22nd January | 2019 | Tuesday | 9:32:41 AM

त्रिवि पनिकामा सुधारको अपेक्षा

आदित्य दाहाल   POSTED ON : Thursday, 10 January, 2019 (1:58:05 PM)

त्रिवि पनिकामा सुधारको अपेक्षा

त्रिभुवन विश्वविद्यालय, देशभरिका अधिकांश विद्यार्थीकोे भविष्य जोडिएको ठाउँ हो । देशको यो पुरानो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस देशका विभिन्न भागमा सञ्चालनमा छन् । यस विश्वविद्यालय अन्तर्गतका क्याम्पसका विद्यार्थीको शैक्षिक प्रमाणपत्र लिने ठाउँ भनेको काठमाडौंको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) हो । 

परीक्षा नियन्त्रण कार्यालयले संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० मा रहेर विद्यार्थी तथा संगठनभित्रका थुप्रै कार्य गर्ने गर्छन् । यो जिम्मेवारीको हिसाबले विद्यार्थीसँग सबैभन्दा नजिक रहेर कार्यसम्पादन गर्नुपर्ने केन्द्र हो भनेर बुझ्नुपर्ने हुन्छ ।

यति धेरै जिम्मेवारी बोकेको परीक्षा नियन्त्रण कार्यालय भने विद्यार्थीले सधैँको सास्ती खेप्ने थलोका रूपमा परिचित छ । यही कार्यालयकै कारण विद्यार्थीले हैरानीमात्रै खेप्नुपरेको छैन उनीहरूको भविष्य नै अन्योलमा पर्ने गरेको छ । एउटा कुनै शैक्षिक तह पास गरेर आफ्नो ट्रान्सक्रिप्ट लिन पनिका पुग्ने प्रायः विद्यार्थीले विभिन्न खालका सास्ती खेप्ने गरेका उदाहरण प्रसस्त भेटिन्छन् । दिनभरि लामो लाइन बसेर उनीहरू झ्यालमा पुगेका हुन्छन् तर पालो आएपछि कर्मचारीले सजिलै मिलाउन सक्ने सानो गल्लीलाई पनि पहाड बनाएर अर्को दिनको भाका राख्दै फिर्ता पढाउँछन् । विभिन्न खालका कागजात थप गर्न लगाउँछन् । 

पनिकाबाट हुने कार्यमा ट्रान्सक्रिप्ट वितरणका यस्ता हैरानी त छँदैछन्, यसको गल्तीका कारण रजिष्ट्रेसन नम्बर गलत आउँदा तथा उत्तरपुस्तिका हराउँदाका थुप्रै हैरानी विद्यार्थीले नै खेप्ने गरेका छन् । केही साताअघि प्राप्ताङ्कमै त्रुटि भएको भन्दै केही विद्यार्थी पनिका पुगेका थिए । तिनले पनि त्यहाँ यस्तै हैरानी भोगे र अन्तमा यस कार्यालयलाई ‘कसैलाई ठूलो श्राप दिनुपर्दा यसको परीक्षा नियन्त्रण कार्यालय बल्खुमा काम परिजाओस् भन्न पुग्छन्’ भन्दै व्यांग्यात्मक शैलीमा आफ्नो प्रतिक्रिया दिएर फर्किएका थिए । कुनै काम परेर यस कार्यालयमा आउनेले सजिलै काम होला भनेर चिताउनु अन्यथा हुन जान्छ ।

देशको सबैभन्दा पुरानो त्रिभुवन विश्वाविद्यालयमा बेथितिको जालो वर्णन गरेर साध्य नहुने खालको छ । यो कार्यालय त विद्यार्थीहरूको ट्रान्सक्रिप्ट, मार्कसिट, रेजिष्ट्रेसन र उत्तरपुस्तिकासँग सन्बन्धित छ । यो कार्यालयसँग विद्यार्थीको भाग्य गाँसिएको छ तर यसैमा चरम लापरबाही छ । मेची महाकालीबाट विभिन्न काम लिएर आएका विद्यार्थीले समयमा सेवा लिन नपाउँदा उनीहरू लामो समयसम्म महंगा होटल तथा लजमा बस्न बाध्य हुनुपरेको छ । सेवासँग प्रत्यक्ष जोडिन आउने यस्ता निकायले छिटो सेवा दिन सक्नुपर्छ । 

