17th December | 2018 | Monday | 2:38:45 AM

चियाको कपमा आँधी

कालिदासबहादुर राउत क्षत्री   POSTED ON : Tuesday, 09 October, 2018 (2:24:21 PM)

चियाको कपमा आँधी

प्रायोजितरूपमा नेपथ्यबाट सञ्चालित केही मानिस पार्टीमा प्रवेश हुँदाहुँदै स्वघोषित जन्मजात नेतामा ठडिएको जगजारहेर छ । जन्मजात महाराजाजस्ता भएका छन् उनीहरू । सूर्यास्त हुने बेलामा अन्धकार भएझैँ पतन हुने बेलामा विनाशकाले विपरीत बुद्धि हुन्छ भन्छन् । नेकपा सदस्य माधव नेपालको बदनियतको चर्चा यो हप्ता व्यक्ति व्यक्तिमा चल्यो र माधव समूहलाई पार्टी विरोधीको तहमा विश्लेषण गरियो । 

जो जुन पंक्तिको हुन्छ उसले त्यसै पंक्तिको नेतृत्व गरेको हुन्छ । सरकारविरुद्ध सत्ताले गुप्तचर सञ्जाल परिचालित गरिरहेको छ भन्ने बुझिन्छ । यसैलाई सघाउ पुग्ने ढंगबाट माधव समूह प्रयुक्त टिप्पणी हुने गरेको छ । माधव समूहले पार्टी एकतामा आलटाल गरी हस्ताक्षर नगरेका घटनाले पार्टी पंक्तिभित्र आशंका जन्मिएको छ । 

संसद्मा माधवको गीत भजन सुनेर मुख्य प्रतिपक्षीले समेत हाम्रो काम हाम्रै खेतालाले गरिदिए भनेर मुक्तकण्ठले प्रशंसा गरेको सबैले सुनेकै हुन् । पराइलाई रिझाउने कविता पाठले नपुगेर आफ्ना मतियारलाई भेला पारेर गुलियो खुवाए, अब देशव्यापी जागरण विरोध प्रदर्शन गर्ने भनेका छन् । विरोध प्रदर्शनका जन्ती विपक्षी र गुप्तचर सञ्जालका कार्यकर्ता रहलान् भन्ने अन्दाज गर्न सकिन्छ । बिहानीपख जसको छायाँ पनि भीमकाय देखिन्छ, जब १२ बज्छ त्यतिबेला आफ्नो छायाँ आफैँले कुल्चिन्छ । 

पञ्चायती व्यवस्था अन्त्य भइसकेपछि पञ्च समेत जुन व्यवस्थाले हामीलाई उच्च बनायो त्यसको विरोधमा जानु आत्महत्या हो भनेर छेउ लागेका थिए । त्यस्तै मामुली मानिसलाई पार्टीले उचालेर अग्ल्यायो, सम्पन्न बनायो त्यही पार्टीको विरुद्धमा लाग्नु आत्महत्या हो । यो समूहको विरोधको लय चियाकपमा आएको आँधीजस्तै हो ।

कमिटिले निर्णय लिन सकेन त्यसैले अध्यक्षद्वयले सहमति गर्दामात्र टुगिन्छ भनेर निर्णय गर्नेमध्येका एक पात्रले आममतदाताबीच भ्रम फिजाउनुमा बदनियत देखिन्छ । अध्यक्ष ओलीले कविजी भनेर माधवलाई नयाँ दर्जा एयरपोर्टमै दिए । अर्का अध्यक्ष प्रचण्डले पनि माधवजीले संसद्मा पार्टी नेतृत्वको सरकारको कार्यशैलीबारे असन्तुष्टि पोखेर ठीक गरेनन् भने । हतारमा प्रदेश नेतृत्वको निर्णय गरिहालौं भन्ने उद्देश्यले सचिवालय बैठक बसेको थिएन तर सचिवालयकै साथीले एकतामा धेरै ढिलाइ भइसक्यो, तपार्इंहरूले अहिल्यै प्रस्ताव ल्याउनुपर्छ, दुई अध्यक्ष छुट्टै बसेर सल्लाह गर्नुस् भन्दै नामावली ल्याउन धेरै प्रेसर गरे । 

