25th June | 2019 | Tuesday | 3:02:49 AM

साँच्चै को थिए पृथ्वीनारायण

महादीप पोखरेल   POSTED ON : पुष २७, २०७५ (६:५९ AM)

साँच्चै को थिए पृथ्वीनारायण

आजको दिनमा नेपाली समुदाय भ्रममा छ । पुरानो एकता भाँडिएको छ, नयाँ एकता बन्न सकेको छैन । नेपाली युवाहरूमा आधुनिक प्रविधिको ज्ञान छ, देश–विदेश घुमेका पनि छन् तर आफ्नै इतिहास र संस्कृतिको ज्ञान कमजोर छ । कतिले त गलतमा विश्वास गरेका होलान् ।

पहिलो कुरा, नेपाल प्राचीन भारतको अंग होइन । कतिपयलाई भ्रम छ । नेपालका कतिपय शिक्षित मानिसहरूले पनि परापूर्वकालमा भारत वर्ष हिमवतखण्ड भनेको नेपाल हो भनेको सुनेको छु, जो सत्य होइन । भारत वर्ष भनेको कुनै राजनीतिक सीमा होइन, सांस्कृतिक हो । यो सभ्यताभन्दा पहिल्यै नेपाल शैव सभ्यताको केन्द्र थियो र यसको प्रभाव हिमालयदेखि समुद्रसम्म फैलिएको थियो । हामी सांस्कृतिकरूपमा पनि भारत वर्षको प्रभावमा थिएनौं । जतिबेला भारत थिएन, त्यतिबेला पनि नेपाल थियो भन्ने सत्य महाभारतले पुष्टि गर्छ । महाभारतकालमा गान्धार थियो जो अहिले अफगानिस्तानमा पर्छ । महाभारतभन्दा पहिले कुश भन्ने राष्ट्र थियो, जो अहिलेको आधुनिक थाइल्याण्ड हो । थाइल्याण्डमा नामको रूपमा धेरै संस्कृत शब्दहरूको प्रयोग हुन्छ, जस्तै ः स्वर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल । यसरी हेर्दा यो पनि प्राचीन देश हो भन्ने प्रमाणित हुन्छ । कुरुक्षेत्र अहिलेको भारतभित्रै थियो होला तर नेपाल त्यतिबेला पनि एउटा स्वतन्त्र र आत्मनिर्भर राज्य थियो । किरात त्यो राज्यको शासक थिए । किरात राजाले महाभारत युद्धमा कौरवहरूलाई साथ दिएका थिए । किरातभन्दा पहिले यहाँ गोपाल र महिषपाल वंशको राज्य थियो तर त्यो व्यवस्थित राज्यमा विकास भएन । पशुपालन मुख्य पेशा थियो । अर्थतन्त्र र राज्यको निम्ति अपरिहार्य सैन्य संरचना थिएन । मुखिया नाइकेजस्ता मात्र भए त्यस बेलाका गोपाल र महिषपाल राजाहरू । नेपालको इतिहास पढेसम्म गोपालवंशीहरू सुरुमा तराई अर्थात् कोशीदेखि पश्चिम र गण्डकदेखि पूर्वको क्षेत्रबाट गाईवस्तु लिएर काठमाडौंमा चरन खोज्दै आए । त्यही क्रममा भूमि गुप्त नामका व्यक्तिले नेपाल राष्ट्र स्थापना गरे अनि गोपाल वंश र महिषपाल वंश मिलाएर नेपालमा पौने सात सय वर्ष शासन गरे । राज्यको प्रारम्भिक चरणमा बस्ती बसाल्नेदेखि राज्य सञ्चालन गर्ने, नेपालको नामकरण गर्ने अनि पशुपतिनाथ स्थापना गर्ने काम उनीहरूले नै गरे । 

