22nd January | 2019 | Tuesday | 9:30:58 AM

अनुभूति : मैत्री आश्रमको साहित्यिक जमघट

विनोद दाहाल   POSTED ON : Saturday, 12 January, 2019 (5:51:05 PM)

अनुभूति : मैत्री आश्रमको साहित्यिक जमघट

गएको मंसिर २१ गते शुक्रबारका दिन काठमाडौं जिल्लाको उत्तरपूर्वीस्थल शंकरापुर नगरपालिका वडा नं ४ लप्सेफेदीमा निर्मित जेपी मैत्रीसेवा आश्रममा साहित्यकारहरूको जमघटको कार्यक्रम बनेको रहेछ । भाइ नारायण सापकोटाले जानकारीपश्चात् निर्धारित ठाउँ र स्थानमा म पनि उपस्थित भए । 

नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रा. पुरुषोत्तम दाहालको पहलमा र जेपी प्रतिष्ठान मैत्रीसेवा आश्रमका अध्यक्ष मित्रसेन दाहालको आयोजनामा कार्यक्रम बनेको रहेछ । यति धेरै साहित्यकारको समूहमा मिसिएर बाहिर गएको मेरा लागि पहिलो अनुभूति थियो । यसका लागि दाहालद्वय धन्यवादका पात्र छन् । 

निर्धारित समय भइसकेको थियो तर उपस्थित हुनुपर्ने साहित्यकारको उपस्थिति भइसकेको थिएन । आफू निकटका साथीलाई फोन गरेर छिटो आउनका लागि ताकेता गर्नेहरूको बाक्लै संख्या देखिन्थ्यो । मलाई पनि पुग्नुअगाडि एक÷दुई कल आएका थिए तर म पुगेको निकै बेरपछि हामी त्यहाँबाट हिँडेका थियौँ । तोकिएको समयभन्दा अलिक ढिलो गरेर बस आयो जसले गर्दा ढिलो भएका साथीहरू छुटेनन् । बस कुर्दाकुर्दै त्यहीँ पूर्वपरिचित बाहेकका केही साथीसँग परिचय भयो र केहीसँग परिचय नवीकरण भयो । 

चावहिलदेखि साँखुसम्मै बाटो निर्माण भइरहेको थियो । धुलो र गाडीको सुस्त गतिका कारण लप्सेफेदी मैत्रीसेवा आश्रम पुग्दा रात परिहाल्यो । पुगेको केही समयपछि कार्यक्रम सुरु भयो । तर सबै भोकाएका हुँदा कार्यक्रम बीचैमा रोकेर केही समय भोजनका लागि छुट्याइयो । मैत्रीसेवा आश्रमको सात्विक खाना निकै स्वादिलो लाग्यो । दाल, भात, तरकारी, अचार र आश्रममै पालिएका गाईको ताजा दूधको स्वादले हामी सबैलाई निकै आनन्द दिलायो । तरकारी पनि त्यहीँको उत्पादन रहेछ । साग, काउली, बन्दा आदि लहलह भएको हामीले भोलिपल्ट उज्यालोमा मात्र देख्न पायौँ । 

यसपछि हामी साठीजना जति पाहुनाका लागि सुत्ने ठाउँ तोकियो । मैत्री आश्रममा निर्मित ठूला साना भवन तथा घर ३१ वटा रहेछन् । नेपाल सरकार, नेपाली सेना र जेपी प्रतिष्ठानको सहकार्यबाट यो आश्रम निर्माण गरिएको रहेछ । आश्रमका अध्यक्ष मित्रसेन दाहालले सबैलाई ठाउँ तोकेर विभिन्न आश्रममा खटाउनु र पठाउनुभयो । विभिन्न राजनेता, हिमाल तथा पहाड, वनजंगल र देवदेवताहरूका नामबाट ती आश्रमको नामकरण गरिएको रहेछ । प्रा. डा. दुर्गाप्रसाद अर्याल, कवि नीलकण्ठ भट्टराई, प्रा.महेश्वर न्यौपानेका र मेरा लागि ‘शिवपुरी आश्रम’ तोकियो । 

