21st November | 2018 | Wednesday | 10:29:32 AM

नेपालका राष्ट्रिय विभूति

विनोद दाहाल   POSTED ON : Friday, 02 November, 2018 (2:23:04 PM)

नेपालका राष्ट्रिय विभूति

देशका लागि सबै जनताको बराबरी योगदान हुँदैन । राष्ट्रमा धेरै संख्यामा सामान्य नागरिक रहन्छन् र निम्न तहबाट उठेर थोरै मानिसमात्र विशेष बन्न सकेका हुन्छन् । यसरी आफ्ना महान् कार्यले विशेष बन्न सकेका व्यक्तिहरूको इतिहास लेखिन्छ । विश्वका हरेक मुलुकले आफ्ना देशका यस्ता खास–खास नागरिकलाई विशेष किसिमको सम्मान गरेको हुन्छ । उनीहरूलाई दिइने सम्मान सबै एकै खालका हुँदैनन्, फरक हुन्छन् । यीमध्येको एक प्रकार हो राष्ट्रिय विभूतिको मान्यता । 

पश्चिमी मुलुकहरूले पनि आफ्ना यस्ता महान् नागरिकहरूलाई ‘नेसनल लुमेरियस’ भन्ने सम्मान दिएका हुन्छन् । राष्ट्रिय विभूतिको समानार्थी यो शब्द बुझ्ने सामथ्र्यको कमीका कारण यस्तो गरिमामय शब्दको अवमूल्यन गर्दै कतिपय मानिसले राष्ट्रिय विभूतिलाई हलकाफुल्का ढंगले ‘नेसनल हिरो’ भनेको सुन्ने गरिएको छ तर यो सर्वदा गलत छ । ‘लुमेरियस’ शब्दको ओजपूर्ण अर्थ ‘हिरो’ शब्दले व्यक्त गर्न सक्दैन । सामान्यतया हिरो भन्नाले चलचित्रका नायकलाई बुझ्ने गरिएको छ । यो अभिनयसँग सम्बन्धित र नायकको समानार्थी अर्थ दिने शब्दका रूपमा चिनिन्छ । 

हाम्रो देशले पनि केही व्यक्तिहरूलाई ‘राष्ट्रिय विभूति’ भनेर सम्मान गरेको छ । यो कुन मापदण्डका आधारमा कसरी घोषणा गरिएको हो भन्ने कुरा त्यति प्रष्ट छैन । उनीहरू राष्ट्रका लागि महान् कार्य गर्ने व्यक्ति हुन् भन्ने सबैलाई थाहा छ तर यस बाहेकका अरू कुरा सबैलाई थाहा हुने कुरा पनि भएन । विभिन्न सरोकारका लागि सामान्य ज्ञान घोक्नु पर्नेहरूले नेपालका राष्ट्रिय विभूतिका नाम जानेका छन् तर ती कसरी घोषित भएका हुन् भन्ने तिनलाई पनि थाहा छैन । त्यसका लागि तिनीहरू दोषी छैनन्, तिनलाई जानकारी गराउन नसक्ने सरकार दाषी हो । सम्भवतः नेपालका सरोकारवालालाई नै यसबारेमा जानकारी नहुनसक्छ । कहिले र कसरी यो घोषणा भयो भनेर सरकारसँग पनि कुनै अभिलेख नहुन सक्छ । 

पछिल्लो चरणमा घोषणा भएका केही नामहरू पासाङ ल्हामु शेर्पा, शंखधर शाख्व, महागुरु फाल्गुनन्द आदिको र पहिलेका केही व्यक्तिको योगदान प्रायः थाहा छ तर सबैको योगदान र विभूति घोषणा हुनुपर्ने आधार सबैलाई थाहा छैन । यी १६ जनालाई सरकारले आधिकारिक रूपमै राष्ट्रिय विभूति घोषणा गरेको छ कि किताबमा लेखिएको र पढिँदै आएको मात्र हो त्यो पनि थाहा छैन । 

राजा जनक, सीता, गौतम बुद्ध, अंशुबर्मा, अरनिको, राम शाह, पृथ्वीनारायण शाह, भानुभक्त, मोतीराम भट्ट, भीमसेन थापा, अमरसिंह थापा, वीर बलभद्र कुँवर, राजा त्रिभुवन, पासाङ ल्हामु शेर्पा, शंखधर शाख्व र महागुरु फाल्गुनन्द गरी १६ जनालाई हामी हाम्रा देशका राष्ट्रिय विभूति मान्दै आएका छौँ । कतै कतै भृकुटीलाई पनि यो सूचीमा समावेश गरिएको पाइन्छ तर सामान्यज्ञानका धेरैजसो पुस्तकमा उनको नाम समावेश भएको पाइँदैन । त्यसैले उनी नेपालकी राष्ट्रिय विभूति होइनन् भन्न सकिन्छ । 

