19th November | 2018 | Monday | 2:02:27 AM

भ्रष्टाचारको कमाल

महादीप पोखरेल   POSTED ON : Wednesday, 31 October, 2018 (2:02:01 PM)

भ्रष्टाचारको कमाल

कतिपय अर्थशास्त्रीले भ्रष्टाचार राम्रो हो भनेका छन् । यस विषयमा हामी पनि केही उदाहरण पेश गर्न सक्छौँ । काठमाडौ शहरको सडकलाई हेर्दा खाल्डाखुल्डी, धुलो र धुवाँबीच अनगिन्ती सवारीसाधन गुडेका छन् अनि सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतारो छ । सबैजना आआफ्नो गन्तव्यमा पुगेकै छन्, यो सम्भव भएकै छ । ट्राफिक प्रहरीको तल्लो दर्जाका स्टाफको सहायताले यो सम्भव भएको हो । अधिकांश ट्राफिक प्रहरी जब घरबाट ड्युटीमा निस्कँदा सोच्दा हुन् आज कति अतिरिक्त आम्दानी हुने हो, बेलुका केही कमाइ गरेर घर फर्किन पाए हुन्थ्यो  ।  

मालपोत, भन्सार, यातायातका धेरै कर्मचारी तलबभत्ता र सेवाका निम्ति होइन अतिरिक्त कमाइका लागि योजना बनाउँदै कार्यालय जान्छन् र दैनिक खर्च त्यहीबाट चलाउँछन् । वन विभागका कर्मचारी ठेकेदार आउने, टाँचा लगाउने र छोडपुर्जी दिने दिनमा अफिस छुटाउँदैन् । यी सबैलाई तलबभन्दा अतिरिक्त आयकै भरोसा छ । यिनै घूस र भ्रष्टाचारले नै कार्यालय चलेका छन्, जनताले ढिलै भएपनि सेवा पाएका छन् र अर्थतन्त्र चलायमान भएको छ । बजारमा होटेल, रेष्टुरेन्ट चलेका छन्, मदिरा र मासुको बिक्रीले सो उत्पादन गर्नेहरूको उद्योग चलेको छ । कपडा र गहनाको व्यापार पनि बढेको छ । कतिपय निम्न कर्मचारी शहरमा घर र जग्गा जोड्न र छोराछोरी पढाउन सक्षम भएका छन् । निम्न बैतनिक कर्मचारीले तलबमात्र पाउने भएका भए दुई छाकमात्र बडा मुस्किलले खाने थिए ।  

पूर्वसचिव एवं वरिष्ठ इन्जिनियर भीम उपाध्याय भ्रष्टाचार भनेको आर्थिक इन्सेटिभ हो र यसले तत्काल असर गर्छ भन्ने धारण राख्छन् । त्यसैले भन्सार, कर, मालपोत, नापीका कर्मचारी बिदा लिँदैनन् । घूस लुब्रिकेन्ट हो । जाम भएको हाम्रो राज्य संयन्त्रमा यसले अर्थतन्त्रलाई चलायमान गराउने काम गर्छ । हाकिमलाई काम गराउने चिन्ता हुन्छ र सुरक्षितरूपमा घूसको रकम तल्लो कर्मचारीले बुझेर माथि बुझाऊन् भन्ने चाहन्छन्, अनि तलकाले फाइदा लिन पाएनन् भने अनेक बाहना गरेर काम ढिला गर्ने वा रोक्ने गर्छन् । कर्मचारी एकल हुँदैन त्यो प्रणाली हो र तह तहगत कार्य सञ्चालन प्रक्रियामा हुन्छ योे ।

यसलाई प्रमाणित गर्न अर्को उदाहरण दिन सकिन्छ । आजकल घरैपिच्छे जग्गा दलाल भेटिन्छन् । कतिपय विद्यालयका शिक्षक र सरकारी कर्मचारीसमेत जग्गा दलालीको काम गर्छन् । बैंकको पैसा, वैदेशिक रोजगारीबाट प्राप्त रकमको धेरै अंश यही काममा उपयोग भइरहेको छ । बैंक, दलाल, जग्गावाला सबै मालामाल छन्, २–४ वर्षअगाडि दुई लाखमा पाइने घडेरी ५० लाखदेखि एक करोडसम्म पुगेको छ । कसैले यसको विरोध गरेको छैन । यसबाट राजस्व पनि प्रसस्त जम्मा भएको छ । यो मुख्य कारोबारमार्फत् बढ्ने अन्य साइड कारोबार धेरै फस्टाएका छन् । जग्गा दलाल महँगा गाडी चढ्छन्, गाडी आयात गर्दा राज्यले वास्तविक मूल्यभन्दा धेरै गुणा बढी राजस्व प्राप्त गरेको छ । जेभए पनि अर्थतन्त्र चलायमान भएको छ र व्यापार बढेको छ ।