त्यसपछि करिब दुईघण्टा गृहकार्य गरेर नाम प्रस्ताव गरेको नेताहरूको भनाइ छ । सबैले सहमति जनाएका कारण बैठकबाट निर्णय भएको हो । दुईजना अध्यक्षले मात्र गरौं भनेर त्यो निर्णय भएको होइन । संयोगवस माधव नेपाल नभएको समय परेकाले त्यस्तो भएको हो नियोजितरूपमै गरिएको हो कि भन्ने परेको हुनसक्छ भनेका छन् । पार्टी एकता विरोधीलाई परास्त गरिछाडने प्रण प्रचण्डले गरेका छन् ।

मित्रबाट बँचियो भने बैरीसँग लडौंला भन्ने उक्ति छ । नेकपाभित्रका गुटउपगुट दर्जनांै आफ्नै मित्र पंक्तिबीच निर्ममतापूर्वक द्वन्द्व चलिरहँदा संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागितापछि कोस्टारिकामा मानार्थ डक्टरेटको उपाधि लिएर स्वदेश फर्कने क्रममा एयरपोर्टमै प्रधनमन्त्री ओलीले स्मरणीय उद्घोष गरे, ‘यो सरकार ५ वर्ष चल्छ, पाँच वर्षमा चुनाव गराउँछ ।’ 

यतिबेला कतियले विषय र मुद्दा नभएको हल्ला फिँजाएर राजनीति त्यतै कुदाउन खोजेका छन् । अस्थायी कुरा गरेर एउटा पात हावाले हल्लायो भनेर त्यसकै पछाडि कुद्नु राजनीति होइन । बजेटपछि दुई महिनामात्र काम भएको बजेट निकासा भएर कामसमेत गर्न नपाइसकेको अवस्थामा सरकारले काम गरेन भन्नु कसैलाई गाली गरेर सन्तुष्ट भएर बस्ने प्रवृत्तिमात्र भएको टिप्पणी गरे । 

भ्रष्टाचारले देश कहालीलाग्दो भइरहेको परिप्रेक्ष्यमा प्रधानमन्त्री कार्यालयले कर्मचारीले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भनेर दैनिक सपथ लिनुपर्ने नयाँ व्यवस्था गरेको छ । सपथका साथै यही व्यहोराको साइनबोर्ड प्रत्येक सरकारी कार्यालयमा अनिवार्य टाँस्नुपर्नेछ । प्रत्यक्ष अप्रत्यक्ष भ्रष्टाचारले सताब्दियांैदेखि मुलुकलाई गाँजीरहेको अवस्था छ । सरकारले भ्रष्टाचारी तस्कर हत्यारालाई कानुनको दायरामा ल्याउँछ तर सत्ता (अदालत लगायतका संगठन) ले प्रमाण पुगेन भनेर घुस खाएर भ्रष्टाचार गरेर फूलमाला लगाएर रिहा गरिदिन्छ, यस्तो अवस्थाले देशलाई घेराबन्दी गरेको छ ।

प्रचण्डले आफ्नो राजनीतिक जीवनमा मुख्यतः तीन गल्ती गरे, जसमा गिरिजालाई राष्ट्रपति बन्न दिएनन्, सेनापति र पशुपतिनाथलाई बिच्क्याए । यी कारणले मैले हैसियत गुमाएँ भन्ने उनको निष्कर्ष छ । अब अर्को गल्ती गर्दिनँ त्यसमा पनि ओलीलाई चिढ्याएर म खरानी बन्न चाहन्नँ भनेर प्रण गरेको देखिन्छ । 

