21st November | 2018 | Wednesday | 9:31:09 AM

विषादी व्यवस्थापनको समस्या

राजेशमान केसी   POSTED ON : Thursday, 01 November, 2018 (2:04:22 PM)

विषादी व्यवस्थापनको समस्या

कृषि बालीमा हानिकारक मानिने कीरा फट्यांग्रा तथा झारपात नष्ट गर्ने र कृषि उत्पादनमा वृद्धि ल्याउने सोचका साथ रासायनिक विषादीको प्रयोग गर्ने गरिन्छ । यसरी प्रयोग गरिने रासायनिक विषादीमा बिएचसी, डिडिटी, अल्डिन, डाइअल्ड्नि, मालाथिन, पाराथिजन, नाइट्रोजन, ब्रोमाइड, लेड, आर्सनेट, क्याल्सियम, बेगन, लिनडेन आदि प्रमुख छन् । विशेषज्ञहरूअनुसार विशेषगरी कृषि बाली र खाद्यान्नमा लाग्ने हानिकारक कीरा मारी उत्पादन बढाउने अभिप्रायले झण्डै २५० किसिमका कीटनाशक, ४० किसिमका झारनाशक तथा विभिन्न ढुसी नाशक विषादीहरू प्रयोगमा ल्याउने गरिएको छ । 

विश्वमा परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रियासँगै यस किसिमका रासायनिक विषादीहरूको प्रयोग गर्ने कार्यको थालनी सर्वप्रथम विकासोन्मुख मुलुकहरूबाटै भएको बुझिन्छ । नेपालको सन्दर्भमा सन् १९६० तिर खासगरी औलो नियन्त्रणका लागि भनी यस किसिमका विषादीहरूको प्रयोग गर्न थालिएको हो । पछि गएर नेपालमा पनि यसको प्रयोग परम्परागत र निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायीकरण गर्ने अभिप्रायले गर्न थालिएको हो ।

विभिन्न दात्री मुलुकहरूबाट सहयोगस्वरूप प्रदान गरिएका ढुसीनाशक तथा कीटनाशकको रूपमा प्रयोग गरिने यस्ता विषादी हाल प्रतिवर्ष सयौं टनको अनुपातमा प्रयोग हुने गरेका छन् । नेपालमा प्रयोग हुने यस्ता विषादीमध्ये अर्गानोफोष्फेट, अर्गानोक्लोरिन, कार्वाइडलगायत प्रमुख छन् । यस्ता प्रतिबन्धित एवं म्याद नाघिसकेका रासायनिक विषादीको उचित व्यवस्थापन नै अहिले सरकारका लागि ठूलो समस्या बन्न पुगेको छ । निःशन्देह कृषि क्षेत्रमा यस किसिमका रासायनिक विषादीको उपयोग अत्यधिक र अव्यवस्थित तवरले गरिँदा वातावरणीय विनाशमा सघाउ पु¥याउँछ । यिनको प्रयोग अत्यधिक मात्रामा गरिँदा प्राकृतिक वातावरणीय सन्तुलनका लागि विद्यमान ससाना कीरा फट्यांग्रा एवं कीटपतंगको विनाश गराउँछ भने कतिपय मूल्यवान बोट विरुवासमेत नष्ट पार्छ । साथै यसबाट जलीय र स्थलीय जीवजन्तुलाई पनि क्षति पु¥याउने पक्का छ । त्यतिमात्र नभई कृषि बालीमा प्रयोगमा ल्याइने यस्ता रासायनिक विषादीले हावा, पानी, माटोमात्र नभई तरकारी, फलपूmललगायत अन्य खाद्य पदार्थमा प्रतिकूल असर पार्छ । 

यसरी रासायनिक विषादीको प्रयोगमार्फत् उत्पादित खाद्यान्नको प्रयोग मानिसलगायत अन्य पशुपंक्षीका लागि पनि मन्द विषसरह हुने कुरा वैज्ञानिकरूपमै पुष्टि भइसकेको छ । कृषि बालीमा लाग्ने विभिन्न कीरा र रोगको सही पहिचान नहुनु, विषादीको उचित मात्राबारे ज्ञान नहुनु र आवश्यक सावधानी अनि सजगता नअपनाउनुजस्ता कारणले खाद्य बालीमा यस्ता विषादीको प्रयोग प्रमुुख समास्याकै रूपमा देखापरिरहेको छ । बालीनालीमा विषादीको जथाभावी एवं अव्यवस्थित प्रयोगले मानव स्वास्थ्यमा प्रत्यक्ष वा परोक्षरूपमा असर पु¥याउने कुरा अध्ययनबाट पुष्टि भइसकेको छ । खासगरी फोष्फेटयुक्त विषादीजस्तै डायजिनोन, मालाथिन, कार्वोफ्यूरल आदिको प्रभाव धेरै समयसम्म रहिरहने र यिनीहरूको प्रयोगबाट बालीनालीमा लाग्ने हानिकारक कीरा मर्नुका साथै विभिन्न उपयोगी जीवसमेत नष्ट हुन पुग्छन् ।