एटेच ट्वाइलेट र बाथरुमसहितका कोठा र तीन पलङ भएको भित्रीबाहिरी कोठामा चारजना सुत्नुपर्ने थियो । म चारजनामध्ये सबैभन्दा कान्छो थिएँ । तीनवटा खाटमा चारजना मानिस सुत्नुपर्ने थियो । त्यसैले दुईजना एउटा खाटमा सुत्नुपर्ने बाध्यता त छँदै नै थियो । त्यसैले अग्रजहरूसँग सुत्न अप्ठ्यारो लागिरहेको थियो । हुन त भुईंमा पनि ओछ्यान थियो तर चिसो महिनामा भुईंमा सकेसम्म नसुतौंजस्तो मनमा लागिरहेको थियो । मनको कुरो बुझिदिनुभयो महेश्वर न्यौपाने सरले । उहाँले आफू राति उठिरहनुपर्ने र बिहान पनि चारै बजे उठेर योगा गर्नुपर्ने हुँदा भुईंमा एक्लै सुत्ने मन गर्नुभयो । ओढ्ने ओछ्याउनेको कमी थिएन, उहाँले डस्ना र सिरक पनि खाप्नुभयो । तर, सुत्नुभन्दा पहिले अघि चलिरहेको कार्यक्रमको समापन गर्नुपर्ने थियो । हामी फेरि कार्यक्रम हलमा जम्मा भयौँ । 

नेपाली लेखक संघका महासचिव डा. रत्नमणि नेपालले ‘विचार र बहसको पक्षमा’ शीर्षकमा प्रस्तुत गर्नुभएको विचारपत्रमाथिको टीकाटिप्पणी र समीक्षा अनि सबैका विचार र बहसका कारण रातिको १२ बजि नै हाल्यो । प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो भने दिनेशकुमार मगर र नरबहादुर कटवालबाट सहभागी साहित्यकारलाई खादाले स्वागत गरिएको थियो । प्रमुख अतिथि प्रदेश नं. १ की माननीय सांसद सञ्जा दनुवार रहेको यो कार्यक्रममा प्रा. पुरुषोत्तम दाहाल, साहित्यकार कृष्ण धरावासी र प्रा.डा. लक्ष्मण गौत्तमले आआफ्नो समीक्षात्मक मन्तव्य प्रकट गर्नुभएको थियो । साहित्यकार मनोज न्यौपानेले सहजीकरण गरेको यो कार्यक्रम नेपाली लेखक संघका केन्द्रीय सदस्य नारायण सापकोटाले धन्यवाद प्रकट र सभापति मित्रसेन दाहालबाट कार्यक्रम विसर्जन गरेपछि समापन भएको थियो । कार्यक्रम समाप्त हुनलाग्दासम्म धेरैजना निद्राले उँघिरहेका देखिन्थे । मध्यरातसम्मको यो साहित्यिक बहसपछि हामी आफ्नाआफ्ना निवासमा गएर सुत्यौँ । 

राति सुत्न अबेर भएको हुँदा भोलिपल्टको कार्यक्रम अलिक प्रभावित हुनपुग्यो । भोलिपल्ट मंसिर २२ गते शनिबार बिहान ६ बजे योगाको कार्यक्रम थियो तर यो कार्यक्रम एक घण्टा सारिएको थियो । सात बजे हामी योगाका लागि हलमा जम्मा भयौँ । योगगुरु मोहन घिमिरेले योगा गराउनुभयो लगभग एक घण्टाजति । त्यसपछि चियापान गरियो । अनि सेवामैत्री आश्रमका अध्यक्ष मित्रसेन दाहालबाट आश्रमबारे सहभागी साहित्यकारलाई जानकारी गराउने काम भयो ।

दोस्रो दिनको अर्को चरणको कार्यक्रम ‘लेखक मित्रसेन दाहालको लेखन यात्रामा एक दृष्टि’ शीर्षकमा सञ्चालन भएको थियो । समालोचक डा. ज्ञानु अधिकारीले सहजीकरण गरेको यो कार्यक्रमको सभापतित्व प्रा. महेश्वर न्यौपानेले गर्नुभएको थियो । प्रा. डा. दुर्गाप्रसाद अर्यालले लेखक दाहालबारे समीक्षापत्र प्रतुत गरेको उक्त कार्यक्रम लेखक दाहालले धन्यवाद ज्ञापन गरेपछि समाप्त भएको थियो । राजेन्द्र दाहाल, कमल दाहाल, दुर्गाप्रसाद काफ्लेको पनि कार्यक्रममा उपस्थिति थियो । 

