19th December | 2018 | Wednesday | 1:16:07 AM

न सुशासन, न समृद्धि

देवेन्द्र चुडाल   POSTED ON : Tuesday, 04 December, 2018 (2:16:06 PM)

न सुशासन, न समृद्धि

केपी ओली दोस्रोपटक प्रधानमन्त्री भएको नौ महिनापछि निकै तामझामका साथ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएको घोषणा भएको छ । प्रधानमन्त्री ओलीले उक्त कार्यक्रमको शुभारम्भ गरेका छन् । सामाजिक सुरक्षा कोषअन्र्तगत औषधोपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा सेवा, निवृत्तिभरणजस्ता सेवा पर्ने बताइएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोजगारी गर्ने आममानिसमा खुशी छाउने बताएका छन् । सरकारका यसअघिका यस्तै प्रकारका केही कार्यक्रम घोषणा भएर सफल हुन सकिरहेका छैनन् । हरेक श्रमले प्रतिफल पाउनैपर्छ भन्ने विश्वव्यापी सिद्धान्त छ । तर, यस्ता कार्यक्रममा राजनीति समेत हुने गरेको छ । 

यस्तै कारणले यसभन्दा अगाडिका कार्यक्रम सफल हुन नसकिरहेको बेला ल्याइएको यो कार्यक्रम सफल नै भइहाल्छ भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम सदुपयोग हुनेछ भनेर विश्वास गर्न पनि सकिँदैन । प्रधानमन्त्री ओलीले कोषको रकम पूर्णरूपमा सदुपयोग हुन्छ भनेर सबैलाई आश्वासन दिएका छन् । त्यसकारण अहिले नै प्रधानमन्त्रीलाई विश्वास गरौँ । 

यसभन्दा अगाडि प्रधानमन्त्रीले यस्तै खालका विभिन्न आश्वासन दिएका थिए तर त्यस्ता आश्वासन अहिलेसम्म कार्यान्वयन हुन नसकेका कारण अविश्वास गर्ने ठाउँ छन् । मुलुकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमतको सरकार छ । नेकपाले एक्लै संघीय संसद्मा बहुमत ल्याएको छ भने प्रधानमन्त्री ओलीकै चाहनामा अन्य दुई पार्टी संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले ओली नेतृत्वको सरकारलाई समर्थन गरेका छन् । सरकारलाई काम गर्न कुनै अप्ठ्यारो छैन तर सरकार जनचाहनाअनुसार काम गर्न सकिरहेको छैन । सरकारलाई आफ्ना योजना लागू गर्न कुनै समस्या देखिँदैन । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी एकीकरण भएर दरिलो कम्युनिस्ट पार्टी बने पनि पार्टीभित्रकै विवादका कारण सरकारले जनताको चाहनाअनुसार काम गर्न सकिरहेको छैन । 

पार्टी एकीकरण भएको ६ महिनाभन्दा बढी भए पनि नेकपामा संगठन निर्माण हुन सकेका छैनन् । पार्टीका वरिष्ठ नेता नै सरकारको कामप्रति सन्तोष हुन नसकेको अवस्था छ भने पार्टीका द्वय अध्यक्षमध्येका एक पुष्पकमल दाहाल सरकारका काम कारबाहीप्रति आक्रोशित हुँदै गएका छन् । 

यो सरकारले काम गर्न नसक्ने हो भने पछि आउने कुनैपनि सरकारले सक्ने छैन । ओली सरकार कुनै पनि बहाना बनाएर आफ्नो कर्तव्यबाट पछि हट्न पाउँदैन । संघीय संसद्को चुनावका बेला कम्युनिस्ट पार्टीले जनतालाई दिएका आश्वासन पूरा हुनैपर्छ । नेपाली जनता साँच्चै सार्वभौमसत्ता सम्पन्न हुन् भने उनीहरूलाई दिएका आश्वासन पूरा गर्ने दायित्व र कर्तव्य पार्टी र सरकारकै हो । 

ओली प्रधानमन्त्रीमा नियुक्त हुनासाथ उनले जनतालाई ठूलाठूला आश्वासनका पोका बाँडेका थिए । सुशासन र समृद्धिको नारा दिएका थिए । समृद्धि एकैपटक आउने विषय नभएकाले पहिला सुशासन नै कायम हुनुपर्छ । सुशासन भएको खण्डमा विस्तारै समृद्धि आउनसक्छ । मुलुकभर हत्या, हिंसा, बलात्कार, अपहरण, गुण्डागर्दीका घटना बढेका छन् । 

सरकार र नेपाल प्रहरीले आफूले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्न नसकेर आलोचनाका पात्र बन्दै गएका छन् । अनुसन्धान गरी पीडकलाई कानुनी कठघरामा ल्याउने काम प्रहरीकै हो । प्रहरीले जनताको विश्वास जित्न जुनसुकै अवस्थामा पनि अपराधीलाई कारबाही गर्नुपर्छ । अपराधी पक्राउ गर भनेर जनता सडकमा आइरहनुपर्ने होइन । यस्ता काम त सरकार र प्रहरीबाट स्वतः हुनुपर्ने हो । पीडितले न्यायका लागि अनश बस्नुपर्ने अवस्था आउनु राम्रो होइन । विलम्ब नगरी सबै पीडित परिवारलाई न्याय दिलाउनु सरकारको दायित्व हो । न्यायको सर्वमान्य सिद्धान्तअनुसार ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो । अपराधीले राजनीतिक संरक्षण पाउनु हुँदैन । यदि पाए भने सुशासन भन्ने शब्द सरकारका प्रधानमन्त्री र मन्त्रीले उच्चारण गर्न छोड्नु उचित हुनेछ । 