कतिपय यस्ता विषादीको प्रभावबाट मानव भ्रुणको वृद्धिमा क्षति पुग्नुका साथै क्यान्सरजस्तो घातक रोगसमेत उत्पन्न हुने सम्भावाना रहने कुरा स्वास्थ्यविद् बताउने गर्छन् । विडम्बना नै मान्नुपर्छ कि देशमा जतिसुकै कृषिकेन्द्र र प्राविधिकको संख्या थपिँदै गए तापनि अधिकांश कृषक यस्ता रासायनिक विषादीको उचित ज्ञान र प्रयोजनबारे अनभिज्ञ रहेका छन् । बरु यस विपरीत कृषक विषादी वितरकको भरमा यस्ता कीटनाशक औषधिको प्रयोग गर्ने गर्छन् । औषधिको मात्रा र सावधानीबारे ख्याल राखिँदैन । यसले गर्दा राजधानीलगायत देशका अन्य कतिपय शहरमा उपलब्ध हुने विभिन्न फलपूmल, तरकारी एवं सागसब्जीसमेत विषादीबाट मुक्त छन् भन्न सकिने अवस्था छैन । 

यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठनद्वारा केही महिनाअघि प्रकाशित एक प्रतिवेदनअनुसार विश्वमा अहिले प्रतिवर्ष झण्डै पाँच लाख मानिस विषादी औषधिका कारणबाट मर्ने गरेका छन् भने औषधिको प्रतिकूल असरबाट पीडितमध्ये झण्डै ४० प्रतिशत विकासोन्मुख मुलुकमा रहेका छन् । संगठनका अनुसार विकासोन्मुख मुलुकमा प्रतिमिनेट एकजना व्यक्ति विषादीको प्रयोगबाट ग्रसित हुने गरेको र यसको शिकार विशेषगरी बालबालिका हुने गरेका छन् । साथै विषादीको गलत उपयोग नै यसको प्रमुख कारण रहेको कुरा प्रतिवेदनको निचोडमा उल्लेख गरिएको छ । त्यसो त विषादीलाई व्यवस्थित तुल्याई त्यसको हानीबाट बच्न विश्वका सबैजसो राष्ट्रले सन् १९९२ मै पेस्टिसाइडसम्बन्धी संयुक्तराष्ट्र संघीय सम्मेलनले पारित गरेको २१औं एजेन्डालाई मध्यनजर राख्दै यससम्बन्धी विभिन्न नीति नियम तर्जुमा भइसकेका छन् ।

नेपालले आजभन्दा डेढ दशकअघि अर्थात् सन् २००२ मा उक्त महासन्धिमा हस्ताक्षर गरिसकेकोे हो । त्यस्तै नेपालमा सन् १९९१ मा पेस्टिसाइडसम्बन्धी ऐन र त्यसपछि सन् १९९३ मा पेस्टिसाइड नियमावली तर्जुमा भइसकेका हुन् । यसका अतिरिक्त वातावरणीय संरक्षण ऐन, १९९६ लागू भएको दुई दशक नाघिसकेको छ । तर, नेपालमा यस्ता विषादी औषधिको प्रयोगबाट अझै सुरक्षित छौँ भन्न सकिने अवस्था छैन । 

त्यसैले नेपाललाई यदि साँच्चै यस्ता विषादीको असरबाट बचाउने हो भने कृषि क्षेत्रमा रोग, कीरा नियन्त्रणमा जैविक र अन्य प्रांगारिक मलको प्रविधिमा जोड दिनु जरुरी भइसकेको छ । साथै कृषकलाई यस्ता कीटनाशक औषधिबारे प्राविधिक ज्ञान दिलाउनुका साथै सम्बन्धित प्राविधिकको सिफारिशमा मात्र विषादी प्रयोग गर्न दिइनुपर्छ । बालीनालीमा लाग्ने रोग र कीटाणु नष्ट गर्न मगाउने गरिएका यस्ता कतिपय विषादी समयमै कृषकलाई उपयोगका लागि वितरण नगरिने र कमिसनको प्रलोभनमा आवश्यकभन्दा बढी मात्रामा मगाइने गरेका कारण समस्या उत्पन्न भएको विज्ञ बताउँछन् । 

विषादी औषधिको प्रयोजनको सम्बन्धमा एउटा मननीय कुरा के छ भने म्याद नघिसकेका विषादी सम्बन्धित मुलुकले सुरक्षित तवरले विसर्जन गर्न नसके संयुक्त राष्ट्रसंघको समन्वय र अगुवाइमा आयात गरिएकै देशका लगि विसर्जन गर्नुपर्ने प्रावधान विषादीको सुरक्षित विसर्जनसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि, स्टकहोमले गरेको छ । त्यसैले सरकारले जनस्वास्थ्यको संवेदनशीलतालाई दृष्टिगत गर्दै सो अभिसन्धि प्रभावकारीरूपमा कार्यान्वयन गरी जैविक विषादीको समुचित व्यवस्थापन र प्रांगारिक मलको उपयोगमा जोड दिनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । 


Views: 51