22nd January | 2019 | Tuesday | 9:31:47 AM

आर्थिक समृद्धि : विज्ञान र प्रविधि

राजेशमान के.सी.   POSTED ON : Tuesday, 08 January, 2019 (2:10:48 PM)

आर्थिक समृद्धि : विज्ञान र प्रविधि

नेपाल विकासमा ज्यादै पछाडि धकेलिएको मुलुक हो । सन् ६० को दशकसम्म नेपालकै हाराहारीमा रहेका मुलुक आज आर्थिक विकास र जनताको जीवनस्तरमा सुधार ल्याउन निकै हदसम्म सफल भइसकेका छन् । नेपाल भने उही कछुवा गतिमै अगाडि बढिरहेको छ । उदाहरणका लागि दक्षिण कोरियालाई लिन सकिन्छ । भौगोलिक दृष्टिकोणले तुलनात्मकरूपमा हाम्रोभन्दा सानो यो मुलुक सन् ६० को दशकसम्म विकासको मार्गमा हामीभन्दा पछाडि थियो । 

तर, मुलुकको आवश्यकताअनुरूप विज्ञान र प्रविधिको विकासमा यथेष्ट ध्यान दिएकै कारण विकास र समृद्धिका दृष्टिले आज दक्षिण कोरिया विश्व बजारमै प्रतिस्पर्धात्मकरूपमा अगाडि बढिरहेको छ । श्रम रोजगार प्रदायकको दृष्टिले त यो मुलुक अहिले नेपाललगायत कतिपय एसियाली मुलुकका लागि एक आकर्षक गन्तव्यस्थल बन्न पुगेको छ । सन् २००८ बाट नेपाली कामदारले श्रम स्वीकृति प्राप्त गरेको यस मुलुकमा एक दशकको अवधिमा झण्डै ६० हजार नेपालीले रोजगारीको अवसर प्राप्त गरिसकेका छन् ।

त्यसैले यदि नेपाललाई साँच्चिकै विकासको मार्गमा अघि बढाउने हो र जनताको जीवनस्तरमा महŒवपूर्ण परिवर्तन ल्याउने हो भने कृषि, स्वास्थ्य, उद्योग, शिक्षा, यातायात, सञ्चार आदिजस्ता क्षेत्रको प्रवद्र्धन र विकासमा यथेष्ठ ध्यान पु¥याउन जरुरी छ । यसका लागि हामीले कुरा र भाषणमा भन्दा कर्म र पौरखमा बढी ध्यान दिनु आवश्यक छ । वैज्ञानिक सोच र चिन्तनलाई हामीले फराकिलो बनाउनुुपर्छ । यो कार्य तबमात्र सम्भव हुन्छ जब राज्यले विज्ञान प्रविधिको विकासलाई राष्ट्रिय विकासको अपरिहार्य औजारका रूपमा ग्रहण गर्छ । 

हुन त नेपालमा विज्ञान प्रविधिका केही अनुसन्धान र विकाससम्बन्धी कार्य निजीस्तरका पेशागत संघसंस्थाद्वारा सम्पन्न नभएका होइनन् । तर, यातायात, सञ्चार, स्वास्थ्य, ऊर्जा, प्रविधि र वातावरणजस्ता क्षेत्रहरू जसले सार्वजनिक हित र कल्याणसँग प्रत्यक्ष सरोकार राख्छ, यी क्षेत्रमा निजीस्तरका संघसंस्थाहरूको सहभागिता रहने भए तापनि सरकारको भूमिका नियामक र निर्देशात्मक हुनुपर्ने विज्ञको धारणा छ । 

धेरैजसो विकासोन्मुख मुलुकहरूमा राष्ट्रिय वैज्ञानिक क्षमताको विकास गर्नु र प्रविधि हस्तान्तरण र विकासका लागि संस्थागत संरचनाहरूको स्थापना गर्नु सरकारको प्रमुख दायित्व मान्ने गरिएको छ । तर, नेपालले भने अझै पनि यस्ता विकाससम्बन्धी गतिविधिको नियमन, सञ्चालन र समन्वयका लागि कुनै भरपर्दो संयन्त्रको विकास गर्न सकेको छैन । वैज्ञानिक समुदाय पनि यस सम्बन्धमा खासैसचेत रहेको पाइँदैन । 