त्यसपछि उपत्यका वरिपरि छरिएर रहेका आदिवासी किरातहरूले गोपाल र महिषपालबाट कब्जा गरेर लगभग आठ–नौ सय वर्ष काठमाडौंमा राज्य चलाए । नेपाली किरातको पात्रो नै पाँच हजार वर्षभन्दा पुरानो छ । नेपालका पहिला व्यवस्थित शासक किरात नै हुन् । ग्रेगोरियन क्यालेण्डरअनुसार दोस्रो शताब्दी दक्षिण पश्चिमबाट आएका लिच्छवीहरूले किरातलाई पराजित गरेर नालाको डाँडो कटाइदिए । किरात श्रमिकहरूलाई लिच्छवी शासकले कजाएर खाने निर्णय गरे । अहिले तिनीहरू ज्यापुका रूपमा काठमाडौंका भूमिपुत्र मानिन्छन् । उनीहरू काठमाडौं उपत्यकाका आदिवासी हुन् र किरातबाट नेवा समुदायमा रूपान्तरित भए । लिच्छविहरू गंगाको छेउबाट चित्र गुप्त मौर्यका पुत्र अजातशत्रुको आक्रमणबाट भागेर जोगिँदै नेपाल आए । उनीहरूले किरातबाट राज्य खोसेर लगभग नौ सय वर्ष शासन गरे । उनीहरूले मानदेवको नेतृत्वमा मुलुकको विस्तार गरे । यो राष्ट्रको स्थापना गोपालवंशीले गरे । यसको पहिलो विस्तार लिच्छवीले गरे । मानदेवको नेतृत्वमा रहेको सेनाले गण्डकपारि कर्णालीसम्मको भाग नेपालमा मिसायो । उता पूर्वतर्फ अरुण तमोरसम्मको भाग नेपालमा मिसाए । दोस्रो चरणमा वृषवदेवका पालामा उनकी छोरी कुमारीदेवीको बिहे भारतका गुप्त वंशका चन्द्र गुप्त प्रथमसँग भयो । उनीहरूका छोरा समुद्र गुप्त भारतका वैभवशाली शासक भए । चन्द्रगुप्त र समुद्र गुप्तका पालामा यहाँका लिच्छवीसँग साइनो गाँसियो । उनीहरूको मद्धतबाट यो राज्यको विस्तार पूर्वकामरूप कामाक्षादेखि पश्चिम काश्मीरसम्म अनि दक्षिण गंगादेखि उत्तर तिब्बतसम्म विस्तार गरे । यो देश नेपाल नामबाट दोस्रो शताब्दीदेखि सातौं शताब्दीको पहिलो चरण अंशुवर्माका पालासम्म निर्माण भयो । अब यहाँ विचार गरौं, तत्कालीन नेपाल कति विशाल थियो भनेर । पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व नै विशाल नेपाल अस्तित्वमा थियो र एक आत्मनिर्भर राष्ट्र थियो ।

यहाँ पृथ्वीनारायण शाहले राज्य बनाएको र विस्तार गरेको भनिन्छ । पृथ्वीनारायण त धेरै पछि, आजभन्दा २७० वर्ष पहिलेका मात्र हुन् । नेपाल राज्यको स्थापना त ३७ सय वर्ष पहिले नै भएको हो । यसको विस्तार लिच्छवीको समयमा अत्यधिक भएको थियो । लिच्छवी वंशको पतनपछि नेपाल विभिन्न राज्यमा टुक्रियो । मधेसमा विशेष सेन राज्यको आधिपत्य थियो भने पहाडी भागहरू बाइसी, चौबीसी र उपत्यकामा मल्ल राजाहरू आए । यसपछि नेपाल देश काठमाडौं उपत्यकामा मात्र खुम्चियो । यी विषयमा अचेल खासै चर्चा हुँदैन । भ्रमयुक्त इतिहासको मात्रै चर्चा हुने गरेको छ । यस तथ्यबाट पृथ्वीनारायणले गोर्खा राज्यको साम्राज्य विस्तार गरेका होइनन्, टुटफुट भएका टुक्रे राज्यहरूको एकीकरण गरेका हुन् भन्ने पुष्टि हुन्छ । 

