19th November | 2018 | Monday | 2:55:05 AM

दाजुभाइ दिदीबहिनीको पर्व तिहार

गीता अधिकारी   POSTED ON : Tuesday, 06 November, 2018 (2:20:19 PM)

दाजुभाइ दिदीबहिनीको पर्व तिहार

शरद पर्वैपर्वले भरिएको ऋतु हो । महान् पर्व दशैँ सकिनासाथ अर्को महान् पर्व तिहार नेपालीको घरआँगनमा आइसकेको छ । हर्षोल्लासपूर्ण वातावरणमा मनाइने तिहारको सांस्कृतिक र धार्मिक अफ्नै महŒव छ । तिहारलाई दीपावली भनिन्छ । पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई ‘पञ्चक’ भन्ने गरिन्छ । फूलबारीमा ढकमक्क फुलेका फूल, खेतभरि झुलेका धानका बाला, बारीमा झुलेको कोदो, लटरम्म फलेका अम्बा (बेलौंती), सुन्तला, जुनार, मौसम, ज्यामिर, भोगटे, बयर, मेवाजस्ता फलले यो पर्व फूल, माला, झिलिमिली बत्ती र देउसीभैलोका लागि बढी प्रसिद्ध छ । 

यमपञ्चक अर्थात् तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँचदिन मनाइने पर्व हो । यस पर्वलाई सामाजिक, धार्मिक, पारिवारिक पर्वका रूपमा लिइन्छ । यो पर्व काग, कुकुर, गाई, गोरु र भाइको पूजा गरी मनाइन्छ । दशैँ र तिहार दुवै पर्वमा देवी दुर्गाका फरकफरक रूपको पूजा–आराधना गरिन्छ । घरमा धेरै सम्पत्ति भित्रियोस् भनेर धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । 

तिहारको पहिलोदिन कागको पूजा गरिन्छ । दोस्रो दिन घरको रक्षक र यमको दूतको रूपमा कुकरको पूजा गरिन्छ । तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको पूजा र त्यही दिन गाईको पूजा गरिन्छ । चौथोदिन गोवर्धन पूजा हुन्छ । कृषि उत्पादनका सहयोगी गोरुको पनि पूजा हुन्छ । यसदिन नेवार जातिले म्हः पूजा गर्छन् । लक्ष्मी पूजाको दिनदेखि भाइ तिहारको रातिसम्म देउसीभैलो खेल्दै नाचगान गरिन्छ । पाँचांैदिन दिदीबहिनीले आआफ्ना दाजुभाइलाई दीर्घायूको कामना गर्दै टीका लगाइदिन्छन् । उनीहरूबाट दाजुभाइलाई विभिन्न मिठाई फलफूल र उपहार दिने चलन पनि छ । त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा र उपहार दिन्छन् । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले काठमाडौंको रानीपोखरीस्थित महादेवको मन्दिरमा गएर टीका लगाउने गर्छन् । यो मन्दिर भाइटीकाको दिनमात्र सर्वसाधारणका लागि खुला हुन्छ । 

तराईमा भरद्वितीयाः तिहारजस्तै मैथली र भोजपुरी समाजमा दाजुभाइ–दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेका भ्रातृ द्वितीया अर्थात् भरद्वितीया (भाइपूजा) पर्व धार्मिक विधिअनुरूप हर्षोल्लासका साथ मनाइन्छ । दीर्घायू तथा सुख, समृद्धिको कामना गर्दै मैथिली र भोजपुरी समाजमा दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी मनाउने चाड हो द्वितीया । यसदिन मैथली र भोजपुरी समाजमा घरको आँगनमा पिठारको (चामलको पीठो) अर्पणा बनाई त्यसमाथि सिन्दुर र अबिरले सजाएर राखिएको ठाउँमा काठको पिर्कामाथि दाजुभाइलाई बसाएर टीका लगाइदिने गर्छन् । पूजा सम्पन्न भएपछि दाजुभाइले दिदीबहिनीलाई विभिन्न उपहार र दक्षिणा दिने प्रचलन छ । यसरी विभिन्न समुदायमा विभिन्नरूपमा पर्व मनाउने गरेको पाइन्छ । 

धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना स्तुति गर्ने, धन सम्पत्तीको रक्षा गर्ने, मृत्यु देवता यमराज र उसकी बहिनी यमुनाको प्रसंगबाट दाजुबहिनी सुमधुर सम्बन्ध, प्रेम, स्नेहलाई बढो बलियोसँग जोड्ने गरेको छ तिहारले । यसका साथै काग, कुकुर र गाई आदिको पूजा गरी जनावर र प्रकृतिसँग मानवसम्बन्ध देखाउने पर्वका रूपमा तिहारले प्राकृतिक, सामाजिक र धार्मिक महŒव बोकेको छ ।