त्यसपछि बिहानको भोजन गर्ने समय भयो र सबैजना भोजनमा संलग्न भइयो । बिहान पनि मीठो सात्विक खाना खाइयो । बेलुकाकैझैँ सबैले आफूले खाएका थाल कचौरा आफैँ माझ्यौँ । यो पनि एक प्रकारको रमाइलो नै हो । हाम्रा लागि यो सामान्य नै हो तर कहिल्यै भाँडा नमाझेकाहरूका लागि भने यो अनौठो हुनसक्थ्यो । मैले स्वर्गीय कवि दैवज्ञराज न्यौपानेको किसान कविता सम्झिएँ, ‘अलिक दुःख भने हुन्छ काम गर्दा रमाइलो’ । यहाँ यस्तै भयो । 

यसपछि कवि गोष्ठी सुरु भयो । यसको सहजीकरण कवि तथा कलाकार रमेश पौडेलले गर्नुभएको थियो । चालीस जनाजति कविका कविता, गजल, मुक्तक वाचन गरिएको कविता गोष्ठीको निष्कर्ष लेखन ध्रुव मधिकर्मी, मोतीराज बम, नारद गौतम, उमा सुवेदीलगायत कविले गर्नुभएको थियो । आमन्त्रित सबै कवि लेखक कार्यक्रममा जान सकेनन्, केही अनुपस्थित थिए । त्यसैले यो कार्यक्रममा जिम्मेवारी तोकिएका केहीको जिम्मेवारी तिनको अनुपस्थितिका कारण हेरफेर गर्नुपरेको थियो । कार्यक्रममा मोतीराज बम, उमा सुवेदी, धु्रव मधिकर्मी, महेश पौडेल, रमेश पौडेल, रामेश्वर राउत मातृदास, महेश्वर न्यौपाने, दुर्गा अर्याल, रत्नमणि नेपाल, मनोज न्यौपाने, डा. कृष्णप्रसाद भट्टराई, प्रा. मुकुन्दराज दाहाल, विनोद दाहाल वत्स, प्रा. डा. लक्ष्मण गौत्तम, जीवनाथ धमला, त्रिभुवनचन्द्र वाग्लेले आफ्ना रचना वाचन गर्नुभएको थियो । रचना वाचन गर्ने अन्य कवि लेखकमा नीलकण्ठ भट्टराई, डा. ज्ञानु अधिकारी, गीता रेग्मी, सन्ध्या पहाडी, कृष्ण धरावासी, प्रा. शान्तिकृष्ण अधिकारी, नारायण सापकोटा, अरुण डिसी पौडेल, डा. भागवत ढकाल, रमेश वाग्ले, सविता गौतम, मञ्जु विमली, मोहन घिमिरे, वासु पोखरेल, प्रा. पुरुषोत्तम दाहाल र मित्रसेन दाहाल हुनुहुन्थ्यो । प्रदेश नं. १ की माननीय सांसद सञ्जा दनुवारले पनि कार्यक्रममा कविता वाचन गर्नुभएको थियो । यो कार्यक्रमको सभापतित्व धु्रव मधिकर्मीले गर्नुभएको थियो भने निष्कर्ष प्रस्तुति जीवनाथ धमलाबाट भएको थियो । कार्यक्रममा कलाकारहरूबाट गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । 

दिउँसो चियानास्ता गरेपछि हामी हिजोकै बसबाट काठमाडौं शहरतिर फर्कियौँ । कोही मोटरसाइकल र निजी गाडीबाट फर्किनुभयो । त्यसैले गाडीका केही सिट खाली नै थिए । चावहिलको अघिल्लो दिन हामी गाडी चढेका ठाउँमा आइपुग्दा यो शहरले क्रमशः अँध्यारो बर्को ओड्न थालेको थियो । 


Views: 66