पृथ्वीनारायण शाहले विसं १८०१ असोज १५ गते नुवाकोट विजय गरेर नेपालको पुनः एकीकरणको शिलान्यास गरे । उनले अत्यन्त परिश्रमपूर्वक काम गरे । नुवाकोट जितेपछि त्यहाँबाट साढे सात कोस टाढाको काठमाडौं २५ वर्षको निरन्तर परिश्रमपछि विसं १८२५ असोज १३ मा मात्र जित्न सके । विसं १८१४ जेठ १९ मा कीर्तिपुरमा हार खाएका उनले तेस्रो लडाइँमा विसं १८२२ चैत ३ गतेमात्र कीर्तिपुर विजय गरे । यो एकीकरण उनका पुस्ता बहादुर शाहको नायबी कालसम्म चल्यो । त्यतिबेला पश्चिममा काँगडा, पूर्वमा टिष्टा, उत्तरमा भोट र दक्षिणमा गंगाको मैदानसम्म नेपाल फैलिएको थियो । पछि दरबारिया षड्यन्त्रले थिलोथिलो भएको नेपालको राज्यकेन्द्रको फाइदा उठाउदै अंग्रेज (इष्ट इन्डिया कम्पनी) ले नेपालमाथि आक्रमण ग¥यो । नेपालीहरू बहादुरीपूर्वक लडे तर आफ्नो भूभाग सबै जोगाउन सकेनन् । नेपाल भन्नाले सुगौली सन्धिबाट खुम्चिएको भूभाग र पछि जंगबहादुरको पालामा अंग्रेजलाई सहयोग गरेर फिर्ता ल्याएको (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) समेतको भूभागमात्र भन्ने भयो । 

अब यहाँ कुरा हुन्छ, पृथ्वीनारायणलाई नेपाल एकीकरण अभियानको नायक मान्ने कि नमान्ने वा उनलाई सम्मान गर्ने कि नगर्ने भनेर । उनको सम्मान गर्दा राजतन्त्रवादी पो भइन्छ कि भन्ने डर छ धेरैलाई । पृथ्वीनारायणले राज्य एकीकरण गर्दा मारकाट भएको छ, कीर्तिपुर र मकवानपुरको टिष्टुङमा राज्य जितेपछि पनि प्रतिशोधपूर्ण आक्रमणहरू भएको कुरा इतिहासमा छ । कीर्तिपुरबासीको नाक काटिएको र टिष्टुङमा तमाङहरूको हत्या भएको भन्ने कुरा छ । नेपालीहरू त्यतिबेला पढेलेखेका थिएनन् र इतिहास लेख्न पनि सक्दैनथे । पृथ्वीनारायण विरोधी अंग्रेजहरूले नेपालको इतिहास प्रतिशोधपूर्ण र तथ्यरहित ढंगले लेखिदिए । जसलाई हालका केही इतिहासकारहरूले नेपालको मानक इतिहास मान्ने गरेका छन् जुन दुर्भाग्यपूर्ण हो । जहाँ अनावश्यक यातना र हत्या भयो, ती घटना नहुनु पथ्र्यो । जितेर गाभेका ठाउँमा केही सांस्कृतिक अतिक्रमण पनि पक्कै भयो । काठमाडौंमा मछिन्द्रनाथको भोटो देखाउने जात्रा, इन्द्रजात्रा र कुमारीदेवी राख्ने संस्कृति शाहवंशले पनि स्वीकार ग¥यो । जे–जस्ता नकारात्मक घटनाहरू भए पनि उनले नेपाल एकीकरणको बिँडो नसमातेका भए र सिन्धुलीगढी (विसं १८२४) मा अंग्रेज फौजलाई नेस्तनाबुद नपारेका भए के अहिलेको नेपाल सम्भव थियो ? हामी नेपाली भनेर विश्वसामु परिचित हुन्थ्यौं ? विचार गर्नुपर्ने प्रश्न हो । 

