21st November | 2018 | Wednesday | 10:13:18 AM

एउटा नाटकको अग्रिम पटाक्षेप

देवेन्द्र चुडाल   POSTED ON : Monday, 15 October, 2018 (2:45:20 PM)

एउटा नाटकको अग्रिम पटाक्षेप

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकजना प्रभावशाली नेता वामदेव गौतम काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा उपचुनावबाट प्रतिनिधिसभाको सदस्य निर्वाचित हुने एउटा नाटकको पटाक्षेप भएको छ । त्यहाँका निर्वाचित सांसद रामवीर मानन्धरले वामदेवका लागि ठाउँ खाली गरिदिन्छु भनेर पार्टीमा निवेदन दिए । उनको निवेदनबारे निर्णय भएको छैन तर वामदेव भने एकाएक पछि हटेको खबर आएको छ । यसबारे वामदेवले औपचारिक जानकारी गराएका छैनन् । रामवीरलाई राजीनामा गराउन सहयोग गर्ने अध्यक्ष पुष्पकमल दाहालले नै भनिसके अब वामदेव कामरेड चुनाव लड्नु हुन्न । चौतर्फी विरोध भएपछि उनले हार्ने गरी चुनाव नगराउने भनेका थिए । 

यता काठमाडौं क्षेत्र नम्बर ७ का मतदाता आफ्ना सांसद रामवीरप्रति आक्रोशित देखिएका छन् । वामदेव किन पछि हटे भने उनले चुनाव जित्ने ग्यारेन्टी भएन । प्रारम्भिक प्रतिक्रियामै चौतर्फी विरोध भयो । थेग्नैनसक्ने गरी विरोध भयो । पार्टीभित्र, बाहिर र चारैतिर । 

ओली नेतृत्वको सरकारले आठ महिनामा जनताका लागि कुनै ठोस काम भएको छैन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको काममा जनताको असीमित असन्तुष्टि छ । खासगरी काठमाडौं उपत्यकामा नेकपाको सरकार र महानगरका मेयर शाक्यप्रति सन्तोष गर्ने ठाउँ नै छैन । अध्यक्ष दाहाल रामवीरलाई राजीनामा गराउन सफल भए पनि वामदेवलाई अघि बढाउन असफल भए । पार्टीको आन्तरिक मामिलामा दाहालको चलखेलको पर्दा उघ्रियो । यसको लाभ भने केही नबोलीकनै प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भयो । उनका लागि कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाइदिएजस्तो भयो । वामदेवजस्ता सत्ता खेलाडीको प्रतिनिनिधिसभामा उपस्थिति अर्का चुतर खेलाडी ओलीका लागि प्रीतिकर हुने कुरै भएन । दाहालकै लागि पनि प्रीतिकर होइन किनभने उनी आफैँ प्रधानमन्त्रीका दाबेदार हुन् । वामदेवलाई प्रतिनिधिसभामा ल्याउन खोजेजस्तो देखिने तर ल्याउने वातावरण बन्न नसकेको अवस्थालाई दाहालले पनि उचितै मानेको हुनुपर्छ । 

सत्ताका लागि मरिमेट्ने वामदेवलाई हातमा लिएर आफू शक्तिको केन्द्रमा रहने दाउमा दाहाल देखिन्छन् । ओली सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको भन्ने प्रचार भइरहेको अवस्थामा नेकपाभित्र पूर्वएमालेका नेताहरूबीचको विभाजन आफ्ना लागि लाभदायी हुने दाहालको आकलन हुनसक्छ । यसैले उनले वामदेवको साथ खोजेका हुन् । वामदेवको साथले ओली सरकार विस्थापित गराउने मौका मिल्नसक्ने उनको आकलन हुनसक्छ । दाहालले केही दिनअघि सरकारको गियर फेर्नुपर्ने अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । यसकै लागि उनले वामदेवको साथ उचित देखेका हुनसक्छन् । खासमा जसरी अहिलेकै प्रतिनिधिसभाको सदस्य हुने र सत्ताको दाउपेचमा लाग्ने वामदेवको महŒवाकांक्षा आफ्ना लागि उपयोगी हुनसक्ने दाहालको ठहर नै रामवीरको राजीनामासम्म पुगेको हो । वामदेव आफूले बर्दियामा हारेको मान्न तयार छैनन् । अर्को ठाउँबाट जितेर देखाइदिने दम्भ उनीभित्र छ । यही दम्भ र जितपछिको सत्ता दाउपेचको काल्पनिक चक्करमा वामदेव घुमेका छन् । 