राजा महेन्द्र साहित्य, संगीत र कलामा पनि चासो राख्थे । कुनै कार्यक्रममा उनले रोयल नेपाल एकेडेमीका उपकुलपति बालकृष्ण समसँग विदेशमा जस्तै नेपालमा केही व्यक्तिलाई राष्ट्रिय विभूति घोषणा गर्ने इच्छा भएको विचार व्यक्त गरेछन् र यो सूची तयार गर्न उनलाई निर्देशन दिएछन् । 

समले यसका लागि केही दिन सोच्ने समय लिएनन् र यहीँ तुरुन्तै जतिका नाम सूचीकृत गर्न सके र सम्झिए तिनै १३ जनाको नाम टिपेर राजालाई दिए । त्यसपछि तिनैलाई राष्ट्रिय विभूति भन्दै र मान्दै आइयो र पछि अरू तीनजना यस सूचीमा थपिए । तर विभिन्न कालखण्डका धेरै सम्भाव्य व्यक्ति यस सूचीबाट छुट्न पुगेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्ता यस सूचीमा परेका छैनन् । 

यी सबै कुरालाई आधार बनाएर विभिन्न व्यक्तिका योगदानको खोजअनुसन्धान गरी अरू केही व्यक्तिलाई सरकारले राष्ट्रिय विभूतिको सूचीमा संलग्न गरे त्यसलाई अन्यथा भन्न मिल्दैन । वास्तवमा राष्ट्रिय योगदान गर्ने केही व्यक्तिलाई यस्तो सम्मान दिनु अपरिहार्य कुरो हो । समानस्तरको काम गरेका केही व्यक्तिलाई यसरी सम्मान गरिएको छ भने उही किसिमका काम गरेका केही व्यक्तिहरू यसरी सम्मानित हुनबाट वञ्चित भइरहेका छन् । यो पार्थक्य हटाउन पनि सरकारले अरू केही व्यक्तिहरूको सूची बनाएर तिनका योगदानको समीक्षा गर्दै तिनलाई नेपालका राष्ट्रिय विभूति घोषणा गर्नु सान्दर्भिक हुन्छ । 

सिंगो देशले सूचीकृत गरी गरिने सम्मानमा व्यक्तिको योगदान र स्तर हेरिनुपर्छ । यसो गर्दा सूची लामो बन्न जाला तर त्यसले कुनै फरक पार्दैन किनकि उनीहरूलाई नगद वा अरू यस्तै खालका सुविधा दिनुपर्ने होइन, उनीहरूलाई त सम्मानित गरिनुपर्ने मात्र हो । यसका लागि सरकाले निश्चित मापदण्ड बनाउनुपर्ने हुन्छ । यो मान नेपालका लागि काम गरेकै भए पनि विदेशीलाई दिन सम्भवत नमिल्ला र केही विवादित नागरिकता भएकालाई पनि दिन नमिल्ने नीति सरकाले अवलम्बन गर्नुपर्ला । 

पहिलो सरगरमाथा आरोही तेन्जिङ नोर्के शेर्पा नेपाली हुन् भने उनलाई यो सम्मान किन नदिने तर नेपाली होइनन् भने फेरि यो सम्मान दिन नमिल्न सक्छ । त्यसैले यस्ता कुरा प्रमाणित गर्दै जानु आवश्यक छ । यस्ता घोषणाले विवाद सिर्जना गर्नु हुँदैन । यो त उदाहरणमात्रै हो, यस्ता नाम अरू धेरै हुन सक्छन् । 

यो पंक्तिकारलाई नेपालको इतिहासको त्यति धेरै ज्ञान छैन तैपनि केही संभाव्य नामहरू दिने धृष्टता गर्न चाहेको छु । ऐतिहासिक पात्रहरूमा मानदेव, भृकुटी, नरेन्द्रदेव, यक्ष मल्ल, रत्न मल्ल, महिन्द्र मल्ल, जयस्थिति मल्ल, प्रताप मल्ल, बहादुर शाह, राजेन्द्रलक्ष्मी, भक्ति थापा, योगमाया र शासकहरूमा जंगबहादुर राणा, देव शमशेर, चन्द्र शमशेर, जुद्ध शमशेर, पद्म शमशेर, राजा महेन्द्र, राजा वीरेन्द्र यस सूचीमा संलग्न हुन सक्छन् । यीमध्ये केही नामहरूमा सबैको सहमति नहुन सक्छ तर उनीहरूको समग्र त्याग, समर्पण र राष्ट्रियताप्रतिको भावना हेर्ने हो भने उनीहरू यो स्तरमा पुग्न सक्छन् । यिनको योगदानको चर्चाले यो आलेख लम्बिन सक्छ नत्र यसको समीचिन व्याख्या पनि यहाँ गर्न सकिन्थ्यो । 

