17th December | 2018 | Monday | 2:21:29 AM

आभीर

शीतल गिरी   POSTED ON : Saturday, 06 October, 2018 (4:23:23 PM)

आभीर

प्रलयको पानी बागमती नदी तटमा बसेको सुखपुर (देवालय) सम्म पुगेको थिएन तर केही मानिस मरे, कतिपयले गाउँ छोडेर गए । सुखपुर जसलाई देवपतन पनि भनिन्थ्यो, धेरै समय उजाड र विरान रहन गयो । विक्रमपूर्व करिब ४६०० मा आएको प्रलयकारी ठूलो भूँइचालोले बागमती नदीको निकासद्वार चोभार थुनिनाले कालीमाटी, थापाथली, मैतिदेवीजस्ता होचा भूभागमा १५ फिटभन्दा बढी पानी जम्न गयो । सम्पूर्ण व्यवस्था छिन्नभिन्न भयो । उपत्यकावासीले निकै कष्टमा परे ।  

यसपछि आर्यावर्तको सरस्वती, यमुना नदीमा माछा मार्ने, डुंगा खियाउने जाति नेपाल उपत्यकामा पुगेको तर्फ नेपालको प्राचीन इतिहास केलाउने विद्वानहरूको ध्यान पुग्न सकेको पाइँदैन । नेपालको प्राचीन कला संस्कृति र इतिहासको अनुसन्धान र अन्वेषण गर्ने हो भने प्राचीन वैदिक साहित्य र नेपालमा बसोवास गर्ने जनजातिका रहनसहन रीति रिवाजसहितको इतिहासतर्फ आकर्षित हुनुपर्छ । 

जुन जातिको पेशा मानवजातिको हृदयको स्पन्दन बनिरहन्छ, त्यो जाति लोप हुँदैन । असमर्थको आसय हो नेतृत्व लिन नसक्नु । आभीरले चाहेन मानौं, समूहको साथमा रहन चाहृयो । सत्ताको नजिकका सँग पनि र सत्ताबाहिरका सँग पनि । यिनीहरूको त्यस्तो कुनै बेग्लै सोच चिन्तन पाइँदैन । त्यसले सबैलाई डो¥याउन सकेन । सबै जाति आआफ्नो मार्गमा हिँडेका थिए । 

प्रत्येक व्यक्ति एक्लै हो । एक्लै हिँड्न गाह्रो लाग्छ, तर के गर्ने ? समय र परिस्थितिले डो¥याउँछ । बाटो प्रत्येकको आआफ्नै हुन्छ र हिँड्नुपर्छ । एउटा धर्म वा अर्को धर्म, यो मत वा पृथक मत । विचित्रजस्तो लाग्दछ कि जातिहरू हिजो अस्तित्वमा थिए, लोप भए र आज खोजी गरिँदैछ । लाग्दछ त्यो जाति पक्कै भाग्यशाली हो जसको अस्तित्व खोज्नलायकको हुन्छ । 

हिजो जुन जातिको जीवन जसरी चलेको थियो, त्यस्तै किसिमबाट खोजी गरिनुपर्छ । बागमती नदीको निकासद्वार थुनिनाले नेपाल उपत्यका ठूलो दहको रूपमा रहँदा बस्तीहरू अग्लो भूभागतर्फ सरे । मानव बस्ती र विकास आफ्नै ढंगको हुन्छ । इसाको १४औं शताब्दीमा संकलित प्राचीन नेपालको इतिहासले औंल्याएको गोपाल वंश महिष्मतीको किनारमा बसोवास गर्ने यादव होइनन् । गोपाल वंशावलीले त श्रीकृष्णको साथमा द्वारिकाबाट आएका गोपाल उपत्यकाको पदमकाष्ठगिरि अर्थात् कीर्तिपुरमा आएर बसेका थिए, भनिएको छ । लोकोक्तिमा नगन्य अंश भनेपनि सत्य लुकेको हुन्छ, त्यही सत्यको पहिचान गर्नुपर्छ । लोकोक्तिलाई सामान्य अर्थमा लिएर खोजी नगरेका कारणले नेपालको प्रागइतिहास भ्रामक छ ।

