25th March | 2019 | Monday | 3:28:41 AM

ध्वजावाहकको दुर्गति

रिसव गौतम   POSTED ON : पुष २२, २०७५ (११:११ AM)

ध्वजावाहकको दुर्गति

यतिबेला नेपाल वायुसेवा निगमले हालै भिœयाएको दुई वाइडबडी विमानको खरिद प्रक्रियामा भएको अनियमिता प्रकरणबारे सर्वाधिक चर्चा र चासो छ । संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले विमान खरिदमा बाहलवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित तीन पूर्वपर्यटन मन्त्री र सचिवलाई समेत कारबाहीका लागि सिफारिस गरेपछि यो प्रकरण बढी चर्चामा छ । विमान खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको निष्कर्षसहति ५७ पृष्ठ लामो प्रतिवेदन लेख्दै उपसमितिले दोषी देखाएको छ । प्रतिवेदनले सरकारको निद्रा नै बिथोलिदिएको छ ।

अध्ययनका क्रममा सहयोग नपाएको, विमान खरिदको सक्कल कागजात मन्त्रालय र निगमले नदिएको उपसमितिका सदस्यको भनाइ बाहिर आएको छ । प्रतिवेदनले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गर्न सरकारलाई र तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुुसन्धान आयोगलाई सुझाव दिएको छ । देशमा फेरि एउटा लाउडा काण्ड घटित भएको छ । अनेकन षड्यन्त्र,  जालझेल र भ्रष्टाचारले देशकै गौरव एवं पुरानो सरकारी स्वामित्वको हवाई कम्पनी डुब्ने अवस्थामा पुगेको छ । यस प्रकरणका दोषीलाई थप प्रमाणसहित कानुनी कारबाहीमा ल्याउन अख्तियारले काम थालिहाल्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । 

निगमको इतिहास र गरिमा ः १ जुलाई १९५८ मा हवाई सेवा सुरु गरेको नेपाल वायुसेवा निगम लामो समयदेखि भ्रष्टाचारका काण्डको शृंखलाबाट गुज्रिदै आएको छ । नेपाली गौरवको राष्ट्रिय ध्वजावाहक एकमात्र हवाई सेवाको रूपमा परिचित नेपाल वायुसेवा निगम विमान अभावमा डाइनोसरजस्तो लोपोन्मुख मार्गमा अघि बढिरहेको छ । राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा ठूलो योगदान पु¥याउनसक्ने, पर्यटनमा ठूलो योगदान पु¥याउनसक्ने नेपाल वायुसेवा निगमको जर्जर अवस्थाले धेरैमा चिन्ता जगाएको छ । निगमको यस्तो अवस्था सिंगो देशका लागि चिन्ताको विषय हो । 

नेपालको पर्यटन विकास र अन्तर्राष्ट्रिय हवाई उडानमा समेत ठूलो योगदान पु¥याउनसक्ने नेपाल वायु सेवा निगमको पुनर्संरचनाबारे बारम्बार बहस नभएको भने होइन । विमान थप गरी निगमको पहिलाको इतिहास ताजा बनाउने प्रयास भएको भनिए पनि वाइडबडी विमान प्रकरणले थप चिन्ता जगाएको छ । यस्तै प्रकारका काण्डको लामो शृंखला नै छ । 

नेपालको राष्ट्रिय अर्थतन्त्रको विकास र विदेशी मुद्रा आर्जनका लागि नेपाल वायु सेवा निगम एउटा भरपर्दो संस्था रहेकोमा दुई मत छैन । पछिल्ला दिनमा विमान अभावका कारण अन्तर्राष्ट्रिय उडान प्रभावकारी हुन नसकेको भए पनि नेवानिले सन् १९८७÷८८ देखि १९९२÷९३ सम्मको आफ्नो प्रगतिकालमा जर्मनीको फ्र्यांकफर्टदेखि फ्रान्सको पेरिससम्म गन्तव्य बनाएको थियो । त्यतिबेला निगमसँग बोइन ७५७ दुईवटा, ७२७ दुईवटा, एभ्रो ३ वटा, ट्वीनअटर १० ओटा, पिलाटस पोटर ३ वटा गरी २० ओटा विमान थिए । हाल भने निगमसँग वोइङ ७५७ दुई ओटा, ट्वीन अटर ७ वटा छन् । तीमध्ये पनि आधाजति नचल्ने हालतमा छन् । पछिल्लो समय खरिद गरिएका दुई वाइडवडी विमानमा पनि समस्या आएको समाचार आउन थालिसकेको छ । 

