19th October | 2018 | Friday | 3:32:32 AM

कपिलधाम

विष्णुराज आत्रेय   POSTED ON : Saturday, 06 October, 2018 (4:20:06 PM)

कपिलधाम

शाक्य गणराज्यको राजधानी कपिलवस्तुबाट पूर्वतर्फको छिमेकी देश कोलिय देश थियो । ययातिका वंशज कोलहरुको राज्य थियो त्यो । ती कोल वंशजहरु पछि कोलिय नाउँले चिनिन थाले । केही समय पश्चात् इक्ष्वाकुवंशी क्षत्रियहरु पनि त्यहाँ आएर बस्न थाले । कोलिय देशका निवासी भएका नाताले तिनी पनि कोलिय भए । पछि तिनीहरु नै त्यस देशका शासक भए । त्यस देशको राजधानी भयो देवदह । 

त्यतिबेला कोलिय देशका राजाको नाउँ थियो अञ्जन । राजा अञ्जनकी रानीको नाउँ थियो सुलक्षणा । राजा अञ्जनबाट सुलक्षणामा दुई छोरी थिए । तीमध्ये जेठीको नाउँ महामाया थियो भने काञ्छीको नाउँ गौतमी ।

कपिलवस्तु गणराज्यका राजा सिंहहनुका जेठा छोरा युवराज शुद्धोदनको विवाह राजा अञ्जन र रानी सुलक्षणाकी जेठी छोरी महामायाका साथ धूमधामसँग सम्पन्न भयो । 

राजाको वृद्धावस्था भइसकेको थियो । उनले युवराज छोरा शुद्धोदनलाई राज्य सञ्चालका सबै सीप र सामथ्र्यले सिपालु बनाइसकेका थिए । विवाहपछि राजा सिंहहनुले राजपरिषद्मा शुद्धोदनलाई उत्तराधिकारी गराउने प्रस्ताव गरे । उनको प्रस्तावमा सबैले स्वीकृति दिए । 

जेठो छोराको राज्याभिषेक भएपछि उनको जिम्मा राजपाट सुम्पेर इक्ष्वाकुवंशीय परम्परा अनुसार राजा सिंहहनुलाई वानप्रस्थी हुने चाहना भयो । केही दिनमै उनी सपत्नीक वानप्रस्थी भएर कपिलगंगा तटवर्ती कपिलधाम तिर लागे । यसरी शुद्धोदन कपिलवस्तु राज्यका  राजा भए । 

शुद्धोदनको राज्याभिषेकपछि कपिलवस्तु राज्य झन समृद्ध भयो । प्रजाजन सुखी एवं सम्पन्न थिए । राजा शुद्धोदनको त्यो गणराज्य कृषिप्रधान थियो । उनी आफै आषाढ पर्वमा प्रजाजन सँगै हलोमा गोरु नारेर खेतमा पुग्थे । राज्यमा सामान्यतया सबै समान थिए । गुण र कर्म र योग्यता अनुसार व्यक्तिले आफ्नो मान मानितो पाउने गर्दथ्यो । 

प्रतापी शुद्धोदनले आफू राजा भएपछि त्यस क्षेत्रका ससाना सामन्त र तिनका शासित क्षेत्रहरुलाई मिलाएर एउटा गणराज्यको स्थापना गरे । ती ससाना सामन्तहरुले शुद्धोदनलाई त्यस गणराज्यको गणाधीश अर्थात् राजा माने । 