नेकपा साबिकको एमाले र माओवादी भन्नेमा सीमित छैन तर दर्जनांै गुट उपगुटमा विभाजित छ । एकले अर्कालाई पतन गराउने चलखेलमा अभ्यासरत छन् । माओवादी पतनको मुख्य कारण गुटबन्दी नै थियो । पतन भइरहेको माओवादी एमालेको बुई चढेर नेकपामा समाहित भइसकेपछि पहिलेदेखि गुटबन्दीमा निपूर्ण भइसकेका तत्कालीन एमालेका स्वनामधन्यसँगै गाउँगाउँमा समेत देखिँदै गरेको गुटबन्दीका कारण बन्न गएको प्रतिकूल स्थितिमा पार्टी विघटन नगर्लान् भन्न सकिन्न । प्रचण्डले पहिले नै भनेका थिए, विघटन गर्न म अभ्यस्त भइसकेको छु ।

आगामी दुई वर्षमा नेकपाको महाधिवेशन गर्ने निर्णय भइसकेको छ । महाधिवेशनमा अध्यक्षका आकांक्षी सबै गुटका नाइके चुनाव लड्ने मनस्थितिमा छन् । मुख्यतः वर्तमान अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल उम्मेदवार होलान् । त्यसमा पनि ओलीले दोहो¥याउने पक्कै छ । करौँती उम्मेदवारका रूपमा नाम चलेकै केही नेता उम्मेदवार हुनसक्छन् । 

विजयादशमी दिपावलीको संघारमा नेपाली समाज छ । दशँैतिहार छठ मनाइसकेपछि देशमा अशान्ति मच्चाउने, आन्दोलन गर्ने गृहकार्य भइरहेको बुझिएको छ । सर्वप्रथमतः सरकारलाई घेराबन्दी गर्ने, असफल तुल्याउने र त्यसका लागि पार्टीमा अन्तरसंघर्ष चर्काउने, फुट ल्याउने, टुक्र्याउने कोसिस नेपथ्यबाट भइरहेको बुझिन्छ । तदनुरूपका पात्र सतहमै देखिएका छन् । पार्टी कमजोर भयो भने लोकतन्त्र पनि कमजोर हुन्छ । पार्टी छताछूल्ल भइरहेकाबेला साम्प्रदायिक नारा उराल्ने, सिके राउतका विखण्डनकारी मधेसी नारा चर्काउनेवाला छन् । जनजातिको आन्दोलन पनि हुनसक्छ । 

पतनोन्मुख राप्रपालाई हिन्दू नाराले अलिकति उकास्यो र कमल थापाले मन्त्रीको पगरी पटकपटक गुथे । कांग्रेसलाई हिन्दूराष्ट्रको नारा रणनीतिक अस्त्रका रूपमा लाभदायी हुनसक्छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले ८० प्रतिशत हिन्दू भएको देश हिन्दू राष्ट्र हुनुपर्छ भनेका छन् । धर्म निरपेक्षतालाई जनमत संग्रहबाट टुङ्याउनुपर्छ भनेका छन् । कम्युनिस्टले धर्म शून्यताको कुरा गर्छन् तर कांग्रेसले धार्मिक स्वतन्त्रता भन्दै आएको छ भन्दै आएका छन् । 

सत्ताका कारण नेपाली जनताले न्याय पाउन नसकिरहेको परिदृश्यमा बलात्कार हत्या बढिरहेको स्थितिमा राजधानीलगायतका क्षेत्रमा सत्ताको खिलापमा विरोध प्रदर्शन भइरहेका छन् । यतिसम्म कि गृहमन्त्री, आइजिपीको राजीनामाको माग भएको छ । प्रत्यक्षदर्शीले निर्मला पन्तको हत्याकाण्डका सम्पूर्ण प्रमाण नष्ट पार्नेहरू शतप्रतिशत अपराधी हुन् । तिनलाई कानुनको दायरामा नल्याउनेन्जेल देशमा विरोधजन्य हर्कत जारी रहन्छन् भन्ने सबैलाई विश्वास छ । 