त्यसैगरी केही राजनेताहरू यो स्तरमा आउँन सक्छन् । जसमा टंकप्रसाद आचार्य, विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, मदनकुमार भण्डारीलगायतलाई लिन सकिन्छ । गेहेन्द्र शमशेरजस्ता वैज्ञानिक, जयपृथ्वीबहादुर सिंहजस्ता शिक्षाविद् तथा मानवतावादी व्यक्तित्व, कृष्णप्रसाद कोइरालाजस्ता चेतनाका धनी व्यक्ति, कृष्णलाल अधिकारीजस्ता विद्रोही लेखक, बाबुराम आचार्य, बालचन्द्र शर्मा, नयराज पन्तजस्ता इतिहासकार पनि यही स्तरका व्यक्तित्व हुन् । २००७ सालको क्रान्तिका योजनाकार तथा आर्थिक व्यवस्थापक महावीर शमशेर राणा र महेन्द्रविक्रम शाहहरू पनि यस स्तरका सम्भाव्य व्यक्तित्व हुन् । अमरसिंह थापा र बलभद्र कुँवरकै समस्तरका भक्ति थापा पनि यसका लागि योग्य प्रमाणित हुन सक्छन् जसले ७० वर्षको उमेरमा पनि देउथलको युद्धको नेतृत्व गरेर वीरगति पउका थिए । 

विसं १९९७ सालका चार सहिद शुक्रराज, धर्मभक्त, दशरथ चन्द र गंगालाल, २००७ सालको क्रान्तिका कमाण्डर थीरबम मल्ल, २०३१ साल काण्डमा ज्यान सजाय पाएका कप्तान यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ, शिक्षासेवी षडानन्द अधिकारी, निर्गुण भक्तिधाराका विद्रोही कवि ज्ञानदिल दासलाई पनि नेपालका राष्ट्रिय विभूति घोषणा गर्नु अन्यथा हुनेछैन । 

यसैगरी केही उच्चस्तरका साहित्यकारलाई यस सूचीमा आबद्ध गर्नु सान्दर्भिक देखिन्छ । जसमा कवि शिरोमणि लेखनाथ पौडेल, ग्रन्थकार भीमनिधि तिवारी, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट बालकृष्ण सम, आधुनिक कवि गोपालप्रसाद रिमाल, लोक कवि अलि मियाँ, आख्यानकार भवानी भिक्षु, गुरुप्रसाद मैनाली, डायमण्ड शमशेर राणा, व्यंग्यसम्राट भैरव अर्याल, साहित्यसेवी सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र लैनसिंह बाङ्देल त्यति नै उचाइ भएका व्यक्तित्वहरू हुन् । 

सरकारले यसको घोषणाका लागि एउटा स्पष्ट मापदण्ड बनाउनुपर्छ । त्यो मापदण्डअनुसार जीवितलाई पनि यस सूचीमा राख्न मिल्ने हो भने राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशी यो सूचीमा पर्ने निर्विवाद व्यक्तित्व हुन् । जीवित यसमा रहन नसक्ने हो भने पनि उनीहरूको अवसानपछि तुरुन्तै उनीहरूलाई यसपंक्तिमा राखिनुपर्छ । 

पृथ्वीको उत्तरी र दक्षिणी धु्रव तथा अन्टार्कटिकामा पहिलोपटक पुगेका, पहिलो तथा दोस्रो महायुद्धमा संलग्न भएर भिक्टोरिया क्रस पाउन सफल नेपाली, नासाका वैज्ञानिकहरूसँग संलग्न भएर खगोल, तारा, ग्रह, पिण्ड, नक्षत्र तथा पृथ्वीका जीवजन्तु समुद्र, वनस्पति आदिबारे खोज गरेका व्यक्तिको ख्याति तथा योगदानका आधारमा यिनीहरूलाई यो पंक्तिमा उभ्याउन सकिन्छ । तिनलाई सम्मानित गर्दै लान सक्ने र समय–समयमा यस्ता अन्य सम्भाव्य व्यक्तिलाई यसमा संलग्न गराउँदै लानसक्ने नियम बनाइनुपर्छ जसले राष्ट्रियस्तरका विभिन्न व्यक्तित्वको सम्मान हुन सकोस् । 

 


Views: 48