कपिलवस्तु गणराज्यमा देशको भौगोलिक इकाईहरुबाट केन्द्रमा प्रतिनिधिहरु छनोट भएर आउँथे । त्यहाँ त्यस्ता प्रतिनिधि सहितको एउटा राजसभा थियो । जसमा पाँचशय जना निर्वाचित मनोनीत र अन्य ओहदावाल व्यक्तिहरु हुन्थे । त्यस राजसभालाई संस्थागार (सन्थागार) भनिन्थ्यो । त्यसमा चयन गरिने सदस्य हुन बीस वर्षको उमेर पुग्नु पर्दथ्यो । दैनन्दिन राज्य कार्य सम्पन्न गर्न एउटा परिषद्को व्यवस्था थियो । राजगुरुका पदमा कपिलधामका आचार्य महर्षि कपिल थिए । आवश्यक काम पर्दा उनी द्रुतगतिको सानो गोरुगाडा लघुरथ (लढुमा) चढेर कपिलधामबाट तिलौराकोट आउँथे । त्यहाँ उनी आफ्नो निम्ति बनाइदिएको आश्रममा बस्दथे । काम सकिएपछि कपिलधाम फर्किन्थे । 

दैवको खटन, रानी महामायालाई सन्तान भएनन् । तिलौराकोट दरबार अन्य सबै कुराले समृद्ध र सम्पन्न थियो । तथापि एउटा राज्यको उत्तराधिकारी नजन्मिदा तिलौराकोट राजभवन मात्रहोइन, कपिलवस्तु गणराज्य नै तुवाँलोले ढाकेजस्तो भएको थियो । राजाले यसका लागि टुना–मुना झार–फुक पाठ–पूजा सबै गराए तर बिहे भएको बीसवर्ष सम्म पर्खिंदा पनि उनलाई महारानी मायादेवीमा सन्तान भएनन् । सन्तान पर्खदाँ पर्खदै उनको एक बिसौली वर्ष बित्यो ।

एकदिन, राजा शुद्धोदनलाई राजसभाका सबै सदस्यहरुले राज्यको उत्तराधिकारीका लागि एक मतले अर्को विवाह गर्ने सल्लाह 

दिए । यस कुराको अन्तिम निर्णय लिनुभन्दा पहिले कपिलधामका आचार्यसँग पनि राय मागियो ।

कुनै पनि समस्या आइपर्दा राजा शुद्धोदन कपिलधामका आचार्यकुलको राय माग्ने गर्दथे । राजकुलबाट समर्थन प्राप्त भएपछि कपिलधामबाट पनि समर्थन प्राप्त भयो । राजा शुद्धोदनले रानी महामायासँग पनि सल्लाह गरे । अन्त्यमा रानी महामायाले पनि राजालाई विहे गर्ने सल्लाहा दिइन् । कन्या खोज्दैजाने क्रममा रानी महामायाले देवदहकी आफ्नै बहिनी गौतमी सँग विहे गर्ने प्रस्ताव राखिन् । राजाले समर्थन जनाए । 

यसरी राजा शुद्धोदनले छिमेकी कोलिय देशका राजा अञ्जन र महारानी सुलक्षणाकी कान्छी राजकुमारी गौतमीसँग दोस्रो विवाह गरे । 

ईश्वरको करुणा ¤ गौतमीसँग विहे गरेपछि एक दिन राती मस्त निदाएका बेला जेठी रानी मायादेवीलाई एउटा अचम्मको सपना भयो । सपनाको विवरण यस्तो थियो–

पूर्णिमा तिथि । रातिको बेला । महामाया मस्त निदाएकी थिइन् । सपनामा उनका अगाडि चारजना देवदूतहरु एउटा पालकी लिएर आए । उनलाई त्यसमा बसाले । तिनीहरुले त्यो पालकी कपिलधामको बाटो हुँदै पहाडतर्फ लगे । पहाडको हिमाच्छादित शिखरमा एउटा फराकिलो चौर थियो । त्यसका बीचमा एउटा राम्रो दह थियो । देवदूतहरुले त्यसै चौरमा पालकी बिसाए । त्यहाँ तिनीहरुले एकजोर सारी–चोली, पेटीकोट गरगहना सुगन्धितद्रव्य आदिको सिर्जना गरे ।

गौतमी दहमा नुहाउन गइन् । नुहाएर उनी दहबाट बाहिर निस्किन् ।

बाहिर आएर उनले सारी चोली फेरिन् । गरगहना लगाइन् । तथा शरीरमा सुगन्धित द्रव्यहरु सिञ्चन गरिन् । 