मल्ल राजाहरूले अंग्रेजलाई काठमाडौं बोलाएका थिए । उनीहरू यहाँ आउन सफल भएको भए अहिलेको हाम्रो नेपाल पनि अंग्रेजी हुकुमतको दास बन्ने थियो । पृथ्वीनारायणकै आदेश र योजनामा बसु गुरुङ र वंशराज पाण्डे दुई कमाण्डरको नेतृत्वमा करिब सात सय गोर्खाली फौजले तीन हजार अंग्रेज फौजमाथि विजय हासिल गरेको थियो । सिन्धुलीगढीको लडाइँभन्दा पहिले पृथ्वीनारायण बंगालका राजा मिर कासिमसँग लडेका थिए । प्राचीनकालमा नेपाल विशाल थियो । त्यसबखत (विसं १८१९) मा मिर कासिमको सेनासँग वा इस्टइन्डिया कम्पनीसँग हारेको भए पनि नेपालको यो रूप रहने थिएन । एउटा अर्को विषय पनि महŒवपूर्ण छ, त्यो हो, एकीकरणको जस पृथ्वीनारायण एक्लैले लिए वा दिइयो भन्ने । उनले एकीकरणको निम्ति बिसे नगर्चीसँग ऋण लिएका थिए अनि लडाइँमा धेरै फौजी तथा गैरफौजी मानिसहरूको रगत बगेको छ । ती सबै इतिहासको खोजी गर्नुपर्छ र सम्मान दिनुपर्छ ।

अहिले हामी नेपाली हौं र हामीलाई गणतन्त्रवादी, लोकतन्त्रवादी, साम्यवादी सबै हुन छुट छ । इतिहास स्वीकार गरेर कोही पनि राजतन्त्रवादी र पश्चगामी हुँदैन । सबैले उनलाई नेपाल एकीकरण अभियानको नायक स्वीकार गर्न सक्नुपर्छ भलै उनले सामान्ती एकीकृत राज्य बनाए । त्यो समयको राज्य त्यस्तै थियो । अब पृथ्वीनारायण उक्त समयमा माक्र्सवादी बनेर जनवादी र समाजवादी राज्य त कसरी बनाउँथे र ¤ आजको दिनमा राजतन्त्र फर्काउन चाहना राख्ने शक्तिहरूले पृथ्वीनारायणको भजन धेरै गाउँछन् । त्यही सुनेर कम्युनिष्टहरूमा इतिहास बिर्सने रोग लागेको छ । यो दुवै अतिवाद हो, गलत हो । पृथ्वीनारायणले नेपाल एकीकरणको नेतृत्व गरेका हुन् भनेर मान्दा राजतन्त्रवादी भइँदैन । जंगबहादुरले नेपालको केही भाग फिर्ता ल्याएको कुराको प्रशंसा गरेर कोही राणाशासनको समर्थक भएको छैन । कम्युनिष्टहरू पूर्वाग्रहबाट मुक्त हुनु जरुरी छ । राजतन्त्रवादीहरूले पनि पृथ्वीनारायण, महेन्द्र हुँदै ज्ञानेन्द्रसम्मको नाम लिएर राजतन्त्र फर्काउने सपना नदेख्दा हुन्छ । नेपालका अहिलेको राजनीतिक नेतृत्व इमानदार बनोस् । युगले सुम्पेको दायित्व पूरा गरोस् । इतिहासका तथ्यहरू स्वीकार गर्दै आजको सन्दर्भमा सकारात्मक परिवर्तन गर्दै जानु सही बाटो हो । यही नै असली द्वन्द्ववाद हो जसले हामीलाई विपरीतहरूको एकत्वसँगै इतिहासका तथ्यहरू स्वीकार गर्न र शिक्षा ग्रहण गर्न सिकाउँछ । सबैलाई चेतना भया ।


Views: 665