महिष्मतीको किनारमा बसोवास गर्ने यादव गोत्र नै नेपाल भित्रिएका गोपाल हुन् । गोपालले वाणासुरको बध गरी चोभारकोे डाँडो काटी उपत्यकालाई जलमुक्त बनाए । आभीर जाति महाभारतमा वर्णन गरिएको सरस्वती नदीको किनारमा गाईभंैसी पाली बस्ने ग्वाला जातिका गण नै हुन् । यसका लागि प्रमाणको अभाव रहे पनि सांकेत यही छ ।

सही तिथि मिति पत्ता लगाउन नसके पनि आभीरहरू लिच्छविकाल (लगभग विसं ३००) मा उत्तर पश्चिमतर्फबाट नेपाल भित्रिएका हुन् । यिनीहरू बसाइँ सर्दै कीर्तिपुर, थानकोट, किसिपिडी, बलम्बु, टिस्टुङ, पालुङ, कुन्छाल, टौखेल, चित्लाङ आदि पहाडी क्षेत्र, नेपालको दक्षिणपूर्वी भेग र उत्तरी भारततर्फ फैलिए । प्राचीन आभीर गणका मानिस अहिले ग्वार, अहिर, राउत, ग्वाला, गोपाली आदिका रूपमा पाइन्छन् । सकभर राजाको सैन्यबाट परपर रअन चाहने सोझा, गाईभैंसी पालेर जीवीका चलाउने सरल स्वभावका हुन्छन् आभीरहरू । प्रकृतिमा रम्न चाहने सरल स्वभावका जातिको हृदयमा कुनै किसिमको छलकपट हुँदैन । उनीहरू समूहमा प्रसन्नतापूर्वक रमाउँदछन् । 

इतिहासकार डा. श्रीरामप्रसाद उपाध्यायले सिमरौनगढ र जनकपुर बीचमा रहेको भूभागबाट आएका भैसी पाल्ने वंशका राजपूत नै आभीर हुन् भनी लेखेका छन् । नेपालको इतिहासमा आभीर उल्लेखको समयसम्म हिन्दू (आर्य) जातिमा राजपूतको अस्तित्वसम्म पनि थिएन । सिम्रौनगढ र जनकपुरबीचको क्षेत्र रौतहट र सर्लाही (बागमती नदीको किनार) मा यादव गोत्रका बज्जिहरूको संघ राज्य थियो । यस कुरालाई आज खोजी गरिँदैछ । भित्री मधेश क्षेत्रमा कोल, द्रविडको पनि स्वतन्त्र संघ राज्य थियो । यसर्थ भैंसी चराउने वंशका राजपूतको अस्तित्व स्वीकार्न सकिँदैन । गोपाल वंशावली हेर्ने हो भने गोपाल महिषपाललाई जितेर किरातले राज्य गरे भनेर लेखिएको छ । यहाँनिर आभीर खोइ ? 

भेडापाल, महिषपाल, माछामार, गोपाल, किरातको एकआपसको कुटुम्बेरी सम्बन्धले नयाँ जाति बन्यो– नेवार । प्रसंग हो आभीरतर्फ । म आभीरहरूकै बीच रम्न चाहन्छु । समयलाई पछ्याउनेले वास्तविकता हात पार्छ । अवास्तविक कहिल्यै टिक्दैन । उपत्यका वरपर बस्ने आभीरहरू नेवार सङ्गठनभित्र गाँसिन पुगे । संक्षेपमा आभीरहरूको अर्थ हो अहिर । नेपाल तराईको मध्यदेखि पूर्वी छोरसम्म दूध, दही बेच्ने गाईभैंसी पाल्ने विख्यात ग्वाला जाति, अहिरबाट अहिले यादव लेख्न थालेका छन् । यो परिवर्तन हो । 