एकैछिनपछि त्यहाँ ऐरावत क्षेत्रबाट लम्याक लम्याक गर्दै एउटा हात्तीको शाव (छावा) आयो । सेतो वर्ण, लामा लामा सुँड भएका पाँच ओटा मुख र प्रत्येक मुखमा एक एक जोडी सेता बाहिरी दाँत थिए त्यसका । उसले आफ्ना हरेक सूडमा एक एक ओटा सेतो कमलको फूल लिएको थियो । ऐरावत हस्तीले भुईंमा पस्रेर मायादेवीलाई पहिले फूल अर्पण गर्दै प्रणाम ग¥यो । अनि त्यसले महामायाका दाहिने कोखीतिर प्रवेश ग¥यो । यसैबीच तुषित नामका वैवस्वत मन्वन्तरका गणदेवताहरु पनि त्यहाँ उपस्थित भए । तिनीहरुले पनि त्यसैगरी महामायाका दाहिने कोखीमा प्रवेश गरे । यस्तो सपना देखिन् महामायाले । सपना देख्नासाथ उनी बिउँझिहालिन् । उनले राजा र अमात्यहरुलाई आफ्नो सपनाको विवरण सुनाइन् । त्यसरी देवताहरु समेत महामायाका कोखीमा प्रवेश गरेकाले अवश्य पनि औतारी देवता अवतीर्ण हुन्छन् भन्ने सबैमा विश्वास भयो । 

रानीले देखेको यस सपनालाई सुन्नेहरु बैले राम्रो लक्षण भने । उनले देखेका स्वप्नको रहस्य अझ राम्रोसँग खोतल्न उत्तर हिमालयबाट स्वप्न शकुनवेत्ता आठजना ब्राहृमणलाई दरबारमा बोलाइयो । उनीहरुले रानी महामायाबाट समस्त लक्षण युक्त एउटा पुत्र जन्मने भविष्यवाणी गरे । 

तिनताक माइतीमा सुत्केरी भएर जन्मेको सन्तान असल र गुणी हुन्छ भन्ने जनविश्वास थियो । महामायाको सुत्केरी हुने बेला भयो । त्यसै हुनाले उनलाई पनि माइती पठाउने तरखर भयो । महामायाले सुसारे तथा परिचारकहरुका साथ माइती देवदहतर्फ प्रस्थान गरिन् । 

कपिलवस्तुमा ताम्रेश्वर महादेवको ठूलो र प्रसिद्ध मन्दिर थियो । महामायाले मनःकाङ्क्षा पूरा होस् भन्दै उनको दर्शन गरिन् । कपिलवस्तुबाट पूर्वलागे पछि डोलेहरु रुपन्देहि वनदेवीको थाननिर रहेको रमणीय उपवनमा पुगे । 

रानीले केही समय त्यस उपवनमा विश्राम गर्ने विचार गरिन् । डोलेहरुले डोली बिसाए । महामाया डोलीबाट ओर्लिन् । उपवनको मन्दमन्द हावाको आनन्द लिँदै उनी त्यहाँ विचरण गर्न थालिन् । 

उपवनमा घुम्दाघुम्दै महामायालाई अचानक प्रसूति व्यथा लाग्यो । उनको सुत्कैरी व्यथा कडा हुँदै गयो । रानी सकी नसकी घिस्रिदै पस्रिदैं त्यहीं नजिकैको एउटा शालवृक्षका फेदमा पुगिन् । बोट समाएर बल्ल बल्ल ठडिइन् । त्यसै वृक्षको एउटा शाखा समाएर उभिइन् । भित्र पेटीकोट लगाएका साथका सुसारेहरुले आआफ्ना धोती फरिया फुकाले । तिनलाई फैलाए–तन्काएर त्यस शालका रुखको वरिपरि छेको लगाइदिए ।