देशका ठूला आयोजनालाई हेर्न सकिन्छ । नेपाल वायुसेवाले ठूला जहाज किन्नुपर्छ, यो आवश्यकतै हो । जहाज किन्दा मन्त्री र नेतालाई आकर्षक कमिसन आउँछ र कमिसनवापतको रकम पारदर्शी पनि गर्नु पर्दैन । सोही रकमले नेताको जीवनस्तर राम्रो बन्छ, पार्टी र राजनीति चल्छ । यसरी नै प्राप्त भएको रकम चुनाव प्रचारप्रसारमा खर्च हुन्छ र हाम्रो देशका युवाले चुनाव अवधिभर ती नेताबाट राम्ररी खर्च पाउँछन् ।

भ्रष्टाचार गरेर धेरै कमाउनेले छोराछोरीको व्रतबन्ध, बिहेमा ठूलठूला भोजभतेर गर्छन् । यसबाट पार्टी हाउस, क्याटेरिङ चलेका छन् र रोजगारी सृजना भएको छ । ठूला हाइड्रोपावर, वैदेशिक लागानीका उद्योग सबैमा यस्तै हुन्छ, कमिसन पाउने नेता र पार्टी चुप लाग्छन्, नपाउनेहरू राष्ट्रघात भयो भनी चिच्याउँछन् । उदाहरणका निम्ति वायुसेवा निगमले वाइड बडी जहाज किन्दा ६ अर्ब रूपैयाँ कमिसन लिएको चर्चा छ । निजगढ विमानस्थल निर्माणको कुरा आएपछि ठेकेदार र तस्करहरूले त्यहाँको काठमाथि नजर लगाएका छन् । 

सुदुरपश्चिममा हचुवाको भरमा कैलालीको गोदावरी क्षेत्रमा प्रदेश राजधानी प्रस्ताव गरिएको छ । राजधानी बनाउनभन्दा बढी चासो काठ, ठेक्कापट्टा, कमिसन र नाफामा छ । राजनीतिक नेतृत्व नाफाखोरहरूको गोटी बनेका छन् । अझ कतिपय दलाल, ठेकेदार र नाफाखोर व्यापारी नै राजनीतिमा छिरेर सांसद र सरकार चलाउने मन्त्रीसमेत भएका छन् । 

बूढीगण्डकी वा गेजुवाजस्ता ठूला आयोजनाहरूमा कहिले सम्झौता हुन्छ, कहिले तोडिन्छ र फेरि सम्झौता हुन्छ । यिनका कथा कमिसन र भागबन्डामै अल्झिएका हुन्छन् । यहाँ पनि राम्ररी विचार गर्ने हो भने कमिसन र भ्रष्टाचारले नै विकासको मूल फुटाएका हुन् । नत्र कुनै सडक आयोजना, हाइड्रोपावर, जहाज खरिद, एयरपोर्ट निर्माण आदिजस्ता काममा कुनै सरकार, पार्टीहरूको चासो नै हुने थिएन । विकास अपरिहार्य आवश्यकता हो र यही आवश्यकताको जगमा टेकेर भ्रष्टाचार र कमिसनतन्त्र मौलाएको हुन्छ । राज्य संयन्त्रले त्यसको संरक्षण गरेको हुन्छ । पँुजीवादी अर्थ व्यवस्थाको मुख्य आधार नै भ्रष्टाचार र कमिसन हो, यो बिना अर्थतन्त्र पूरै जाममा फस्नसक्छ । यो कुनै इन्जिनको लुब्रिकेन्टजस्तै हो । यसैबाट घरबार, राष्ट्र सबै चलेका छन् ।

यस्तो लाग्छ कि भ्रष्टाचार गर्ने मौका नपाउने र खुबी नभएका मात्र यस विरोधी भएका छन् । अनि भ्रष्टाचार नगर्ने र कमिसन नपाउने सर्वसधारणको स्थिति के होला भनेर सोच्नुपर्ने हुन्छ । यिनीहरू त शासक होइनन्, शासित हुन् । शासित त सधैँ पेलिने, शोषित हुने र व्यवस्थाले बनाएका नीति नियमम खुरुखुरु पालन गर्र्नु नै यिनीहरूको नियति वा कर्तव्य हो भन्ने ठानिन्छ ।

