16th December | 2018 | Sunday | 10:46:06 PM

दशैँको परम्परा र सान्दर्भिकता

विनोद दाहाल   POSTED ON : Wednesday, 10 October, 2018 (3:30:18 PM)

दशैँको परम्परा र सान्दर्भिकता

नेपालीहरूको महान पर्व दशैँ वास्तवमा एउटा प्रतीकात्मक चाड हो । आसुरी शक्तिमाथि दैवी शक्तिले विजय पाएको हुँदा त्यसैको सम्झनाको निरन्तरतामा यो पर्व मनाउँदै आइएको छ । 

दशैँसँग सान्दर्भिक दुईवटा पौराणिक प्रसंग जोडिन्छन् । पहिलो प्रसंगअनुसार महिषासुर नामको दानवले अत्याचार गरी सबैलाई दुःख दिने गर्दथ्यो । शक्तिकी अधिष्ठात्री देवीले उसको बध गरेकाले उनै देवीको स्तुति र आराधना गरी दशैँ मनाउन थालिएको कंवदन्ती रहँदै आएको छ । भने अर्कातिर त्रेता युगमा भगवान रामले लंकाका राजा रावणलाई मारेको हुँदा त्यो खुसियालीमा विजया दशमी मनाउने गरिएको हो भन्ने गरिन्छ । वास्तवमा रावण राक्षस कुलको थिएन, ऊ ब्राहृमण कुलका ऋषि पुलस्यको नाति थियो । आचरणले ऊ राक्षस देखा प¥यो र रामकी पत्नी सीता हरणगर्न पुग्यो । त्यसैले ऊ मारियो । कोही मारिनु राम्रो होइन तर कुनै खलपात्र मारिनु राम्रो मान्ने गरिएको छ । 

नेपालमा यो विषयमा राजनीति गर्नेहरूले अनावश्यक व्याख्या गरी आफूले आफैँलाई असुर मानेर दशैँ बहिष्कार गर्ने गरेका पनि छन् । देवत्व र दानवत्व भनेको वास्तवमा प्रवृत्ति हो, जात होइन । 

दशैँमा शक्तिदातृ देवीको स्तुति गरेर शक्ति र सुरक्षाको पुकारा गरिन्छ । घटस्थापनादेखि नवमीसम्मका नौ रात देवी आफ्ना नौ रूप लिएर प्रकट हुन्छन् भन्ने मान्यता राखिन्छ । उनी क्रमशः शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीका रूपमा प्रकट हुन्छिन् । 

यो पर्वमा ठूलाबडाबाट सानाले आशिष लिने गर्छन् । आशिष बच्चा, महिला तथा अन्यका लागि सामान्यतया फरकफरक छन् । तर, सबैका लागि र बढीजसोले भन्ने गरेको मन्त्र यस्तो छ ः 

आयु द्रोणसूते श्रीयं दशरथे शत्रुक्षयं राघवे 

ऐश्वर्यं नहुसे गतिश्च पवने मानं च दुर्योधने 

दानं सूर्यसूते बलं हलधरे सत्यञ्चः कुन्तीसूते सज्ञानं विदुरे भवौति भवताद् कीर्तिश्चः नारायणे ।।

यसको नेपाली अर्थ यस्तो हुनछ ः द्रोणचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, दशरथकाजस्ता छोरा हुन्, राघव वा रामका जसरी शत्रु नास हुन्, राजा नहुसको जस्तो धन सम्पत्ति होस्, वायु वा हावाको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, सूर्यका छोरा (कर्ण) जस्तो दानवीर हुनू, हलधर (बलराम) को जस्तो बल होस्, कुन्तीका छोरा (युधिष्ठिर) जस्तो सत्यवादी बन्नू, विदुरजस्तो ज्ञानी हुनू र यही रीतले नारायणको जस्तो कीर्ति फैलियोस् । 

यसरी यो स्तोत्रमा धेरै आशिष परिसकेको हुँदा यति भनेपछि फेरि अरू आशिष दिइरहनु आवश्यक छैन । तर, हाम्रो समाजमा एकातिर यति भनिसकेर अरू थप आशीर्वादका तुक्काहरू जोड्ने गरिन्छ भने अर्कातिर यो संस्कृतको सुक्तिलाई अशुद्ध उच्चारण गरी विकृत बनाइने गरेको पाइन्छ । गलत उच्चारण गरेर दिएको आशिष प्राप्त हुने त कुरै भएन यसले झन् हानी गर्छ । त्यसैले म पढ्न जान्दछु भन्नका लागि मात्र यो श्लोकको वाचन गर्नु सर्वथा गलत हो । राम्ररी अर्थ बुझेरमात्र र शुद्ध उच्चारण गरेर टीका लगाइदिनु उचित हुन्छ । वरपीपल तपेझैँ तपिरहनू, दुबो मौलाएझैँ मौलाऊनू आदि भनिरहनु अर्थपूर्ण होइन । 