महिना वैशाख थियो । तिथि पूर्णिमा । दिन शुक्रवार । नक्षत्र विशाखा । राशि बृष । समय दिउँसो बाह्र बजे । 

एकछिनपछि महामायाले त्यसै शुभ मुहूर्तमा त्यहीं नै एउटा दिव्य बालकलाई जन्म दिइन् । महामायाको सपनाले त्यहीं साकार रुप पायो । 

त्यस शालवृक्ष नजिकै एउटा पुष्करिणी (पोखरी) थियो । देवतहरुले त्यसमा चिसो र तातो पानीको सुविधा उपलब्ध गराइदिए । नवजात शिशुलाई त्यहीं लगेर स्नान गराइयो । 

बालक जन्मेको त्यो रुपन्देहि ठाउलाईं लोकबोलीमा पछि रुम्मिनदेई लुम्मिनदेई हुँदै लुम्बिनी भन्न थालियो । अहिलेसम्म पनि त्यो क्षेत्र यसै नाउँले प्रसिद्ध छ । 

यसरी महामायाले कपिलवस्तुबाट देवदह जाने बीचबाटो रुपन्देहिमै सुत्केरी भएर छोरा पाए पछि अब उनको माइती जाने कुरा त्यहीं टुंगियो । बाटैमा जन्मिसकेको शिशुको आफ्नो दरबारमा संस्कार नगरी त्यसलाई माइतीमै लिएर जाने काम लोकमर्यादा विरुद्ध पनि हुन्थ्यो । त्यसैहुनाले महामाया रुपन्देही (लुम्बिनी) बाट कपिलवस्तुको तिलौराकोट दरबारमै फर्किन् । 

कपिलवस्तु आएर ताम्रेश्वरको मन्दिर देख्नासाथ उनले टाढैबाट ढोगिन्् । परिचारिकाहरुले मन्दिरको जातकलाई भूतप्रेत बोक्सी नलागोस् भनेर पुुजारीबाट भूतभावन ताम्रेश्वरको विभूत फुकाएर ल्याए । आमाछोरा दुवैलाई लगाइदिए ।

त्यसदिन राजकुमार र भविष्यकी राजमाता महामायालाई दरबार भिœयाउन पाउँदा कपिलवस्तुका निवासीहरुमा हर्षको सीमा थिएन । कपिलधामबाट पनि मंगलकामनाका लागि आचार्य र आश्रम सदस्यहरुको समूह तिलौराकोट दर्बारमा आयो । आचार्यको अगुवाइमा वैदिक स्वस्तिवाचन र मंगल श्लोकहरुको वाचन भयो । राजा शुद्धोदनले वर्धापन तथा शुभकामना दिन आउने प्रत्येक व्यक्तिहरुलाई स्तर तथा योग्यता अनुसारको उपहार पनिदिए । साझमा दरबार तथा नगरमा दीपावलि गरियो । 

राजा शुद्धोदनलाई रानी महामायामा शिशु जन्मेको छैठाँै दिन । भावीले नवजात शिशुको भाग्य कोर्ने दिन । त्यसदिन राती सुत्केरी कक्षमा अखण्डदीप प्रज्वलन गरियो । षष्ठिका देवीको पूजा–आजा सम्पन्न भयो । शुद्धोदनले सोमतीर्थबाट धुलौटो कोर्ने ज्यौतिषलाई बोलाइपठाएका थिए । राजाको आदेश पाएर काश्यपगोत्रका असित नाउँ भएका एकजना ज्योतिषी त्यहाँ आए । त्यसपछि उनले राजदरवारको पटांगिनीमा बसेर धुलौटो कोरे । उनले भने, ‘यो बालक भविष्यमा कि ठूलो राजा हुने छ कि महान् योगी ।’ 

यस संसारमा कसैलाई पनि सधैँ सुखै सुख र सधैँ दुःखै दुःख हुँदैन । पहिले त संसार नै परिवर्तनशील छ । प्रतिक्षण सर्ने हुनाले नै संसार भनिएको हो । एकै ठाउँमा एकैनास नरहने हुनाले नै यसलाई जगत्् भनिएको हो । निरन्तर गच्छति इति जगत्् । 