ढिलासुस्तीमात्र होइन कर्मचारीको लापरबाहीका कारण उत्तरपुस्तिका हराउने गरेको छ । पनिकाका यस्ता गम्भीर त्रुटिले कतिपय विद्यार्थीको भविष्य अन्योलमा पर्ने गरेको छ । २०७४ सालमा सिन्धुली बहुमुखी क्याम्पसका बिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीको नतिजा सार्वजनिक गर्ने बेलामा त्रिविले ६९ जनाको उत्तरपुस्तिकै हराएको भन्दै पुनः परीक्षा दिनुपर्ने सूचना दिएको थियो । यसरी परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनः परीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि सिधै खेलवाड हुन गएको थियो । यो विश्वविद्यालय र पनिकाको सर्वत्र आलोच्य पक्ष हो । 

परीक्षा नियन्त्रण कार्यालयले पटकपटक हुने गरेका आफ्ना यस्ता त्रुटि सच्याउनुपर्नेमा अझ त्रुटि बढ्दै गएको छ । गल्तीबाट पाठ नसिकेको पनिका समस्यामाथि समस्या थप्दै गइरहेको छ । यस्ता उदाहरण यस सस्थामा प्रशस्त मात्रामा भेटिन्छन् । हाजिरीसहित परीक्षा दिँदा पनि नतिजा नआएर पनिका पुग्ने सयौं विद्यार्थीलाई तपाईंको उत्तरपुस्तिका हरायो, फेरि परीक्षा दिनुहोस् भन्दै कर्मचारीले पन्छाउने गरेका उदाहरण धेरै छन् । परीक्षाफल कुरिरहेका विद्यार्थीले परीक्षा दिएको वर्ष दिनपछि पुनः परीक्षा दिनुपर्दा तिनको मानसिक अवस्था कस्तो होला ¤ पुनः परीक्षा दिनुपर्दा उनीहरूको तयारी पहिलेजति कसरी पुग्नसक्छ ?

केही महिनाअघिमात्रै परीक्षामा सहभागी भएका तर अनुपस्थित भनी मार्कसिटमा जनाइएका विद्यार्थीले हेलो सरकारमार्फत् उजुरी गरेका थिए । तिनलाई पनिकाले कापी हराएको भन्दै पुनः परीक्षा दिन आग्रह गरेको थियो । पनिका यसरी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्छ अनि आफ्नो गल्ती स्वीकार गर्दैन बरु पन्सिन्छन् ।

यसरी हरेक वर्ष परीक्षाफल प्रकाशित हुँदा परीक्षा दिँदा अनुपस्थित, ट्रान्सक्रिप्टमा रेजिष्ट्रेसन नम्बर फरक त कहिले नामै गलत आउने गर्छ । परीक्षा नियन्त्रण कार्यालयले गरेका यस्ता विभिन्न गल्ती विद्यार्थी स्वयंले पुनः शुल्क तिरेर सच्याउनुपर्ने अवस्था छ । कार्यालयकै गल्तीका कारण प्रमाणपत्र सच्याउन पुगेका विद्यार्थीहरूलाई यो काम फत्ते गर्न महाभारतको लडाइँ जितेजत्तिकै हुन्छ । 

पनिकाको विषयगत फाँटमा कार्यरत कर्मचारीमा यस्ता समस्या लैजाँदा सजिलै काम होला भनेर विद्यार्थीले कल्पनासमेत गर्नसक्ने अवस्था छैन । उनीहरूले राम्रोसँग विद्यार्थीको समस्या नै नबुझी ठाडै भोलिको भाका तोक्ने गरेका छन् ।

त्रिविमा बिचौलिया प्रवृत्ति पनि हाबी छ, यसको वर्णन गरेर साध्य छैन । सम्पूर्ण प्रक्रिया पु¥याएर विद्यार्थीले आफ्नो मार्कसिटलगायत कागजात पाऊँ भन्दै निवेदन दिँदासमेत पाउन सक्दैनन् । कर्मचारीले केही न केही सानो कमजोरी देखाएर पन्छिँदै केही दिनपछिको तारिक तोकिदिन्छन् । टाढाबाट आएका सेवाग्राहीको उक्त समस्याबीच केही बिचौलिया छिर्छन् र पैसाको बार्गेनिङ गर्न थाल्छन् । राजधानीमा लामो समय बसेर खर्च गर्नुभन्दा उनीहरू केही पैसा बुझाएर काम गर्न बाध्य हुन्छन् । यसरी बिचौलिया र कर्मचारीबीचको सन्बन्धले पनिकामा राम्रै गरी जरो गाडेको छ । 