हालको निगम ः हाल अन्तर्राष्ट्रिय उडानतर्फ बोइङ ७५७ दुई वटा सञ्चालित छन् । निगमले विगतमा अन्तर्राष्ट्रियस्तरमा आर्जन गरेको साख जोगाउन सकेको अवस्था छैन । अझ विडम्बना त के छ भने नेपाल वायु सेवा निगमको सञ्चालनमा रहेका विमान ३० वर्षभन्दा पुराना छन् भनिन्छ । जसको उत्पादक कम्पनीले समेत त्यस्ता विमान उत्पादन गर्न छाडेर आधुनिक विमानहरू उत्पादन गर्न थालेका छन् । त्यसले गर्दा पनि नेवानिका विमान मर्मत सम्भार धेरै कठिन बन्दै गएको छ र महँगो पर्ने गरेको छ । कुनै एक विमान अपर्झट बिग्रिँदा सम्पूर्ण उडान नै रद्द गर्नुपर्ने नियति निगमले भोग्दैछ । यसले राष्ट्रिय गौरवको यस संस्थानलाई निरन्तर घाटामा धकेलिरहेको छ । कतिसम्म भने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले गरेको एक अध्ययनअनुसार ५–६ वर्षभित्र यी बोइङ जहाज विस्थापित गर्नुपर्ने ठहर छ । यस हिसाबले पनि नेवानिको भविष्य ज्यादै संकटग्रस्त बन्दै गएको स्पष्ट छ । यसमा आमूल पुनर्संरचनाको खाँचो देखिन्छ । यदि बेलैमा सरकारीस्तरमा निगमको भविष्य निर्माणबारे नसोच्ने हो भने नेपाली भूगोलमा नेवानिको अस्तित्व नै नरहने हो कि जस्तो अवस्था सृजना हुँदैछ । 

अन्तर्राष्ट्रिय जगतमा कुनै देशको राष्ट्रिय गौरव दर्शाउने विमान सेवाको विछट्टै महŒव हुन्छ । अझ हाम्रोजस्तो शान्तिदूत गौतम बुद्ध र सर्वोच्च शिखर सगरमाथाको देशका लागि पर्यटन विकासमा यसको महŒव अपरम्पार छ । निजी क्षेत्रमा सञ्चालित विमान कम्पनीहरूले अन्तर्राष्ट्रियस्तरको उडानको जोखिम मोल्न नसकिरहेको अवस्थामा नेवानि त निर्विकल्प नै हो । किनकि नेपालमा आवतजावत गर्ने विदेशी पाहुनादेखि रोजगारीका शिलशिलामा बाहिरिएका युवा जमातसमेतको अथाह संख्याले अन्तर्राष्ट्रिय उडान सेवावापत विदेशी विमान कम्पनीलाई पैसा बुझाउनु पररेको विडम्बनापूर्ण अवस्था छ । यसले पहिलो त अन्तर्राष्ट्रिय उडानमार्फत् विदेशी मुद्रा आर्जन गर्ने अवसर गुमेको छ भने दोस्रो, स्वदेशी रुपैयाँसमेत ठूलो मात्रामा बाहिरिएको छ । समग्रमा अन्तर्राष्ट्रिय उडान नहुँदा नेपालले धेरै ठूलो घाटा व्यहोरिरहेको स्थिति छ । 

अर्कातिर नेपालको अन्तर्राष्ट्रिय उडान प्रभावकारी र मुख्य गन्तव्यहरूमा विस्तार हुन नसक्दा धेरै मुलुकबाट आउने पर्यटकहरूले समेत ठूलो सास्ती खेप्नु परेको गुनासो छ । यसले पर्यटन विकासमा समेत धक्का पु¥याइरहेको छ । स्वदेशमा समेत निगमले नियमित र भरपर्दो सेवा पु¥याउन सकिरहेको छैन । विभिन्न २९ स्थानमा उडान भरिरहे पनि भरपर्दो नभएको गुनासो चौतर्फी छ । त्यसमा पनि सरकारले उदार आकाश नीति अवलम्बन गरेपछि बढेका निजी हवाई सेवाप्रदायक कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न नै नसक्ने अवस्थामा छ नेपाल वायु सेवा निगम । यसले निगमको व्यापरमा ठूलो घाटा पु¥याइरहेको देखिन्छ । निगमसामु देखिएका यी यावत अप्ठ्यारा चिर्दै सिंगो मुलुकको फाइदाको हकमा संस्थालाई अगाडि बढाउनुपर्ने आवश्यकता छ । निगको भविष्य जोगाउनु निकै चुनौतीपूर्ण बन्दै गएको छ । 