आफ्नो जातीय इतिहास र संस्कृतिलाई सकभर निर्मल बनाउन सकियो भने आत्मकैवल्य प्राप्त गर्न सकिन्छ । आभीर जाति थियो । नेपालको इतिहासले सम्झिराख्छ यस जातिलाई । आभीरका बिज अझ पनि नेपालमै छन् । यो स्वस्थ स्वच्छ मनोभावको द्योतक हो । शायद, आभीर अहिरबाट यादव बनेको हुँदा गाथा गाउन बिर्सेको हुनुपर्छ । सरस्वती नदी किनारका आभीर (अहिर) गण किन बसाइँ सरे इतिहास मौन छ । आभीर जातिले शासन हेतु कुनै लडाइँ गरेको भए कतै न कतै उल्लेख हुन्थ्यो नै । अरू कुरो त सब ठीकै छ, धेरै स्निग्ध धेरै व्यवस्थित छ यो जाति । जातिको पहिचान यस्तै व्यवस्थित आदर्शले चिनाएको हुन्छ । व्यवहार मिस्रीजस्तो मीठो हुनुपर्छ । जब कि जातिबीच वृत्तिमा संशय र अविश्वास हुनु हुँदैन । आफ्नो अनुकूल प्रमाण तोडमोड गर्ने हो भने लोप हुन्छ । महाकाव्य कालीन आभीर जाति, सम्पन्न थिए । 

महाकाव्य कालमा यसको आफ्नो नाम थियो । संहारको संकेत पाइँदैन तर पनि आज अप्राप्त छ । सत्य सधैँ चहकिलोरूपमा भेटिँदैन । 

सत्य खरानीमुनि रहेको झरिला कोइलाका रूपमा पाइन्छ । आवश्यकताभन्दा बढी चनाखो हुनु पनि राम्रो होइन । निश्चिन्तको गहिरो निद्रा राम्रो होइन । इतिहासमा आभीरका निराश मुहार पाउँदा यिनीहरू निर्दोष हुन् भन्न सकिन्छ । इतिहासको गुणगान गाएर तृप्ति प्राप्त गर्नु कायरता हो । कायरहरूको वर्तमान सुखदायी बन्न सक्दैन, यो यथार्थ खेदपूर्वक व्यक्त गर्नैपर्ने हुन्छ । प्राचीन सरस्वती किनारका आभीर जातिको खोजी गर्ने कसी काठमाडौं वरपर छ । इतिहासका किताब लेखिएका छन्, ठीक छ तर काठमाडौं वरपरको कसीमा आभीरसम्बन्धी लेखिएको खरो पाइएको छैन भने के गर्ने ?

आभीरबाट अहिर बनेको जग जाहेर छ । ग्वार, राउत पनि ग्वालालाई भनिन्छ । ग्वार या अहिरको पेशा हो गाईभंैसी पालनपोषण । नेपालको इतिहासमा आभीरहरूको उल्लेख छ तर यिनीहरूको राज्य संस्थामा पकड नभएका कारण कुनै पनि वंशावलीमा उचित स्थान पाउन सकेनन् । समयको धूलोको पत्रले आभीरलाई छोपिदियो । 

सहज किसिमबाट अथ्र्याउन मिल्ने कुनै प्रमाण अझसम्म देखिएन । इतिहासमा वर्णन गर्न नभ्याएको प्रत्येक जाति समाप्त हुन्छ भन्न मिल्दैन । गोपालहरूले, प्रलयको निकास थुनिनाले दहको रूपमा परिणत भएको नेपाल उपत्यकालाई पानीमुक्त बनाएजस्तो कुनै चमत्कार आभीरहरूले देखाएनन् । प्राचीन गोत्र (आभीर, अहिर, राउत, ग्वार) टिकाइराखे तापनि जातीय गौरव बढाउन सकेनन् । पुरुषार्थको सम्बन्ध मनोभावसँग रहन्छ ।

आत्मबलविना पुरुषार्थ हुँदैन र जहाँ दम्भ हुन्छ त्यहाँ पुरुषार्थको बिजारोपण भएकै हुन्छ । इतिहासमा वीर कहलाएका थुप्रै जाति आज हामीबीच छैनन् । फलामलाई फलामले काटेझैँ, वीर जाति प्रारम्भमा अरू वीरको समूल नष्ट गर्न सफल बने पनि पछि, अर्को महावीरले संहार गरेरै छाडे । इतिहासमा राज्य बन्नु र नासिनु सामान्य लाग्छ । राज्य बन्नु नियमित आकस्मिकता ठानिन्छ । राज्य नासिनकै लागि बनेको झैँ भान हुन्छ । समृद्ध राज्य हेर्दाहेर्दै टुक्रा टुक्रामा परिणत भएको पाइएको छ । राज्य सञ्चालकहरू प्रायः शिष्ट, सभ्य र कुलीन हुन्छन् भन्ने गरिएको छ । 