जुनसुकै पर्वका केही नकारात्मक व्यवहार थपिँदै गएका हुन्छन् । दशैँमा केही यस्ता व्यवहार वा प्रवृत्ति देखा परेका छन् । यसलाई नबुझेका मानिसले दक्षिणाका लागि टीका लगाउने ठानेका छन् । यो पर्वमा निधारभरि चामलको टीको लगाउँनुपर्छ भन्ने मान्यता राखिन्छ जुन गलत हो । सानो र सुन्दर टीको लगाउनु उचित हो । सबैतिरका मानिसले निधारभरि टीका लगाउँदा धेरै परिमाणमा चामल खर्च हुनजान्छ । टीकाका लागि खाद्यन्नको दुरुपयोग नगर्नु राम्रो हो । साहित्यकार स्वर्गीय यज्ञनिधि दाहालले त अबिरको मात्र टीका लगाउने अभिया चलाएका थिए जुन उचित थियो । 

यसैगरी यो तामसी खाना खाने पर्वका रूपमा विकास भइरहेको छ जुन सबैभन्दा गलत प्रवृत्ति हो । अपच हुनेगरी, अजीर्ण बनेर बिमारी हुनेगरी खाने बानी ज्यादै खराब हो । खानेकुरा सन्तुलितरूपमा मात्र खाने गर्नुपर्छ । दयनीय आर्थिक अवस्था भएकाले वर्षदिनभरि खान नपाएको साटो यो पर्वमा बेस्सरी खानुपर्छ भन्ने सोच राखेका हुन्छन् र खानका लागि ऋण लिन्छन् । त्यो ऋण तिर्न नसक्दा अर्को वर्ष त्यसमाथि अरू ऋण थपिने हो । 

यही कारणले दशैँ धेरैका लागि दशा बन्ने गरेको छ । अधिक मात्रामा बलि दिइने हिंसाले प्रश्रय पाउने पर्वका रूपमा दशैँ विकास हुनु यसको नकारात्मक पक्ष हो । तिहारमा फूल र बत्तीको झिलिमिली अनि रोटी र मिष्ठान्नको प्रयोग हुने पर्व भएर पनि निकै रमाइलो बनेझैँ यो पर्व पनि अधिक हिंसाबिनै रमाइलो बन्न सक्नुपथ्र्यो । मांस र मदिराको सेवन र तासलगायतका धनको बाजीमा खेलिने खेलले गर्दा यो पर्व केही विकृत बन्ने गरेको छ । यसलाई आडम्बरी र प्रतिस्पर्धी बनाइँदै लगिनु पर्वलाई विकृत बनाउनु हो जसले गर्दा यसको मौलिकता र परम्परालाई पन्साइएजस्तो देखिन्छ । 

दशैँ परम्पराको निरन्तरता हो । यसले पारिवारिक सहमिलन गराउँछ । आफन्त र परिवारका सदस्यसँगको सहमिलन गराउने सेतुका रूपमा नेपाली समाजमा दशैँ रहेको छ । यस पर्वले सामाजिक सौहाद्र्रता कायम राखेको छ भने समाजका ज्येष्ठ नागरिकप्रति आदर र सम्मानको भाव प्रकट गरेको छ । 

नेपालका अधिकांश जातजातिले यो पर्व मनाउने गरेका छन् । हिमाली क्षेत्रका शेर्पा, तामाङ र तराई तथा अन्य ठाउँका मुसलमानबाहेक सम्पूर्ण जातजातिको साझा पर्व हो दशैँ । त्यसैले यो नेपालको राष्ट्रिय पर्व हो । 

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको १५ दिनलाई सामान्यतयाः दशैँ मानिन्छ तर यसका विशेष दिन थोरै छन् । फूलपाती वा सप्तमीदेखि विजया टीकासम्म दशैँका मुख्य दिन हुन् । दशैँ हाम्रो पहिचान हो । त्यसैले यसको मौलिकता जोगाउनु अत्यन्त आवश्यक छ । यसलाई विभिन्न कारणले विकृत नबनाऔं । यसमा मिसिँदै आएका विकृति क्रमशः हटाउँदै लान सक्यौं भने मात्र हाम्रो दशैँ पर्व साच्चिकै मौलिक र परम्परदेखि चल्दै आएजस्तो देखिनसक्छ । 

दशैँलाई हामीले सकेसम्म मनोरञ्जक बनाउनु पर्छ, यो कसैको दशा बनेर नआओस् । फजुल खर्च गर्ने परम्परा र अरूसँग प्रतिस्पर्धा गर्ने प्रवृत्तिले गर्दा दशैँ मनोरञ्जक बन्नुको सट्टा घातक बन्नसक्छ । यसतर्फ सबै सचेत हुनु जरुरी छ । 


Views: 67