परीक्षा नियन्त्रण कार्यालयजस्तो देशभरका सेवाग्राही आउने शाखामा आवश्यक सूचना पाटीसमेत छैनन् । कुन काम कुन कोठाबाट हुन्छ भन्ने सामान्य जानकारीसहित बोर्ड कहीँ भेटिँदैनन् । यसरी सूचनापाटी नहुँदा विद्यार्थीहरू दिनभर कुन कोठामा के काम हुन्छ भन्ने अन्योलले त्यहाँ यता र उता भौंतारिइरहन बाध्य हुन्छन् । यस्ता सानासाना कमजोरीलाई पनि व्यवस्थापन गर्न नसक्नुले पनिकाको साख गिर्दै गएको छ । विद्यार्थीहरूको सेवाकै लागि त्रिविको तलब खाएर बसेका कर्मचारीहरू गल्ती सच्याउन तथा शैक्षिक प्रमाणपत्र लिन पुगेका सेवाग्राहीको कुनै प्रश्न सुन्नासाथ रिसाउँछन् । उनीहरूबाट सजिलै र नरम स्वरमा उत्तर पाउन बिरलैमात्र सकिन्छ ।

पनिकाका कर्मचारी आफूले राखेको फाइल आफैँ भेट्दैनन् । यो यहाँको अर्को प्रमुख समस्या हो । अहिलेसम्म कार्यालय प्रविधिमैत्री नबन्दा सेवाग्राही थप मर्कामा छन् । प्रविधिमैत्री नहुँदा रेजिष्ट्रेसन नम्बरका आधारमा फाइल खोज्न निकै समय लाग्छ । यसकै कारणले पनि पनिका आउने विद्यार्थीको समय लम्बिन जान्छ र दूरदराजबाट आएका विद्यार्थी झन् बढी समस्यामा पर्ने गर्छन् । केही महिना पहिले पनिकाले एक दिनभित्रै ट्रान्सक्रिप्ट दिने घोषणा गरेको थियो । तर, अहिलेसम्म यसलाई सबै संकाय र तहमा लागू हुनेगरी व्यवहारमा ल्याउन सकेको छैन ।

जीवनको शैक्षिक उपलब्धि मानेको मार्कसिट लिन आउने सेवाग्राही कार्यालयको ढिलासुस्ती र झर्कोफर्काेका कारण वर्षौंको यो उपलब्धिलाई सजाय ठान्न बाध्य हुन्छन् । यस्ता विभिन्न समस्याले आजित विद्यार्थी पनिकामा कुनै काम लिएर जानु नपरे हुन्थ्यो भन्ने ठान्छन् । अहिलेको प्रविधियुक्त युगमा त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको रेजिष्ट्रेसन तथा कार्यालयको विभिन्न रेर्कड राख्न अझै पुरानै कागजी शैली अपनाउने गरेको छ । मुलुक डिजिटललाइजेशन सेवातर्फ उन्मुख भइरहेको समयमा ६० जति आंगिक र एउटा केन्द्रीय क्याम्पस भएको त्रिभुवन विश्वविद्यालय आधुनिक प्रविधियुक्त नहुनु निकै लज्जाको कुरा हो ।

देशकै पुरानो र ठूलो विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय कर्मचारी व्यवस्थापन, अनुशासन र सेवाप्रदानतर्फ उन्मुख बन्नुपर्ने देखिन्छ । कार्यालयलाई डिजिटल प्रविधिमा लैजानु र यसले दिने सेवा व्यवस्थित तथा मर्यादित बनाउनुपर्ने टड्कारो आवश्यकता छ । यसका साथै त्रिभुवन विश्वविद्यालयका कर्मचारी सेवाग्राहीप्रति उत्तरदायी बन्न खाँचो छ । 


Views: 38