प्रकृति परिवर्तनशील छ । समय पनि परिवर्तनशील छ । दिन पक्षमा, पक्ष मासमा, मास ऋतुहरुमा र ऋतुहरु पनि वर्षमा परिवर्तित हुन्छन् । यहाँ पनि त्यस्तै भयो 

बीच बाटोमै जंगलमा सुत्केरी भएर फर्केकी महामामायाको स्वास्थ्य त्यसै पनि ठीक थिएन । नवजातको छोराको मुख देखेको हर्षका भरमा नै उनी जसरी तसरी दरबार आइपुगेकी हुन् । बिचरी दरबार आएपछि थलिइन् । सुत्केरी भएको सातौं दिनमै उनको परान गयो । 

दरवारमा रुवाबासी भयो । हिजोको अपार सुख आज यस्तो कठोर र दारुण दुःखमा परिवर्तित होला भन्ने कसैको कल्पनामा पनि थिएन । 

अकस्मात् यस्तो अकल्पनीय घटना भयो तिलौराकोट दरबारमा । दैवको लाठी शिरमा बज्रेपछि त्यसलाई सहनु सिवाय कुनै उपाय थिएन । जेठी दिदी महारानी महामाया सुत्केरी भएर दरबार पसेदेखि नै उनको सेवा–शुश्रूषा कान्छी रानी गौतमीले नै गरेकी थिइन् । 

शिशुको न्वारनको समय आयो । कपिलधामबाट ऋत्विक् पुरोहितहरु आए । वैदिकविधि अनुसार पिता राजा शुद्धोदनले छोराको नामकरण गरे । भविष्यमा यो बालक आफ्नो उद्देश्यमा सफल होस् भनेर जातकको नाउँ राखियो सिद्धार्थ । सूर्यलाई संस्कृतमा अर्कपनि भन्छन् । त्यसैगरी यो बालक आफ्नो सूर्यवंशको गरिमा धान्ने बनोस् भनेर उसलाई अर्को नाउँ दिइयो, अर्कबन्धु ।

उतिबेला आफ्नो प्राण जाने बेलामा महामायाले ‘मारे पाप पाले पुण्य’ भन्दै आफ्ना छेउमा सुतेको छोराको शरीरमा बहिनी रानी गौतमीको हात राखिदिएकी थिइन् । त्यसै बेलादेखि नवजात शिशुको स्याहार सुसार तिनै कान्छी रानी गौतमीले गरिन् । सिद्धार्थ महामायाका छोरा हुन् भन्ने कुरालाई राजदरबारले गोप्य राख्यो । सबैले उनलाई गौतमीपुत्र भनेर नै  गौतम भन्न थाले । यतिमात्र होइन, सिद्धार्थ गौतमको जन्मले नै उनी प्रजा अर्थात् सन्तानवती भएकीले गौतमीको नाउँमा प्रजावती विशेषण थपियो ।

ईश्वरको करुणा ¤ यसैबीच प्रजावती गौतमी आफै पनि गर्भवती भइन् । उनले पनि समय पुग्दा छोरा पाइन् । अर्को पुत्र जन्मोत्सव मनाइयो शुद्धोदन दरवारमा । छैठौं दिन छैंठी र एघारौं दिन न्वारन भयो कुमारको । राजाले छोराको नाउँ नन्द राखे । 

(विष्णुराज आत्रेय नेपाली, संस्कृत तथा अवधी भाषाका साहित्यकार हुनुहुन्छ । उहाँको पौराणिक, ऐतिहासिक तथा बौद्ध वाङ्मयको पृष्ठभूमिमा लेखिएको ‘कपिलधाम’ उपन्यास हिमालय टाइम्सले प्रत्येक शनिबार शृंखलाबद्ध रूपमा प्रकाशन गर्दैछ ।)


Views: 37