भ्रष्टाचारका पक्षमा यहाँ दुई किसिमका उदाहरण पेश गरियो र भ्रष्टाचारबाटै अर्थतन्त्र चलायमान भएको, धेरैको घर चलेको मात्र नभई नेपालजस्तो देशको सरकार, राजनीतिक पार्टी पनि जीवित र सक्रिय भएको जिकिर पेश गर्न सकिन्छ । त्यसकारण अहिलेको नेपालको राज्यव्यवस्था मान्नुपर्छ भने भ्रष्टाचारको विरोध गर्नु असान्दर्भिकजस्तो लाग्छ । 

भ्रष्टाचारको विरोध गर्नुभन्दा बरु सबै यसमा संलग्न हुने र यसलाई संस्थागत गर्ने हो भने यो साझा कार्य बन्न जान्छ र विरोधका स्वर सुनिनेछैन । धेरै देशमा कर्मचारी र राजनीतिक नेतृत्वको सम्बन्धमा चेक एण्ड ब्यालेन्स हुन्छ तर नेपालमा भ्रष्टाचार र कमिसनको मामिलामा कर्मचारी र राजनीतिक नेतृत्वबीच पार्टनरसिपजस्तो सम्बन्ध छ । यो पनि उपयुक्त वातावरण हुने भयो । यो कुरामा सहमत नहुने हो भने यो व्यवस्था बदल्नेतर्फ सोच्न र काम गर्न सुरु गर्नुपर्ने हुन्छ । बलियो समाजवादी आन्दोलनविना भ्रष्टाचार, कमिसन न्यूनीकरण वा बन्द हुने भन्ने कुरा असम्भव छ । 

अर्को महŒवपूर्ण कुरा भ्रष्टाचारसम्बन्धी चिन्तन र सामाजिक पाटोसम्बन्धी छ । सकारात्मक सोच अध्ययन अभियानका विज्ञ डा. रामचन्द्र लामिछाने भ्रष्टाचारबारे जर्मनीमा भ्रष्टाचार गर्नेलाई सर्वप्रथम उसका श्रीमती वा श्रीमान्ले छोडिदिन्छ, अनि छोराछोरीले छोडिदिन्छन् र समाजले तिरस्कार गर्छ भन्ने तर्क अगाडि सार्छन् । त्यसकारण उक्त व्याक्ति कि सुन्छ कि ठाउँ छोडेर हिड्छ कि आत्महत्या गर्छ ।

यसको ठीक उल्टो नेपालमा भ्रष्टाचार गरेर धन कमाएन भने सम्बन्ध विच्छेद हुने खतरा पैदा हुन्छ । श्रीमान् वा श्रीमती र छोराछोरीले पटक्कै सम्मान गर्दैनन् । समाजले पनि हुतिहारा र असक्षमको पदवी गुथाइदिन्छ । भ्रष्टाचार गरेरै धनी भएको व्यक्तिलाई समाजमा सबैले नमस्कार गर्छन्, उसको सम्मान हुन्छ । व्यवहारमा यस्तै हुन्छ तर बोलीमा भ्रष्टाचारको विरोध सबैले गर्छन् र अख्तियारले कारबाही गरेन भनी असन्तोष पनि व्यक्त गर्छन् । 

खै त भ्रष्टाचार र भ्रष्टाचारीलाई निषेध गर्ने सामाजिक आन्दोलन ? नेपालमा यस्तो आन्दोलन आवश्यक छ र यस्ता अभियानको युवा वर्गले नेतृत्व गर्नु जरुरी छ । भ्रष्टाचारले सीमित वर्गमात्र धनी हुँदै जान्छन् । यसको माध्यमबाट हुने आर्थिक चललपहल कस्मेटिकमात्र हो अनि बहुसंख्यक किसान, मजदुर र अन्य श्रमजीवीमाथि ठूलो आर्थिक शोषणको भार पर्न जान्छ । बिचौलियाले गर्दा किसानले उत्पादनको उचित मूल्य पाउँदैनन् मजदुरले पनि उचित ज्याला नपाउने हुन्छ । मूल्यको धेरै हिस्सा बिचौलियाले लिने गर्छन् । किसान र वास्तविक उपभोक्ता ठगिन पुग्छन् । 

भ्रष्टाचार, घूसखोरीको विरोध गर्ने जनताको कुनै सरकारी कार्यालयमा कामै बन्दैन, उनीहरू हैरानी र अधिक खर्चमा फस्न पुग्छन् । त्यसैले भ्रष्टाचार, कमिसनतन्त्र र दलाली (बिचौलियापन) समाजको शत्रु र विकासको दीर्घकालीन बाधक हो । माथि भ्रष्टाचारको पक्षमा तर्क अगाडि सारिएको जस्तो देखिएको भए पनि अन्ततोगत्वा भ्रष्टाचार महारोग हो । हाम्रो परिवार, समाज र देश यो महारोगबाट मुक्त हुन अपरिहार्य छ ।


Views: 1001