हत्या गरेको तीन महिना व्यतित भइरहँदासमेत अपराधी पत्ता लागेन भनेर टार्नु पुच्छरले कुकुरको टाउको हल्लाएजस्तै भएको छ । नेपालमा अवला एक युवतीको बलात्कार र हत्या देखादेख हुँदा समाजवाद उन्मुख सरकारले न्याय दिननसक्नु विडम्बनायुक्त छ । 

नर्वेको राजधानी ओस्लोमा बलात्कार विरोधी अभियन्तालाई नोबेल पुरस्कार घोषणा गरिएको छ । नेपालमा भने उल्टो हुन्छ । सन् २०१८ मा नोबेल शान्ति पुरस्कारका लागि विभिन्न व्यक्ति तथा संस्था गरी ३२१ सिफारिसमा परेका थिए । 

आगामी डिसेम्बरमा ओस्लोमा पुरस्कार प्रदान गरिँदैछ । सन् २०१४ को नोभेम्बरमा इस्लामिक स्टेट लडाकुहरूले आफ्नो गाउँमा आक्रामण गर्दा मुराद २१ वर्षकी थिइन् । यिनी इराकको उत्तरी गाउँमा हुर्केकी हुन् । आक्रमणपछि आइएस विद्रोहीले मुस्लिम बन्न इन्कार गर्नेहरूको ज्यान लिने गर्थे । मुरादका ६ दाजुभाइ र आमालाई विद्रोहीले मारेका थिए । 

मुरादसँगै तीन हजार जियादी महिलालाई इस्लामिक स्टेटले बन्धक बनाएको थियो । आइएस लडाकुले पैसाका लागि उनीहरूलाई जबर्जस्ती विभिन्न यौन क्रियाकलापमा संलग्न गराउने गर्थे । उनीहरूले बलात्कार तथा अन्य दुव्र्यवहार सहनुको कुनै विकल्प थिएन । उनीहरूमाथिको दुव्र्यवहार संगठितरूपमै सैन्य रणनीतिअन्तर्गत गरिएको थियो । मुराद मोसुल सहरको एक सुन्नी मुसलमान परिवारको सहयोगले भाग्न सफल भएकी हुन् ।

डा. मुक्बेगले कंगोमा बलात्कार तथा यौन हिंसाबाट पीडित महिलाको उपचारका लागि दुई दशक बिताउँदा तीस हजार पीडित महिलाको उपचार गरेका छन् । जसका कारण दुवै नोबेल पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपालमा भने इराक तथा कंगोमाजस्तै बलात्कार हत्या र भ्रष्टाचार हुन थालेको छ । समानता र न्यायविनाको समृद्धि वास्तविक समृद्धि हुनै सक्दैन । अहिले समृद्धिमा जोड दिऊ त्यसपछि समानताका लागि बल गरौंला भनेर हुँदैन ।

समाजको पिँधमा रहेका, राज्यको नीतिद्वारा नै सीमान्तकृत बनाइएका समूह, वर्ग, जाति, समुदायलाई कसरी माथि उठाउने भन्ने नसोची गरिएको समृद्धिले समाजमा रहेको विभेदलाई झनै गहिरो बनाउँछ । यस्तो विकासले केही दशकमा सत्ता र शक्तिसँग पहुँच हुनेहरू बलिया र पहुँचबाहिर रहेका झनै सीमान्तकृत हुने अवस्था छ । यसले देशमा स्थिर शान्ति नल्याउने वास्तविक हो । त्यसमा पनि गुप्तचर संगठन सञ्जालको शासन शासकीय दलले अहंकारपूर्वक चलाइरहेको अनुभूत भइरहेछ । मानवअधिकार आयोगले नेपालमा कानुनी शासन छैन, भ्रष्ट जमातको शासन छ भनेको छ । 


Views: 55