निगमका जहाजमा मुसा छिरेकादेखि लिएर निगम व्यवस्थापन कमजोर भएको, भ्रष्टाचारको दोषी भएको भन्दै ३० वर्षभन्दा बढी सो संस्थामा कार्यरत पाइलटहरूले केही समयअघि राजीनामा दिनुपरेको नियती ताजै छ । अनुभवी र सक्षम पाइलट नेवानि छाडी भारतको निजी हवाई सेवाप्रदायक कम्पनी ‘ब्लु डार्ट एभिएसन’ मा गएबाट त झन् संस्थाको भविष्यमा कालो बादल मडारिएको आभास हुन्छ । नेपाल वायु सेवा निगमले अधिक कर्मचारी व्यवस्थापन चुनौती सामना गर्नुपरेको छ । निगमको संरचनामा आमूल पुनर्संरचना उत्तिकै आवश्यक छ । विमान अभावमा नियमित उडानसमेत रद्द हुँदै आएको निगममा आवश्यक विमान खरिद नभए निश्चितरूपमा यस संस्थाको अस्तित्व नरहन सक्छ । 

तसर्थ, नेपाल वायु सेवा निगमको गौरवशाली इतिहास रक्षाका लागि सरकारले विशेष ध्यान दिन जरुरत छ । यसको रक्षार्थ निगम सुधार एवं सुदृढीकरणसम्बन्धी कार्यदल ०६२ ले सिफारिस गरेको प्रतिवेदनबमोजिम निगमलाई सार्वजनिक निजी साझेदारीको ढाचामा रूपान्तरण गर्न आवश्यक छ । निजीकरणसम्बन्धी विगतका अनुभव र नेपाल निगमको राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर यसलाई कुनै पनि हालतमा जनताको सुविधासँग जोड्न जरुरी छ । नेपालका निजी क्षेत्रका धेरै विमान कम्पनी जनताको हितभन्दा नाफामा आधारित भइरहेका छन् । तर, नेपालको भौगोलिक अवस्थिति र बाटोघाटोलगायतको आवश्यकीय पूर्वाधार अभावको संरचनाले पनि निगमको आवश्यकतालाई जोड दिन्छ । 

नेपालका धेरैजसो विकट पहाडी भेगमा मोटर बाटोको अभाव छ । साथै त्यस्ता भेगमा बस्ने अधिकांश जनता रोग, भोक, अशिक्षा र गरिबीबाट अद्यापि प्रताडित छन् । निजी हवाई सेवाप्रदायक कम्पनीहरूले तिनको आवश्यकतालाई उपेक्षामात्रै गरिरहेका देखिन्छन् । यस्तो अवस्थामा सरकारी विमान सेवालाई नामेट पारिने हो भने ती निराश जनताको आवश्यकता र सुविधा लुटिन पुग्छ । नेपाल वायु सेवा निगमले विगतदेखि नै नेपालका दुर्गम भेगमा घाटा व्यहोरेरै भए पनि सेवा पु¥याउँदै आएको छ । यसको सेवा प्रभावकारी बनाउन आवश्यक छ ।

निर्कष ः दुर्गम तथा सुगमका जनताको आवश्यकताको सम्बोधनका लागि राष्ट्रको ध्वजावहाक हवाई सेवाको पुनर्संरचना अत्यावश्यक छ । निगमभित्र हुने गरेका सबै प्रकारका भ्रष्टचार, अनियमिता र कामचोर प्रवृत्ति साबुनपानी लगाएरै सफा गर्न जरुरी छ । दुईओटा वाइडबडी विमान खरिदमा ४ अर्बभन्दा बढी अनियमितता भएको तथ्य बाहिर आउँदै गर्दा थप ४ ओटा विमान ल्याउने कुरा उठिरहेको छ । विमान ल्याउनु अपरिहार्य छ । तर त्यस्तो विमान अत्यन्तै गुणस्तरीय हुन जरुरी छ । विमान ल्याउने प्रक्रियामा भ्रष्टाचार र अनियमितता हुनु भएन । वाइडबडी खरिद प्रकरण छिटोभन्दा छिटो टुंगोमा पु¥याएर भ्रष्टाचारका दोषीहरूलाई हदैसम्मको कारबाही हुनु आवश्यक छ । निगमको आमूल पुनरसंरचना आजको आवश्यकता हो । 



Views: 76