कुनै पनि मुलुकमा विकासको आधारभूत उद्येश्य परिपूर्तिका लागि उपयुक्त प्रविधिको छनोट अपरिहार्य हुन्छ । तथापि कुनै आधिकारिक र भरपर्दो निकायको अभावका कारण नेपालमा उपयुक्त प्रविधिको यथोचित छनोट र मूल्यांकन हुन सकिरहेको छैन । फलस्वरूप नेपालमा सामाजिक र आर्थिक विकासमा वैज्ञानिक ज्ञान र अनुभवको उपयोगिताका लागि गरिने कुनैपनि प्रयासमा थुप्रै बाधा र व्यवधान आउने गर्छन् । 

यीमध्ये कतिपय यस्ता व्यवधान सामाजिक–आर्थिक र राजनीतिक प्रकृतिका हुने गर्छन् । त्यसमा पनि विज्ञान प्रविधिको क्षमता र सम्भावनासम्बन्धी ज्ञानका बारेमा हाम्रा राजनीतिक नेताहरू कमै चासो राख्छन् । अझ भन्ने हो भने उनीहरू विज्ञान प्रविधिको उपयोगले मानव जीवनमा कति असर पार्छ अथवा जीवनस्तरमा कति सुधार ल्याउनसक्छ भन्ने बारेमा खासै अभिरुचि राख्दैनन् । जबकि जनताको न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्न होस् अथवा रोजगारीको अवसरमा वृद्धि ल्याउने कुरामा होस् स्वदेशी साधन स्रोत बढीभन्दा बढी प्रयोग हुने खालका प्रविधिको अनुसन्धान र विकासतर्फ ध्यान दिनु अति आवश्यक हुन्छ । 

नेपालका ग्रामीण इलाकाहरूमा अझै पनि जनसंख्याको ठूलो हिस्सा शिक्षाको अवसरबाट वञ्चित छ र परम्परागत रुढिवादी विचारधाराबाट ग्रसित छ । यस किसिमको रुढिवादी विचारधाराले सामाजिक रूपान्तरणको प्रक्रियामा अवरोध पु¥याउनेगर्छ । यस हिसाबले विज्ञान प्रविधिको उचित प्रयोगद्वारा यस किसिमको विचारधाराको अवरोधलाई निराकरण गर्दै आर्थिक, सामाजिक विकासको प्रक्रियालाई तीव्ररूपमा अघि बढाउन अतिआवश्यक देखिन्छ । त्यसका लागि हामीले ग्रामीण क्षेत्रमा बसोवास गर्ने गरीब, दलित एवं पिछडिएका जनताको आधारभूत आवश्यकतातर्फ बढी ध्यान दिनुपर्ने हुन्छ । 

वास्तवमा यसले हामीलाई स्थानीय सीप र प्रविधिको प्रवद्र्धन र विकासको अनुसरण गर्न पनि उत्प्रेरित गर्छ । त्यतिमात्र नभई यसले मुलुकलाई परम्परागत कलाकौशल र सीपको प्रवद्र्धन गर्न र यसलाई आधुनिक देश काल परिस्थिति सुहाउँदो प्रविधिमा रूपान्तरण गर्न मद्दत पु¥याउछ । मुलुकलाई आवश्यक पर्ने प्रविधि स्थानीय श्रम तथा सामग्री प्रयोग हुने तथा अर्थिक दृष्टिकोणले लाभदायक, सर्वसाधारणले प्रयोगमा ल्याउनसक्ने, देशको भौगोलिक अवस्था (सामाजिक, सांस्कृतिक, आर्थिक आदि)अनुरूप सजिलैसँग अपनाउन सकिने आदि आवश्यकतालाई ध्यानमा राखी ती भिœयाउनुपर्ने देखिन्छ । 

समग्रमा हाम्रो विज्ञान प्रविधिसम्बन्धी नीति र कार्यक्रम देशको समग्र नीति र योजनासँग आबद्ध रहनुपर्छ । यसका लागि राष्ट्रको आर्थिक विकास र योजना निर्माणमा वैज्ञानिक र प्राविधिज्ञको सक्रिय सहभागिता रहनुपर्ने कुरामा दुई मत रहँदैन । यसका लागि मुलुकमा विज्ञान तथा प्रविधिसम्बन्धी नीति निर्माण तर्जुमा, समन्वय तथा संस्थागत विकासका लागि स्थापित नेपाल सरकारको विज्ञान तथा प्रविधि मन्त्रालय (हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय) ले विशेष ध्यान पु¥याउनु आवश्यक छ ।

Views: 50