तब पनि किन पतन हुन्छ राज्य ? जातिको गौरव मर्यादित संस्कारले बढ्छ । व्यक्तिले कर्तव्य पालन गर्नुपर्छ, अनुशासित बन्नुपर्छ, निश्चित परम्परा पालन गर्दा जाति मर्यादित बन्न पुग्छ । जातिप्रति प्रत्येक सदस्य आत्मदान गर्न तत्पर रहन्छ भने, इतिहासबाट त्यो जाति लोप हुँदैन । इतिहास र वर्तमानको यही भिन्नता हो र यसैले समाजलाई ऊर्जा दिने गर्छ । यो कति वीभत्स र कुरूप थियो इतिहासले बताउँछ । इतिहासबाट प्रत्येक व्यक्तिले पाठ पढ्छ । 

ती दिनमा मानदेव प्रथमले विसं ५२२ मा चाँगुनारायणको मन्दिरमा पूजा गरेर मानगृह र अंशुवर्माले कैलाशकुट भवन बनाउँदा काठमाडौं वरपर गाईभैंसी चराएर बस्ने सोझा ग्वाला आभीरहरूलाई बेगारी लगाएको अनुमान सहजै लगाउन सकिन्छ । लिच्छविकालका प्रसिद्ध मन्दिर, शीलाखण्ड, मूर्ति, महल निर्माण गर्दा कुन जाति बेगारीमा खट्यो ।

बलामी एक थर उपत्यका वरिपरि पाइन्छ । मन्दिर र महलमा वेगारी खट्दा बलो बनाउने (काष्ट निर्माण कला) मा पारंगत भएका आभीरहरू नै कालान्तरमा बलामी थरले प्रसिद्ध भए । नयाँनयाँ किसिमका मूर्ति कुँध्ने≤ महल, मन्दिर र घर बनाउने आभीर विस्तारै नेवारमा परिणत भए । आभीर परिश्रम गर्न नडराउने र लगनसाथ सीप सिक्ने तर आफ्नो रीतिरिवाज छाड्न नचाहने थिए । अहिले पनि उपत्यका वरपरका डाँडोमा अवस्थित आभीर (गोपाली, बलामी, ग्वाला आदि) हरूको गाउँमा कलात्मक धारा, मूर्ति, घरको भ्mयाल, ढोका देख्न पाइन्छ । ‘जो होचो उसैको मुखमा घोचो’, भने झै अत्यधिक बेगारी लगाउन थालेपछि आभीरहरू तराईमा झरे र पूर्वदक्षिणतर्फ बढे । आभीर बसाइँ सर्नुको कारण खोजिँदै छ । 

फरक भूगोलमा बसेकाहरूप्रति आज विश्वासको संकट मडारिँदैछ । आभीरहरू पहाडी भूगोलबाट आएको कुरामा कतिपयलाई अझै शंका छ । जातबीचको सहमिलनले समाजमा शिष्टाचार भिœयाउँछ । मानव जीवन, नैतिक र औपचारिक दबाबका कारण, अति चाहनाले विकृति ल्याउँछ यो विस्मयको कुरो होइन ।

आभीर मूलतः ग्वाला जाति हुन् । तराईमा पनि यिनी नदीमा बाँध बाँधी कुलो खनी खेती गर्नतिर लागेनन् । पशुपालनको पुर्खौली पेशा थामे । बढी घाँस, पशुलाई पानी र चरनको सुविधा ठूला नदीको छेउछाउ हुने हुँदा लालबकैयादेखि पूर्वतर्फका ठूला नदी किनारमा यस जातिको बसोवास पर्याप्त मात्रामा अझ पनि छ । प्रकृतिमा रमेका जातिका बारेमा शालीनतापूर्वक अध्ययन गरिनुपर्छ । यस काममा लागेका इमानदार बन्नैपर्ने हुन्छ ।

 




Views: 53