वामदेवको यो चक्कर र दाहाल–वामदेव गठजोडको भेउ अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नपाएका होइनन् । उपचुनावका लागि यो उपयुक्त मौका होइन भन्ने उनलाई थाहा नभएको होइन । वामदेवको चाहनाको कतै पनि स्वागत हुँदैन भन्ने पनि उनले थाहा नपाएका होइनन् । त्यसैले उनले यस मामिलामा मुख खोल्न आवश्यक ठानेनन् । नत्र, आफूसँग ठोक्किन आइपुग्ने ससाना कुरामा तुरुन्तै प्रतिक्रिया जनाइहाल्ने ओली चुप लाग्ने थिएनन् । उनी मौन रहे पनि उनका पक्षबाट भने वामदेवमाथि गतिलै प्रहार भयो । यो पटाक्षेपबाट वामदेवले पनि आफ्नो पछिल्लो हैसियत थाहा पाए होलान् । उनको दम्भ अलिकति मत्थर भयो होला । नत्र सानोतिनो विरोधलाई भाउ दिने खालका होइनन् वामदेव । 

वामदेवले चाहेको भए उनी पहिला नै राष्ट्रियसभाको सदस्य हुन सक्थे तर उनले राष्ट्रियसभामा जान चाहेनन् । त्यसको एउटै कारण हो प्रत्यक्ष निर्वाचित सांसदमात्र प्रधानमन्त्री बन्नसक्छ । जीवनमा एकपटक प्रधानमन्त्री बन्ने वामदेवको धोको प्रतिनिधिसभाको गत निर्वाचनमै सार्वजनिक भएको हो । उनले त्यतिबेलै आफूलाई भावी प्रधानमन्त्रीका रूपमा पेश गरेका हुन् । त्यसैले राष्ट्रियसभा उनलाई काम लाग्ने ठाउँ होइन । उनले बर्दियामा आफूलाई पार्टीभित्रैबाट र बाहिरबाट घात गरेर हराएको भन्दै आएका छन् । त्यसैले उनी जसरी पनि यही प्रतिनिधिसभामा निर्वाचित हुन चाहन्छन् । धेरै ढिलो गरेर उनलाई सोचेको लाभ नहुन सक्छ । त्यसैले उनले अलिक हतार गरेका हुन सक्छन् । अझै उनले अर्को मौका हेर्न सक्छन् । अर्का रामवीरको खोजी गर्न सक्छन् यद्यपि त्यो त्यति सजिलो भने हुनेछैन । 

तत्कालीन नेकपा एमालेमा वामदेव ओली पक्षमा भए पनि निर्वाचनमा हार भएपछि उनी ओलीप्रति आक्रोशित हुँदै अर्का नेता माधव नेपाल पक्षमा पुगेका थिए । पार्टी एकीकरणपछि उनी दाहालका निकटमा छन् । दाहाल पनि सत्ताका उपासक हुन् । दुवैको प्रवृत्ति मिलेको हो । सरकारको वा पार्टीको सत्ताविना एकछिन पनि बस्न नसक्ने दाहाललाई वामदेवजस्ता सहयोगी चाहिन्छन् । दुवै एकअर्काका लागि आवश्यक भएर नै गठजोडमा पुगेका हुन् तर निकै ठक्कर लाग्ने गरी चिप्लिएका छन् । वामदेवकै राजनीतिक भविष्य पनि दाउमा परेको छ । 

आफ्नो सरकारले राम्रो काम गर्न नसकेको आरोप खेपिरहेका ओलीका लागि दाहाल र वामदेवको गठबन्धन अनि माधव नेपाल र झलनाथ खनाल लगायतका नेताको विरोध असहज अवस्था हो । यस्तो अवस्थामा आन्तरिक शक्ति सन्तुलनमा बेवास्ता गर्न नसकिने वामदेवजस्ता बलिया नेताको यो हविगत ओलीका लागि आवश्यक थियो । जो सजिलै प्राप्त भयो । एउटा नाटक टुंगोमा पुग्नुअगावै पटाक्षेप भयो । ओलीका विपक्षको मुखुण्डो उत्रियो । यसको मारमा परेका छन् सोझा रामवीर । अब प्राविधिकरूपले त रामवीर प्रतिनिधिसभा सदस्य रहने नै छन् तर उनलाई नैतिक संकट भने उत्पन्न भएको छ । उनलाई यो संकटबाट वामदेव र दाहालको गठजोडले पार लगाउँछ कि ओलीकै भक्ति चाहिने हो त्यो चाहिँ भविष्यले देखाउने छ । रामवीर राजीनामा प्रकरणले अर्को कुनै सांसदले ओलीको अनुमति बेगर राजीनामा गर्न आँट गर्नेछैन । अर्थात् कसलाई राजीनामा गराउने भन्ने निर्णय पार्टीले नै गर्नुपर्नेछ । सम्भवतः मौजुदा प्रतिनिधिसभामा यो अवस्था आउने छैन या त ओलीका लागि प्रतिनिधिसभामा वामदेवको उपस्थिति आवश्यक ठहर्नुपर्नेछ । 


Views: 119