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलतालाई पहिलो प्राथमिकतामा राखेको उद्घोष आफू प्रधानमन्त्रीमा नियुक्त हुनासाथ गरेका थिए । तर, उनको शून्य सहनशीलतासमेत प्रभावकारी हुन सकेको छैन । दिनहुँ जस्तो सरकारी कर्मचारी घूस लिँदालिँदै रंगेहात पक्राउ परिरहेका छन् । संवैधानिक निकायले पछिल्लोपटक भ्रष्टाचार बढेको आरोप लगाइरहेका छन् । केही दिन पहिला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले नेपालगञ्ज पुगेर स्थानीय निकायका जनप्रतिनिधिलाई साँच्चिकै अख्तियारले कारबाही गर्ने हो भने स्थानीय निकाय नै रित्तिनेछन् भन्ने उद्घोष गरे । यसले के संकेत गरेको छ भनेर बुझ्ने हो भने सबैलाई कहाली लाग्छ । यसैगरी महालेखा परीक्षकको एक प्रतिवेदनले सरकारीस्तरमै भ्रष्टाचार बढेको उल्लेख गरेको छ ।

नेपाल वायुसेवा निगमले खरिद गरेका वाइडबडी जहाजमा झण्डै ७ अर्बको गडबडी भएको भनिएको छ । जहाज खरिदका विषयमा छानबिन गर्न सरकार र संसदीय समितिलाई भनिसकेको छ । जहाज खरिद काण्डमा सरकारले खासै चासो देखाएको छैन । यसको कारण के हुनसक्छ भनेर हामी सबैले अनुमान गर्नसक्छौं । सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने हो भने तत्काल जहाज खरिद काण्डमा संलग्न भएका सबैलाई निलम्बन गरी छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा लगाउनु आवश्यक छ । 

राजधानीका ठूलाठूला तारे होटल र भवनमा सभा सम्मेलन र गोष्ठी गरेर भाषण गर्दैमा भ्रष्टाचार घट्न सक्दैन । तिनै तारे होटल र ठूला भवनमा गरिने सभा, सम्मेलन र गोष्ठीमा समेत भ्रष्टाचार हुने गरेको छ ।

जनताले सरकारबाट आवश्यक सेवा सुविधा पाउन सकेका छैनन् । विदेश जान लागेका युवा श्रमको अन्तिम स्वीकृति लिन दिनहुँ श्रम कार्यालयमा ठूलो संकट भोग्नु परेको छ । श्रम स्वीकृति लिन रातिदेखि लाइन बसेपनि उनीहरूले पैसा नखुवाई श्रम स्वीकृति लिन सकेका छैनन् । 

मालपोत, यातायात, नापीजस्ता कार्यालयमा हुने ढिलासुस्तीले जनता पीडित भएका छन् । यी सबै कार्यालयमा दलालको बिगबिगी छ । दलालले पैसा लिएर केही छिनमै काम सम्पन्न गरिदिन्छन् । तिनै कर्मचारी दलालमार्फत् तुरुन्तै काम गरिदिन्छन्, सेवाग्राही जाँदा गरिदिँदैनन् । 

कम्युनिस्ट पार्टीका हजारौं कार्यकर्ता छन् । उनीहरूसमेत त्यस्तै मारमा परेका गुनासो दिनहुँ मन्त्रीहरूलाई सुनाउँदै हिँडेका भएपनि मन्त्रीले त्यसमा चासो देखाएर समस्याको समाधान गर्ने प्रयास किन गरिरहेका छैनन् ? यो एउटा महŒवपूर्ण प्रश्न हो । यदि उनी जानकार छन् भने त्यस्ता समस्याको समाधान गर्ने दायित्व स्वयं प्रधानमन्त्री पनि हुन् । मन्त्री भनेका प्रधानमन्त्रीका सहायक मात्र हुन्, उनीहरूले प्रधानमन्त्रीलाई सहयोग गर्ने मात्र हो । निर्णय गर्ने अधिकार त प्रधानमन्त्रीकै भएकाले जनताले भोग्नुपरेका समस्याको समाधान गर्न प्रधानमन्त्रीले तत्काल अग्रसरता देखाउन सक्नुपर्छ । 

भाषण गर्दैमा न त सुशासन कायम हुनसक्छन् न त समृद्धि नै । त्यसैले अब कुनै विलम्ब नगरी जनताका समस्या केलाएर सहीरूपले तिनको समाधान गरिनु आवश्यक छ । यदि प्रधानमन्त्रीले त्यस्तो अग्रसरता नदेखाउने हो भने जतिसुकै तामझाम गरेर जस्तोसुकै कार्यक्रम घोषणा गरेपनि त्यस्ता कार्यक्रम सफल हुन सक्दैनन् । यातायात क्षेत्रको सिन्डिकेट त्यसैको प्रमाण हो । त्यसैले अब सरकारले काम गरेर देखाउनु उचित हो । 


Views: 60