सरकारले यातायात क्षेत्रको सिन्डिकेट हटाएको घोषणा गरेको थियो तर त्यो घोषणामै सिमित भयो । नेपालीहरूको महान् चाड वडा दशैंको बेला तिनै सिन्डिकेटवालाहरूसँग सरकारले सहमति गरेर यातायातमा १० प्रतिशत भाडा बढायो । ती समितिहरूको बैंक खाता रोक्का राख्ने निर्णयपछि गृहमन्त्री रामबहादुर थापा र भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठबीच जुहारी चल्यो । ठेक्कापट्टामा भएको अनियमितता रोक्न सरकारले निर्धारित समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्ने भन्दै गृहमन्त्री थापाको निर्देशनमा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जिल्लामा ठेक्का लिएर निर्माण पूरा नगर्ने ठेकेदारहरूका नाम संकलन गर्न गृहमन्त्री थापाको निर्देशनमा आदेश गएको थियो । सोहीअनुसार प्रशासन कार्यालयहरूले ठेकेदारहरूको नाम गृह मन्त्रालयमा पठाए तर कसैलाई केही पनि कारबाही भएन । कारबाही गर्ने प्रक्रियाको जटिलताले भएन कि ठेकेदारहरूको प्रभाव र पहुँचले भएन गृहमन्त्री नै जानून् । ठूला ठूला ठेकेदारहरू विभिन्न राजनीतिक दलहरूसँग आवद्ध छन् । उनीहरूको प्रभाव राजनीतिको उपल्लोस्तरसम्म छ । नेपाली कांग्रेस, नेकपा, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले निर्वाचनमा तिनै ठेकेदारहरूसँग मोटो रकम चन्दा लिएका छन् । प्रतिनिधिसभाका समितिहरूमा ठेकेदारहरू नै छन् । विकास निर्माणका काम विकास समितिले हेर्छ, ठेकेदारहरू यसमै छन् । एकातिर प्रधानमन्त्री केपी ओली ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन दिन्नँ’ भन्दैछन् अर्कातिर भ्रष्टाचारका घटनाहरू सार्वजनिक हुँदैछन् । ठूला खरिदमा भ्रष्टाचार भएका समाचारहरू आइरहेका छन् । केपी ओली नेतृत्वको सरकारसँग जनताले ठूलो आशा र भरोसा राखेका छन् । गत निर्वाचन नेकपाले निर्वाचन जितेको होइन, केपी ओलीले जितेका हुन् । ओली पहिलो पटक प्रधानमन्त्री हुँदा भारतले गरेको नाकाबन्दीको विरोधमा उनले राखेको राष्ट्रवादको अडानले उनलाई बहुमत मिलेको हो । उनलाई जनताले विश्वास गरे, ऐतिहासिक समर्थन पाए । नाकाबन्दीको बेलामा जनताले दुःख कष्ट सहेर ओली नेतृत्वको तत्कालीन सरकारलाई समर्थन गरेका हुन् । त्यसको एउटै कारण थियो ओलीको राष्ट्रवादी अडान । त्यही कारणले गएको निर्वाचनमा उनको नेतृत्वको चुनावी अभियानले बुहमत पाएको हो । पछिल्लो समयमा भने फरक धारणा बन्न थालेको छ । प्रधानमन्त्री ओलीको राष्ट्रवाद सत्तामा पुग्ने हतियार मात्र हो कि भन्ने स्थिति देखापरेको छ । जनतालाई राष्ट्रवादको नारा दिएर सत्तामा पुग्ने भ¥याङमात्र बनाइको हो कि भन्ने भएको छ । ओली प्रधानमन्त्री भएको आठ महिनामा एक–दुई वटाबाहेक उल्लेख्य काम केही पनि भएको छैन । सामाजिक असुरक्षा बढेको छ । बलात्कारका घटनाहरू अत्यासलाग्दो ढंगले समाचारमा आएका छन् । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको ७० दिन पुगेपनि अपराधीहरू समातिएका छैनन् । प्रहरीले नै बेइमानी गरेको देखिएको छ । गृह मन्त्रालयले गठन गरेको हरिप्रसाद मैनाली नेतृत्वको समितिले प्रतिवेदन बुझाइसकेको छ । गृहमन्त्रीले नै प्रहरीबाट लापरबाही भएको स्वीकार गरिसेकका छन् । यो घटनाले गृहमन्त्री र प्रहरी महानिरीक्षको नेतृत्व क्षमतामा समेत प्रश्न उठेको छ । गृहमन्त्री थापा पुँजीवादले बलात्कार बढाएको निष्कर्षमा पुगेका छन् । नेकपाभित्र विवाद चर्किन थालेको छ । वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कामकारहीबारे संसदमा प्रश्न उठाउँदै देश डुब्न लाग्यो भनेपछि जुहारी चलेको छ । सवाल जवाफले नेता र कार्यकर्ताहरूका समाजिक सञ्जालका वाल भरिएका छन् । पतन र उत्थानको घोषणा हुन थालेको छ । प्रधानमन्त्री ओलीले न्युयोर्कबाटै व्यंग्यात्मक जवाफ फर्काएका छन् । पार्टीको शीर्षतहमा एकीकरण भएको साढे चारमहिना नाघिसक्ता पनि एकीकरण प्रक्रिया टुंगो लागेको छैन । प्रदेश स्तरका तोकिएको जिम्मेवारी विवादमा परेको छ । माधव नेपालको विरोध यसमै छ । दोस्रो तेस्रो तहका नेताहरूले नेतृत्वमाथि नै प्रश्न उठाउन थालेका छन् । दुई तिहाई बहुमतको सरकार चलाएको पार्टीको आन्तरिक संगठन अस्तव्यस्त भएको छ । नेता–कार्यकर्ताहरूले आफ्नो स्पेस खोज्न थालेका छन् । पार्टीको यस्तो अवस्थालाई प्रधानमन्त्री एक अध्यक्ष ओली आफ्नो अनुपस्थितिको छटपटी भनेर केही पनि होइन भन्न खोज्दैछन् । माधव नेपालको असन्तुष्टिमा ओलीले कडा जवाफ दिइरहँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल मौन देखिएका छन् । सत्तारुढ पार्टीलाई बृहत् स्तरमा अन्तक्र्रियात्मक बनाउन नसके, जिम्मेवारीहरू औचित्यपूर्ण ढंगले बाँडफाँड गर्न नसके पार्टीमा संकट उत्पन्न हुनेछ । त्यो संकटले सरकारलाई पनि प्रभाव पार्नेछ । यस्तो लक्षण देखिन थालेको छ । अध्यक्ष दुई जना रहे पनि व्यावहारिकरूपमा निर्णायक र शक्तिशाली केपी ओलीले पार्टीमा विकसित भइरहेको यो संकटको आकलन गरेर समाधान खोजेनन् भने पतनको सुरुवात यहीबाट हुनेछ । आखिर माधव नेपालको पतनबाट नेकपा र ओली सरकार अछुतो रहने छैन । संकटको संकेत देखापरेपछि सरकार विपक्षीबाट होइन बलात्कारी, घुसखोरी, ठेकेदारी सबैतिरबाट घेरिन्छ ।


Views: 55