भाइ टीकाको दिन दिदीबहिनीले आफ्ना दाजु भाइलाई सप्तरंगी टीका र दुबो, मखमली माला लगाई तेलको घेराले शत्रु छेकी पूजा अर्चना गरी ओखर फुटाई शत्रु नाश र उत्तरोउत्तर प्रगति र दीर्घायूको कामना गर्छन् । दिदीबहिनीहरूले आफ्ना दाजुभाइको मृत्युलाई समेत टार्न सक्छन् भने दिदीबहिनीको दाजुभाइले संरक्षण गर्न सक्छन् भन्ने सन्देश यो दिनले दिएको छ ।

यस्तो स्वच्छ पवित्र मनोकामनासहित मनाउने तिहारमा सजिएका घरआँगन, गल्ली दीपावलीको झिलिमिली, घरघरमा सेलरोटीको बासना, गल्लीगल्लीमा चोकचोकमा भेटिने देउसीभैलो समूहको नाचगान, मादल मजुराको गुञ्जायमान धुनले तिहारलाई साँच्चै नै रमाइलो र उल्लासमय बनाउँछ ।

आफ्नो पहिचान भनेकै त्यो समाजले अपनाउने, मनाउने संस्कार, संस्कृति र परम्परा हो । त्यसैले आफ्नो भाषा संस्कृति र संस्कारको धारण, प्रबद्र्धन र विकास गर्नु आउँदो पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । यसले गर्दा हाम्रो भाषा, संस्कृति, परम्परा र सभ्यताले पुस्तांैसम्म जीवन्तता पाउँछ । यस्ता पर्व सबै धर्म जाति विशेषका साझा पर्वकारूपमा लिने गरिएको छ । एउटा राष्ट्रिय पर्वको रूपमा तिहार मनाउने गरिन्छ । 

तिहारको अर्को पक्ष भैली र देउसी हो । तिहारमा देउसी खेल्दै हिँड्ने चलन छ हाम्रो । देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरू पछिपछि देउसिरे भन्ने हुन्छन् । यसैगरी भैलो खेल्ने गरिन्छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने माध्यमका रूपमा तिहारलाई लिइन्छ । 

पछिल्लोसमय हाम्रा चाडपर्वहरूमा केही विकृति देखा पर्न थालेका छन् । यसको परम्परागत महŒवभन्दा जुवातास खेल्ने, मादकपदार्थ खाएर झैझगडा गर्नेजस्ता नराम्रा कुराले महŒव पाउन थालेको छ । तिहारका बेलामा सरकारले पटका बिक्रीवितरण गर्न र पड्काउन रोक लगाए पनि लुकीछिपी हुने गरेका छन् । जसले जिउधनको क्षति हुनसक्छ । सरकारले पटकाजन्य पदार्थमा कडाई गर्ने भने तापनि यसमा पूर्णरूपमा बन्देज लगाउन सकेको छैन । पटकासँग पर्व र धर्मको कुनै सम्बन्ध छैन, सबै मिलेर यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्छ । 

त्यस्तै, तिहार मिठाइको पर्व पनि हो तर हामीले खाने बजारिया मिठाई स्वस्थकर छैनन् । खुवामा पिठो र स्टार्च मिसाइएको पाइन्छ । यस्ता मिठाईजन्य वस्तु सडेगलेका मिठाई बिक्रीवितरण गरिएकोे, मिति समाप्त भएका खाद्यपदार्थ र अखाद्य रंग प्रयोग गरी फोहोर ठाउँमा बनाइन्छ भन्नेजस्ता कुरा सुन्दै र भोग्दै आएका छौं हामी । यसतर्फ हामी आफैंले सचेतता अपनाउन जरुरी छ । 

जुवातास खेल्दा मनोरञ्जन होइन कतिको घरबारै गुमेका घटना सुन्ने गरिएको छ । दशैँ, तीजलगायत हाम्रा पर्वमा विकृति मिसिन गएका छन् भने क्रिसमस, भ्यालेन्टाइन डे, न्यू इयरलगायत विदेशी पर्वको हाम्रो समाजले नक्कल गर्न थालेको छ । समयानुसार संस्कृतिमा केही परिवर्तन हुनु सवाभाविक हो तर संस्कृति रूपान्तरणको नाममा तिनलाई विकृत बनाउनु बुद्धिमत्तापूर्ण होइन । 


Views: 42